नदी निदाएको बेला

Sharing is Caring

केवल रमिता हेर्छन् तर
रातो अचानामा बगेको महाभारत
पढ्ने आँखा अझै उघ्रेनन्
द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो
जीवनहरण दिउँसै भइरहेछ
नारीलाई बोक्सी आरोपित गरेर
लछारपछार गर्दै दुनियाँ
जननीको गला निमोठ्दै छ
मानवशून्य बन्दै मान्छे
दिसापिसाब मुखमा बलात् कोच्दैछ
घाँटी थिचेर चीत्कार  दबाइँदैछ
यसरी एउटी अबलाको जीवनयात्रा
निषेध भएको छ ।

निर्धो हुनाको कारण
कहीँ अछूत हुनुको कारण
अपजसका भारी बोकाउन
जताततै म पुत्ला बनाइएकी छु
बाँच्ने सारा आकाङ्क्षा निमोठ्दै
आँगनैमा
मृत्युदण्डको घोषणा सुनाइएको छ
अचानामाथि उभ्याइएकी छु
छिनमै गल्र्याम्म ढल्दै छु
उनिँदैछु अङ्गुलिमालका मालामा
सुन्छु तमासा हेर्नेका ताली मात्र
यो उपद्रव छेक्ने हात खोइ उठेका ?
जीवन हिँडिरहेको हरफलाई
पूर्णविराम लगाइएको बेला
यो अत्याचारविरुद्ध
कलमका बिर्का खोइ खोलिएका ?
मान्छे मान्छे छेक्ने गरी
मनभित्र पर्खाल किन ठड्याइएका ?

हरबिहान
यही धरतीमा
खस्छन् ताराहरू
तर यसैमा दुःख लाग्छ
मेरो टाँगमुनिको
रातो अचानामा पोखिएका
रगतका नाता सुमसुम्याउने
कुनै हृदय अझै ओर्लेनन्
कुनै आँखा
धरतीमा अझै खसेनन्
कहीँ उम्रेनन् टुसाएनन् कतै पलाएनन्
ताण्डवनृत्य पटाक्षेप गर्ने हात
ए नदी ! ब्यूँझ निन्द्राबाट
बुद्ध ! अब त उघार आँखा !

साभारः बीच बाटोमा ब्यूँझेर कवितासङ्ग्रह २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *