न्यूटन, स्याऊ र भूकम्प

Sharing is Caring

यसपालि पनि
भूइँचालोले देखेन
जीवनदेखि दिक्क भएका
मृत्यु पर्खी बसेकाहरूलाई
बरु फुलिरहेका फूलहरू टिप्यो
वारिपारि गर्ने पुलहरू चुँडायो
यसपालि पनि टेरेन मृत्युले
मान्छेका निर्दोष पाइलाहरू
बरु निर्ममतापूर्वक कुल्चियो
निस्सासियो गाउँ र शहर
स्वास रोकिएको मौका छोपेर
मिच्न मिच्यो मानव अस्तित्व
यसरी फुत्त आयो भूकम्प
उजाड बनायो गाउँशहर
र लुत्त लुक्यो….

ऊ मरेछ
त्यो पनि मरेछ
बाँच्नु पर्नेहरू सबै मरेछन्
आऊ भूकम्प स्वागत छ
म मर्न तयार छु
बाँच्न पनि तयार छु
व्यर्थ किन डराउनु
कतिन्जेल चिन्ता गर्नु
आखिर बाँचे पनि मरे पनि
हामी सबैलाई ओढ्न पुग्ने
एउटै आकाश छँदैछ नि !

सुन्न त
मैले पनि सुनेको थिएँ
भुइँचालोमा लाटो बोल्छ
अपाङ्ग उठ्छ र हिड्छ
मेरा पनि आँखा खुले
देखें निलो आकाश, नौलो आकास
जहाँ सून्यता, पूर्णता तर सत्यता रहेछन्
अनि पिलपिल गर्ने आकासका ताराहरू
अरूका हैनन् हाम्रै रहरहरू नाचेका रहेछन्
आहा ! जीवन र मृत्यु
बाँच्नु, मर्नुको रहर अनि कर
व्रम्हाण्डीय आकर्षण अनि विकर्षण
न्यूटनको गुरत्वाकर्षण
आइन्स्टाइनको गति
जो हामीलाई नै खोजिरहेछन्
टाउको बिनै बाँचिएछ यतिन्जेल
व्यर्थै च्व… च्व…

सर आइजक न्यूटनलाई
गुरुत्वाकर्षण चिनाइ दिने स्याऊ
भूकम्पले मान्छेकै टाउकोमा
अझै झारिरहेछन्
धरतिमा कतै न्यूटनहरू
जन्मिए कि ! भनेर
अब त न्यूटनहरू
जन्मिए कि भनेर…

कवितावाचन

Leave a Reply