बौलाहाको बकबक

Sharing is Caring

देख्दादेख्दै
यो देशमा
जब बहुदल आयो

नेता भकाभक बहुलाए
एकदिन गणतन्त्र पनि आयो
कोही आत्तिए जनता एकाएक मात्तिए
खै के
भन्नु
सबैले मलाई पागल देख्छन्
हा…हा…हा…
म बौलाहा
बाटोको छेऊमा उभिएर
एक्लै कत्ति कराउँ
कामका हैन नामका हामी बहादुर
दुस्मन छाडेर आ-आफुलाई सिद्याइरहेछौं
र ठड्याइरहेछौं सगरमाथा भन्दा अग्लो दरिद्रता
अनि खोतलिरहेछौं केचनाभन्दा होचो बेइमानी
सायद हरियो वन निथ्रेर होला
हरियो डलरतिर
भेडीगोंठझैं ओइरिए बहादुरहरु विदेशमा
यता अन्न उब्जाउने मेरो जमिन कब्जा गर्दै
रेमिटेन्स र दलालखेती खूब हौसेको छ
छिया-छिया प्लटिङ बनेको छ छाती
रातारात हाउजिङ त उम्रिएको छ
तर मेरो गुनासो के मात्र भने
छत र छहारी जतिसुकै थपिए पनि
म सधैं छानाबाहिरै छु
बेलको बोटमा
काग बसेको छु
सुकुम्बासीको पीडामा
फगत “काग” “काग” कराउँछु

गोली चल्छ जङ्गलमा
गाउँ शहरमा चल्छ
गोली दिउँसै सडकमा पनि चल्छ
तर किन लाग्दैन
यो छातीमा
हा…हा…हा…
तर याद गर
जब गोली हान्छौ
मेरो मुटुबाट निस्कने
रगतका एक एक थोपाबाट
प्रकट हुनेछन् असंख्य मेरा सन्तान
अनि सडकको कुनाकुनासम्म ती फैलनेछन्
र भोकको झोंकमा तिमीहरूको निद्रा चपाइदिनेछन्
जसरी तिमीहरूले मेरो बिपना निर्ममतापूर्वक निल्यौ
शूर्पणखाको नाकले सास फेर्‍यौ
ए मलाई घृणा गर्नेहरू !
फेरि म तिमीहरूलाई सोध्दैछु
भन कहाँ छ नेपाल ?
कहाँ छ मेरो नेपाल ?
हा…हा…हा…

 

Leave a Reply