गीतकार राममान ‘तृषित’का प्रेमील अभिलाषा ‘मनदेखि मनसम्म’ (समालोचना)

Sharing is Caring

– डा. नवराज सुब्बा
(क) पृष्ठभूमि –
गीतकार डा. राममान श्रेष्ठ ‘तृषित’ पेशाले एक कुशल चिकित्सक थिए भने कलाले नेपाली साहित्यमा गीतिक्षेत्रका एक सिद्धहस्त हस्ताक्षर हुन् । उनका गीत रेडियो नेपालबाट श्रोतामाझ पुगिसकेका छन् । उनले आफ्ना गीतरचनालाई सङ्ग्रहका रुपमा पनि प्रकाशित गरेका छन् । त्यसमध्ये उनको ‘मनदेखि मनसम्म’ गीतिसंग्रह अहिले मेरो हातमा छ । यो सङ्ग्रह हातमा परेपछि मलाई यसले केही कोर्न बाध्य तुल्यायो । हुन त म समालोचक वा समीक्षक होइन । तापनि एउटा गीतकारको पीडा म पनि केही हदसम्म बुझ्दछु, यही नाताले म उनका गीतका बारेमा मनमा लागेका कुराहरु पाठकसामु पोखेर आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु ।

(ख) कृति परिचय –
सर्वप्रथम म पाठकलाई उनको यो गीतसङ्ग्रह ‘मनदेखि मनसम्म’ पुस्तकको परिचय गराउँछु । संग्रहमा विभिन्न शिर्षकका चार–चार श्लोक अर्थात् स्थायी र अन्तरायुक्त एकशय गीतहरु संग्रहित छन् । सङ्ग्रहलाई वाशु शशी स्मृति परिषद् काठमाडौंले प्रकाशित वि.स. २०६५ सालमा प्रकाशित गरेको हो । पुस्तकको आवरणमा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले अमूर्त कला सिर्जनाद्वारा भाव व्यक्त गर्दै गीतिभावलाई प्रतिविम्बित गरेका छन् । पुस्तकको परिचय, भूमिका, सूची देखि लिएर गीतहरुको सबै पोयो छोडाउँदा एकशय दश पानाहरुमा आँखा डुलाउनु पर्दछ । पुस्तकको मूल्य रु ६८/– मात्र रहेको छ ।
प्रकाशकीयमा साहित्यकार प्रद्युम्न जोशीले गीत र गीतिसङ्ग्रहको बारेमा सारगर्भित उद्गार व्यक्त गरेका छन् । आजका गीतहरु सङ्गीत र गायक कलाकारको स्वरलाई हटाइदिने हो भने गीत भन्न लायक गीत पाउन मुस्किल छ, उनी भन्दछन् । वास्तवमा नेपाली आधुनिक गीतको अवस्था आज यस्तै छ । कवि वाशु शशी र गीतकार तृषित घनिष्ट मित्र रहेकाले वाशु शशी प्रतिष्ठानले तृषितको प्रस्तुत गीतसङ्ग्रह प्रकाशित गरेको हो, जनाएको छ । कृतिकै आवरणले तृषितका कृतिहरु वि.स. २०३३ सालदेखि २०६५ सालसम्ममा यस बाहेक अन्य ४ गीतसङ्ग्रह, ४ कवितासङ्ग्रह, २ मुक्तकसङ्ग्रह, १ गजलसङ्ग्रह, १ भजनसङग्रह, र १ निबन्धसङग्रह प्रकाशित भएको जनाउँछ ।
(ग) स्रष्टाप्रति अन्य स्रष्टाहरुको धारणा –
कृतिकै आवरणको पश्चभागमा कृतिकारका बारेमा विभिन्न लेखकहरुका संक्षिप्त टिप्पणीहरु राखिएका छन् । समालोचक कृष्णचन्द्रसिंह प्रधान गीतकार तृषितको व्यक्तित्व गीतमा भन्दा कवितामा प्रखर रुपमा सल्बलाएको बताउँछन् । कवितामा उनी बढी तीव्र, यथार्थवादी र सार्वजनिक भएर प्रकट भएका छन् । प्रधानको उक्त भनाईले तृषित गीतमा बढी कल्पनाशील, चिन्तनशील, तथा अन्तर्मुखी भए जस्ता देखिन्छन् भन्न खोजेको प्रतीत हुन्छ । यस्तै अर्का कवि ईश्वर बल्लभले तृषित गीतको ताजमहल बनाउने कलाकार हुन् भनेर चिनाएका छन् । गीतकार स्वयम्ले स्वीकार गरेको प्रेमपूजारीको उपमा दिनमा बल्लभ चुक्दैनन् ।
अर्का समालोचक तारानाथ शर्मा पनि यसमा सहि थप्दै तृषितलाई ठाडै प्रेमपूजारी भएको ठोकुवा नै गर्दछन् । कवि हिमांशु थापा तृषितलाई अत्यन्त उच्च सम्मानका साथ हेर्दै उनलाई एक संस्थाकै रुपमा आफूले पाएको बताउँछन् । आख्यानकार परशु प्रधान तृषितलाई कविकै रुपमा चिन्दछन् र उनलाई वर्तमानप्रति सचेत र भविश्यप्रति चिन्तित एवम् विद्रोही स्वभावका पाउँछन् ।

(ङ) मनदेखि मनसम्म भित्र चियाउँदा –
तृषितका समग्र कृतिको अध्ययन र अनुभूतिका आधारमा विभिन्न लेखकहरूले प्रस्तुत गरेका धारणासित परिचित भएपछि अब हामी उनको गीतसंग्रह ‘मनदेखि मनसम्म’ भित्रका गीतका भावलाई नमूनास्वरुप लिएर झ्यालबाट घरभित्रको स्थिति चियाएझैं गरौं ।
तीरभन्दा तिखो तिम्रो हेराईले मार्यो
परेलीको झिमझिम कुरा गराइले मार्यो ।
(‘तीरभन्दा तिखो तिम्रो’ गीतको स्थायी अंश)
+++
हामी दुईको दुइटा मुटु यौटा भइसक्यो
माया हाम्रो यसैले त द्यौता भइसक्यो ।
(‘हामी दुईको दुइटा’ गीतको स्थायी अंश)
यी दुई गीतहरु तृषित स्वच्छन्वादी धारमा बगेर रोमाञ्चित भई ताजमहल बनाउने एक प्रेमपूजारीकै रुपमा प्रकट भएका छन् ।
जीतको बेग्लै मजा हुन्छ हारको बेग्लै मजा
बिछोड मिलन जे होस् तर प्यारको बेग्लै मजा ।
(‘जीतको बेग्लै मजा’ गीतको स्थायी अंश)
सबैको जीवनमा कुनै न कुनै जीत र हारको खेल हुन्छ । तर गीतकार तृषितले गीतमार्फत् जीत र हार भन्दा पनि प्यारको मजा भोगाइका दुवै पक्षमा अनुभूति गरेको कुरालाई जोड दिदै अभिव्यक्त हुन्छन् । पढिसक्दा भाव बुझिसकिने शक्ति र आकर्षण गीतमा पाउन सकिन्छ ।
धेरै पाएँ जिन्दगीमा यौटै हराएछ
पूजा गर्दागर्दै मेरो द्यौतै हराएछ ।
(‘धेरै पाएँ जिन्दगीमा’ गीतको स्थायी अंश)
गीतको भावार्थ र लक्षणार्थ दुवैले गीतको सौन्दर्य थपेका छन् । मानिसले श्रद्धा गर्दागर्दै कसैले तिरस्कार पनि गर्न सक्छ । मानिसले जीवनमा धेरै पाएर पनि केही चीजको सदा अभाव महसूस गर्छ । यो जीवनको यथार्थ हो जुन गीतमा सहज प्रकट भएको छ ।
कस्ता तिम्रा सौगातहरु सम्हाल्न सकिन
तिम्ले दिएको हलुङ्गो औंठी उचाल्न सकिन ।
(‘कस्ता तिम्रा’ गीतको स्थायी अंश)
+++
मेरै मुटु जलाएर झिलमिल पार्ने उत्सवमा
तिम्रो निम्तो स्वीकारेर आउँदिन म माफ गर ।
(‘मेरै मुटु जलाएर’ गीतको स्थायी अंश)
स्रष्टाद्वारा आफ्ना भनाईलाई सरल र सहज ढङ्गले दोस्रो पक्षसमक्ष गीतमा राखिएको छ । माथिका गीतहरु यथार्थवादी छन् ।
मनै न हो काँडालाई फूलजस्तै देख्न सक्ने
झरेको पातमा वसन्तको मीठो गीत लेख्न सक्ने ।
(‘मनै न हो काँडालाई’ गीतको स्थायी अंश)
उनको यो गीत गीतकार दुर्गालाल श्रेष्ठको ‘फूलको आँखामा फूलै संसार’ कै भावभूमिसंग मिल्दोजुल्दो आकर्षक बिम्वका साथ प्रस्तुत गरिएको आदर्शवादी गीत हो । मानववादी स्वरमा लेखिएको यो एक सुन्दर अलङ्कारयुक्त उत्कृष्ट भाव भएको जीवनोपयोगी गीत हो ।
कतै बाटो मोड्दै पुगें कतै साथी छोड्दै पुगें
जहाँ पुगें ढुङ्गालाई दुवै हात जोड्दै पुगें ।
(‘कतै बाटो मोड्दै पुगें’ गीतको स्थायी अंश)
गीतकार तृषित जीवनलाई आदर्शवादी आँखाले पनि हेर्न खोज्दछन् । उनी मानिसको हेर्ने दृष्टिलाई सकारात्मक बनाउन चाहन्छन् । उनले दुष्ट मानिसलाई पनि गुहार्नु जानु परेको वा हात जोड्नु परेकोमा खिन्नता छ । यो पनि आदर्श र स्वभिमानको चिन्ह हो ।
मन त आफ्नै परिवेशमा हराउने गर्छ
मन्दिर पुग्ने लाग्दा बाटो बिराउने गर्छ ।
(‘मन त आफ्नै’ गीतको स्थायी अंश)
+++
जिन्दगीभर दौडें तर कतै पुगिन
शायद झुक्नुपर्ने ठाउँमा कहिल्यै झुकिन ।
(‘जिन्दगीभर दौडें तर’ गीतको स्थायी अंश)
+++
छोडी जानेलाई पनि छोड्न सकिन
बैरीसित पनि नाता तोड्न सकिन ।
(‘छोडी जानेलाई पनि’ गीतको स्थायी अंश)
गीतकार अस्तित्ववादी भएर गीतमा पोखिएका छन् । उनले आफ्नो अस्तित्व, जीवनको अर्थको गीतहरुमा खोजी गरेका छन् ।
कसले देख्ला फूलै फूलले बनाएको घाउ मेरो
तिमीले किनार पुर्याएर डुबाएको नाउ मेरो ।
(‘कसले देख्ला फूलै’ गीतको स्थायी अंश)
+++
मृत्युसित हैन अचेल जीवनसित डराउँदैछु
आफन्तकै बीचमा पनि हितैषीलाई हराउँदैछु ।
(‘मृत्युसित हैन अचेल’ गीतको स्थायी अंश)
गीतकारले यथार्थवादी धारलाई पक्रेका छन् । लक्षणायुक्त काव्यभावमा पनि उनले जीवनको यथार्थलाई नै उभ्याइदिएका छन् ।
लाग्छ लासभन्दा पहिले जल्छ जिन्दगी
पिरतीको प्रहारले ढल्छ जिन्दगी ।
(‘लाग्छ लासभन्दा’ गीतको स्थायी अंश)
+++
यौटा बत्ती निभ्यो राती सम्पूर्ण अँध्यारो भो
यस्तो बेला विष पनि अमृतभन्दा पियारो भो ।
(‘यौटा वत्ती निभ्यो’ गीतको स्थायी अंश)
गीतकार अरुझैं कहिलकाहिं निराश र उदास हुन्छन् । किनभने संसारलाई माया गर्ने मानिस बढी दुखी हुन्छ । उनले जीवनमा उज्यालो देख्दा जति आनन्द अनुभूत गरे अँध्यारोमा भने त्यसको ठीक विपरित आत्तिएको महसूस गरेको देखिन्छ । यो उनको भाव पाश्चात्य दर्शनको विसङ्गतवादको नजिक जान खोजेको देखिन्छ ।
कतै पातमा झर्ने गर्छौ कतै फूलमा फुल्ने गर्छौ
धेरै जसो तिमीले दिएको आश्वासनलाई भुल्ने गर्छौ ।
(‘कतै पातमा झर्ने गर्छौ’ गीतको स्थायी अंश)
+++
ऐना हेर्छु मुस्कान सुहाएको मुहार देख्दिन
खोला तरी सकें तर किनार देख्दिन ।
(‘ऐना हेर्छु मुस्कान’ गीतको स्थायी अंश)
+++
नदीमा आफ्नै स्वप्नसित डराउन पर्ने भइरहेछ
आफैले बनाएको बाटो पनि बिराउन पर्ने भइरहेछ ।
(‘नदीमा आफ्नै स्वप्नसित’ गीतको स्थायी अंश)
गीतकार कहिलेकाहीं कविका रुपमा पनि झलक्क झुल्किए जस्तो लाग्छ । कविले समाजका समसामयिक विसङ्गतिलाई गीतको माध्यमबाट पनि कति आकर्षक ढङ्गले व्यङ्ग्यात्मक बिम्बहरुमा उभ्याउन सक्दो रहेछ भन्ने दृष्टान्त हुन्, माथिका तीन गीतका स्थायी अंशहरु ।
लामो लामो रातपछि बल्ल आ’ को प्रात
बादलले छोपीहाल्यो गर्जनको साथ ।
(‘लामो लामो रातपछि’ गीतको स्थायी अंश)
प्रस्तुत गीतले गीतकारभित्र राजनीतिक तथा सामाजिक असन्तुष्टि पनि प्रकट गरेको छ । देशमा आएको प्रजातन्त्रले जनतालाई सुख, शान्तिको अनुभूति दिने उज्यालो प्रकाश छोप्ने बादललाई हटाउन चाहन्छन् । उनीभित्र कता कता मिहिन प्रगतिवादी स्वर पनि सुनिन्छ । आख्यानकार परशु प्रधानले माथि तृषितको विद्रोही व्यक्तित्वप्रति गरिएको इशारा सायद यो हुनसक्छ ।
मैसंग मिल्दोजुल्दो सहिछाप लिएर आयौ
हजार अर्थ लाग्ने चुपचाप भएर आयौ ।
(‘मैसंग मिल्दोजुल्दो’ गीतको स्थायी अंश)
+++
सबैभन्दा भारी लाग्छ आफ्नै मनको किताब
हरेक पेजमा गन्नै गाह्रो घाउ घाउको हिसाब ।
(‘सबैभन्दा भारी लाग्छ’ गीतको स्थायी अंश)
माथिका दुई गीतको अंशहरुले पाठकलाई एकछिन चुपचाप भएर सोच्न लगाउँछ । मानिसको मौनताको विभिन्न अर्थ छन् । मानिस सन्तुष्ट वा असन्तुष्ट भएर चुप बस्न सक्छ । खिन्नता वा विद्रोहमा पनि मानिस एकछिन चुप हुन सक्छ । मानिस अन्यायको मारमा परेर वा असक्त भएर पनि बोल्न नसक्ने हुन्छ । यसरी चुपचापको अर्थ हजारौं हुन्छन् । यसैले त गीतकारको मौनताबीच उनको जीवनको घात प्रतिघातको हिसाब किताब खोज्न पाठक लालायित हुन्छन् ।
मानिस हो धेरैको मन यौटा बनाउने
ढुङ्गालाई पूजा गर्दै द्यौता बनाउने ।
(‘मानिस हो धेरैको’ गीतको स्थायी अंश)
गीतकार तृषितले मनलाई सदा केन्द्रमा राखेका छन् । उनी यही मनले नै मानिसलाई जोड्न र एक बनाउन सक्छ किनभने मानिसले विश्वासको आधारमा निर्जीव ढुङ्गालाई पनि पुज्ने गर्दछ । उनको यो ज्ञान जीवन र जगतको पक्षमा छ । यसले पाठकलाई संवेदशशील हुन अभिप्रेरित गर्दछ । मानवतावादी चिन्तनको स्वर पनि उनको गीतका सुन्दर र सबल पक्ष हुन् ।
रुवाबासी केही नहोस् चुपचाप मर्न देऊ
जिन्दगीको हिसाब गर्दै बेहिसाब मर्न देऊ ।
(‘रुवाबासी नहोस् केही’ गीतको स्थायी अंश)
प्रस्तुत गीतमा स्रष्टाले लोक परलोकको कल्पना गर्दै आफूलाई आफैले सम्हाल्ने प्रयत्न गर्न खोजेको जस्तो देखिन्छ । उनी थप हस्तक्षेप चाहन्नन् वा शान्ति खोज्छन् । उनी पेशाले चिकित्सक कैंयौं मृत्युलाई आफ्नै सामु देखेका छन् अनगिन्ति आफन्तका रुवाई र क्रन्दन प्रत्यक्ष आत्मसात गरेका छन् । उनले यो जीवन के हो पनि बुझेका छन् । त्यसैले सबैलाई सान्त्वनाको भावमा जीवन मृत्युलाई लिन आग्रह गर्दछन् ।
(च) विश्लेषण
गीत अन्तर्मनको आलाप–विलाप हो । कविताले अभिव्यक्त हुन्छु भनेर संकेत दिन्छ तर गीतले त्यो संकेत पनि नदिई पहिले ओठमा सल्बलाउँछ । पुस्तकको भूमिकामा उल्लेख गरे अनुसार आफूलाई फ्रायडबादी चिन्तनको नजिक देख्ने गीतकार तृषितलाई महात्मा गान्धीले प्रेमभन्दा ठूलो वस्तु संसारमा अरु कुनै छैन भन्ने उक्तिले प्रभावित पारेको देखिन्छ । कृतिको भूमिकाको भावार्थमा उनी आफूलाई सगर्व प्रेमका पूजारी भन्दछन् । संक्षेपमा उनको सरल परिचय यही हो । उनको कृतिले पनि उनको नामकै वरिपरि परिक्रमा गरेको देखिन्छ । तर पूर्वीय र पाश्चात्य दर्शनले स्रष्टाभन्दा पनि सिर्जनालाई महत्व दिन्छ । सिर्जना के हो कस्तो हो ? यो कत्तिको उपयोगी छ ? भनेर सिद्धान्तका विभिन्न कोण र कसीहरुले घोटेर निरीक्षण र निरुपण गर्ने गर्दछ ।
पाश्चात्य दर्शनका आधारमा ‘मनदेखि मनसम्म’ कृतिलाई स्वच्छन्दवादी, यथार्थवादी र अस्तित्वादी स्वरहरु मुखरित भएको कृतिको रुपमा लिन सकिन्छ । सर्जकले सिर्जनालाई उनीभित्र फ्रायडवादी चिन्तनको प्रभावस्वरुप दमित भावनको प्रकटिकरण हो भनेर गीतलाई चिनाउन खोजे पनि यति मात्र यो पक्कै होइन । एड्लरको साहित्यसम्बन्धी सिद्धान्त अनुसार चेतन मनमा अवस्थित अहम् स्थापनार्थ प्रकट हुने श्रेष्ठतम् भावलाई साहित्य सिर्जनाको मूल श्रोत भनिए जस्तै उनीभित्रको अहम् स्थापनार्थ पनि गीतहरु सिर्जना भएका छन् । त्यति मात्र हैन मनोवादी युङ्गका अनुसार सामुहिक अचेतन मनको उद्घाटन नै साहित्य सिर्जना हो भने जस्तै उनका गीतमा सामुहिक अचेतनका स्वरहरु पनि उद्घाटित भएका छन् ।
पूर्वीय दर्शनको दृष्टिमा कृतिको समालोचना आचार्य मम्मटद्वारा प्रतिपादित मत काव्य–प्रयोजन आकर्षित हुन्छ । मतानुसार यश र अर्थ मूलतः कृतिकारका वैयक्तिक प्राप्ति हुन् । अन्य काव्य प्रयोजनमैं साहित्यका मूलभूल प्रयोजनहरु झल्किन्छन् । साहित्यिक प्रयोजनमा व्यवहार ज्ञान, शिवेतर क्षति, सद्यःपरनिर्वत्ति र कान्तासम्मित उपदेश आदि पर्दछन् । तृषितको यस कृतिमा व्यवहारिक ज्ञानको कमी देखापरेको छ । दोस्रो शिवेतर क्षतितर्फ हेर्दा यदाकदा आदर्शवादको चर्चा उनको कृतिमा देखापर्दछ । मानवतावाद र रोमान्टिक सन्दर्भमा उनी सचेत स्रष्टाका रुपमा उभिएका छन् । काव्य प्रयोजनको तेस्रो पक्ष छ सद्य–परनिर्वृति अर्थात् रमणीयताको सन्चार । यसमा तृषितको कृति अब्बल रुपमा उभिएको छ अर्थात् पाठकलाई आनन्द दिन कृति सक्षम छ । अन्तिम काव्य–प्रयोजन कान्तसम्मित उपदेश अर्थात् आदर्शको उपस्थापनमा कृति निक्खर आदर्शवादी र मानवतावादी रङ्मा नदेखिए पनि ती रङ्ग वा स्वरको उपस्थिति कृतिमा पाइन्छ ।
(छ) कृतिको शक्ति र सीमा
गीतसङ्ग्रह स्वच्छन्दवादी धारमा यथार्थवादी भएर सुन्दर र कलात्मक शैलीमा बगेको पाइन्छ । काव्यको केन्द्रीय विषयवस्तुमा प्रेम, मन, जीवन र मृत्यु रहेका छन् । जीवन र जगतका विसङ्गतिविरुद्ध तृषितका अस्तित्ववादी स्वर गीतमा प्रकट भएका छन् । अतियथार्थवादीझैं स्वप्न, अर्धजाग्रम, विभ्रमको अवस्थाको खोजी उनले गरेका छैनन् ।
(ज) उपसंहार
गीतकार तृषित यथार्थवादी धरातलमा उभिएर रोमाण्टिक भूमरीमा बहँदै आकर्षक विम्बका अलङ्कारले युक्त भावपूर्ण काव्यचेतनाले मुटु छुने रचना गर्न सिपालु कलाकार र गीतकार हुन् । उनी अतियथथार्थवादी भएर स्वप्न, विभ्रम, अर्धजाग्रम अवस्था आदिको खोजमा नभौंतारिकनै पनि पाठकलाई आकर्षित गर्न गीतहरुमार्फत् सक्षम र सफल छन् । उनी जीवनप्रति सकारात्मक र इमान्दार छन् । जीवन र मृत्युको चिन्ता गर्छन् अर्थात् जीवनलाई माया गर्छन् । उनी प्रेमका गीत लेखेर वा गाएर कहिल्यै नथाक्ने गायक हुन् । तापनि, जीवन र जगतलाई उपयोगी हुने स्वाद पस्कन उनी चुकेका छैनन् । तृषितका गीतिभावले पाठकको मनमा पक्कै एउटा मीठो स्वाद छाड्छ–छाड्छ, यति म ठोकेरै भन्न सक्छु ।

सन्दर्भ सामग्री
राममान तृषित, मनदेखि मनसम्म, काठमाडौं ः वाशु शशी स्मृति परिषद्, २०६५ ।