विवाहोत्सवमा सृजनात्मक अभिनन्दन ग्रन्थ

Sharing is Caring

(कृती परिचय तथा समीक्षा)
– डा. नवराज सुब्बा

(क) पृष्ठभूमि
मेरो हातमा जब यो ‘विजय/पार्वती खरेल स्वर्ण विवाह उत्सव विशेष पुष्पाञ्जली’ कृति पर्यो तब मैले सोचें कृतिभित्र वैवाहिक जीवनका तीतामीठा अनुभूति, अन्तरङ्ग समेत समेटिएका सामग्री संग्रहित होलान् । अब म यो सामग्री मेरी श्रीमातिका साथ पढ्नेछु, मनमा सोचें । घरमा आएर पुस्तक हेर्दै गएँ यो त साहित्यकार विजय खरेलका विशुद्ध साहित्यिक यात्राका समीक्षा र समालोचना र साहित्यिक सामग्री संग्रहित अभिनन्दन ग्रन्थ पो रहेछ ।

(ख) कृति तथा नायक परिचय
झापाली साहित्यकार विजय खरेल र धर्मपत्नी पार्वती खरेलको स्वर्ण विवाह उत्सवमा पुष्पाञ्जली शिर्षकको अभिनन्दन ग्रन्थ २०७४ साल फागुन २६ गते प्रकाशित भएको छ । साहित्यकार चुडामणि रेग्मी सल्लाहकार रहेको सम्पादक मण्डलमा अन्य साहित्यकारहरु कृष्ण सुवेदी निराकार, देवीचरण भण्डारी र खगिन्द्रा खुशी रहेका छन् । पुस्तकलाई बालकृष्ण शर्मा तथा आयोजक परिवारले प्रकाशनमा ल्याएको हो । आफ्नी माइज्यू पार्वती खरेललाई सहयोग स्वरुप आफूले प्रकाशन गरेको प्रकाशकीयमा शर्माले उल्लेख गरेका छन् । पुस्तक परिचय, भूमिकामा ८ पेज र सामग्रीमा १४४ पेज गरी ग्रन्थमा जम्मा १५२ पृष्ठ छन् । पुस्तकको मूल्यमा ‘अमूल्य उपहार’ उल्लेखित छ ।

सम्पादकीय शिर्षकमा सम्पादक मण्डलले साहित्यकार विजय खरेलको संक्षिप्त साहित्यिक परिचय दिएको छ । उनका वि.स. २०६४ साल देखि हालसम्म काव्य विधाका ५ र निवन्ध विधाका ३ गरि ८ कृतीहरु प्रकाशित छन् । उनका साहित्यिक विशेषता औंल्याउँदै उनीभित्र तीनओटा गुण रहेको बताइन्छ । पहिलो हो, उनी झर्रो नेपालीका अनुयायी हुन् । उनी साहित्यमा झर्रो लेखनको प्रयोग गर्दछन् । दोस्रो हो, उनी लोकप्रियता मन पराउँदैनन् अर्थात् प्रचारबाजी गर्दैनन् । र तेस्रो हो, उनको वैचारिक पक्ष समाजमा रहेको विकृति, विसंगति, कुरीति, कुसंस्कार, अन्धविश्वास विरुद्ध सुस्पष्ट र दृढताका साथ उभिन्छन् । सम्पादकीयमा भनिएको छ, निरन्तर कलम चलाउने स्रष्टाहरुको विशेषाङ्क, अभिनन्दन ग्रन्थ जस्ता कृति प्रकाशित गर्दा उहाँहरुको लेखन कार्यमा उर्जा थपिने भएकाले दम्पतिको ५० औं वैवाहिक वर्ष उत्सवको अवसर पारेर अभिनन्दनले सम्मान गरिएको हो । पार्वती खरेल साहित्यलाई माया गर्ने, साहित्यकारलाई सम्मान गर्ने, हौसला र उर्जा थप्ने गर्ने हुनुहुन्छ । उहाँको यही विशेषताले गर्द ‘जुही’ मार्फत् प्रश्रित प्रतिष्ठान नेपालले उनलाई पुरस्कृत र सम्मानित गरेको सम्पादकीयमा उल्लेख छ ।

(ग) ग्रन्थभित्र चियाइ हेर्दा
अब ग्रन्थभित्र प्रवेश गरौं । मैले चिनेका विजय खरेल’ मा प्रा.डा. जीवेन्द्र देव गिरीले खरेलसितको झापामा भएको भेटघाटको प्रसंग उल्लेख गरेका छन् । उनले कवि खरेल किसान र श्रमिकका पक्षमा बोलेको कविताको अंश उदृत गर्दछन्–
श्रमिक र किसानको आएन है पालो
चर्को घाम दर्के पानी शिरमाथि नाम्लो
कुकुच्चामा धाँजा फाटे हातिभरि ठेला
आफैं ब्यूँझी नखोसेमा कसले न्याय देला ।।
(किसानको गीत २ कविता, विजयका कविताहरु, २०६९, पृ १३६)
यसरी कवि खरेलको प्रगतिवादी कविता लेखक गिरीले मन पराएका छन् । उनी भन्छन्– जिन्दगीका जतिसुकै विघ्नबाधा तस्र्याउन खोजे पनि अविचलित रुपमा विजय खरेलका पाइला अघि बढीरहेका छन् । व्यवहारिक जीवन र सामाजिक दायित्वका अभिभारा बहन गर्दै सक्रिय जीवन बिताइरहेको उनले उल्लेख गरेका छन् ।
यसैगरि ‘बाटुली पत्रकाव्यमा सम्भाव्य सुखद भविश्यको परिकल्पना’ मा प्रा.डा. कपिल लामिछाने खरेलको ‘वाटुली’ (२०६६) लाई विचारप्रधान विज्ञानकाव्य बताउँछन् ।
गाउँ त तिमी हामीले छोडेजस्तै
साँच्चै युवा विहीन भएछ । (वाटुली, पृ. ४७)
+++
सँधै अरुकै बारीमा फलेको ज्ञान चपाएर
आफूलाई विद्वताका देवर्षि ठानिरहेछौ । (वाटुली, पृ. ५६)
यसरी उनको कवितामा गाउँको यथार्थवादी चित्रण छ भने अर्को कवितामा विद्रोही स्वर देखिने जीवनको अर्थ खोज्ने अस्तित्ववादी स्वर उठेको छ ।

‘मेरा संकलनमा विजय खरेलका केही समीक्षा’ शिर्षकको लेखमा साहित्यकार चुडामणि रेग्मी ‘जुही’ का पुराना अङ्कहरुमा खरेललाई नियाल्छन् । झर्रो भाषाप्रेमी, रहनसहन, बोलीवचन र लेखनको हिसावले खरेल झर्रावादी नै भएको उनी ठहर्याउँछन् । उनले प्रष्ट भाखामा खरेललाई प्रगतिशील विचारका कवि र निवन्धकार मानेका छन् । उनको सिर्जनामा रागात्मकता टाँस्सिएकै हुन्छ भन्ने ठम्याई रेग्मीको छ ।
‘मैले जानेका विजय खरेल’ शिर्षकको एक संस्मरणात्मक लेखमा साहित्यकार पुण्य खरेलले आफू २०३८ सालमा ताप्लेजुङबाट झर्दादेखिका दुःखसुःखका पलहरु सम्झँदै आफ्नो प्रस्तुतिमा बडो मार्मिक ढङ्गले साहित्यकार खरेलको अनगिन्ति प्रसङ्ग जोडेका छन् । उनी अन्तमा साहित्यकार खरेल दम्पत्तिलाई सम्झाउने शैलीमा विनम्र भावमा लेख्छन्– ‘दुःख त आफैले झेल्ने हो, हाँसे पनि रोए पनि त्यो त छँदैछ । त्यसकारण हाँसेर नै जीवनलाई बढाउँदा सहज हुन्छ नि त ।’ पुण्य खरेलले विजय खरेललाई गरेको आग्रह हामी समस्त पाठकलाई पनि काम लाग्छ ।
‘विजय खरेल : समग्र’ शिर्षकमा साहित्यकार होम सुबेदी खरेलको समग्र विधागत संलग्नताको परिचय सविस्तारमा दिएका छन् । उनले विजय खरेलको कवि व्यक्तित्व, कथाकार, निवन्धकार, नाटककार, सम्पादक व्यक्तित्वको समष्टिगत स्वरुप लेखमा प्रकट गरिदिएका छन् । उक्त लेख विजय खरेलको समग्र व्यक्तित्वको चिनारी दिन सक्षम छ ।

पार्वती खरेलको बारेमा लेख छ, सत्यारुपा पुरीको । ‘पार्वती दिदीको कथाको व्यथामा’ पुरीले पार्वती खरेलको प्रसंग जोड्दै उहाँले २०७१ साल साउन १६ गते गुमाएको छोरोलाई सम्झेका छन् । यसरी पुत्रशोकमा परेकी पार्वतीको मार्मिक चित्रण लेखिका पुरीले संस्मरणात्मक लेखमा गरेकी छन् । ‘कति रोउँ म’ काव्यमा विजयको पुत्रशोकको तीव्र अभिव्यक्तीलाई लक्ष्मी पौडेलले लेखमा समीक्षा गरेकी छन् । यसैगरि खरेल दम्पतिसंग साक्षात्कार शिर्षकमा कल्पना ओलीले खरेल दम्पतिको अन्तर्वार्ता लिएकी छन् । विजयले साहित्यिक तथा पार्वतीले पारिवारिक चर्चा गरेका छन् । पार्वतीजीले आफ्ना पति विजयप्रति अत्यन्त अनुगृहित भएको र उहाँले गर्दा नै आफू पुरस्कृत भएको जनाएकी छन् ।

यसैगरि ग्रन्थमा अन्य पनि धेरै लेखकका रचना छापिएका छन् । धेरै रचना गद्यात्मक छन् भने केही रचना पद्यात्मक छन् । कोमलप्रसाद पोखरेलको ‘विजय नाम साकार देखियो’ (पृ.५३), तेराखको ‘काकरभिट्टा र विजय खरेल (पृ. ५४), नवराज घिमिरेको ‘विजय खरेलका कवितालाई ताला खोल्ने प्वालबाट चियाउँदा’, विजय खरेलको ‘सुगन्धको खेती’, कृष्ण सुबेदी निराकारको ‘मनमा राख्दा नदुखाउने र आँखामा नबिझाउने विजय दम्पति’(पृ.७४), लता खरेलको ‘सम्झनाको तरेलीभित्र विजय खरेल’(पृ.८१), खगिन्द्रा खुशीले लिएको अन्तर्वार्ता (पृ.८६), आरती पोख्रेलको ‘विजय खरेल र पार्वती खरेल’ (पृ.९४), डिल्लीराम नेपालको ‘पारंगत कलमका वीरलाई सलाम’ (पृ.९६), डा. ठाकुरप्रसाद पोख्रेलको ‘वाटुली काव्यमा नारी चेतना’ (पृ.९७), देवीचरण भण्डारीको ‘दम्पत्तिबारे केही सम्झना’ (पृ.१०७), विरही अधिकारीको ‘कवितामा विजय खरेल’ (पृ.१११), गीत भण्डारीको ‘विजय खरेल र उनका काव्य’ (पृ.११२), तीर्थराज चापागाईको ‘विजय खरेको कथा गन्तव्य’ (पृ.११६), पर्शुराम तिम्सिनाको ‘पीडाभित्र छट्पटिएका दम्पत्ति’ (पृ.११८), हरिप्रसाद न्यौपानेको ‘शुभेच्छा विजय दाइमा’ (पृ.१२१), खेमराज दाहालको ‘वाटुली पत्रकाव्यमा विजय खरेल’ (पृ.१२३), हेम अधिकारीको ‘ईन्द्रकिलका विजय’ (पृ.१२५), केन्द्रप्रसाद भट्टराईको ‘विजय र पार्वती खरेलको रेडियो अन्तर्वार्ता’ (पृ.१२८), राजेन्द्र चापागाईको ‘मैले चिनेका विजय खरेल’ (पृ.१३२), राजेन्द्र संग्रौलाको ‘आँखीझ्यालबाट हेर्दा विजय’ (पृ.१३५), जयन्ती खरेलको ‘ऐनामा हेर्छु, आमालाई देख्छु’ (पृ.१४०) र शुभद्रा भट्टराईको ‘प्रेरक व्यक्तित्व विजय’ संग्रहित छन् ।

(घ) विश्लेषण
आजकल साहित्यकारलाई अभिनन्दन गर्ने अस्वस्थ लहर र रहर जागेको छ । कतिपय परिघटना देख्दा, ठिकै हो गर्नु पर्नेलाई गरियो जस्तो हुन्छ, भने कतिपय अभिनन्दन हतारोमा, चाकरीमा गरिएको अपरिपक्व रहर जस्तो देखिन्छ । साहित्यकार र संस्थाहरुको फाईफुट्टि देख्दा के जाति गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो स्थिति छ । यस कुरामा यो अभिनन्दन र ग्रन्थलाई अलग र संगै राखेर हेर्दा उचीत पात्रलाई स्वभाविक सम्मान गरिएको देखिन्छ । साहित्यकार विजय खरेलको साहित्यिक योगदानको मूल्याङ्कन साहित्यिक सामग्री मार्फत प्रमाणस्वरुप पेश गर्दै सम्मान गरिएको र अभिनन्दित भनिएको देखिन्छ । यसमा सम्मानको केवल उच्च भाव प्रकटीकरण भएको छ । यो एउटा आकर्षक वैज्ञानिक विधि पनि हो । स्रष्टा अभिनन्दित किन र कसरी भएका हुन् भनेर अभिनन्दन ग्रन्थ स्वयम् बोल्न खोजेको छ । बिना तामझाम भद्र र शालीन उत्सव पुस्तकले मनाइएको छ । यो साहित्यकार विजय खरेलको उपलब्धी मात्र होइन सल्लाहकार, सम्पादक मण्डलको सफलता पनि हो ।

पाश्चात्य दर्शनका अनुसार साहित्यको सिर्जना अनुकरणवृत्ति र सामाञ्जस्यको माध्यमबाट हुन्छ । यही सिद्धान्तको आधारमा यो ग्रन्थ हेरिसक्दा मैले यसबाट केही कुरा सिकें । म पनि अब कृतिको आवृत्तिको अनुकरण गदै केही आफ्ना मौलिकता घोलेर सामाञ्जस्य गर्दै साहित्य सिर्जना गर्नलाई मेरो आँखा यसले खोलिदिएको छ । पुस्तकको अग्रपृष्ठमा साहित्यकारकी अर्धाङ्गिनीको तस्वीरसित स्रष्टा स्वयम्को तस्वीर नारेर राखिएको छ, परिवारजन तथा पूज्यपितृलाई सम्मान र संस्मरण तस्वीरमार्फत गरिएको छ, विवाहको पचास वर्षसंग तादात्म्य राख्ने कुनै सामग्रीको आग्रह पुस्तकको शिर्षकले गरेको थियो । ग्रन्थले प्रस्तुतिमा विवाहलाई गौण र उत्सवलाई साहित्यकार खरेलको सम्मान वा अभिनन्दनमा केन्द्रीत गरेको महसुस भयो । पार्वती खरेलको योगदान उद्घाटित गर्ने सामग्री अलि कम भयो कि भनेर अलिकति खोट देखाउनै परे त्यत्ति मात्रै हो ।

(ङ) उपसंहार
साहित्यकार विजय खरेल आठओटा कृति मार्फत साहित्य जगतलाई यथेष्ठ सेवा गरेका एक सक्रिय स्रष्टा हुन् । उनले साहित्यका गद्य, पद्यका विविध विधामा कलम चलाए, भाषामा मौलिकता जोगाउन अघि सरे, समाजका निर्धोको पक्ष लिए, अन्याय अत्याचारविरुद्ध कलम चलाए । प्रचारबाजी मन नपराउने विशिष्ठ चरित्रका साहित्यकार विजय खरेल सम्मानयोग्य पात्र हुन् । जसलाई झापाले अभिनन्दन ग्रन्थमार्फत् शालीन र अर्थपूर्ण सम्मान गरेको छ । खरेल दम्पत्तिलाई जेठो छोराको पुत्रशोकमा लागेको घाउमा मल्हम लगाउन साहित्यिक मन अघि सरेका छन् । म पनि तिनै साहित्यिक मनहरु बीच आफूलाई उभ्याउँदै, भोका, नाङ्गा र निर्धाहरुका आवाज बोक्न अल्छि गर्ने साहित्यकारहरुलाई झक्झकाउन खरेलको बाँकी साहित्यिक यात्रा थप उर्जाशील रहोस् । सुखद दाम्पत्य जीवनको शुभकामना ।