नवराजदाईको मनको मझेरी पढ्दा (पुस्तकसमीक्षा) राजेन्द्र चुडाल

साहित्यमा ख्याति कमाइ सक्नु भएका दाई नवराज सुब्बाले मलाई बाल्यकालको साथी सम्झेर मनको मझेरी पठाइदिनु भएको रहेछ । म एक सामान्य नागरिक साहित्यमा त्यति ज्ञान छैन तैपनि बाल्यकालका साथी नवराजदाईले लेखेको मनको मझेरी पढ्दा हामी जन्मी हुर्केको ताप्लेजुङको हाङपाङ छेउछाउ सहज तरिकाले पुगे जस्तै लाग्यो ।

बास्तवमा दाईका बीसवटा निबन्धले बीसैखालका विषयहरूलाई सहज तरिकाले अभिव्यक्त गरेका छन् । दाइ प्रशासनिक क्षेत्रमा कार्यरत व्यक्ति त्यसैले गर्दा देशका बिभिन्न स्थानमा कामको सिलशिलामा पुग्दाका अनुभव आफू सानो छँदाको विगतको स्मरण, विगतको र वर्तमानको देशको अवस्था जस्ताकोतस्तै अभिव्यक्त गर्न सफल छन् यी निबन्धहरू ।

मलाई बाल्यकालको केही कुरा गर्न मन लाग्यो । म भन्दा धेरै अन्तरले जेठो नभएता पनि उमेरको हिसाबले दाई नै हुनुहुन्छ । हामी सँगै खेल्ने, सँगै पढ्ने त्यसबखत घनिष्ट मित्रको रूपमा थियौं हामी । जातका हिसाबले म क्षेत्रीबाहुन सम्प्रदायको दाई लिम्बू सम्प्रदायको तर हामी बीचमा जातीय भेदभाव थिएन । त्यसैले गर्दा पनि हामीबीच घनिष्टता आजसम्म पनि उत्तिकै जीवित छ । दाई सोझो स्वभावको हुनुहुन्थ्यो म केही चतुरे थिएँ । त्यसैले होला गाउँघरमा हामी दुइलाई काग र कोइली जस्तै बाठा छन् यी केटाहरू । यी केटाहरूले भविश्यमा केही गर्न सक्नेछन् भन्थे । वास्तवमैं नवराज दाई प्रशासन क्षेत्रमा असल प्रशासक भएर विकट गाउँको शानको रूपमा स्थापित भइसक्नु भएको छ । म पनि प्रहरी फोर्सको नायव निरीषकसम्म भई गाउँको नामसम्म बचाउन सकें तर सोचे अनुरुप सफल भने ठान्दिन ।

बालापन झल्कने खालका निबन्धहरूमा नवराज दाईले ‘श्रद्धाञ्जली एउटी लिम्बूनीलाई’ मार्फत आफ्नो बालापन जुन स्कुले जीवन सुरुवातको समयमा खेल्दा स्कुल नजिकै जोडिएर रहेको लिम्बुनी बूढीको घरबारीमा भकुण्डो खस्दा लिन जान नसक्ने अवस्था वास्तवमा ती आमैले बाँच्नका लागि गरेको संघर्ष रहेछ, किनभने केटाकेटीहरूले बालीनाली कुल्चँदा के खाने – बाली मासियो भने अन्य केही सहारा थिएन । त्यसैले गर्दा बूढीआमैले हामीहरूलाई बारीमा भकुण्डो झर्दा लिन गए कुट्न आउँदिरैछिन्, यो उनको बाँच्नको लागि संघर्ष रहेछ भन्ने अभिव्यक्ति दिएर बाल्यकालको स्पष्ट झल्को दिनुभएको छ ।

‘आमाका रूपहरू’ मार्फ् नवराज दाईले आफू सानो छँदा आमालाई जानी जानी अत्याउने, दुःख दिने गर्दा पनि आमालै आफूले सकेसम्म सन्तानका लागि दिलोज्यान दिएर सहयोग सेवा गर्नु भनेको आमाहरू सन्तानप्रति एकदम बफादार हुन्छन् तर सन्तानले आमाप्रति त्यस्तै इमान्दारिता व्यक्त गर्छन् त ! भन्ने कुरा उठाउन सफल हुनुभएको छ ।

‘जन्तरेसरको टक्करी ट्वाक’ मार्फत आफू सानो छँदा शिक्षकले पढ्नका लागि टक्करी ट्वाक हान्दा साह्रै रीस उठ्थ्यो । तर त्यो सब आफ्नै लागि रहेछ । अहिले त्यसको फायदा लिँदा चाल पाइएको अभिव्यक्ति दिएर बालापन र बयस्क हुँदाको सोचको अन्तर प्रष्ट्याइएको निबन्ध हो ।

समग्रमा भन्दा सबै निबन्धहरूले उठाएका विषयहरू अत्यन्तै सकारात्मक तथा अत्यावश्यक ज्ञानयुक्त छन् । हुन त साहित्य बुझने म विज्ञ हैन, तर सहपाठी दाई नवराज सुब्बाबारे केही कुरा नलेखि नसक्दा जानेबुझेसम्म अभिव्यक्त गरेको हुँ । कुनै अन्यथा त गरिन होला जस्तो लाग्छ । बाँकी पाठकमा सुम्पन चाहन्छु । अस्तु ।

साभारः बरुण साप्ताहिक वर्ष१०, अंक ४४, जेठ १३, २०६५, पृ. ५

Leave a Reply