सहिद सत्ता र स्वार्थ विरुद्ध

Sharing is Caring

डा. नवराज सुब्बा॥

आज हामीले उपभोग गरेका स्वतन्त्रता, नागरिक हक र अधिकार त्यसै पाएका होइनौं । विभिन्न बन्धनबाट मुक्ति पाउन, मानव अधिकार स्थापित गर्नका लागि विश्वका जनता हिजो निरङ्कुश शासनविरुद्ध लडेका थिए । कालखण्डमा मानवोचित अधिकार प्राप्तिको लागि भएका अभियानमा धेरै मानिस सहिद भएका छन् । वीर मानिस मात्र देशको प्राकृतिक, सामाजिक, सांस्कृतिक उन्नयन खातिर निरन्तर स्वस्फूर्त लड्दछन् । सहिद त्यो हो जसले लोकहितमा बिना स्वार्थ आफूलाई समर्पित गर्दछ ।

नेपालमा पनि जहानीया शासन विरुद्ध सहिदले जीवन बलिदान दिए । फलस्वरुप हामीले जहानीया राणा शासनबाट छुटकारा पायौं । देशभित्र र बाहिर उर्लेका स्वतन्त्रता तथा मानव अधिकार आन्दोलनका प्रकाशमा नेपालमा भएका राजनीतिक परिवर्तनमार्फत् प्रजा नागरिक भएका हुन् । अतः ज्ञात, अज्ञात सहिदलाई सम्झेर इतिहासप्रति कृतज्ञता जनाउन कहिल्यै नभुलौं ।

हाम्रो देश नेपालमा प्रथम राणा प्रधानमंत्री जंगबहादुर राणाले आफूविरुद्ध प्रचारप्रसार गरेको अभियोगमा वि. स. १९३३ फागुन २० गते लखन थापा मगरलाई मनकामना मन्दिर नजिकैको जङ्गलमा रुखमा झुन्ड्याएर सहिद बनाइदिए । स्वतन्त्रताको मूल्यखातिर राणाविरुद्ध लखन थापा मगरले विद्रोह गरे । उनी राणा निरङ्कुशताविरुद्ध जीवन बलिदान दिएर सहिद बने । राणाविरुद्ध यो पहिलो बलिदान थियो ।

राणा शासक नेपाललाई आफ्नो बपौती ठान्दन्थे । राणा शासनको अत्याचार उत्कर्षमा थियो । वि.स. १९९७ मा निरङ्कुश राणा सरकारले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई काठमाडौं टेकु पचलीमा रुखमा झुन्ड्याएर, गोली हानेर सहिद बनायो । नेपाली प्रजातान्त्रिक आन्दोलनमा चारजना वीर सपूतहरुले ज्यान बलिदान दिए । उनीहरु अमर सहिद बने ।

राणाहरुले शाह राजालाई पनि चङ्गुलमा परेका थिए । यही क्रममा राजा त्रिभुवन भागेर भारतको शरणमा परे । उनी सपरिवार भारतीय राजदूतावासमार्फत् भारतको नयाँ दिल्लीमा पुगे । राजा त्रिभुवन, राणा परिवार र प्रजातन्त्रिक शक्तिबीचमा भारतले दिल्लीमा राजनीतिक सन्धि गरायो । फलस्वरुप, राणा नै प्रधानमंत्री बने तापनि राणाले हडपेको राजाको शक्ति फिर्ता गरियो । राजा त्रिभुवन राजगद्दिमा पुनः आसिन भए । यसरी नेपालमा २००७ सालको प्रजातन्त्र आएको घोषणा भयो । आज हामी यही घटनालाई प्रजातन्त्र दिवसको रुपमा मनाइरहेका छौं । यद्यपि यसलाई धोखापूर्ण दिल्ली सम्झौता मान्ने बामपन्थी राजनीतिक दलहरु पनि नेपालमा छन् ।

जेहोस्, राजा त्रिभुवन नेपालका राष्ट्रपिता बने । राणाले पछिल्लो कालमा सहिद बनाएका चारजनालाई सहिद घोषणा गरिए । यही सन्देश दिन काठमाडौं टुँुडखेलमा सहिदगेट बन्यो । जहाँ राजा त्रिभुवन र चार सहिदको प्रतिमा राखियो । त्यहाँ राणाविरुद्ध जंगबहादुरकै पालामा लडेका प्रथम सहिद लखन थापा मगरलाई स्थान दिइएन ।

सत्ताले सहिदमाथि खेलवाड गर्ने गरेको छ । देशमा राणा शासन समाप्त भएको औपचारिक घोषणा गरिए तापनि वास्तवमा नेपालको शासन प्रणालीमा राणाहरुको प्रभाव कायम छ । त्यसैले आफ्नाविरुद्ध लागेका प्रथम सहिद लखन थापा मगरलाई श्री ५ को सरकारले २००७ सालपछि तत्काल सम्मान नगर्नुमा राणा शासन सकिएपछि पनि राणा प्रभाव मान्न सकिन्छ । उनलाई वि.स. २०५६ मा मात्र नेपालको पहिलो सहिद घोषणा गरियो ।

लखन थापा मगर आदिवासीका प्रतिनिधि पात्र पनि हुन् । जंगबहादुरले जालझेल गरी सत्ता लिएको, सत्ता पाएपछि अंग्रेजसित हेलमेल गरेर देश बेचेको, सन् १८५४ को मुलुकी ऐनले जनजातिलाई तल्लो जातमा राखेको, राज्यले छुवाछुत र भेदभाव बढावा गर्ने खालका नियम कानून ल्याएको, शिक्षाको अवसरबाट जनतालाई बञ्चित राखे । त्यही अत्याचारका विरुद्धमा लखन थापा मगरले साहसिक कदम चाले । जंगबहादुरलाई सत्ताच्यूच गर्न मगरले मनकामना गढमा मानिस संगठित गरे । उनले वि.स. १९३२ मा चेतनाको दियो बालेर राँके जुलुस निकाले । यसरी सत्ताविरुद्ध शङ्खघोष गरे । अत्याचारी राणाशासनले उनलाई वि.स. १९३३ मा सहिद बनायो । देशको मुहार फेर्ने सपना बोकेका लखन थापा मगरले ज्यान उत्सर्ग गरिदिए ।

शाहकालीन निरङ्कुश राणाशासनले सामाजिक भेदभाव बढायो । राणाशासनले आदिवासीका भाषा लिपि र संस्कृतिलाई माथि पनि दमन गर्‍यो । तत्कालीन सत्ताले पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी लिम्बूका भाषा र लिपिमाथि नियन्त्रण गर्‍यो । भाषा र लिपिमार्फत जातीय एकता गरेर राज्यविप्लव गर्लान् भन्ने त्रास शाह र राणा शासकले पालेका थिए । यही क्रममा गोरखा राज्य विस्तार गरेपछि तत्कालीन गोरखाली शासकले वि.स. १८४५ मा तेअङ्सी सिङ (सेन) थेबेलाई चैनपुरबाट लखेटिदियो । लिम्बू भाषा, लिपि तथा संस्कृति प्रचारप्रसार गरेको आरोपमा थेबेलाई गोरखाली शासकले देश निकाला गरिदियो ।

ज्यान जोगाउन थेबे त्यहाँबाट सिक्किम भागे । उनले त्यहाँ पनि लिम्बू भाषा, लिपि सिकाउने कामलाई निरन्तरता दिए । त्यसबेला सिक्किममा बौद्ध धर्मावलम्बी शासकले अन्य भाषा, लिपि र संस्कृतिको उपस्थिति सहेनन् । लिम्बू भाषा र लिपिको प्रचारले बौद्ध परम्परामा असर पर्ने ठानेर त्यहाँका लामाहरुले तेअङ्सी सिङ (सेन) थेबेको अमानवीय तवरले हत्या गरिदिए । यसरी तेअङ्सी सिङ (सेन) थेबे लिम्बू भाषा र लिपिका निम्ति जीवन बलिदान गर्ने वीर सहिद बने । यद्यपि, नेपाल सरकारले उनलाई चिनेको छैन । नेपालको संविधान २०७२ अनुसार नेपालमा बोलिने मातृभाषा नेपाली भाषा भए । यद्यपि मूलधारको नेपाली खस भाषा साहित्य जगतले नेपालकै अर्को राष्ट्र भाषा किरात लिम्बू भाषाका सहिद थेबेको सोधखोज गर्ने औचित्य देखेको छैन ।

नेपाल एकीकरण वा गोरखा विस्तार भएपछि पराजित आदिवासी लिम्बू भाषा र संस्कृतिलाई उसैको रैथाने भूमिमा प्राकृतिक रुपमा हुर्कन, बढ्न दिइएन । लिम्बू भाषा र लिपिलाई नेपालमा मात्र हैन लिम्बू बहुल क्षेत्र रहेको सिक्किम, दार्जिलिङमा समेत राणामैत्री अंग्रेज शासनले बन्देज गरिदियो । भित्रभित्रै भाषा, लिपि प्रयोग गरेको थाहा पाएमा जासुस लगाएर उसको खेदो खन्ने, लखेट्ने वा हत्या गरिदिने जस्ता जघन्य काम त्यसबेलाका शासकले गर्ने गर्दथे भनी बूढापाका सुनाउँछन् । त्यही डर, त्रासले गर्दा आफ्नो ज्यान जोगाउन आफ्नो परम्परागत भाषा र लिपि त्याग्नु परेको ब्यथा–वृत्तान्त बृद्ध किरात लिम्बू सुनाउने गर्दथे । परिणामस्वरुप आज किरात लिम्बू भाषा साहित्यको घिडघिडो मात्र रहेको नाजुक अवस्था छ । धेरै किरात लिम्बू भाषा साहित्यका पुस्तक, पाण्डुलिपि तत्कालिन शासकले जफत गरेर जलाइदिएको गुनासो किरात लिम्बूको छ । यसर्थ, मानव संस्कृति, भाषा साहित्यको इतिहास खोतल्दा होस् वा आदिवासीका मन चियाएर हेर्दा अत्याचारी शासकका अनुहार काला मोसोले पोतिएका छन् ।

सहिदको बलिदानीले नै नेपालको राजनीतिक स्वरुप र संरचना फेरिएको हो । नेपालमा लोकतान्त्रिक संघीय गणतन्त्र आएपछि आदिवासीका भाषा, लिपि र संस्कृतिले स्वास फेर्न पाएका छन् । आज नेपालका आदिवासीले आफ्ना दुःख गुनासो लेख्न, पोख्न वा भन्न पाएका छन् । आज पालिकास्तरमा मातृभाषा पढाउने चलन चलेको छ । मातृभाषा र लिपिको संरक्षण र विकासमा विभिन्न जाति जागरुक बनेका छन् । पाठ्यक्रम, पाठ्यपुस्तक, सहित विद्यालयमा पढाई संचालनमा आएका छन् । अब महाविद्यालय, विश्वविद्यालयका सपना आदिवासीले देख्न थालेका छन् । यसलाई पक्कै सकारात्मक मान्नुपर्दछ । सहिदको सपनास्वरुप यो अवस्था हामीले उपहार पाएका हौं ।

नेपालको इतिहासमा सत्ता र स्वार्थीतत्वले सामाजिक क्षेत्रमा आदिवासीलाई मात्र तारो बनाएन । महिलालाई सधैं दोस्रो दर्जामा राखेर शोषण गर्‍यो । तत्कालीन समयमा बालविवाह, बहुविवाह, सतिप्रथाले महिलालाई वस्तुसरह तुल्यायो । नारी अस्मितालाई लामो कालसम्म बलात्कार गरिरह्यो । पूर्वी नेपालमा व्याप्त अन्याय अत्याचार तथा सामाजिक कुरीति र कुसंस्कारबिरुद्ध भोजपुरमा जन्मेकी योगमाया न्यौपानेले सामाजिक विद्रोह गरिन् । वि.स. १९९८ सालमा उनी लगायत ६७ जना महिलाले सामुहिक रुपमा कोशी नदीमा जलसमाधि लिए । उनीहरुले महिला अत्याचारविरुद्ध जीवन बलिदान दिए । यसरी पूर्वी पहाडी जिल्लामा महिलाहरुले एक साहसिक सामाजिक क्रान्तिको सूत्रपात गरे । फलस्वरुप रुढीग्रस्त समाजविरुद्ध सामाजिक आन्दोलनले उग्र बन्यो । नारीहरुको त्यो जीवनउत्सर्गबाट प्राप्त भावनात्मक बलले समाज रुपान्तरणमा बल पुग्यो । उक्त बलिदानी सन्देशले सामाजिक एकता निर्माण भयो, जसले अन्ततः राणाशासन ढल्यो । यसरी सहिदका बलिदानले मात्र समाजमा व्याप्त कुरीति र कुसंस्कारका पर्खाल भत्किए ।

राजनीतिक तथा सामाजिक क्षेत्रमा मात्र नभएर वातावरण संरक्षणको क्षेत्रमा पनि नेपालमा सहिद जन्मिएका छन् । नेपालको वनजङ्गल नदीनालाका साधनस्रोतलाई दोहन गरेर वातावरणलाई विनास गर्न पल्केका नाफाखोरविरुद्ध लड्दा आफ्नो ज्यान बलिदान दिने वीर नेपाली सपूत यो धरतीमा जन्म लिए । मिथिला नगरपालिका वडा न. ५ का दिलिप (ओमप्रकाश) महतोले चुरेदोहन रोक्न भगिरथ प्रयत्न गरे । फलस्वरुप नदीजन्य स्रोतदोहनमा लिप्त समूहले २०७६ सालमा दिलिप महतोको ज्यान लियो । चुरे क्षेत्रमा बग्ने नदीजन्य प्राकृतिक स्रोतदोहनमा लिप्त नाफाखोरले उनलाई डोजरले कुल्चेर कायरतापूर्वक क्रूर हत्या गर्‍यो । वातावरण संरक्षण तथा चुरेदोहन नियन्त्रण अभियानमा महतोले आफ्नो अमूल्य जीवन बलिदान दिए । यसरी दिलिप (ओमप्रकाश) महतो नेपालको वातावरण संरक्षण अभियानको पहिलो सहिद बने ।

दिलिप महतोलाई सत्ताले सहिद घोषणा गर्न कन्जुस्याई गरे तापनि इतिहासले उनको योगदान बिर्सन्दैन । समयमा त्यसको मूल्याङ्कन हुनेछ । हामी आशावादी भएर जीवन र जगतलाई हेरौं । जहिले पनि सत्ता र स्वार्थी तत्वले बहुसंख्यक सहिदको रगत बिनामूल्य पिउँछन् । समय वलवान छ, त्यो आउँछ । इतिहासले अलिखित सहिदको हिसाबकिताब राखेको हुन्छ ।

आज सहिद दिवसको दिन । राजनीतिक तथा सामाजिक क्षेत्रमा बिरलै उदाउने त्यस्ता वीर सपूतप्रति आज सहिद दिवसको प्रातःकालमा स्मरण गर्दै शिर झुकाएर नमन गर्दछु । महान सहिदहरुको सपना साकार होस् । जय सहिद ।