एक्काइशौं शताब्दीको चाहनाः नेपाल सम्बतको सान्दर्भिकता

Sharing is Caring

डा. नवराज सुब्बा ~

तिहारमा नेवार समुदायमा म्हपूजाका दिन नेपाल नववर्ष पनि मनाइन्छ । यसपालि वि..स. २०७८ कार्तिक १९ गते तथा सन् २०२१ नोवेम्वर ५ मा यो नेपाल नववर्ष ११४२ आरम्भ भएको छ । आजभन्दा करिव एकहजार एक सयवर्षअघि शंखध्वर साख्वाले उपत्यका आम गरिव दुःखीको ऋण तिरिदिएर ऋणमुक्त गरिदिएको सम्झनामा यो नेपाल सम्बतको चलेको थियो ।

उनको त्यो महत्वपूर्ण समाजोपयोगी योगदानलाई चिरस्थायी बनाइराख्न जनस्तरबाट चलाइएको नेपाल सम्बतको यो बाह्रौं शताब्दी हो । शंखधर पक्कै एक ढनाढ्य नागरिक थिए । उनीजस्ता कैंयौं ढनाढ्य अरु पनि थिए होलान् । आज उनीभन्दा ढनाढ्य मानिसको संसारमा कमी छैन । तर उनले गरिब मानिसको दुरावस्था देखेर आफ्नो धन बाँडिदिए । यस्तो दुर्लभ काम जहाँसुकै, जहिलेसुकै गरिदैन । आफ्नो व्यक्तिगत सम्पत्ति गरिव दुःखीलाई बाँडिदिनु चानचुने कुरो थिएन र होइन पनि । यस परिघटनाको अर्थ केवल धनसम्पत्ति बाँड्नुमा मात्र सीमित छैन । त्यो कार्य गर्नलाई मनमा चाहिने बलियो मानवीय भावना अहम् कुरा हो । यसबाट हुनेखानेले आफूसित भएको स्रोतसाधन गरिबदुःखीको उद्धारमा खर्च गर्दैजानु पर्दछ तब मात्र शान्ति सम्भव हुन्छ भन्ने सन्देश मिलेको छ ।

आज संसारमा जति पनि सम्बत् चलेका छन् ती या त राजाको नाममा, सत्ता वा शक्तिको तापमा तथा धर्म प्रवर्तकको नाममा चलाइएका छन् । जनस्तरबाट उठेको र जनस्तरमा चलेको नेपाल सम्बत नै हो । यसलाई नेपाल सरकारले मान्यता पनि दिएको छ तर सरकारी कामकाजमा प्रयोगमा अझै आउन सकेको छैन । कमसेकम सरकारी कागजपत्रमा नेपाल सम्बतमा समेत मिति लेखियोस् भन्ने जनताको आकांक्षा छ ।
हामी नेपाली जाति शक्तिका पूजारी हौं । हामी लामो समय राजाद्वारा शासित प्रजा पनि हौं । राजाको चलाएका सम्बत्लाई हामी महान र सहज ठान्दछौं । त्यसलाई कसैले अन्यथा भनेमा यसलाई धर्म र संस्कृतिसित जोड्न पछि पर्दैनौं । सामान्य विषयलाई हामी जानीजानी थप जटिल बनाउँछौं । नेपाल सम्बतको विरोध गर्नेको तर्क सुन्दा यस्तो लाग्दछ, मानौं हामी आफ्नै माटोमा उम्रेको अन्न र फलभन्दा बाहिरबाट ल्याएको खाना स्वादिलो मान्न पल्केका रहेछौं । नेपालको मौलिकता भन्दा हिन्दुस्तानी संस्कृतिप्रति हाम्रो झुकाव र प्रभाव रहेको छ ।

नेपाल जस्तो बहुसांस्कृतिक मुलुकमा हामी एक अर्काका सांस्कृतिक निधिलाई आत्मसात वा सम्मान गर्न तयार रहनु पर्दछ । संस्कृति र जनभावनालाई केवल राजनीति र रणनीतिक लाठीमुङ्ग्राले हिर्काउने तथा केवल सत्ता र स्वार्थ समूहको चाहनालाई उच्च ठान्ने प्रवृत्ति स्वमम्मा भने अत्यन्त स्तरहीन शैली हो । हामी एकातिर भारतभन्दा भिन्न संस्कृति र भाषा भएका नेपाली जाति भनेर थाक्दैनौं, अर्कातिर उही भारतसंग सम्बन्धित तर त्यहाँ पनि नचलेको विक्रम सम्बतलाई स्वयम् आफ्नो भूमिको नेपाल सम्बत्भन्दा महान देख्दछौं । भारत भूमिबाट नेपाल पुर्खा आएकाले भन्ने नाता जोड्न खोजेको हो भने त्यो भन्दा अघि त हामी सबैका पुर्खा अफ्रिका वा मेसोपोटेमिया, टर्की, अरब, इरान, इराकबाट आएका थिए । उनीहरु सबैले मान्ने सम्बत् ईस्वी सम्बतलाई नै माने भएगयो नि ! होइन हामीलाई हाम्रो स्वतन्त्र देशको स्वतन्त्र नागरिकले चलाएको सम्बतमा गौरव लाग्छ भने शंखधरले चलाएको सम्बत्लाई प्राथमिकता दिनु तर्कसम्मत ठहर्छ । हाल ईस्वी सम्बत्को हालिमुहाली छ, यसैले यो चलाउनु जति आवश्यक, व्यवहारिक छ यसमा उत्तिकै मात्रामा दासत्व पनि जकडिएको कुरा खुलागोप्य छ । जे भए पनि विक्रम सम्बत वा इस्वी सम्बतलाई भारतवर्ष र विश्व मानचित्रसित सम्बन्धित छन् । अतः नेपालको नक्सासित कुनै सम्बत् तुलना गरिहेर्दा नेपाल सम्बतलाई नदेख्नु दोषी चश्माको कारण हो ।

नेपाल सम्बत्ले नेपाल राष्ट्रको अस्तित्व बोकेको कुरा अब सबैले मनन गर्न जरुरी भएको छ । नेपालले स्वतन्त्र देशको रुपमा संयुक्त राष्छ« संघमा आवेदन गर्दा धेरै देशले यो भारतको एक प्रान्त ठान्दथे । किनभने मुद्रा, भाषा, लिपि, सम्बत् नेपाल र भारतका एकै थिए । त्यसैले त्यसबेला भारत र सोभियत संघले नेपालले संयुक्त राष्ट्र संघमा सदस्यता हासिल गर्नमा अवरोध गरे । यसमा भारतको विशेष चासो पनि रहेको सर्वविदितै छ । हुन पनि कुनै अलग देश बन्नलाई चाहिने अलग भाषा, संस्कृति, लिपि, सम्बत् आदि तत्कालीन नेपालले देखाउन सकेन । बेलायत र अमेरिकाको पहलमा काठमाडौं उपत्यकाका रैथाने नेपाल भाषा।, रञ्जना लिपि तथा नेपाल सम्बत्लाई नेपालको मौलिक विशेषता मानेर सोही आधारमा संयुक्त राष्ट्रमा आवेदन दिएपछि मात्र नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो ।

यही कारण पञ्चायत कालसम्म पनि म्हपूजा, नेपाल सम्बतको दिन नेपालले संयुक्त राष्ट्र संघ दिवस मनाउने गर्दथ्यो । जब दरबारमा रञ्जनराज खनाल आदिले प्रवेश भयो, त्यसपछि उनीहरुले यो चलन हटाए भनी मल्ल के सुन्दरले आज कार्तिक १९ गते एपी–वान टेलिभिजनको विहानको अन्तर्वार्तामा बताउनु भयो । देशलाई अन्तराष्ट्रिय जगतमा उभ्याउने नेपाल भाषा, नेपाल सम्बत् र रञ्जना लिपिप्रति पञ्चायत व्यवस्थाको पालमा नीति निर्माण तहमा नश्लवादी सोंच भएका मानिसको प्रभावमा परेपछि कृतध्न व्यवहार गर्यो । आज नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तन आए पनि उही पन्चायतकालीन सोच र शैली बोकेका नोकरशाही तथा नश्लवादी चिन्तनका राजनीतिक नेतृत्वले गर्दा नेपाल भाषा, नेपाल सम्बत् र रञ्जना लिपि हेर्ने राज्यको दृष्टिकोणमा खासै परिवर्तन आएको छैन ।

दुनियाँलाई थाहा छ, काठमाडौं उपत्यकालाई उहिले नेपाल भनिन्थ्यो । यही नेपाल नाम आज समग्र राष्ट्रको नाम बनेको छ । नेपालमा बोलिने सबै रैथाने भाषा नेपाली भाषा भए । खस भाषा सम्पर्क भाषा बन्यो । यसरी नेपाल भाषा, लिपी र सम्बत्ले राज्यवाट लामो कालदेखि आफ्नै माटोमा सौतेनी व्यवहार सहनु परेको छ । काठमाडौंलाई राजधानी मान्ने, विभिन्न जिल्लाबाट गएर त्यहाँ घरबार बसाल्ने अनि त्यही भूमिका सुपुत्रलाई नसम्झेर हिन्दुस्तानका राजालाई मान्यता दिँदा रैथाने मन र संस्कृति कति दुख्ला, एकपल्ट सोचौं । देशको अस्तित्व राख्न महत्वपूर्ण औजार बनेका नेपाल भाषा, नेपाल सम्बत्, रञ्जना लिपि संस्कृतिका जस्ता धरोहरलाई आज लात हान्नु भनेको, जुन थालमा खानु उही थालमा चुठ्नु होइन र !

हाम्रो राजधानी काठमाडौं उपत्यकामा जन्मेका जनताका छोराले देवदूतझैं गरेको पराक्रमको आज इतिहास साक्षी छ । तैपनि हामी उनलाई सम्मान गर्न नेपाल सम्बत चलाउन किन सङ्कुचित छौं । के हामी साच्ची कै स्वार्थी भएनौं र ! जब शंखधरलाई सम्झन्छौं भोली अरु पनि शंखधर जन्मने सन्देश जीवन र जगतभरि फैलन्छ । यसले मानिसको आँखा खोलिदिन्छ । वास्तवमा हामीले परिवर्तन खोजेका होउँ भने इतिहासका गुणात्मक पक्षको जगेर्ना गरौं । नेपाल सम्बत्को विशेषता, महिमा परिवर्तित समयको चाहना अनुसारको छ । यो राजाभन्दा जनताकेन्द्रीत छ, शासकभन्दा शासितकेन्द्रीत छ । गरिबलाई माया गर्नुपर्दछ भन्ने सन्देश छ ।

यसरी एक्काइशौं शताब्दीको अग्रगामी सोंचका लागि यो नेपाल सम्बत् सोही गौरवमय भूमिमा बस्ने जनताको लाीग एक प्रेरणा बन्न सक्दछ । अतः नेपाल सम्बतको महिमा, महत्व र सान्दर्भिकतालाई बद्लिँदो परिप्रेक्षमा सकारात्मक भएर सोचौं । नतिजा पनि अवश्य सकारात्मक नै आउने छ ।