सकारात्मकवाद

Sharing is Caring

डा. नवराज सुब्बा~

पछि फर्केर हेर्दा, तेह्रौँ शताब्दीपूर्व मानिसको चेतना स्तर ईश्वरमा केन्द्रित थियो । उसबेला सबै कुराको कारण उही ईश्वरलाई मानिन्थ्यो । सम्भवतः डर, त्रासबाट बच्न जिज्ञासाको उत्तर दिन साथै समाजलाई सदाचार बनाउन उक्त दर्शन र मार्ग मानिसले अपनाए होलान् । तेह्रौँ शताब्दीदेखि अठारौँ शताब्दीका मानिसको चेतनास्तर अलि माथि उठेको देखिन्छ । त्यसबेला उनीहरुले जीवन र जगतलाई बुझ्न नसकिने क्लिष्ट बनाए । सबैलाई ईश्वरको अस्तित्व जँचेन तापनि ईश्वरको सट्टा मानिसले कुनै अलौकिक शक्तिमा आस्था थाले । समाजका पुरोहित वर्गले समाजको अमूर्त ढङ्गले भावना मिसाएर जिज्ञासा मेट्ने प्रयास गरे । जसको लागि उनीहरुले साहित्यको सहारा लिए । फलस्वरुप त्यसैबेला सामाजिक चिन्तन बढेकाले कालजयी साहित्यिक कृति रचना भए । उन्नाइसौँ शताब्दीमा आएर मानिसले अब साहित्यका काल्पनिक कुरामा पनि चित्त बुझाउन छाडे । उनीहरुलाई तथ्य र प्रमाणले बुझिने कुरा मात्र विश्वास गर्न थाले जसलाई सकारात्मकवाद (Positivism) भनिन्छ (Michel, 2018) । यसरी वैज्ञानिक युग आरम्भ भयो ।

इतिहासकार एलेन डेयल डेनियल भन्नुहन्छ– “मानिस अझै द्वैध चरित्रका छन् । मानिस कहिले तार्किक र पारदर्शी कुरा गर्ने गर्छन् तर कहिले अविवेकी र अपारदर्शी व्यवहारसमेत गर्ने गर्दछन् । विषयगत रुपमा विज्ञान, इञ्जिनियरिङ, अर्थशास्त्रमा मानिस करिब ८० प्रतिशत मानिस तर्कपूर्ण र पारदर्शी कुरा गर्ने गर्दछन् । धर्म, राजनीति, सामाजिक अन्तरक्रिया, दर्शन र कानुनका क्षेत्रमा ८० प्रतिशत मानिस विवेकहीन र अपारदर्शी व्यवहार देखाउँछन्” (Daniel, 2010) । विद्वान लेखकको लामो अनुभवको उक्त निचोड मननीय छ । कुन कुन क्षेत्रमा हामी कस्ता सोंच राख्छौं वा व्यवहार गर्दछौँ त्यसको ऐना देखाउने काम लेखकले गरिदिएका छन् ।

हिजोका रक्तरञ्जित काला दिनलाई राजाका वीरताका फूलबुट्टा भरेका इतिहास पढेर हामी रोमाञ्चित हुन्छौँ । भावनामा अतीत जति मीठो लाग्छन् । वास्तवमा समग्र अतीत मीठोभन्दा तीतो बढी थियो । आधुनिक युगको उदय त्यत्ति सजिलै भएको होइन । कैयौँ वीर र सोझा मानिसको बलिदान र योगदानले बर्बरता, दासप्रथा, सतीप्रथा जस्ता काला दिन अन्त्य भए । लाखौँ मानिसका बलिदानले हासिल भएको स्वतन्त्रता, मानवअधिकार जस्ता उज्याला मानव चेतनाको अभ्युदय र विकास धेरै लामो कालखण्डमा मात्र सम्भव भएका हुन् । आज मानिसमा राजनीतिक सत्ता मात्र होइन ईश्वरीय सत्तालाई समेत चुनौती दिने आत्मबल पलाएको छ । अब कसैले पनि ईश्वरको नाममा अन्याय अत्याचार गर्न पाउँदैनन् । अब मानव जाति त्यस्ता अँध्यारा रातलाई फर्कन नदिन सचेत भएका छन् । यद्यपि युगलाई पछाडि धकेल्ने शक्ति विद्यमान छन् ।

आजको युगमा आफूलाई ईश्वरद्वारा शासित भएको दास मनोवृत्ति र संस्कृतिमा विश्वास गर्ने हो भने हामी एक्काइसौँ शताब्दीमा रहेको बेकार छ । वैज्ञानिक दृष्टिकोणले सोच्ने, खोज्ने र अघि बढ्ने प्रयत्न नगरे अब हामी पछि पर्नेछौँ । जीव विकाससम्बन्धी डार्विनको सिद्धान्त अनुरुप वातावरणमा अनुकूलित हुने वा प्रतिस्पर्धामा उत्रेर जित्नेको मात्र बाँच्ने सम्भवना रहन्छ (Darwin, 1836-42) । प्रतिस्पर्धामा जित्ने भनेको हिजो जस्तो धनुकाँण हान्न वीर वा संस्कृतिलिप्त भएर होइन आधुनिक युगअनुसारको वैज्ञानिक दृष्टिकोण, धारणा सोच र शैलीको विकास गर्नुपर्दछ ।

हुन त हामीमा पुर्खाका दिन वा अतीत सम्झेर वर्तमानमा अति रोमाञ्चित हुने बानी छ । सम्भवतः बाल्यकालमा रोमाञ्चक दन्त्यकथा सुनेर परेको प्रभावले त्यसो भएको हुनसक्छ । खासगरी हिन्दू धर्मशास्त्रले उहिले सत्य युग राम्रो थियो, हाम्रा पुर्खा महान् थिए भन्ने पूर्वाग्रह दिमाग र समाजमा लादेको छ । तर मानवशास्त्रले प्रागैतिहासकाल भन्दा वर्तमानकालमा समग्र मानव जनजीवन सहज हुँदै गएको देखाउँछ । ती धार्मिक ग्रन्थ र दन्त्यकथालाई अब वैज्ञानिक दृष्टिकोणले पुनःव्याख्या गर्न जरूरी भएको छ । लोकसाहित्यको सही ढङ्गले अध्ययन, विश्लेषण र संश्लेषण गर्नुपर्दछ भन्ने मेरो मान्यता छ ।

कल्पना र भावनामा बुनिएका र फष्टाएका लोकसाहित्यको मर्म बुझ्नुपर्दछ (EssaysUK, 2018) । मुन्धुम या वेदलाई मात्र होइन लेखिएका सबै इतिहासलाई आँखा चिम्लेर मान्न सकिन्न । कुनै पनि ज्ञानको आधार र पृष्ठभूमि तथ्य र प्रमाणमा आधारित हुनुपर्दछ । भ्रमको तथ्य र तथ्यको सत्य खुट्याउनु शोधको ध्येय हो । भनिन्छ, सत्यनिकट पुग्नु शिव (सत्य) दर्शन हो, यही नै अध्ययनको ध्येय पनि हो ।

आधुनिक मानिसको उद्भव आजभन्दा करिब २००,००० वर्षअघि अफ्रिकामा भयो (Wang, Li, Sun et al., 2012) । आजभन्दा ७०,००० वर्षअघि मानव चेतनाको विकास भयो । आजभन्दा ५०,००० वर्षअघि मानिसले सुँगुरको चित्र गुफका भित्तामा कुँदे । इण्डोनेसियाका आदिवासीको उक्त हस्तचिन्ह नै मानव चेतनाको आदि चिन्ह मानिन्छ । त्यसपछि ३०,०० अघि युरोपमा भेटिएका मानव निर्मित हातको हत्केलाको चित्र पनि आदि मानव चेतनाका चिन्ह थिए । मानवशास्त्रको भनाइअनुसार १४,००० वर्ष अघि सर्वप्रथम मध्यपूर्वमा मानिसले ईश्वरीय सत्ता वा ईश्वरको अस्तिङ्खवको कल्पना गरेका थिए (Armstrong, 2003) । १२,००० वर्षअघि मानव जातिले कृषि पेसा आरम्भ गरेपछि मानिसको जीवनमा आमूल परिवर्तन आयो । केवल ५०० वर्ष अघिदेखि मात्र मानिसले विज्ञानको विकास गरे । उनीहरुले त्यसपछि हरेक घटनालाई वैज्ञानिक ढङ्गले कारण सोच्न र खोज्न थाले (Harari, 2014) । मानव उद्विकासमा देखापरेका यी चार मुख्य विकासक्रम युगान्तकारी कोशेढुङ्गा हुन् ।

उल्लिखित आधारमा हाम्रा धर्मग्रन्थ, मुन्धुम, वेद, मिथक अधिकतम् ७०,००० वर्षभन्दा अघिका हुन असम्भव छन् । मुन्धुम र वेदमा वर्णित आदिम बताइने विवरणले समाज विकासक्रमको कृषियुगीन मानव पात्रसित तादात्म्यता राख्दछन् । त्यसैले ती पात्र आजभन्दा बढीमा १४ हजार वर्ष अघिका मात्र हुन् । ऋग्वेदको रचना तथा लेखनकाल ईपु १५०० देखि ईपु ५०० सम्म भएको थियो (Sanijit, 2011) । यसकारण सबैभन्दा पुरानो धार्मिक ग्रन्थ पनि आजभन्दा मोटामोटी ३५०० वर्ष भन्दा पुरानो छैन । लेप्मुहाङ मुन्धुम तथा मत्स्य पुराणमा वर्णित मिथक ईशापूर्व ३००० देखि ईशापूर्व २८२० मा घटित भएको हुनसक्छ, बाढी प्रलयकाल मोटामोटी ५००० वर्ष पुराना हुनसक्छन् (Subba, 2019) । अतः आजसम्म पुरानो मानिएको लिखित ग्रन्थ वेद, पुराण आदि बढीमा ६०००–५००० वर्ष पुराना स्मृति हुन् । मुन्धुमको पुराकथा पनि यसकै वरिपरि घुमेको छ ।

सिन्धघाँटी हरप्पा सभ्यता (ईशापूर्व ३३०० देखि ईशापूर्व १७००) कालीन अवशेषमा भेटिएका शिव, पशुपतिको चिन्हले किरात अस्तित्व र पहिचानलाई भारतवर्षमा करिब ६००० वर्ष पुराना जाति बताउँछ । मुजोङ्ना खेयोङना मुन्धुममा वर्णित किरात याक्थुङका पुर्खा बजु (यूमा) ले तान बुनेको मिथकले पनि यूमालाई कृषियुगीन पात्र झल्काउँछ । यूमाको तान बुन्ने कलालाई चीनको सिल्करोडको विकासक्रमसित पनि जोड्न सकिन्छ । किनभने ईशापूर्व १५०० अघि नै मध्यएसियादेखि अरब हुँदै युरोपसम्मको रेसम व्यापारमार्ग खोलिएको थियो (Bullet, 2008) । किरात याक्थुङको भाषा सिचुवानबाट उद्भव भएर भोट-बर्मेली भाषा परिवार नामले लिम्बुवान आएको तथ्य आनुवंशिकी भाषा विज्ञानले बताउँछ (VanDriem, 2005) । अतः हाम्रा मुन्धुम, वेद, लोकआख्यानले मोटामोटी ५-६ हजार वर्ष पुराना स्मृति सम्झेका छन् । हामीले हाम्रा धार्मिक ग्रन्थ, लोकसाहित्य निर्माणको पृष्ठभूमि हेरेर यिनीहरुको विशेषता र सीमा बुझ्न जरूरी हुन्छ ।

(‘किरात लिम्बू संस्कृतिः मानवशास्त्रीय विवेचना’ बाट)