Phalgunanda the Great Master

Sharing is Caring

महागुरु फाल्गुनन्दको जीवन दर्शनको विवेचना

– डा. नवराज सुब्बा

 

The Great Master

Phalgunanda Lingden

कुनै जातिको धर्म उसको संस्कृतिको रुपमा प्रकट हुन्छ (Mulder, 1985) । धार्मिक आस्था जीवन र जगतको ज्ञान, धारणा एवम् संस्कृति बनेर दरसन्तानमा सर्ने गर्दछ (Geertz, 1985) । यसकारण धर्म र संस्कृति एकअर्कामा सम्बन्धित छन् ।

माथिको भनाइबाट के कुरा थाहा हुन्छ भने कुनै पनि धर्म वा संस्कृतिमा आबद्ध मानिसलाई आफूले परिवार वा समुदायबाट हासिल गरेको संस्कृति वा धर्मले पार्ने प्रभावले गर्दा आफूले जानेका वा जान्न खोजेका बाहेक अन्य सत्यतथ्य सुन्ने, खोज्ने केलाउने क्षमतालाई भुत्ते बनाइ दिन्छ । गहन चिन्तन, तर्कवितर्क, शास्त्रार्थ गर्न नसक्दा प्रतिक्रियास्वरुप तनाव, घृणा, आवेश, आक्रमण जस्ता मानवीय स्वभावले समाजमा स्थान पाउँछन् ।

यदाकदा सुनिन्छ, किरात लिम्बू समुदायलाई विषयवस्तुको गहिरो अध्ययन गरेर कुरो बुझाउन कठीन र चुनौतिपूर्ण छ । उदाहरणको लागि फाल्गुनन्दले बलिप्रथा र मदमदिरा निषेध गर्ने, हिंसा नगर्ने जस्ता सादगी जीवनशैलीद्वारा असल चरित्र निर्माणार्थ अर्ती उपदेश दिनु भयो । एक समतामूलक र शान्तिपूर्ण आदर्श समाजको परिकल्पना गर्नुभयो । जुन उपदेश सुन्दा वा पढ्दा अत्यन्त सुन्दर र आकर्षक छन् । यसलाई ठाडै विरोध गर्नु वैज्ञानिक र विवेकसम्मत ठहर्दैन ।

लिम्बूको जातीय जीवनशैलीले महागुरुको उपदेशलाई ब्यवहारमा उतार्न दिदैन । सिकारी युगदेखि साम्बा, फेदाङ्माद्वारा देवतालाई बलि चढाएर पूजाकर्म गर्ने र मांस भक्षण गर्ने बाटो महागुरुको उपदेशले बन्द हुन्छ । झन्झटिलो महङ्गो पूजा कर्म गरेर त्यसको भरपाइ स्वरुप बलि चढाएको पशुपंक्षीको मासुको भुजा गर्ने परिवारजनको स्वाद र स्वार्थ पनि यसले पूरा हुन दिंदैन । साँच्चै महागुरुले भने जस्तो पूजाकर्म गरेमा पूजा संस्कार नीरस, र अनाकर्षक हुँदै क्रमशः लोप हुने संभावना रहन्छ । त्यसैले गरी खाउ भन्ने मान्यता बमोजिम बलिको मासुको साथमा देवताको प्रसाद स्वरुप माद¬कपदार्थ प्रसादको रुपमा ग्रहण गर्ने संस्कृति हटाउन परमात्मा भन्दा पनि आफ्नै स्वादे र स्वार्थी आत्माले नदिएको हो भन्न संकोच मान्नु पर्दैन ।  

आजको किरात लिम्बू समाज एकनासको छैन । हिजो पनि कोही शुभाङ्गी चलाउँथे तर बहुसंख्यक गरिब थिए । आज कोही लाहुर गएर पैसा र सुन ल्याउँछन् तर गाउँघरमा अधिकतर निम्न आयका छन् । किरात लिम्बू समुदायमा हुने खानेले सामाजिक संस्कार जस्तै विवाह, मृत्युसंस्कार जस्ता कार्य गर्दा ज्यादै खर्चिलो र भड्किलो शैलीमा गर्ने गर्दछन् । समाज पनि स्वार्थी छ । फलानाले त्यसरी भोज ख्यायो तैंले नख्वाए तेरोमा आउँदिन भन्ने समाज छ । उसले जस्तो नगरे नहुने भएपछि भएको खेतबारी साहुकोमा बन्धकी राखेर संस्कार कार्य सम्पन्न गर्दा धेरै किरात लिम्बू सुकुम्बासी भएका छन् । कोही आसाम, सिक्किम, भुटान पसे कोही मदेश झरे । केही नलाग्ने किरात लिम्बू अन्य धनि लिम्बूको घरमा वा खस आर्यको अरौटे, भरौटे, हलि बन्न बाध्य भएका छन् । यही संस्कार र शैलीलाई तोड्न महागुरुले उपदेश त दिनु भयो तर स्वार्थी समाज धनीको पक्षमा छ । जतिसुकै राम्रा अर्ती दिए पनि समाज त्यसलाई कुनै आरोप लगाउँछ र त्यसको बोट मास्न खोज्छ । किरात लिम्बू समुदायमा आज त्यही भइरहेको छ ।

नहुनेले जेसुकै गरुन् हुनेले खान्छन् नि त भन्ने समाज छ । मानिसको आफ्नो धनमा आफू खुसी गर्न नपाउँदा, भोग दिने पछि खाने चलन कसैले बन्देज लगाए अप्ठेरो महसुस गर्दछन् । अलि जोरबल गरे विरोध गर्दछन् वा आक्रामक बन्दछन् । यसकारण किरात लिम्बूको जीनसंगै धर्म संस्कृतिको आड़मा आएको अनियन्त्रित मादक पदार्थ सेवन, भोजभतेर तथा अधिक मासु भक्षण जस्ता जीवनशैलीलाई समयानुकूल समीक्षा गरी जनचेतना फैलाउन जरुरी छ । जनचेतनाद्वारा भड्किला र खर्चिला कार्य व्यवस्थित र नियन्त्रित गर्नु पनि पर्दछ । यद्यपि समुदायले यसलाई संस्कृति, धर्म, राजनीतिसित जोडेर हेर्दछ । जेहोस्, संस्कृतिको नाममा विद्यमान सामाजिक कुरीति, कुसंस्कारले गर्दा पनि किरात समुदायको सामाजिक, आर्थिक र बौद्धिक स्तर विकासमा अवरोध खडा गरेको लेखकको ठहर छ । 

महागुरु फाल्गुनन्दको जीवन दर्शन वास्तवमा धार्मिक आवरणमा किरात समुदायमा आएको एक युगान्तकारी सामाजिक, राजनीतिक आन्दोलन हो । यो हुनेखाने वा सुभाङ्गी लिम्बू भन्दा पनि आर्थिक रुपले बिपन्न लिम्बू पक्षलाई मध्यनजरमा राखिएको व्यवस्था हो । थोरै जग्गाजमीन भएका वा जग्गा आफ्नो नभएका आर्थिक निम्न भएका किरातलाई सामाजिक कर्म गर्दा आर्थिक भार कम होस् साहुको ऋणमा डुब्नु नपरोस् भनी विवाह, मरिमराउ जस्ता सामाजिक कर्म कम खर्चिलो गराउने अभियान भनेको समतामूलक अवधारणामा आधारित बन्दोबस्ती हो । यस्ता व्यवस्था समेत समाजमा सबैलाई ग्राह्य हुँदैनन् । यो सामाजिक विडम्बना हो । समाज आडम्बरमा बाँच्न चाहन्छ । 

सुभाङ्गी पाएका लिम्बूको वा आर्थिक रुपमा सम्पन्न, सामाजिक, राजनीतिक रुपमा सक्रिय मानिसको समाजमा दबदबा हुन्छ, जहाँ हुनेखानेकै बोलबाला हुन्छ । फेरि आजकल विदेशी सेनामा गएका लाहुरेको ठाँट र तामझाम बेग्लै छ । लाहुर जानु, तामझाम देखाउनु किरात लिम्बूको आदर्श बनेको छ । सबैजना आफूलाई ठूलो देखाउने होड चलेको छ । यस्ता अनावश्यक खर्च गर्ने प्रतिस्पर्धामा आर्थिक रुपमा कमजोर किरातको बेहाल भएको छ । त्यत्ति पनि खर्च नगरे तेरोमा मलामी वा जन्ति आइन्दैन भनेर समाजले प्रत्यक्ष, अप्रत्यक्ष घुर्की लगाउँछ । यस्तो अवस्थामा गरिब निमुखा किराती घरखेत साहुकोमा बन्धक राखेर भए पनि बाबुआमाको मृत्युकर्म गर्न वा छोराछोरीको विवाह कर्म गर्न बाध्य हुन्छन् । अन्ततः विपन्न किरात मुङ्लान भासिन्छ । नभासिए त्यही समाजमा सीमान्तकृत हालतमा बाँच्न बाध्य बन्छ । यही नियतिलाई महागुरुले बुझ्नु भएको देखिन्छ र त्यसलाई सम्बोधन गर्न अघि सर्नु भएको छ । 

गाउँघरमा शासक थोरै र शासित धेरै हुन्छन् । लिम्बू समुदायमा पनि सुभाङ्गी पाउने एकजना भए उसका घरधुरी धेरै हुन्छन् । किरात लिम्बू समाजमा पनि शोषित नै धेरै हुन्छन् । मुङ्लान भासिन नचाहने किरात गाउँमै बसेमा ज्यादै निम्नस्तरको जीवनशैली बिताउँछन् । कुनै सम्पन्न लिम्बू वा गैरलिम्बूको घरमा गोठाला, भरिया, बनिबुतो गर्दै बस्नुपर्दछ । त्यस्ता घरपरिवारका सदस्यको स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता नै पूरा हुँदैनन् । त्यसैले ती धेरैजसो अकालमा मर्छन्, बाँचेका पनि अशिक्षित हुन्छन् र जीवनभर गरिबीमा पिल्सिन्छन् । तर किरात लिम्बू समाजमा राजनीति सधैं सम्पन्न, अभिजात वर्गकै हातमा भएकाले ती गरिव निमुखा बचाउने उपदेश, विचार र अभियानलाई त्यसै समुदायका अभिजात वर्गले ठूलो स्वरमा लत्याइ दिन्छन् र अनेक लाञ्छना लगाएर समाजलाई सधै धमिलो बनाएर नियन्त्रण आफ्नो पकडमा राख्छन् । राजनीतिले कुनै हाउगुजी खडा गरी दिन्छ । समाजका मुठ्ठीभर टाठाबाठाले बहुसंख्यक शोषित पीडितको टाउको गिन्ति देखाएर आफ्नो राजनीतिक स्थान बनाउँछन् अनि जीवनभर दुनो सोझ्याउने काम गर्दछन् ।

लिम्बू समाज आज अस्तित्व र पहिचानको नाममा निहीत स्वार्थसिद्धि निम्ति राजनीति र रणनीतिमा अल्झेको छ । स्वघोषित नेता र राजनीतिक स्वार्थीतत्वको समय समयमा उदय हुन्छ । उनीहरूले कहिले किरात, लिम्बूवान जातीय राज्य स्थापनाको मीठो सपना देखाएर सोझासाझा किरात लिम्बूलाई आन्दोलित र उद्वेलित पार्दछन् । राजनीतिक खेलमा कहिले किरात, लिम्बूवान त कहिले किरातधर्म, युमाधर्म जस्ता सवाल निकालेर किरात लिम्बू मनमस्तिष्कलाई अस्थिर र अलमल मात्र हैन विभाजित पार्दछन् । ठूल्ठूला राजनीतिक दलमा लाग्नेले पनि जनतालाई गलत आश्वासन, प्रलोभनमा पारेर भोट किन्ने र सत्तामा जाने गर्दछन् । कुनै पनि राजनीतिक दलले वा सरकारले किरात समुदायको कुसंस्कार हटाउन र सामाजिक उत्थानको लागि ठोस काम गर्दैनन् । नेता बन्न पैसा खर्च गर अनि पछि जितेपछि कमाउ भन्ने मन्त्र तिनले मनमा पालेका हुन्छन् । समाज सामन्तवादी सोंचमा जकडिएको अवस्था छ । देशमा जात, धर्मका आधारमा राजनीति चलेको छ । राजनीतिमा अपराधी, काला बजारी, ठेकदार, दलाल, पूजीपतिको हावी छ । नव पूँजीवादले समाज आक्रान्त छ । निम्नस्तरलाई संरक्षण गर्ने काममा कम्यूनिष्ट सरकार पनि चुकेको छ । कुनै समाजवादी कदम सरकारले चालेन । यस्तो देशमा आर्थिक हिसाबले निम्न र मध्यम वर्गलाई खस्न नदिने सत्तेहाङ उपदेश लिएर अघि बढेको अभियानलाई धर्मको बिल्ला भिराएर आफू चोखिन खोज्नु किरात लिम्बूमा रहेको सामन्तवादी सोंच ढाकछोप गर्नु हो ।

किरात लिम्बू राजनीतिले कहिल्यै पनि निमुखा किरात लिम्बूका पक्षमा केही सोचेको वा व्यवस्था गरेको देखिएन । किरात लिम्बू जनतालाई राजनीतिले केवल सत्तामा उक्लने भ¥याङ बनाएको छ । केवल आकर्षक तर भ्रमपूर्ण राजनीतिक नारा जनतामा घन्काइन्छन् । यिनै राजनीतिक दल र नेताले आज किरात र गैरकिरातबिच वा लिम्बू र गैरलिम्बूबिच मात्र हैन किरात किरातबिच, लिम्बू लिम्बूबिच फाटो ल्याएका छन् । धर्मले पनि मानिसलाई समाजमा मिलेर बस्न सिकाउनु पर्नेमा आपसमा घृणा फैलाउने काम गरेको छ । यस्तो धमिलो र अन्धकारपूर्ण किरात लिम्बू राजनीतिक सामाजिक बौद्धिक आकाशमा फाल्गुनन्दको जीवनदर्शन ध्रुवतारा झैं चम्किलो देखिन्छ ।

किरात लिम्बूले मान्ने धर्मबारे चर्चा हुँदा आजकल किरात साम्यो र यूमा साम्यो परस्पर विरोधी ब्याख्या लिएर मैदानमा उत्रेका छन् । किरात साम्यो भनेर केवल सत्तेहाङलाई सीमित पार्दा किरात शब्दको अर्थ सङ्कुचन हुन्छ । धार्मिक, प्राज्ञिक, ऐतिहासिक, जीववैज्ञानिक, पुरातत्व लगायतका साहित्यले स्थापित गरेको किरात शब्दलाई अपहरण र विवाद गर्नु उचित होइन । किरातलाई विभिन्न कालखण्ड र क्षेत्रमा विभिन्न नामले चिनियो, पुकारियो । त्यति लामो कालखण्डमा यसका हजार शत्रु हजार मित्रु भए । कसैले कहिले यिनलाई राम्रो भने वा लेखे भने कहिँ कतै यिनलाई अपमानबोधक नाम पनि दिए होलान् । हामीले इतिहासका राम्रा नराम्रा कुरालाई बिना पूर्वाग्रह स्वीकार गर्न सकिएन भने इतिहासको गहिराइमा पुग्न सकिंदैन । कमसेकम यति हेक्का राखौ कि किरात शब्द लिम्बू मात्रको नभएर अन्य जातिको पनि पहिचान हो । अतः आरम्भको सत्तेहाङ धर्मको नामसितै उक्त मत, पथ, दर्शन अघि बढेमा उचित हुने देखिन्छ ।

जेहोस्, किरात सत्तेहाङ धर्मले किरात लिम्बू भाषा र साहित्यको विकासमा उल्लेख्य भूमिका खेलेको छ । राष्ट्रिय विभूति फाल्गुनन्दले किरात लिम्बू समुदायको इतिहास र गरिमालाई समेत माथि उचालेका छन् । गैरकिरात लिम्बूले पनि स्वीकार गर्ने विचार र दर्शनको प्रादुर्भाव किरात लिम्बू समुदायमा हुनु स्वागतयोग्य कुरो हो । उहाँले देखाएका बाटोमा हिड्न सके सबैको हित हुनेछ ।

आर्थिक रुपमा विपन्न किरात लिम्बूलाई उकास्न लागिपरेका समाज सुधारक सन्त फाल्गुनन्दको धार्मिक भनिएको मत वैचारिक, न्यायिक र सामाजिक आन्दोलनको रुपमा प्रस्तुत भएको छ ।  उद्देश्यमा यो महान मात्र हैनन् अतुलनीय पनि छन् । सामाजिक हलचल र परिवर्तन ल्याउन सफल धार्मिक अभियन्ता महागुरु फाल्गुनन्दलाई नेपाल सरकारले समेत मृत्युपर्यन्त राष्ट्रिय विभूतिको रुपमा सम्मानित गरेको छ । उहाँको त्याग, तपस्या र योगदानलाई इतिहासले सदा सम्झनेछ ।

References:

Geertz, C. (1973). The interpretation of Cultures: Selected Essays, Basic Books, New York.

Mulder, D.C. (1985). ‘Het vak godsdienstwetenskap’, in D.J. Hoens, J.H. Kamstra & D.C. Mulder (eds.), Inleiding tot de studie von godsdiensten, pp. 35-40, J.H. Kok, Kampen.

Sherma, C. K. (1997). MahaGuru PhalguNanda Bare Romanchak Dharmik Sangalo. Panchthar, Dipak Prakash Baskota.

Sherma, C.K. (2000). Kiratka Karma Sanskar Bidhi. Meher Man Lingden, Panchthar.

(प्रकाशोन्मुख “मानवशास्त्रीय दृष्टिमा किरात लिम्बू अस्तित्व” ग्रन्थबाट साभार)