मैवाखोलाले बगाएको दासीको प्रेमकथा

Sharing is Caring

डा. नवराज सुब्बा

परिचयः यो सत्य घटनामा आधारित एक कथा हो । यसलाई नेपालको सामाजिक इतिहास भने पनि हुन्छ । नेपालको सुदूर पूर्वी हिमाली जिल्ला ताप्लेजुङको चाँगे मैवादोभानमा करिव एक शय वर्षअघि यो घटना भएको थियो । तम्बरखोला र मैवाखोलाको दोभान याङमानेमा बसोवास गर्ने एक नेवार परिवारमा घटेको घटना हो यो ।

संस्मरणात्मक लेखको रुपमा घटनालाई प्रस्तुत गर्दैछु । परिघटनाको विश्वसनीयता र आधिकारिकता कायम रहोस् भनी यसका पात्रहरुको परिचय, सन्दर्भ, परिवेश जानकारी दिएको छु। यो लेख सामाजिक अध्ययनार्थ कुनै शिर्षकबाट साभार गरिएको रचना होइन । यद्यपि सामाजिक अध्ययनका विद्यार्थी, अनुसन्धातालाई सघाउने विषयवस्तु हो ।

पृष्ठभूमिः कुनै साहित्यकारका लागि यो घटनाक्रम एउटा प्रेमकथा बनाउन सकिने राम्रो प्लट नै हो । यसमा काल्पनिकता मिसाएर, बिम्व थपेर, अलङ्कारले एक सुन्दर प्रेमकथा बनाउन सकिन्छ । तर मभित्रको अनुसन्धान चेतनाले मलाई त्यसो गर्न दिएन । स्थानीय भूगोल, प्रकृतिक अवस्था, समुदायको अस्तित्व जीवन्त बनाइराख्न घटनाक्रमलाई जस्ताको तस्तै राख्न उचित सम्झें । हुन त यसमा मैले मुख्य पात्रको बिम्व कल्पना गार्दागर्दै केही मात्रामा भावना मिसिन गएको छ । यसमा सचेत हुँदाहुँदै पनि मैले घटनालाई प्रभावकारी बनाउन पाठकलाई साहित्यिक स्वाद पस्केको छु ।

कथाका मुख्य पात्रसित यो लेखकको भेट भएको होइन अर्थात् आफैले देखेको पनि होइन । उनको परिवारसित सम्बन्धित व्यक्तिसित मात्र यो कलमको साक्षात्कार भएको हो । पारिवारिक सन्दर्भमा कुरा चल्दा घटना चाल पाएको हो । यो कुरा मनका कुनामा गाँठो परेर बसेको रहेछ । त्यो घटनासंग जोडिएका परिवार जीवितै छन् । घटना घटेको स्थल पनि उस्तै छ तर कथा हराएको छ ।

औचित्यः दासप्रथा नेपालको इतिहासमा काला अक्षरले कोरिएका छन् । यो एक सामाजिक–आर्थिक कुरीति थियो । यस्तो अँध्यारो दिन हटेको आज धेरै भएको छैन । नेपालमा दासप्रथा हटाउन राज्यले चालेको अन्तिम कदम कम्लहरी प्रथा उन्मुलन थियो । यो प्रथा हटेको आज करिव दुई दशक भयो । आम रुपमा समाजमा चलेको दासप्रथा आजभन्दा करिव एक शय वर्षअघिसम्म व्याप्त थियो । यो कहाँ कुन समुदाय वा परिवारमा कुन रुपमा बसेको थियो भन्ने जानकारी हामीलाई कम छ । अतः पूर्वी नेपालको तम्बरखोला र मैवाखोलाका दोभानमा बसेका एक नेवार परिवारमा करिव एकशय वर्षअघि ब्याप्त दासप्रथाको एक मार्मिक घटनाले मानवतालाई छुनेछ ।

तात्पर्यः आठराई चाँगे मैवादोभानको करिव एक शय वर्षअघिको एक दास दम्पत्तिको मार्मिक सामाजिक इतिहास नमरोस् । मानवताको पाठ सिकाउने उक्त सत्यकथा मैवाखोलाको भल पहिरोमा नबगोस् वा पहिरोमा त्यत्तिकै नपुरिओस् । एक दुर्गम स्थानको सांस्कृतिक विशेषता नमेटिओस् । शिर्षकमा कथा भनिए तापनि मैवादोभानमा घटेको यथार्थपरक सूचना अभिलेखन गर्नु नै प्रस्तुत लेखको मूल तात्पर्य हो ।

विधिः यो जनश्रुति र अनुभवमा आधारित लेख हो । घटनाका प्रत्यक्षदर्शीसंग कुराकानी भएको थियो । उक्त घटनालाई कालान्तरमा थप सामग्रीको आधारमा विश्लेषण गरिएको छ ।

घटनाक्रमः यो घटना पाठकलाई कतै सुनेको वा पढेको कथा जस्तो लाग्न सक्दछ । त्यसैले सर्वप्रथम घटनास्थल र सम्बन्धित परिवारबारे जानकारी दिनेछु । मलाई यो परिघटना सुनाउने पात्रको परिचय दिनेछु । पात्रलाई मनमनै ब्यूँताउँदै छु ।

ताप्लेजुङ जिल्लाको आठराई हाङपाङबाट उत्तरतिर फर्कदा हिमालको फेद हुँदै तम्बरखोला र मैवाखोला बगेको रमाइलो प्राकृतिक छटा देखिन्छ । उत्तरका हिमश्रृङ्खलाबाट बग्दै आएका ती दुई नदी मिसिएको स्थानलाई याङमाने वा मैवादोभान भनिन्छ । यो सुन्दर दृश्य हेर्दा कता कता त्रिशूल आकृतिको झल्को आउँछ ।

मैवादाेभान

त्यहाँ नजिक गएर हेरौं । मैवाखोला दक्षिणपूर्वको भूभागलाई याङमाने भनिन्छ । यो चाँगे गाउँमा पर्दछ । मैवाखोलाउत्तर र तम्बरखोलादक्षिणको समथल भूभागलाई महादेवटार भनिन्छ । महादेवाटारमा पहिले एउटा विशाल शिवालय थियो । शिवालय परिसरमा पाटी, पौवा तथा बगैंचा थिए । त्यसैले त्यो टार महादेवटार नामले प्रसिद्ध भयो । महादेवटारमा टाढाटाढाबाट साधुसन्त आउने गर्दथे । त्यहाँ बसेर आराधना गर्ने गर्दथे । हाल उक्त शिवालय, पाटी, पौवा, बगैंचा भग्नावशेष बनेको छ । अव शिवालय इतिहासको गर्भमा पुगेको छ । धार्मिक स्थल हाल अतिक्रमित भएका छन् । यो ठाउँ अहिले मेरिङदेन खाम्लुङ गाउँमा पर्दछ । जेहोस् यी दुवै स्थान व्यापारिक केन्द्रको रुपमा स्थापित छन् ।

अहिले बताउन लागेको परिघटना आजभन्दा करिव एक शय बीस वर्षअघिको हो । घटना भोग्ने तथा बताउने मेरा ससुराबा हुन् । ससुराली जाँदा मैले थाहा पाएँ कि परिवारभित्र एउटा नमीठो घटनाले परिवारलाई सदा पोल्ने गरेको छ ।

मेरा ससुरा बा स्वर्गीय रामबहादुर श्रेष्ठलाई म अहिले झल्झली सम्झिरहेको छु । उहाँ बाल्यकाल हुँदा घरमा दासदासी राख्ने चलन रहेछ । यही क्रममा मेरा ससुरा बाको परिवारमा पनि एकजना दम्पत्ति दासदासी रहन्थे । बाको भनाइबाट थाहा भयो त्यसबेला ती दासदासीको अवस्था घरमा पालेका गाईवस्तुझैं थियो । उनीहरुलाई घरमालिकले चाहेबमोजिम बेचबिखन गर्ने गरिन्थ्यो । मेरा ससुराबा त्यसबेला चार पाँचवर्षका बालक थिए । उनका अनुसार ती दासदासी आफ्ना घरमालिकलाई आफ्नो दम्पति नछुटाइदिन अनुनयविनय गरिरहन्थे ।

दुर्भाग्यवश, एकदिन घरधनीले नोकरलाई बेचिदिए । आफ्ना दास पतिलाई अन्यत्र बेचिदिएपछि दासी बिलाप गर्न थालिन् । उनलाई निकै दिन कोठामा थुनेर राखियो । भाग्लीन भनेर उनलाई कोठाभित्रै खानेकुरा लगेर दिइन्थ्यो । घरछिमेकका बालबालिका नोकर्नीलाई झ्यालको च्यापबाट चियाएर हेर्ने गर्दथे । यसरी केही दिन बितेपछि नोकर्नीको धैर्यको बाँध टुट्यो । एकदिन उनले आफूलाई झ्यालबाट चियाउनेमध्ये एकजना बालकलाई सुटुक्क नजिकै बोलाइन् । उनको पटुकामा राखेको थैलीबाट एउटा सिक्का देखाउँदै ढोकाको साङ्लो खोलिदिएमा बालकलाई आफ्नो सिक्का दिने प्रलोभन देखाइन् । फलस्वरुप एक बालक (मेरा ससुराबाभन्दा जेठो दाइ)ले दासी थुनेको ढोकाको बाहिरबाट लगाएको साङ्लो सुटुक्कै खोलिदिए ।

यसरी ढोका खोल्नासाथ बालकको हातमा सिक्का थमाएर ती दासी महिला हावाको गतिमा हान्निदै रुँदै कराउँदै मैवाखोलातर्फ दौडिन् । दायाँबायाँ केही नहेरी बिछोड भएका आफ्ना पतिको नाम लिदैं खोलातिर दौडिन् । विक्री गरिएका पतिलाई अब यस जुनीमा भेट्ने उपाय कतै नदेखेपछि दासीले अब बाँच्नुको कुनै अर्थ देखिनन् । उनले तत्काल देहत्याग गर्ने निश्चय गरिन् ।

हेर्दाहेर्दै उनी मैवाखोला नजिकै रहेको झोलुङ्गेखेत छेउको बगरको ठूलो ढुङ्गामाथि उक्लिन् । एकफेर चारैतिर हेरिन् । आफ्ना घरमालिकलाई आत्मैदेखि सरापिन् । समाजलाई धिक्कारिन् । यो पापी समाजबाट विदा हुन अन्तिम पटक पापी दुनियाँ नियालिन् । अन्तमा आफ्नै जीवनलाई धिक्कारिन् । अलि पर देखिने महादेवको मन्दिरको गजुरलाई नमस्कार गरिन् । महादेवतुल्य आफ्ना पतिलाई अर्को जुनिमा पाउने दृढ चाहना भगवानसमक्ष प्रकट गरिन् । पग्लिएको मनलाई आत्माभित्र गाँठो पार्दै उनले मैवाखोलामा हाम फालिन् र लिन भइन् ।

हेर्दाहेर्दै उनको भौतिक शरीर त्यहाँबाट सिधै तल मैवाखोलाको कालिदहमा छप्ल्याङ्ग ढुङ्गाझैं खस्यो । एकछिन पानीको फिँजसितै ज्यान छट्पटायो र केहीबेरमा शान्त भयो । लास बग्दै तम्बरखोलामा मिसियो । यसरी एउटा प्रेमीको बिना कालगति असामयिक अन्त्य भयो ।

मान्छे भएर पनि दासी दम्पत्ति पशुतुल्य नारकीय जीवन बिताउन बाध्य थिए । त्यसमाथि पतिको विछोडको रापमा छटपटाएको दासीको लाससरी ज्यानलाई मैवाखोलाले हात थापिन् । सायद, अघि सीता मातालाई पनि धरती माताले यसरी नै शरण दिएकी थिइन् । धरतीको काखझैं मैवाखोलाले एक दासीलाई मैवाखोला माताले आफ्नो अङ्गालो भित्र हालिन् । जीवनको अन्त खोज्दै समीप आएका एक प्राणीलाई नदीले शरण दिए । उनले पापी दुनियाँको पापी नजर छल्दै दासीको शवलाई लुकाएर तम्बरखोलामा मिसाइदिएन् । उनको मृत शरीर गङ्गा नदीमा पुग्यो होला ।

आज पनि बेलाबेला उही दासीको बिलौनाको प्रतिध्वनिझैं मैवाखोला र तम्बरखोला सुसाउँछन् । उनका बिछोडिएका पति जो गोरुझैं जोतिन हारेको जुनी जिउन बाध्य भएका थिए । उनको अतृप्त चाहना र अमर माया उनकी प्राणप्रिय पत्निको मुहार खोज्दै आँशुको असारे भल बनेर मैवाखोला बगिरहेछ । आफ्नी जीवनसखीलाई नदेखेर दासको मन तम्बरखोलाको भेलझैं बेलाबेला बहुलाउँछ ।

टाढाबाट हेर्दा सुन्दरझैं देखिने मैवाखोला र तम्बरखोलालाई नजिक गएर हेर्दा अर्कै देखिने रहेछ । यो कथा सुनेपछि मैले ती खोलाहरुलाई अर्कै देख्न थालें । खोला जति बग्छ मेरो मन छिया–छिया हुन्छ ।

परिवारमा परेको मानसिक प्रभावः उक्त घटनाले मैवादोभान बजारका सम्बन्धित परिवारजनमा मात्र हैन सिङ्गो मैवाखोला थुमको मुटु काँप्यो । घटनाले मानव जगतलाई स्तब्ध बनाइदियो । दासीको श्रापबाट मुक्ति पाउन सम्बन्धित परिवारले स्वस्तिशान्ति पूजाआजा गरे । उप्रान्त परिवारमा दासदासी नराख्ने सङ्कल्प गरे । सम्बन्धित परिवारजनले पछिसम्म खोलामा गएर श्राप बगाउने धार्मिक अनुष्ठान गरे । नभन्दै, दासदासीले सरापेको घरपरिवारमा पछि अनेकन प्राकृतिक विपत्ति आए । कहिले बाढीपहिरो त कहिले आगजनीले दुःख दियो । यस्ता प्राकृतिक प्रकोपलाई पनि दासीको श्रापसित गाँस्ने परम्परा बस्यो । यसरी एक ताल्चा भण्डेल परिवार मानसिक दवावमा प¥यो फलस्वरुप दुर्घटना सांस्कृतिक उपचार गालीश्राप बगाउने अनुष्ठानसित जोडिन पुग्यो ।

इतिहास तथा वंशावलीः नेपालको इतिहास झल्काउने विवरण ईन्साइकोपिडिया ब्रिटानिकामा पढ्न पाइन्छ । त्यहाँ गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गर्दाको साङ्गोपाङ्ग रुपरेखामा उल्लेख छ । संक्षिप्तमा, उपत्यका हात पारेपछि सन् १७७५ देखि १९५१ सम्म गोरखा विस्तार गर्ने शाह र उपत्यकामा रैथाने मल्ल, सम्भ्रान्त नेवारबीच स्वार्थको द्वन्द्व चल्यो । सन् १७७७ देखि १८३२ सम्म शाह राजा राजगद्दीमा देखिए तापनि दरवारबाट भारदारहरुले शासन चलाउँने गर्दथे । यही क्रममा थापा परिवारले सन् १८०६ देखि सन् १८३७ सम्म र राणा परिवारले सन् १८४६ देखि १९५१ सालसम्म नेपालमा शासन गरे ।

यही घटनाक्रमले भक्तपुरका नेवार जाति पनि प्रभावित भएका थिए । ताल्चा भण्डेल थरका नेवार भक्तुपरका मूल बासिन्दा हुन् । ताल्चा भण्डेल वंशावली (२०७२) अनुसार भादगाउँ अर्थात् भक्तपुरको भोलाछें र याछें टोलमा यिनीहरुको बसोबास छ । यिनीहरु जयस्थिति मल्ल (वि.सं. १४३७ देखि १५४२ सम्म) को दरबारमा भण्डारको जिम्मेवारी सम्हाल्थे । त्यही दरवारमा काम गर्दा उनीहरुले ताल्चा भण्डेल पदवी पाएका हुन् । हाल उनका दरसन्तानले आफ्नो थरका रुपमा यसलाई धारण गरेका हुन् ।

भक्तपुरमा शाहकालीन शासन कालमा गोरखा र स्थानीय नेवार समुदायबीच चलेको द्वन्द्वका कारण ताल्चा भण्डेलको एक समूह भक्तपुर छाड्न बाध्य भयो । सन् १७९८ (वि.स. १८५५) मा ताल्चाभण्डेलको एक हाँगो उपत्यका नाघेर पूर्वतर्फ लागेको वंशावलीले बताउँछ ।

पृथ्वीनाराण शाहको गोरखा विस्तार क्रममा नेपाल (काडमाडौं) उपत्यकापछि पूर्वतर्फ खम्बुवान, लिम्बुवान क्षेत्रसमेत गोरखाली अधीनमा क्रमसः आयो । गोरखाली र लिम्बूवानबीच नुनपानी सन्धि सन् १७७४ (वि.स.१८३१) मा भएको थियो । त्यसपछि किरात लिम्बुवान क्षेत्रमा काठमाडौं उपत्यका तथा शाहअधीन क्षेत्रका मानिसलाई पूर्वी किरात लिम्बुवान प्रदेशमा बाटो खुल्यो ।

दरवारको भण्डारे भएकाले ताल्चाभण्डेल आर्थिक अवस्था राम्रै भएको अनुमान गर्न सकिन्छ । नेवार जाति स्वभावैले व्यापारमा निपूर्ण थिए । आफ्नो व्यवसायलाई अनुकूलको स्थानको खोजीमा ताल्चाभण्डेल परिवार आठराईको मैवाखोला दोभानमा पुगेर अडियो । तम्बरखोला र मैवाखोलाको संगमस्थलमा ब्यापारको लागि उपयुक्त थियो । त्यसबेला तिब्बतबाट ब्यापार हुन्थ्यो । यसैले ओलाङचुङ गोला भएर आठराई आउने मार्गमा दोभान पर्दछ ।

पहाडी क्षेत्रका दुई नदीको संगमस्थल भएकाले दोभान भनिन्छ । यो स्थान विभिन्न मूलबाटाहरु जोडिने केन्द्रमा पर्दछ । दुई खोलाका बीचमा परेकाले यहाँ बाढीपहिरोको जोखिम भने छ । वि.स. २०२५ सालको बाढीमा पहिलेको दोभान बजार प्रभावित भयो फलस्वरुप चाँगे गाउँको फेदमा पर्ने याङमानेमा उक्त दोभान सरेको थियो । प्राकृतिक विपदको जोखिम सहेर ताल्चाभण्डेल परिवार मैवा दोभानमा बसेको छन् । त्यहाँ उनीहरु स्थापित पनि भएका छन् ।

ऐतिहासिक पृष्ठभूमि हेर्दा ताल्चा भण्डेल दरवारसित सम्बन्धित देखिन्छन् । फलस्वरुप उनीहरू उपत्यकाबाट बाहिरिदा उपत्यकामा रहेको दासप्रथा किरात लिम्बुवान क्षेत्रमा ल्याएको आधार पाइन्छ ।

विवेचनाः आज हाम्रो पुस्ताले त्यस्ता दासदासी राखेको वा बेचविखन गरेको देख्न परेको छैन । इतिहास खोतल्दै जाँदा विभिन्न कालखण्डमा तत्कालीन सामाजिक अन्याय, अत्याचारमा परेर जीवनदेखि हारेका, समाजले लखेटेका, चीरहरणमा परेका असंख्य मानिसको आत्मिक पुकारका प्रतिध्वनि मैवाखोला, तम्बरखोला लगायत नदीका सुसेलीभित्र सुनिने गर्दछन् । त्यसैले होला पहाडका नदीनाला टाढाबाट हेर्दा जति सुन्दर र मनमोहक देखिन्छन् त्यसभित्र लुकेका आँखाले नदेखिने समाजको कुरुप तस्बिरले भने समाजलाई केही न केही सन्देश दिइरहेका हुन्छन् ।

उपसंहारः दासदासीमाथिको अत्याचार मानवताविरोधी कलङ्क हो । जसको दाग मेटिन असम्भवप्रायः छ । अब हामी यसबाट केवल पाठ सिकेर समाजलाई सही मार्गमा हिडाउन सक्छौं । समाजमा कैंयौं दास र दासीको नियति मैवाखोलाले झैं कैंयौं खोला र भीरपहराले चपाएका होलान् । आज इतिहासको कठघरामा समाज उभिएको छ ।

इतिहास दोहोरिन्छ पनि भनिन्छ । हो, सारमा दासप्रथाको स्वरुप, पात्र र परिवेश आज फेरिएका छन् आज नेपाली जनता आफ्नै समाजमा दास नभएर के भो र! विदेशीका गुलाम र दलाल बन्न लाइनमा तँछाड मछाड गरिरहेका छन् ।

अब कथास्थलतर्फ फर्किऔं । वि.स. १९९० को महाभूकम्पमा मैवादोभान नजिक महादेवटारमा रहेको शिवालयमा क्षति पुग्यो । पुनरुत्थान तथा स्याहारसम्भारको अभावमा शिवालय र पाटीपौवा क्रमसः भत्किदै गए । सम्भवतः त्यहाँका तत्कालीन समाजले धार्मिक क्रियाकलाप भन्दा पनि स्थानीय सुरक्षा व्यवस्थालाई प्राथमिकता दिए । फलस्वरुप भत्किएका शिवालय र पाटीपौवाको जिर्णोद्धार गर्नुभन्दा त्यहाँका ढुङ्गा, ईटा तथा काठपात याङमानेस्थित मैवादोभानमा प्रहरी पोष्ट बनाउँदा प्रयोग भए । त्यसबेला शिवालय परिसरका ईटाढुँङ्गा वर्तमान प्रहरी पोष्ट भवनसम्म ओसार्ने हात अझैसम्म जीवित छन् ।

मैवादोभान आज व्यापारिक स्थलको रुपमा परिचित छ । इतिहासमा यो महादेवटार एक धार्मिक तीर्थस्थल थियो । यसको धार्मिक महत्वको गुनगान गाउने बुढापाका धेरै छन् । धार्मिक स्थल महादेवटारको मौलिकता, ऐतिहासिकता तथा पुरातत्विक अन्वेषण हुन आवश्यक छ । साथसाथै उक्त धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण र सम्बर्धनतिर सबैको ध्यान जानुपर्दछ ।

सन्दर्भ सामग्री
1. पलिखे, भागवत, ताल्चाभण्डेल परिवारको वंशावली पुस्तिका, भोलाछें टोल र याछें टोल भक्तपुर, इटहरी, सुनसरी, ताल्चाभण्डेल परोपकार समिति, २०७२ ।
2. The Editors, Encyclopedia Britannica. History of Nepal. Accessed 26 March 2021. https://www.britannica.com/place/Nepal/History