Lyrics by Nawa Raj Subba

सहिदलाई सलाम- गीतसंग्रह
गीतकार- नवराज सुब्बा
प्रकाशित मिति २०६६ साल- साझा प्रकाशन ।
Preview/Download

उनको यस गीतसंग्रह पुस्तकभित्र देशभक्ति गीत, बालगीत, लोकलयमा आधारित गीत, हास्य–व्यङ्ग्यगीत, आधुनिक समेत ५८ गीतहरू संग्रहित छन् । साझा प्रकाशनले २०६६ सालमा प्रकाशित गरेको गीतसंग्रह ।

सहिदलाई सलाम !

सिङ्गो जीवन बलिदान दिनेलाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

देशको मुहार फेर्न तिमी सँधै अघि बढ्यौ
स्वतन्त्रता र न्याय खातिर लड्दालड्दै मर्यौ
यस्त वीर सपुतलाई लाखौं लाख सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

जनताका आवाजमा आफ्नो बोली गाँस्दै
आफ्ना हक खोस्नेसित हरदम लड्दै
हार कैले नमान्ने योद्धालाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

शोषित पीडित जनताको आत्मबल भर्ने
दीनदुःखीका सपनालाई अति माया गर्ने
भेदभावका पर्खाल तोड्ने वीरलाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

हामी नेपाली

नेपाली नेपाली हामी नेपाली
मधेसी होस् वा जनजाति हामी नेपाली
दलित होस् वा तागाधारी हामी नेपाली
हिमाल पहाड तराई माटोको रङ्ग एउटै छ
शर्मा सेर्पा थारू राई रगतको रङ्ग एउटै छ ।

मेचीमा घाम झुल्क“दा कालीको शीत पग्लिओस्
हिमाल पग्ली झरेर मैदान सारा भिजाओस्
थिचो र मिचो टिक्दैन, उच र नीच नसम्झौं
मिलेर फूलबारीमा बराबर माया रोपिदिऊँ ।

थर हो मान्छे चिन्नलाई होइन छुटिई जानलाई
आपसमा हामी मिलेर मानिस एक बन्नलाई
विदेश राम्रो भन्दैमा दियोको पुतली नबनौं
जन्मेको माटोपानीलाई चटक्कै हामी नबिर्सौं ।

नेपाली नेपाली हामी नेपाली
बुद्ध या हिन्दू, इसाई या मुस्लिम हामी नेपाली
धनी या गरिब, मजदुर या मालिक हामी नेपाली ।

Samayako Swad
Mana Ra Maato