राष्ट्रिय दादुरा रुबेला खोप अभियानः जान्नु पर्ने केही कुराहरू
— नवराज सुब्बा
पृष्ठभूमि
दादुरा अति संक्रामक रोग हो । नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरु मृत्यु गराउने प्रमुख कारण मध्ये दादुरा रोग एक हो । दादुरा खोपबाटै विश्वमा दादुरा रोगमा कमि आएको छ । नेपालमा सन् २००४ र सन् २००८ मा दादुरा खोप अभियान संचालित थियो । फलस्वरुप नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुमा सन् १९९० को दशकको तुलनामा बालमृत्युदरमा ५० प्रतिशतले कमि आएको छ ।
दादुरा के हो ?
यो भाइरसबाट लाग्ने एक संक्रामक रोग हो । ५ वर्षमुनिका बालबालिकाहरुलाई यो रोग बढी लाग्ने गरेको पाइन्छ । यो रोगले छिट्टै महामारीको रुप लिन्छ र खोपद्वारा बच्न सकिने दादुरा रोगबाट धेरै बालबालिकाको मृत्यु हुन्छ ।
रोग सर्ने तरिका
विरामीले खोक्दा, हाच्छिउँ गर्दा यी रोगका भाइरसहरु निस्कन्छन् र हावाबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ । दादुरा खोप नलिएका तथा कुपोषित बच्चा र बालबालिका जम्मा हुने स्थानमा यो रोग छिटो सर्दछ ।
लक्षण र चिन्हहरु
ज्वरो आउनु, नाकबाट पानी बग्नु, खोकी लाग्नु, आँखा रातो हुनु, आँशु बग्नु, गलाको भित्रीभागमा सेतो दाग देखा पर्नु र ज्वरो आएको केही दिन पछि कानको पछाडि, अनुहार र गर्दनको माथिल्लो भागमा बिमिरा देखा पर्नु ।
रोगका जटिलताहरु
दादुरा लागेका बच्चालाई झाडापखाला लागेर जलवियोजन हुने संभावना हुन्छ । कान पाक्ने, निमोनिया हुने संभावना हुन्छ । मष्तिप्कको सुजन तथा मस्तिष्क ज्वरो भई मृत्यु हुनसक्छ ।
उपचार
दादुरा रोगीको उपचार गर्नु भनेको यो रोगबाट उत्पन्न जटिलताहरुको उपचार गर्नु हो । जस्तै झाडापखाला वा निमोनिया भएमा त्यसको उपचार गरिन्छ । साथै या दादुरा रोग लाग्ने प्रत्येक बिरामीलाई दुई मात्रा भिटामिन ए खुवाइन्छ ।
रोकथाम
दादुरा खोप नै दादुरा रोगबाट बच्ने एकमात्र भरपर्दो उपाय हो । यो नियमित खोप सेवा अन्तर्गत ९ महिना देखि १ वर्ष उमेरभित्र र दादुरा खोप अभियानमा थप डोज लगाउनु पर्दछ ।
रुबेला खोप भनेको के हो ?
रुबेला रोग दादुरा जस्तै लक्षणहरु सहित देखा पर्ने रोग हो । यो खासगरि बयस्क उमेरमा देखा पर्दछ । गर्भावस्थामा रुबेला रोग लागेमा शिशु अपाङ्ग जन्मन सक्दछ । यसैले यो खोप महिला र सन्तानको दुवैको लागि उपयोगी मानिन्छ ।
मोरङमा दादुरा रुबेला खोप अभियान कहिले र कहाँ हुँदैछ ?
दादुरा खोप अभियान अन्तर्गन मोरङ जिल्लामा मंसिर २९ गतेदेखि प्रत्येक गा.वि.स. मा ९ दिनसम्म प्रत्येक वडामा खोप कार्यक्रम संचालन हुँदैछ । अभियानमा जिल्लालाई तीन चरणमा विभाजन गरिएको छ । जस अनुसार पहिलो चरणमा (मंसिर २९ देखि पौष ७ गतेसम्म) १. झुर्किया, २. महादेवा, ३ डाइनिया ४ बरडंगा ५ सिंजुवा ६ झोराहाट ७ मोतिपुर ८ लखन्तरी ९ बैजनाथपुर १० सिद्राहा ११ तेतरिया १२ बनिगामा १३ भौडाहा १४ कटहरि १५ बबियाबिर्ता १६ सोराभाग १७ रन्जनी १८ आमगाछी १९ रंगेली २० टकुवा २१ बुधनगर २२ भातिगछ २३ दादरबैरिया २४ कदमाहा २५ अमाहिबरियाति २६ थलाहा २७ हसनदह २८ अमरदह २९ गोबिन्दपुर ३० मझारे ३१ नोचा ३२ पोखरिया ३३ सिस्वानी जहदा गा.वि.स.हरुमा दादुरा रुबेला खोप लगाइने छ ।
यसैगरि दोस्रो चरणमा (पौष १० देखि ऐ. १८ सम्म) १ हरैंचा २ कसेनी ३ बेलबारी ४ दुलारी ५ सुन्दरपुर ६ मृगौलिया ७ इन्द्रपुर ८ उर्लाबारी ९ इटहरा १० राजघाट ११ शनिश्चरे १२ पथरी १३ लेटाङ १४ भोगटेनी १५ वारंगी १६ जाँते १७ बाहुनी १८ डाँगीहाट १९ होक्लाबारी २० बयरबन २१ केरौन २२ केराबारी २३ सिंहदेवी २४ याङसिला २७ पाटी २८ रमितेखोला २९ टंकिसिनवारी ३० हात्तिमुढा ३१ डंग्राहा ३२ सिस्वानी बडहरा गा.वि.स.हरुमा उक्त खोप लगाइने छ ।
र तेस्रो चरणमा (पौष २१ देखि ऐ. २९ सम्म) विराटनगर उपमहानगरपालिका सम्पूर्ण वार्डहरुमा उक्त दादुरा रुबेला खोप लगाइने कार्यक्रम छ ।
उपसंहार
आफूलाई पायक पर्ने स्थान र मितिमा ९ महिना देखि १५ वर्षमुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप र जन्मेदेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई पोलियो खोप खुवाउन नछुटाऔं । खोप लगाएको चारपाँच घण्टापछि कसैकसैलाई ज्वरो आउन सक्छ, कसैलाई हप्ता दिनपछि शरीरमा बिमिरा पनि देखा पर्न सक्छ जुन आफै ठिक भएर जान्छ । दादुरा रुबेला खोप सुरक्षित र प्रभावकारी साधन हो । खोप पाउनु बाल अधिकार र अवसर हो सहभागी बनौं, सहभागी बन्न प्रेरित गरौं । बालमृत्यु दर तथा बालरोग दर घटाउने यो राष्ट्रिय दादुरा रुबेला खोप अभियान सफल पारौं ।

शुभकामना !
Interaction on Health Care Services

Discussion

  • Commenter's Avatar
    sudeep — 2013-09-27 at 2:16 am

    mangsir ma mero choro lai rubela ko khop lagayko ho tara..ahale ayara mero choro lai rubela ko sanka gareko chaa.rubela ko khop lagya pachi pani rubela lagchaaa?

Leave a Comment