झर्रा बालकृष्ण पोखरेलका खाट्टी कुरा

Sharing is Caring

डा. नवराज सुब्बा ।

नेपालको खस भाषालाई नेपाली भाषा भनिन्छ । यो भाषा नेपालको सम्पर्क भाषा हो । सुन्दा हिन्दीझैं लाग्‍ने यो भाषालाई कतिपयले पहाडी हिन्दी भाषा पनि भन्दछन् । यसरी नेपाली भाषालाई पहाडी हिन्दी भाषा भनेको नेपालका केही भाषाशास्त्रीलाई मन परेन । उनीहरुलाई थाहा थियो संस्कृत, उर्दु, हिन्दी, नेपाली खस आदि भाषा भारोपेली भाषा परिवारका हुन् । तापनि जसरी भारत र नेपाल सांस्कृतिक रुपमा समान भएर पनि आज फरक फरक राष्ट्र हुन् । त्यसै गरी नेपाली खस र हिन्दी भाषा एकै भाषा परिवार भए तापनि नेपाली भाषालाई पहाडी हिन्दी भाषा भन्‍न हुँदैन भन्‍ने मतको जन्म भयो ।

नेपाली खस भाषा गोरखाविस्तारसितै नेपाल निर्माणका क्रममा रैथाने जातजातिसित घुलमिल भयो र पहिलेभन्दा फरक बन्यो । खस भाषामा मौलिक झर्रा शब्दहरु निर्माण भए । त्यसकारण नेपाली खस भाषालाई सर्सर्ति सुन्दा वा बोल्दा हिन्दीझैं लागे तापनि अब यसमा मौलिकता प्रचूर मात्रामा भएको महसूस नेपाली भाषाशास्त्रीलाई भयो । त्यसैले नेपाली भाषालाई अब पहाडी हिन्दी अर्थात् हिन्दीको बहिनी भन्‍न हुदैन भन्‍ने राष्ट्रिय मत निर्माण भयो । जसलाई नेपाली झर्रोवादी भाषा आन्दोलन भनिन्छ । तिनै झर्रोवादी भाषा आन्दोलनका अग्रज अभियन्तामध्येका एक हुन्– बालकृष्ण पोखरेल ।

उनको जन्म विक्रम सम्बत् १९९० भाद्र १३ गते मकवानपुरको चिसापानी गढीमा भएको थियो । उनको पिताको नाम सुब्बा शारदा पोखरेल र माताको नाम छायादेवी पोखरेल हो । उनको शिक्षा वनारस हिन्दू विश्वविद्यालय र कलकत्ता विश्वविद्यालयमा भएको थियो । उनले भाषा विज्ञानमा विशेष दखल थियाे । उनका प्रमुख कृतिमध्ये खस जातिको इतिहास, १०० वर्ष, नेपाली शब्दकोश उल्लेख्य छन् । उनले उपन्यास, कविता, कथा, निबन्ध आदिका कैयौं पुस्तक लेखेका छन् । उनले त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म अध्यापन गरे । उनलाई प्राध्यापक बालकृष्ण पोखरेलका नामले नेपाली भाषा साहित्यमा चिनिन्छ । उनको मृत्यु वि.स. २०७५ फाल्गुन १२ गते ८६ वर्षको उमेरमा विराटनगरमा भयो ।

आज भाषाशास्त्री पोखरेल यो भौतिक दुनियाँमा छैनन् । उनी हाम्रो मनमा छाएका छन् । उनको स्वर्गवास हुनुभन्दा केही महिनाअघिको परिघटनालाई यहाँ संस्मरणात्मक शैलीमा राख्‍न चाहन्छु । पोखरेल आफैले आयोजना गरेको संभवतः यो उनको अन्तिम साहित्यिक कार्यक्रम थियो । यो लेख विराटनगरमा सम्पन्न एक साहित्यिक घटनाको शब्दचित्र हो । नेपाली भाषा र साहित्यमा सम्झनुपर्ने केही कुरा मलाई जानकारीमा आएकाले उक्त टिपोटलाई साझा गर्दैछु । यो साहित्यिक कार्यक्रम विराटनगरमा सम्पन्न जेठ १२, २०७५ को घटना हो ।

भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलद्वारा स्थापित ‘रुपात्रेय वाङ्मय प्रतिष्ठान’ले २०७५ सालमा ‘रुपात्रेय शान्ता पुरस्कार’ वितरण गर्‍याे । नगद रु ३०,१११ सहित प्रमाणपत्र एकजना भाषासेवीलाई प्रदान गर्ने प्रावधान थियो । त्यो पुरस्कार प्राप्त गर्ने स्रष्टा थिए चुडामणि रेग्मी । रेग्मी पूर्वाञ्चलका मोतिराम नामले चिनिन्छन् । उनी पनि झर्रोवादी आन्दोलनका अर्का एक अभियन्ता हुन् । समालोचक दधिराज सुबेदीले कुरैकुरामा बताए, बालकृष्ण गुरुलाई किन हो मर्नअघि चुडामणि रेग्मीलाई सम्मान गर्ने सारै ठूलो रहर रहेछ । जे गरे राम्रो गरे भन्ने मलाई लाग्यो । कार्यक्रममा म पनि गुरुको निम्तालु भएर गएको थिएँ ।

पुरस्कार वितरण समारोहमा मन्तव्यको क्रममा भाषाशास्त्री पोखरेलले पुरस्कृत रेग्मीलाई ‘काम र कर्तव्यका यात्री’ उपमाले सम्बोधन गरे । भाषाशास्त्री पोखरेलले रेग्मीका पितापुर्खादेखिका दिन सम्झिए र भावुक बने । अघि रेग्मीका बाजे, बाबु सुब्बा, डिट्ठा उपाधि प्राप्त थिए । उनका बाजे, बाबुले जोरेका विराटनगरमा जग्गा हाल ५०/६० करोड मूल्य पर्ने स्थानमा घरबार थियो । किन हो रेग्मीले विराटनगर चटक्कै त्यागेर झापालाई कर्मथलो बनाएकामा नमीठो मानेझैं लाग्यो । बालकृष्ण गुरुले आफैले चित्त बुझाए, जेहोस् रेग्मीले झापा गएर त्यहाँको सिङ्गो वातावरणलाई साहित्यमय बनाइदिए । आज झापाको साहित्यिक विकासमा रेग्मीको ठूलो योगदान छ ।

यही क्रममा प्रा. कविराज न्यौपानेले पनि रेग्मीको योगदानबारे टिप्पणी गरे । रेग्मीले दर्जनौं कृति लेखेर साहित्यको सेवा मात्र हैन दर्जनौं कृति सम्पादन गरेर कैयौं सर्जकलाई पाठकमाझ चिनाइदिए । रेग्मीले नयाँ स्रष्टाको खोजी गरी प्रकाशमा ल्याइदिए । उनले सर्जकलाई परिष्कृत बनाए । त्यसैले उनलाई पूर्वाञ्चलको मोतिराम भनिएको हो । समालोचक दधिराज सुबेदीले पनि रेग्मीको समग्र कृतिका साङ्गपाङ्ग सार प्रस्तुत गरेका थिए ।

आफ्नो पालो आएपछि मन्तव्यकै क्रममा पुरस्कृत चुडामणि रेग्मीले बडो सटिक ढङ्गले झर्रोवादी आन्दोलनबारे टिप्पणी गरे । टिप्पणीको क्रममा आफू यस आन्दोलनको नेता हैन, नेताका पछि पछि हिड्ने कार्यकर्ता मात्र रहेको जानकारी दिए । उनी झर्रोवादी आन्दोलनका अगुवा बालकृष्ण पोखरेल, कोषराज रेग्मी, बल्लभमणि दाहाल र तारानाथ शर्माका एक साक्षीका रुपमा बोल्दै थिए । रेग्मीले अतीत सम्झिए । उनले झर्रोवादी आन्दोलनका बालकृष्ण पोखरेल, कोषराज रेग्मी, बल्लभमणि दाहाल र तारानाथ शर्मालाई योगदानका आधारमा विश्व कम्यूनिष्ट आन्दोलनका सारथी मार्क्स, ऐङ्गेल्स, लेनिन र स्तालिनसित तुलना गरे ।

चुडामणि रेग्मीले कुरो खुलस्त पार्दै थिए, धेरै लेखकले झर्रो आन्दोलनमा बालकृष्ण पोखरेल र तारानाथ शर्मालाई अघि वा पछि नाम राख्‍ने गर्छन् धेरैजसोले तारानाथ शर्मालाई एक नम्बरमा राखेर लेख्‍ने गरेको देखेर उनी सम्झाउँछन् । कतै पाठकलाई तारानाथ शर्माको बौद्धिकताले प्रभावित पारेर त्यसो भएको हो कि भन्‍ने लागेको छ । वास्तवमा, तारानाथ शर्मा झर्रो आन्दोलनको अलि पछि मात्र जोडिएका अभियन्ता हुन् । झर्रोवादी आन्दोलनमा बालकृष्ण पोखरेल लगायतले हुर्काएको अभियानमा पछि जोडिन आइपुगेका हुन् तारानाथ शर्मा । तसर्थ चुडामणि रेग्मीले बालकृष्ण पोखरेललाई झर्रो आन्दोलनको ‘शिरोमणि’ उपमाले सम्बोधन गरे । हामीलाई त्यसदिन थाहा भयो, बालकृष्ण पोखरेल झर्रोवादी आन्दोलनका एक नम्बरका खेलाडी रहेछन् ।

भाषाशास्त्री टङ्क न्यौपानेको बोल्ने पालो आयो । यो ‘रुपात्रेय शान्ता पुरस्कार’ चुडामणि रेग्मीलाई प्रदान गर्नु भनेको झर्रोवादी आन्दोलनमा रेग्मीले खेलेको भूमिकाको सम्मान गर्नु हो । अर्का प्रा. गोपाल भण्डारीले नेपाली भाषामा झर्रो आन्दोलनको औचित्यता र नेपाली भाषाको महत्वबारे बोले । उनले अहिले नेपाली भाषालाई उच्च माद्यमिक तहको कोर्षमा पढाइ भार घटाउन लागेकामा चिन्ता व्यक्त गरे । झर्रोवादको आलोचना गर्नेले यसलाई झल्लुवादी आन्दोलन भनेर हल्का बनाउन खोजे पनि यो त झन झरिलो भएर आएको छ, भण्डारीले जिकिर गरे । बौद्धिक व्यक्तित्व एनपी शर्माले मन्तव्यको क्रममा अब झर्रोवादको नयाँ संस्करणको आवश्यकता परेको जनाए । विद्वानहरुका कुरा सुन्दा झर्रोवादको महत्व नघटेको बरु बढेको छर्लङ्ग भयो ।

समारोहबाट फर्केपछि मैले विषयवस्तुलाई केलाएँ । नेपालमा भाषासम्बन्धी प्रचलित मान्यताहरु कस्ता रहेछन् भनेर हेरें । नेपाली भाषाको विकासक्रममा नेपाली भाषालाई हेर्ने मूलतः दुई अवधारणा रहेछन् । पहिलो हो, यो संस्कृतबाट नेपालीमा आइपुग्दा यसमा केही पनि विशिष्ठता छैनन् । भारोपेली परिवारमा हिन्दआर्यभित्र हिन्दी, उर्दू भाषा छन् । ती भाषाहरु संस्कृत भाषाका शाखा हुन् । यो अवधारणाले नेपाली खस भाषालाई पनि संस्कृत भाषाकै एक शाखा मान्दछ । भाषासम्बन्धी दोस्रो अवधारणा अनुसार नेपाली भाषा प्राकृत, संस्कृतबाट खस हुँदै विकसित भएको हो । यो नेपाली भाषा बन्ने क्रममा यसभित्र थुप्रै विशिष्ठता विकसित भए । यही दोस्रो अवधारणालाई झर्रोवादी आन्दोलनले बल पुर्‍याएको देखिन्छ ।

मैले पनि संस्कृति तथा मानवशास्त्रको अध्ययनक्रममा भाषाशास्त्रसम्बन्धी केही आलोचनात्मक अवधारणा र तथ्य पढ्न पाएको थिएँ । भारतीय भाषाशास्त्रीहरुले हिन्दी, उर्दू, नेपाली भाषाको उत्पत्तिको रुपरेखा खिचेका छन् । भाषाशास्त्री पाण्डेयनअनुसार नेपाली भाषा भारोपेली भाषा परिवारभित्र प्राकृत, पाली, संस्कृत, खस पर्वते हुँदै नेपाली भाषा बनेको हो ।

विद्वानहरुले संस्कृतलाई केवल भाषा मात्र मान्दैनन् । यो भाषा त व्यापक समुदायको विचार र संस्कृतिको शब्दभण्डार नै रहेछ । संस्कृत भाषामा पाइने विभिन्न शब्द विश्लेषण गर्दा हामी आदिवासी लेप्चा शब्दावली पाउँछौं, विद्वानहरुको दावी छ (इण्डियन ईन्स्पायर्स) । यो पङ्तीकारको के तर्क छ भने, संस्कृतको बराह शब्द किरात लिम्बू भाषाको सराह शब्दबाट व्युत्पत्ति भएको हुनसक्छ (सुब्बा) । लिपितर्फ ब्राम्ही लिपिबाट देवनागरी लिपि विकसित भएकोमा भने द्विविधा छैन ।

भाषा विज्ञानअनुसार नेपाली भाषाको स्रोत केवल संस्कृत मान्न सकिन्न । नेपाली संस्कृत वा हिन्दी भाषााकाे शाखा हो भन्‍ने भनाइ भ्रमपूर्ण छ । किनभने स्वयम् संस्कृत भाषाभित्र आदिवासी द्रविड र किरातका अनगिन्ति रैथाने शब्दहरु पाइन्छन् । भाषाशास्त्रीहरुले संस्कृत भाषामा द्रविड/तमिल, आदिवासी भाषाहरुको गहिरो प्रभाव रहेको बताएका छन् (इतिहासहिन्दी; पाण्डियन; लोगन) । सप्तसिन्धुका आदिवासीले बोल्ने द्रविड, तमिल तथा अन्य मातृभाषाका सहयोगमा संस्कृत भाषा निर्माण गरिएको भाषाशास्त्री एवम् विद्वानहरुको मतैक्यता छ (पाण्डियन; डेनिलि ग्याबिन)।

‘सम’ र ‘कृत’ दुई शब्दका योगले संस्कृत शब्द बनेको छ । ‘सम’ भन्नाले सबै भाषा तथा ‘कृत्’ भन्नाले बनाइएको भाषा अर्थमा संस्कृत व्युत्पत्ति भएको हो (ईण्डियन इन्स्पायर्स) । यसरी स्वयम् संस्कृत शब्दको शब्दार्थबाट नै यो विभिन्न भाषाको योगले बनेको भन्ने स्पष्ट हुन्छ । जुन कुरा ऋग्वेदमा संस्कृत के हो भन्ने सवालमा बताइएको छ (ऋग्वेद) । अतः संस्कृत भाषाको निर्माण र विकास प्राकृत, पाली तथा आदिवासी किरात, द्रविड आदि भाषाका आधारमा भएको हो (इतिहासहिन्दी; पाण्डियन; लोगन)।

भाषाशास्त्री बालकृष्ण पोखरेलअनुसार किरात र खसबीच अघि रक्तगत, भौगोलिक, सांस्कृतिक एकता थियो । कालान्तरसम्म यिनीहरुबीच सामिप्यता थियो । यिनीहरु छुट्टिने क्रममा खस समूह सर्दै हिमालयमा पुगेर नेपाली भाषा विकसित गरे (पोखरेल) । यसैलाई हामी खस पर्वते नेपाली भाषाको रुपमा चिन्दछौं । आज यो नेपालको एक राष्ट्रभाषा तथा सम्पर्क भाषा बनेको छ ।

तथ्यहरुका आधारमा, नेपाली भाषा भारोपेली भाषा परिवारभित्र प्राकृत, पाली, संस्कृत, खस पर्वते भाषा हुँदै विकसित भएको भाषा हो । त्यसैले नेपाली भाषाको नाता केवल संस्कृत वा हिन्दी भाषासित मात्र सीमित छैन ।

अतः नेपाली भाषा संस्कृत वा हिन्दीको शाखा होइन । हिन्दआर्य समूहभित्र रहे तापनि खस भाषा विकासक्रमको पृष्ठभूमि नै विशिष्ठ छ । झर्रोवादको गाँठी कुरो नै यही हो ।

सन्दर्भ–ग्रन्थ
ऋग्वेद हिन्दी भाष्य, आर्यसमाज स्थापना शताब्दी प्रकाशन, नई दिल्ली, सम्बत् १९३४
पोखरेल, बालकृष्ण, “खस जातिको इतिहास”, विराटनगर, उदात्त अनुसन्धान, २०५५
सुब्बा, नवराज “किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना” काठमाण्डाै, अजम्बरी, २०७८
History in Hindi. “Harappan Civilization Mohenjo Daro Indian Tribe in India. History in Hindi”. [Video], 2020, August 29, 2020. https://youtu.be/17Xzy612kBA
Logan, James Richardson. “General Characters of the Burma-Tibetan, Gangetic, and Dravidian Languages”. The Journal of the Indian Archipelago and Eastern Asia. Volume 7, January 1853, pp105-137.
Danielou & Gabin (2003). “Shiva and the Primordial Tradition: From the Trans to the Science of Dream. Inner Traditions”, Rochester, Vermont 05767. 2003.
India Inspires. “Myths about Sanskrit” [Video file]. Accessed July 24, 2014. https://youtu.be/2O4oaDaO36Y
Pandian, Arjunan. “Ancient Indian Religion Part 4. Ancient India” APN. 2019