बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह
कवि- नवराज सुब्बा
प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं ।
Preview/Download

कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् ।

 मुकुन्डो आतङ्क
-नवराज सुब्बा

के यो कुरुक्षेत्र हो ?
जताततै
मुकुन्डामा छेलिएर मान्छे
मान्छेलाई नै तर्साइरहेछन्
आपसमा तीर, पीर सबै बर्साइरहेछन्
अनगिन्ती निसानाबाट जोगिँदै
कताकता भागौं म ?
डसिँदै कहाँ कहाँ लखेटिऔं म ?
चिन्दिनँ खै ! को मान्छे ? को हो !
केवल मुकुन्डै–मुकुन्डा मात्र छन् !
खै ! देखिन्न
मुकुन्डाभित्र कोही
हाँसेको छ कि रिसाएको छ
पढ्नै सकिन्न
मुकुन्डामा छोपिएर कोही
बोल्दैछ कि बर्बराउँदैछ
सबै मुकुन्डोधारीहरू
साना प्वालबाट दुनियाँलाई
नियाल्छन् र प्रहार गर्छन्
लाखे नाचेको भन्दै
दुनियाँ तर्साइरहन्छन् ।

ओहो !
कत्रो छलछाम रहेछ
यो अभिनयमा
कति बेइमानी रहेछ
यो युद्धमा
जसले जति राम्रो
मुकुन्डो भिर्यो
जित उसैको हुँदोरहेछ
जसले मुकुन्डो
जति धेरै लगायो
युद्ध उसैले जित्दोरहेछ ।

अचम्म !
मुकुन्डाका ती साना प्वालबाट
मान्छे चिथोर्न गजब हुँदोरहेछ
मुकुन्डाको आडमा लुकेर
भुक्न अझ मजा आउँदोरहेछ
यसरी आफूखुसी डस्न मात्र हैन
मुकुन्डो लगाएपछि त
नाङ्गिएर मच्चीमच्ची
नाच्न पनि मिल्दोरहेछ ।
यसैले होला
मान्छे प्रायः
मुकुन्डो भिर्ने गर्छन्
युद्धको नियम मिच्दै
छेलिँदै प्रहार गर्छन्
सायद म
अघोषित युद्धमा धकेलिएको छु
बच्नलाई अर्थात् बाँच्नलाई नै
मुकुन्डाबाट लखेटिएको छु ।

Jiwan Mero Sabdakoshma
Yatra Aadha Satabdiko