खेताला लगाएर कृति तयार नगरेका, विज्ञापनद्धारा मात्र चर्चामा आउनु नपरेका तथा कलम, मेहनत तथा लगनशीलताद्धारा ठुलाहरुबीच कुम जोडने हैसियत बनाउंदै गएका साहित्यकार नवराज सुब्बाको थप कृति मुक्तक संग्रहका रुपमा ‘चीत्कार’ आएको छ । यसैवर्ष प्रथम संस्करणमा आएको यो कृतिको आवरण लेखक आफैंले सजावट कौशलराज सुब्बाले प्रकाशण वाणी प्रकाशनले तथा मुद्रण अरनिको छापाखानाले गरेको कुरा सो कृतिमा छापिएकैबाट थाहा हुन्छ ।
बाँचिराखेका अग्रजहरुमा संभवत तेश्रो जेठा विद्धान प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको सो प्रकाशित कृतिमा एकसय एक मुक्तकहरु रहेका छन् । व्यक्तिगत, घरायसी , समाजिक तथा राजनीति सम्बद्ध विषयहरु यो साहित्यिक कृतिले समेटेको छ । देश बोल्दैन, बोलेपछि………भन्ने विचार हामीले केहि वर्ष अघि लेखनीमा व्यक्त गरेको झट्ट संझेर यो कृतिलाई तुलना गर्दा यसमा देश बोलेको पाइन्छ । धेरै कम बोल्ने देश केहि समययताको अवस्थाले यतिखेर देशले बोलिरहनु परेको कुरा यो कृतिले पनि स्पष्ट पारेको छ ।
भुमिकाकार पोखरेलले यो कृति के हो, कस्तो हो, कुन कुन कुरा यसमा चाखलाग्ने भन्ने औल्याएर मूल्यांकन समेत गरि सक्नु भएकाले मलाई सजिलो पर्यो तापनि आफनो ठम्याई पनि राख्दै जाउँ । हाम्रो राजनीतिक अवस्थालाई चित्रण गर्दै सुब्बा लेख्छन्–
तिमीले मलाई कुराले मालिक बनायौ
व्यवहारमा दोबाटोको सालिक बनायौ
बलिदान व्यर्थैमा दिइएछ भन्छ शहीद
संक्रमणकाललाई सर्वकालिक बनायौ ।
त्यसैगरी राजनीतिक आडमा समाजलाई दुःखी बनाए सम्बन्धमा मुक्तककार लेख्दछन्–
हिजो भातका कुरा
आज जातका कुरा
दुइजिब्रे भडुवालाई
गरौं लातका कुरा
यसरी गालीजन्य शब्द समेत समावेश हुुनुले राजनीतिककर्मीहरु प्रति हाम्रो समाज दुःखी भएकै स्पष्ट पारेको पाइन्छ । यसैगरी हाम्रो समाजको अवस्थागत तीक्तता ऊनी यसरी व्यक्त गर्दछन् –
खानेफलहरु धेरै छन् जस्तै जाई फल
नखाने फल पनि हुन्छन् जस्तै राईफल
मान्छेलाई मूर्ख बनाउने फल खाने भए
पढौं पत्रिकामा आ आफनो राशीफल
अनेक चटकीय अलमलमा नपरेर आवश्यक काममा लगनशील रहन सन्देश दिंदै सुब्बा लेख्छन् –
गोड , साइला गोड , अलैची फल्छ
मलजल गर आउंदो बाली बढछ
राजनीति झैंं धोका हुदैन खेतिमा
वर्षेनी हराभरा खेतबारी झुल्छ ।
फेरी उनि राजनीतिकर्मीहरुतिरै लक्ष गरेर भन्छन्–
हांगामा बसेर फेद काटनेहरु
छेपारो झैं रुपरङ बदल्नेहरु
नजिस्क यो राष्ट्रिय एकतासित
विदेशतिर स्वदेश खोज्नेहरु
यस्तो चोटिला तथा यथार्थपरक लघुकविता पढन यो कृतिमा थालेपछि वीचमा विसाउन मन लाग्दैन र अझै होला भन्ने अनुमानलाई छोडदै मुक्तकहरु पढाईको क्रम टुङ्गिन्छ । धेरै कृति प्रकाशन र जीवन भोगाईबाट हासिल अनुभवको खारिएको परिणतिको उपलब्धि हो यो मुक्तक संग्रह भन्ठान्छु । यस्तो खनिजको मूल्य चैं एकसय मात्र । थोरै खर्चमा धेरै पाइने यो कृतिका श्रष्टाले आफनो भूमिकात्मक भनाई संक्षिप्तमा राख्दै भनेका छन् ।
शान्ति समृद्धि मुलुकमा देख्न जब गाहा्रे भो
चीत्कार कोरे बन्दियो कविता तव गाह्रो भो
बुझाउंछ आफनै मन तर मान्दैन लौ के गरु“
लेख्दा भन्दा नलेख्दा मलाई अब गाह्रो भो ।
आवरण सञ्जा सहित राम्रो रहेको यो कृति संसारका धेरै पाठकले पढेकै राम्रो हुने भो । यसरी कृतिहरु ल्याइरहन ‘सुब्बा’ मा शुभकामना व्यक्त गरीराखौं ।
(पुष्पाञ्जली साप्ताहिक वर्ष ३१, अंक २० २०६९ साल फाल्गुण १३ गते आईतवार)