नयाँ परिचय र प्रसंगमा कवि नवराज सुब्बा (ध्रुव मधिकर्मी )

कवि, गीतकार र निबन्धकारका रुपमा यता केही समयदेखि रहरलाग्दो छवि बनाएका श्रष्टा नवराज सुब्बाले आफूलाई गजलकारका रुपमा पनि प्रस्तुत गर्न थालेका छन् । अचेल गजलको लहर उर्लेको अवस्था हो । विशेषत नयाँ पुस्तामा गजल लेख्नु शौख मात्र नभएर फेशनको बाध्यता जस्तो पनि देखिएको छ । एउटा निश्चित नियम र खाकामा लेखिने विधा भए पनि यसमा पाइने केही फरक आस्वादले कतिपय पुराना श्रष्टालाई पनि तानेको छ । प्रत्येक शेरपिच्छे अन्तिम वाक्यमा काफिया मिलाउनुपर्ने, प्रत्येक शेरमा छुट्टाछुट्टै विषय लिन सकिने र एकप्रकारको लयबद्धताले गर्दा यो विधाको आकर्षा बढेको हो । यद्यपि गीत र गजलमा त्यति लामो दूरी छैन । तापनि गीतको शैलीमा जहाँ बढी सहजता, स्वतन्त्रता अथवा नियमलाई उल्लंघन गर्ने सम्भावना रहन्छ त्यसअनुरुप गजलमा त्यस्तो सम्भावना अत्यन्त न्यून रहन्छ ।

कवि सुब्बा लेखनका अलावा गायनमा पनि रुचि राख्छन् । तर पछिल्लो समयमा उनले गीतिलेखनमा विशेष ध्यान दिएका छन् । उनले लेखेका राष्ट्रिय तथा आधुनिक गीतहरु रेकर्ड पनि भ्याएका छन् भने राष्ट्रिय गीतहरुको सीडी अगिल्लो वर्षप्रकाशित भएको थियो । ती गीतहरुमा उनले राष्ट्रको ढुकढुकीलाई समसामयिक जीवनसित बडो हार्दिकतापूर्वक गाँसेका छन् भने नेपालीपनको संवेदनालाई एकापसमा जोडेका पनि छन् । राष्ट्रियताको चर्को कुरा गर्ने तर राष्ट्रको हितका लागि सिन्को पनि नभाँच्ने राजनीतिक दिशाहीनतालाई कटाक्ष गर्दै आएको उनका राष्ट्रिय गीतहरु सृजनात्मकताको एउटा नमूनाकै रुपमा प्रशंसित नै थियो ।
गीत पछि अर्थात गीतसंगसंगै गजल पनि लेख्न थालेका कवि सुब्बाले यसै वर्षगजलको सीडी समेत निकालेका छन् । केही महिना अगाडि उनी आफूले लेखेका गजलको सीडी विमोचन गर्न काठमाण्डौ आएका थिए । चर्चित संगीतकार शक्तिबल्लभद्धारा एकल संगीतबद्ध “लुकेको रहर” सीडीको विमोचनमा उनीसित भेट पनि भयो । संगीतकार शक्तिबल्लभको प्रोत्साहनबाट गजलतर्फहौसिएका श्रष्टा सुब्बाले आफू दुइवटा कारणले गजलप्रति आकर्षित भएको बताए । आज गजल युवा वर्गबीच र्सवाधिक लोकप्रिय विधा भएको छ भने अर्को संगीतको विशिष्ठतम स्वरुप समेट्दै सुन्दर कला सिर्जना गरेर गम्भीर श्रोतामाझ पुग्ने यो उपयुक्त माध्यम भएको छ । यिनै दुइ कारणले कवि सुब्बालाई पनि गजलले तानेको हो ।
लुकेको रहर गजल एलबममा उनले लेखेका नौ वटा गजल छन् । ती गजलमा उनले मान्छेभित्रका रहरलाई, इच्छाहरुलाई वाणी दिएका छन् । उनले बृद्धबृद्धालाई सम्मान र आदर गर्नुपर्ने , जीवनमा आइपर्ने सुखदुखको अनुभूति, प्रेमको औचित्य र मान्छेभित्र के कस्ता रहरहरु जुरमुराइरहेका हुन्छन् ती विषयहरुलाई अभिव्यक्त गरेका छन् । गजलकार सुब्बाले जीवनका गम्भीर पक्षलाई छुने प्रयास गरेका छन् तर उनी तिनलाई सशक्त प्रस्तुति गर्न अफ अपुग भएको महसुस पनि गर्छन् । नयाँ छु प्रयास गर्दैछु भन्छन् उनी ।
कवि सुब्बाको पहिलो कवितासंग्रह “जीवन मेरो शब्दकोशमा” हो तर उनलाई त्यसपछि निक्लेको कवितासंग्रह “बीच बाटोमा ब्यूँझेर”ले चर्चामा ल्याइदियो । प्रस्तुति र विषयका कारण यो कवितासंग्रह धेरै पाठकहरुद्धारा रुचाइए । जीवनको आकस्मिक चेतनाबोधलाई सान्दर्भिक प्रसंगहरुमार्फ अभिव्यक्त गर्ने उनको कला धेरै हदसम्म प्रभावकारी पनि छ । जीवनको आकस्मिक चेतनाबोधलाई सान्दर्भिक प्रसंगहरुमार्फ अभिव्यक्त गर्ने उनको कला धेरै हदसम्म प्रभावकारी पनि छ ।
आफ्नै घरभित्र, मेरो पहाड, बीच बाटोमा ब्यूँझेर, अस्तित्वबोध, चिरप्रतीक्षित यौवन, आमाको तिर्सना, बूढीकन्याको गन्थन् , चस्मायुद्ध, कम्लहरी, नदी निदाएको बेला र राउटेको मन आदि कविताहरु आजको मुलुकको यथार्थ र जीवनको अर्थबोधका प्रस्तुतिहरु हुन् ।
यस संग्रहमा भएका कतिपय कवितालाई उनी आफ्नै जीवनका भोगाइ भएको बताउँछन् । आफूलाई सीमान्तकृत समुदायबाट संघर्षपूर्वक उठेको उनी बताउँछन् । यही कारण पनि उनका केही कवितामा उपेक्षित र पिछडिएका वर्गको पीडा र आवेगलाई स्पर्श गर्न सकिन्छ ।
कवि सुब्बाले वर्तमान समयमा राजनीतिले कतिसम्म गलत बुझाइलाई बोकिरहेको छ र त्यसमार्फ अनावश्यक अहंलाई कस्तरी बढावा दिइरहेको छ भन्ने वस्तुस्थितिलाई निम्न कवितामा राम्रैसंग प्रस्तुत गरेका छन् ।
चस्मायुद्ध
म ठीक
अरु सब बेठीक
मेरो चस्माबाट हेर्दार्
र्सवत्र फुच्चे मान्छे
यताउति अल्झेका
झीनामसिना कुरामा
सबै डुबेका हिलामा
केवल म ओभानोमा छु ।
जताततै
आआफ्ना चस्मा
अड्याउने नाकहरु
अरुतर्फचोरऔंला र
आफैतिर तीन औंला
फर्केका हातहरु ।
चस्माले
देख्ने कुरा पनि देखिन्छ
नदेख्ने कुरा पनि शायद देखिन्छ ।
तर
म जताततै चस्मैचस्मा
जुधेको मात्र देख्छु ।
“सिर्जना अभिव्यक्ति”, पुनर्जागरण साप्ताहिक, फाल्गुन २४, २०६७ साल ।

Dr. Nawa Raj

Dr. Nawa Raj Subba is a public health specialist, researcher, and author with over three decades of experience in healthcare management in Nepal. He has contributed to public health research, operational studies, and intercultural psychology. In addition to his work in health, he has published books and articles on Nepali literature, culture, and music. His contributions have been recognized by civil society, the government of Nepal, and international audiences. Currently, he is engaged in public health and intercultural psychology studies.

Leave a Reply