हारमोनियमको नशा (संस्मरण)

हाल शनिश्चरे मोरङमा बसोबास गर्ने श्री ओमनाथ उप्रेती मेरा बाल्यकाल विद्यालयका सहपाठी हुन् जोसित धेरै वर्षपछि आज भेट भयो । ताप्लेजुङ जिल्लाको श्री सरस्वती माद्यमिक विद्यालय हाङपाङमा पढ्दा उनी मेरा एकजना रमाइला मित्र थिए । आज कामविशेषले विराटनगर आएको बेलामा फूर्सद मिलाएर भेटघाट गरि पुराना कुरा याद गर्दै मित्रता ताजा बनाउन उनी मेरो अफिसमा पसे । मैले एक कप चिया र एक अंगालो मायाले उनलाई स्वागत गरें । हाल म आफ्नो गीतसंगीत यात्राको चर्चा गरिरहेको बेलामा एकजना उपयुक्त पात्रसित गाँसिएको एउटा मीठो संस्मरण पनि सान्दर्भिक हुन सक्ला कि ! भनेर केही कोर्दैछु ।

उप्रेतीजी हालसालै ताप्लेजुङ पुगेका रहेछन् । यात्राको विवरण मलाई सुनाउने क्रममा भावुक भएर उनले भने– “नवराजजी जब ताप्लेजुङबजारबाट मैले मेरो जन्मस्थान फटेङ्ग्रे, ढुङ्गेसाँगु र हाङपाङ हेरें तब मेरा आँखाबाट आँशु अनायास बरर झरे यार !” केहीबेर अघि हाँसेर बोलिरहेका साथीको अनुहार एकाएक गम्भीर देख्दा म पनि भावुक बनें । हामी दुवैको स्वर एकछिन् लरबरायो । उनी भन्दै थिए– “के गर्ने हामीले चिनेका त्यहाँ कोही रहेनछन् मलाई त आफ्नै गाउँठाउँ र ताप्लेजुङबजार पनि अर्कै ठाउँजस्तो बिरानो लाग्यो…” उनले यी कुरा बताइरहँदा मेरो मन भने अतीततिर डोरिइरहेको थियो ।

वि.स. २०३० सालमा उमेरका हिसाबले म १२ वर्षको थिएँ । सरस्वती माद्यमिक विद्यालयमा हामी पढ्दथ्यौं । पढाईमा म कक्षाको पहिलो विद्यार्थी भए पनि मेरा थुप्रै कमीकमजोरी थिए । मलाई बाल्यकालमा अरूको लहलहैमा लाग्ने बानी सुधार है भनेर बाआमाले पनि बेलाबेला सम्झाउनु हुन्थ्यो । मलाई कसैले अलिकति फुर्क्याए भने फुरुक्क फुर्केर जे पनि गर्न तम्सन्थें । सम्झन्छु, उसबेला मलाई हारमोनियम बाजा बजाउने रहर खूब जागेको रहेछ । स्कूलको हारमोनिय कहिलेकाहिँ बजाउन पाइन्थ्यो । तर यसले धित मर्नुको साटो अझ बढेको जस्तो लाग्दथ्यो । त्यसबेला मलाई नयाँ नयाँ गीतको धून बजाउने रहर लाग्दथ्यो ।

हारमोनियमप्रतिको मेरो यही कमजोरी बुझेर होला यिनै ओमनाथले मलाई एकपटक मजाले सुर्याएका थिए । उनले मलाई भने “साठी रुपैया बोक, एउटा पुरानो काम चल्ने हारमोनियम मिलाइदिन्छु” । उनको गाउँ ढुङ्गेसाँगु पुग्न त्यसबेला हामीलाई तीनचार घण्टा हिडेर जानु पर्दथ्यो । एकजना कामीदाईकोमा सायद कसैले मर्मत गर्न ल्याएको र त्यत्तिकै छाडेको पुरानो हारमोनियम पङ्खा प्वालैप्वाल परेको अवस्थाको रहेछ त्यसलाई यसो टालटुल गरेर जोडले दम दिंदा अलिअलि बज्ने हारमोनियम भेटियो । मेरो लागि यो पनि लाटाले भेटेको पापा जस्तै भयो अर्थात् मलाई भने त्यसले मनग्गे काम चल्ने नै भयो । उक्त हारमोनियम त्यसबेला साठी रुपैयामा किनेर पालैपालो बोकेर घर ल्याइयो । बूबालाई थाहा नदिई आमालाई पैसा मागेर लगेको थिएँ । पछि बूबाले सोध्दा ओमनाथको हारमोनियम हो बजाउन ल्याएको भनेर ढाँटे ।

धेरैदिनसम्म स्कूल छुट्टी भएपछि घरको तलामाथि चढेर एकान्तमा सानो स्वरमा हारमोनियम बजाएँ । अलिपछि अलि जान्ने भएपछि कोठैमा ल्याएर बजाएर सक्दो घन्काउन थालें । मैले हारमोनियम बजाएको हेडसर गणेशबहादुर राई जो मेरो छिमेकी पनि हुनुहुन्थ्यो वहाँले पनि सुन्नुभएछ । पछि एकदिन वहाँले मलाई साँस्कृतिक कार्यक्रमको रिहर्सल गर्दा आफूले नभ्याएको बेलामा “नवराज आज तँ हारमोनियम बजा है” भनेर रिहर्शल गर्ने आदेश दिनुभयो । यसरी मैले हारमोनियम बजाउन खुरुन्दार गरेको काम लागेछ कि भन्ने अनुभूति त्यसैबेला गरेको थिएँ । यसपछि हारमोनियम बजाउने क्रम विद्यालयमा आयोजित विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा सुरु भयो र यो क्रम मेरो क्याम्पस जीवनसम्म चल्यो ।

जब किबोर्डको चलन आयो तब मैले पनि एउटा सानो किबोर्ड पनि किनें र बेलाबेला बजाएँ । तर २०३१ सालतिर मेरा फुपाजुले हङकङबाट ल्याइदिनु भएको चाइनीज कापोक गितार जसलाई म जता जता सरुवा भए पनि सँगै लिएर जान्थे । एक दिन किरा लागेर भित्रभित्रै गितारको काठ काम नलाग्ने भएर फाल्नु पर्दाको क्षण मलाई अत्यन्तै नरमाइलो लाग्यो ।

तीनदशकभन्दा लामो अवधिसम्म मलाई दुःखसुःखमा साथ दिने गितारलाई बारीमा विसर्जन गर्दा मनमनै धेरै कुरा सोचें– “के धमिराले गितार खाएजस्तै मेरो सांगीतिक आकांक्षालाई पनि समयले चकनाचुर पारेको हो त ?” यही सवालले मभित्र एउटा शक्तिको जन्म दियो । गीति एल्बम निकालेर मेरो पुरानो सांगीतिक आकांक्षा तथा रहरहरू पूरा गर्ने जोश र जाँगर चल्न थाल्यो । एकदिन विर्तामोड र काकडभित्तामा फेरि नयाँ हारमोनियम, गितार र मादल किनें । अनि फूर्सदमा सांगीतिक सिर्जनामा डुब्दै अलिअलि रियाज गर्न थालें ।

जुन बेला मेरो स्वरमा ताजापन, युवापन र जोश थियो त्यसबेला मसित उही थोत्रो हारमोनियम थियो र आज मसित नयाँ हारमोनियम र गितार भएको बेला मेरो स्वर भने पुरानो, थोत्रो र धोद्रो भैसकेको रहेछ । उसबेला पुरानो हारमोनियमको पङ्खा टालेर काम चलाए जस्तै यो खिया परेको घाँटीको आवाजलाई आज पनि टालटुल पारेर यसो गाइटोपल्दै छु । सांगीतिक साधना र सिर्जनालाई निरन्तरता दिंदैछु ।

लाग्छ, यही हारमोनियमको धून मेरो गीतिलेखन र सांगीतिक सिर्जनाको गर्भ हो, रचनाको आत्मा हो र म भित्रको आत्मबल हो । मसित गीत, संगीत, कला र साहित्यको चेतना नभएको भए सायद मेरो निम्ति यो संसार कारागार हुने थियो होला । आज मेरी पत्नीलाई मेरा के के कुरा मन पर्छन् त्यो त म भन्न सक्दिन तर उनलाई मैले हारमोनियम बजाएको र गाएको असाध्यै मनपर्छ, त्यो कुरा पटक पटक उनले मलाई भनेकि पनि छिन् । कहिलेकाहीँ घरमा उनको फर्मायस पूरा गर्छु, कहिले आफ्नै रहर पूरा गर्छु । आम श्रोतामा भने मेरो स्वर नपुगे पनि अन्य कलाकारको सहयोगमा मेरा भावनालाई सांगीतिक चेतना घोलेर पस्कने क्रममा नै छु र यसमा म जानीनजानी बाल्यकालदेखि नै लागेको रहेछु, जस्तो लाग्छ ।

हामीले कल्पना गरेको स्वर्गको परिकल्पना योजनाकारले नभई कुनै साहित्यकार वा कलाकारले गरेको हुनुपर्छ । कुनै वैंशालु युवति जसरी श्रृङ्गार गर्दा ऐनामा उभिएर आफैलाई हेरेर दङ्ग पर्छिन् उसरी नै यो उमेरमा म कहिले काहिँ आफ्नै सिर्जनाहरूको बीचमा आफूलाई पनि देख्छु र दङ्ग पर्छु । यसबेला एउटा भाव आउँछ– आहा ! गीतसंगीत, आहा ! कला साहित्य ! म तिमीसितै बाँकी जिन्दगी पनि बिताउन चाहन्छु ।

चैत्र २०६८ विराटनगर ।

Similar Posts

  • रक्सी, चामल र खुशी (गफ)

    कुरा त्यस्तै वि.स.२०५४ सालतिरको हो भन्छन् लामिछाने । उनी गफलाई रोमाञ्चित बनाउँदै भन्छन्– पहाडि जिल्ला भोजपुर जाने सिलसिलामा दिनभरि हिंडेर साँझ बल्ल पुगियो दिदीबहिनी डाँडामा तर खानलाई भने केही छैन भनेर पसलेहरूले बताए पछि उनका साथी रुम्दाली र उनी निरास भए । त्यहाँ डाँडामा भएका दुइतीन घरमा बुझ्दा कतै पनि खाना पकाउनको लागि चामल वा…

  • |

    साहित्यिक बजार

    डा. नवराज सुब्बा कलात्मक लेखनलाई साहित्य वा सिर्जना भन्‍ने चलन छ । साहित्यमा वस्तुगत लेखन मात्र हुँदैन विषयगत कल्पना पनि हुन्छन् । त्यसो भन्दैमा सोचेका वा लेखेका सबै साहित्य हुँदैनन् । त्यसको लागि साधना पनि चाहिन्छ । अझ साधना मात्र गरेर पुग्दैन सार्थक सन्देश पनि चाहिन्छ । सिर्जना निरपेक्ष र शैली मौलिक हुनुपर्दछ भन्ने मेरो…

  • धन्यवादको माला ! (नवराज सुब्बा)

    त्यत्ति बेला कोही नयाँ मानिस आएर परिचय गर्न हात बढायो भने हच्किनु पर्ने अवस्था थियो । चन्दा माग्ने हो या कुनै सहयोग माग्ने हो या त्यस्तै झमेला हुने हो कि भनेर सोच्नु पर्ने अवस्था थियो । एकदिन साँझपख एक अपरिचित युवक मसंग परिचय गर्न मेरो भद्रपुरस्थित डेरामा आयो । कुरा गर्दै जाँदा उनी मेरा गाउँले…

  • |

    बौद्धिक सम्पत्ति

    डा. नवराज सुब्बा । कुनै व्यक्तिले आफ्नो ज्ञान, विवेक, कलाको प्रयोग गरेर सिर्जना गरेको वस्तुलाई बौद्धिक सम्पत्ति भनिन्छ । साहित्य, सङ्गीत, कला क्षेत्रमा उत्पादित सिर्जना गद्य, पद्य, नाटक, गीतसङ्गीत बौद्धिक सम्पत्ति हुन् । जस्तै, साहित्यकारले लेखेका कथा, कविता, नाटक उनीहरुको बौद्धिक सम्पत्ति हुन् । कुनै गीत रचनाकार, सङ्गीतकार तथा गायकका बौद्धिक सम्पत्ति हुन् । यी…

  • स्रष्टा र सञ्चारको सम्बन्ध (नवराज सुब्बा)

    स्रष्टालाई प्रविधिले पाठक, दर्शक र श्रोतासामु पुर्‍याएको छ । प्रविधिमैत्री हुन नसकेर आज पाठकलाई मात्र हैन धेरै स्रष्टालाई प्रविधि चुनौति भएको छ । तर यसले स्रष्टा र पाठक दुवैलाई अवसर पनि थपि दिएको छ । अत्यन्त द्रुतगतिमा विकसित भएको सूचना प्रविधिका साथ लागेर आज धेरै स्रष्टाहरू उन्नतीको भर्‍याङ उक्लिरहेछन् र सजिलै विश्वव्यापी भइरहेका छन् । स्रष्टाहरूका…

  • |

    Intellectual Property

    Dr. Nawa Raj Subba. An object created by a person using his knowledge, wisdom, and art is called intellectual property. The creations produced in literature, music, art, prose, poetry, drama, and music are intellectual property. For example, writers’ stories, poems, and plays are their intellectual property. Likewise, any song is the intellectual property of the…

Leave a Reply