गीता ढकालले लिनु भएको अन्तर्वार्ता

स्नातकोत्तर शोधको लागि विद्यार्थी गीता ढकालले शोधनायक नवराज सुब्बासित लिनु भएको अन्तर्वार्ता

गीता ढकाल प्रश्न न. १. तपाईको बाल्यकाल र विद्यार्थी जीवनको सङ्क्षिप्त चिनारी लेखिदिनु हुन्छ कि ?

नवराज सुब्बाः माद्यमिक विद्यालयस्तरसम्म म कक्षाको पहिलो विद्यार्थी थिएँ । उमेरको हिसाबले कलिलो भए पनि म पढाइमा लगनशील र जेहेन्दार थिएँ । यसैले म सबै गुरुहरुको प्रिय शिष्य थिएँ । पढाइमा मात्र होइन म अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय थिएँ । कक्षा ९ र १० मा अध्ययनरत हुँदा जिल्लास्तरीय र क्षेत्रीय स्तरीय हाजिरी जवाफ प्रतियोगिता र निबन्ध प्रतियोगितामा म सहभागी भएको थिएँ । अति दूर्गम जिल्ला ताप्लेजुङको सरस्वती माद्यमिक विद्यालयबाट मैले दुइपटक पूर्वाञ्चल क्षेत्रीय स्तरको निबन्ध प्रतियोगितामा विजयी भएर पदक जितेको छु । १० कक्षामा पढ्दापढ्दै मैले आठराइ सक्रान्ति बजारमा लाग्ने त्यो क्षेत्रकै ठूलो मदन मेलामा आयोजित ब्याडमिण्टन प्रतियोगितामा विजयी भएर शिल्ड पनि पाएको थिएँ । म २०३३ सालको एस.एल.सी. परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएँ । गुरुहरूको सुझाव र हौसलाले उच्चशिक्षाको लागि म काठमाडौं गएँ । चिकित्सा शास्त्र अध्ययन संस्थान, केन्द्रीय क्याम्पस, महाराजगन्जमा सामान्य चिकित्सा प्रमाणपत्रतहमा भर्ना भएँ र उक्त कोर्ष करिव तीनवर्षमा पूरा गरें । त्यसपछि २०३७ सालदेखि आफ्नै हाङपाङ गाउँको स्वास्थ्य चौकी इञ्चार्ज भएर मैले जागिरे जीवन आरम्भ गरें । आफ्नो गाउँको स्वास्थ्य चौकीमा कार्यरत रहेको बेलामा आफू पहिले पढेको सरस्वती माद्यमिक विद्यालयमा स्वास्थ्य शिक्षा, जीवविज्ञान र विज्ञान जस्ता विषयहरु ८, ९ र १० कक्षाका विद्यार्थीहरुलाई अध्यापन गरेर मैले सहयोग गरें । यसैबेला २/३ वर्षतिहारमा देउसी टोलीको संयोजन र ब्यवस्थापन गर्दै विद्यालयलाई आर्थिक स्रोत जुटाउनलाई योगदान गरें । यसरी आफू पढेको विद्यालयलाई केही सहयोग गरेको छु ।
२०३७ सालपछि जागिरे जीवनको सुरुवात भएपछि मेरो स्वतन्त्र औपचारिक विद्यार्थी जीवन समाप्त भयो । यसपछिका मेरा अध्ययन कक्षाकोठामा गएर कक्षा लिने भन्दा जागिरलाई जीविकोपार्जनको रूपमा सम्हाल्दै स्वअध्ययन गरें । मैले स्नातकतह मानविकी तर्फनेपाली, संस्कृति विषयमा प्राइभेट विद्यार्थीका रूपमा त्रिभुवन विश्वविद्यालयबाट र जनस्वास्थ्य प्रशासन भारतबाट उत्तीर्ण गरें । स्नातकोत्तरतह चाहिँ त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा र जनस्वास्थ्य विषयमा उत्तीर्ण गरें । हाल म मानविकी संकाय विद्यावारिधिको शोधार्थी पनि रहेको छु । म हाल राजवंशी समुदायको परम्परागत र आधुनिक उपचार अभ्यास र यसको प्रभावबारेमा त्रि.वि.वि.को निर्देशनमा रहेर शोध गरिरहेको छु ।

गीता ढकाल प्रश्न न. २. तपाईँको लेखनको प्रारम्भको अवस्थाबारे जानकारी गराइदिनु हुन अनुरोध गर्दछु ।

नवराज सुब्बाः मेरो लेखनको प्रारम्भिक अवस्थामा मलाई विद्यालयमा आयोजित नियमित साहित्यिक गोष्ठीहरू र गुरुहरूको हौसला तथा प्रेरणा नै प्रमुख छन् । यसका साथै रेडियो नेपालबाट हरेक साँझ आउने बाल कार्यक्रमले पनि ठूलो सहयोग गरेको छ । २०३० सालतिर हरेक साँझ आउने बालकार्यक्रम र यसमा चल्ने “को भन्दा को कम” भन्ने कार्यक्रममा म नियमित रूपमा सहभागी भएर कहिले निबन्ध कहिले कविता पठाएर सहभागिता जनाउँथें । मैले यसरी सहभागी भएर पुरस्कृत हुने मौका पनि पाएँ । रेडियो मेरो लागि सूचना, मनोरञ्जन र सिर्जनाको लागि महत्वपूर्ण साधन भएको थियो ।

यसरी विद्यालयमा नै बानी बसिसकेको सिर्जना र लेखनले मेरो क्याम्पस जीवनमा पनि निरन्तरता र विकास हुने अवसर पायो । म २०३५ देखि २०३७ सालसम्म महाराजगंज क्याम्पसमा विद्यार्थीकालमा क्याम्पसबाट प्रकाशित भित्तेपत्रिका “सुनगाभा” को सम्पादक पनि भएँ । त्यसबेला क्याम्पसका स्मारिका तथा अन्य साहित्यिक पत्रपत्रिका र रेडियो नेपाल एवम् बी.बी.सी. नेपाली सेवाबाट पनि समय समयमा मेरा रचनाहरू प्रकाशित र प्रसारित भए ।

२०३७ सालदेखि जब मैले जागिरमा प्रवेश गरें तबदेखि मेरो बसाइ अति दुर्गम क्षेत्रहरूमा भएकोले साहित्यिक रचना प्रकाशित हुने केन्द्र काठमाडौंबाट म निकै टाढा भएँ । तर सिर्जना भने निरन्तर गरि रहें । जे जति सिर्जना गरें डायरीमा लेख्दै गएँ । यति लामो अवधिमा प्रकाशन गर्ने प्रयास नगरेको चाहिँ होइन तर यसमा मैले अलि धोका पाएँ । एकजना कविदाईलाई मैले मेरा कविताहरू देखाएँ र छापि दिन उनैलाई जिम्मा दिएँ । केही छपाइ दिनु भयो तर मेरा कवितासङ्ग्रहमा भएका राम्रा राम्रा प्रतीक र बिम्वहरू वहाँले चोर्नु भयो । मेरो अघि मलाई प्रशंसा गर्दै चर्चा गरेका शब्दहरू मधुपर्क, गरिमा लगायतका राष्ट्रिय पत्रपत्रिकाहरूमा प्रकाशित वहाँका कविताहरूमा फटाफटी छापिएको देखेपछि मैले जिल खाएँ । त्यसपछि मैले जे जति लेखें कतै छपाउने प्रयत्न गरिन सबै डायरीमा नै सीमित राखें र २०६३ सालमा बल्ल पहिलो कृतिको रूपमा मैले “जीवन मेरो शब्दकोशमा” कवितासङ्ग्रह मार्फ् तीसवर्षअघिदेखिका नयाँ पुराना सबै कविता तथा गीतहरू प्रकाशित गरें । २०६४ सालमा मनको मझेरी निबन्धसङ्ग्रह र २०६५ सालमा “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रह प्रकाशित गरें । अब साझा प्रकाशनबाट एउटा गीतसङ्ग्रह “सहिदलाई सलाम” प्रकाशित हुन लागेको छ ।

गीता ढकाल प्रश्न न. ३. निबन्धकार व्यक्तिको रुपमा तपाईँ कसरी आउनु भयो सङ्क्षेपमा जानकारी गराइदिनुहोस् ।

नवराज सुब्बाः पहिलो कुरो त मैले कक्षा ८, ९, १० मा पढ्दा पढ्दै पूर्वाञ्चलब्यापी विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा दर्ुइपटक विजयी भएर पदकहरू पाएको थिएँ । दोस्रो कुरो रेडियो नेपालको बाल कार्यक्रममा “को भन्दा को कम” मा मैले निबन्धतर्फपुरस्कार पाएको थिएँ । यति मात्र नभएर जागिर प्रवेश गरिसके पछि २०४४ सालमा मैले नेपाल राष्ट्रिय विज्ञान प्रज्ञा प्रतिष्ठान तत्कालीन रोनाष्टबाट आयोजित खुल्ला रेडियो क्वीज प्रतियोगिता जसमा “युवावर्गलाई लागुपदार्थको दुर्व्यसनबाट कसरी जोगाउन सकिन्छ” शिर्ष थियो, त्यसमा म विजयी भएको थिएँ ।

यसरी मभित्र लेख्ने क्षमता छ भन्ने कुरा प्रमाणित गराउँदा गराउदै पनि साहित्यिक यात्रामा गद्यलेखनमा मैले सुरुमा उति कलम चलाइन । यसको प्रमुख कारण समयाभाव नै थियो तथा मेरा प्राथमिकताका सूचीमा अध्ययन, अनुसन्धान र जागिर नै थिए । तर मनमा के छाएको थियो भने म कुनै दिन मैले भोगेका अनुभवलाई लिपीबद्ध गर्नेछु ।

२०६३ सालमा “जीवन मेरो शब्दकोशमा” कवितासङ्ग्रह प्रकाशित गर्दा मैले जनस्वास्थ्य सम्बन्धी जनचेतनामूलक लेखहरू जो पत्रपत्रिकामा प्रकाशित भैसकेका थिए, “जनस्वास्थ्य पाटा बाटा र अनुभूति” पनि एकैसाथ प्रकाशित गरें । अब भने मलाई धेरै अघिदेखि मनमा रहेको आफ्ना अनुभूतिलाई पनि लिपीबद्ध गर्ने बेला आएको अनुभव भयो र मैले क्रमसः मेरा बाल्यावस्थाका स्मृतिपटल पल्टाउँदै संस्मरण लेख्न थालें । यसरी केही संस्मरण प्रकाशित भएपछि मलाई पाठकहरूले मन पराइदिएको प्रतिक्रिया आयो र हौसला मिल्यो । जसको फलस्वरुप २०६४ सालमा मैले संस्मरणात्मक निबन्धसङ्ग्रह “मनको मझेरी” प्रकाशित हुन सम्भव भयो ।

यसैबाट प्रोत्साहित भएर म हालसम्म पनि निरन्तर रूपमा संस्मरणात्मक निबन्ध लेखिरहेको छु । “सहिदलाई सलाम” गीतिसङ्ग्रह पछि मेरो आगामी लेख्यकृति निबन्धसङ्ग्रह नै हुनेछ ।

गीता ढकाल प्रश्न न. ४. निबन्धकार व्यक्तिका रुपमा तपाईलाई राष्ट्रिय स्तरका निबन्धकारसँग तुलना गर्दा एकरुपता र अनुकृतिमूलक वैशिष्ट्यका आधारमा तुलना गर्ने मनशाय राखेकी छु, यसमा तपाईँको भनाई के छ ?-

नवराज सुब्बाः आफूलाई पछाडि फर्केर हेर्दा उमेरको हिसाबले झण्डै पचास वर्षर साहित्यिक यात्राको हिसाबले झण्डै साढे तीन दशक बिताएँछु । लाग्छ, मेरो अनुभव नै मेरो विशिष्ठता हो । अझ भन्ने हो भने मेरो अतीत वा बाल्यकाल, मेरो जन्मभूमि, मेरो योग्यता र क्षमता, राष्ट्रसेवा वा समाजसेवा, अध्ययन/अनुसन्धान र मैले रोजेको दृष्टिकोण नै समष्टिगत रूपमा मेरा सिर्जनाका विशिष्ठता हुन् । ठ्याक्कै मेरै जस्तो अनुभव अरू कोहीसँग छैन भन्ने म ठान्दछु तर म पनि अरूहरूले भोगेकै भोगिरहेछु भन्ने मान्यता राख्छु ।

यसैले म आफ्ना अनुभव अरूलाई बाँड्न चाहन्छु । ता कि म जस्तो हण्डर अरू कसैले खान नपरोस् अर्थात् मैले गरेका गल्तीहरू अरूले नदोहोर्‍याउन् । मैले टिपेका सुन्दरता अरूले पनि हेरून् । मेरो निबन्धलेखनको मूलभूत अभ्रि्राय सायद यही नै हो । पाठकलाई खिच्नको लागि यसलाई केही कलात्मक, सुन्दर र रोचक बनाउने प्रयास गरेको छु । र्सजक भए पनि सिर्जनामा म आफूलाई आम पाठकको प्रतिनिधि ठान्दछु । पाठकलाई म चेला बनाउन चाहन्न । एउटा साथीसित कसरी गफ गरिन्छ, त्यसरी नै पाठकसित म गफगाफ गर्न चाहन्छु निबन्धमा । त्यसैले मेरो अतीत, मेरो अनुभव नै मेरो उर्जा र सम्पत्ति हो । जसलाई म र्सार्वजनिक गरेर सबैको सम्पत्ति बनाउन चाहन्छु । पाठकले पढ्दा मलाई विश्वास गरून् ।

मैले लेख्दाखेरिको मेरो दृष्टि यही हो । मेरो लेखनका विशिष्ठता पनि यिनै हुन सक्छन् । मेरा रचना के कस्तो स्वरूप र वैशिष्ट्य लिएर जन्मियो, त्यो पाठक र समालोचकहरूले नै मूल्याङ्कन गर्दा अझ राम्रो होला । धन्यवाद !

२०६७।१०।१८ विराटनगर नेपाल ।

Similar Posts

  • म मातृभाषामा पनि लेख्छु

    लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानी कवि,गीतकार तथा गायक नवराज सुब्बा हाङपाङ आठर्राई जिल्ला ताप्लेजुङमा जन्मनु भएको हो । उहाँले एम.ए. (नेपाली), एम.पी.एच (जनस्वास्थ्य) शिक्षा ग्रहण गरिसक्नु भएको छ भने विद्यावारिधि गर्ने क्रममा हुनुहुन्छ ।जीवन मेरो शब्दकोशमा -कवितासंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,जनस्वास्थ्य पाटा, बाटा र अनुभूति -लेखसंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,राजबंशी समुदायको स्वास्थ्यस्थितिको अध्ययन,…

  • न्यू सृष्टि अन्तर्वार्ता

    सिर्जनालाई पैसासँग तुलना गर्न सकिंदैन — नवराज सुब्बा, साहित्यकार… पछिल्लो समयमा आएर नेपाली साहित्यका पाठक बढ्दै गएका छन् । पाठकको संख्या बढेसँगै नेपाली साहित्यमा राम्रा कृति पनि धमाधम आइरहेका छन् । नाम चलेका र राम्रो कृति प्रकाशित गर्न प्रकाशकहरुले समेत तँछाडमछाड गर्ने अवस्थाको सिर्जना भएको छ । पाठकको संख्या बढ्नु समग्र नेपाली साहित्यकै लागि खुसीको…

  • सुकुनाको लागि अन्तरर्वार्ता

    (साहित्यकार नवराज सुब्बासित कवि मीनकुमार नवोदितले सुकुनाको लागि लिनु भएको अन्तर्वार्ता) प्रश्नः तपाईको लेखन कसरी सुरु भयो ? उत्तरः विद्यालय तथा क्याम्पसको विद्यार्थीजीवन अर्थात् तीसको दशक मेरो साहित्यिक यात्राको प्रारम्भिककाल हो । मेरा गुरु, विद्यालयको साहित्यिक तथा सांगीतिक वातावरण र मेरो बाल्यकालको विशिष्ठ वातावरण बीच मेरो साहित्यिकयात्रा आरम्भ भयो । विद्यालय तथा क्याम्पसमा अध्ययनरत रहेको…

  • साहित्य पवित्र परिकल्पना हो  

    हाल जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको वरिष्ठ जनस्वास्थ्य प्रशासक (प्रमुख) पदमा कार्यरत नवराज सुब्बा जनस्वास्थ्य प्रशासक मात्र हैनन् । उनी एक सफल र्सजक पनि हुन् । करिव तीसको दशकदेखि कविता, गीत, निबन्ध, अनुसन्धान लेखनमा अनुभव संगालिसकेको सुब्बाले दर्जन बढी साहित्यीक कृति र संगीत सिर्जना गरिसकेका छन् । उनका जीवन मेरो शब्दकोशमा कवितासङ्ग्रह (२०६३), मनको मझेरी निबन्धसङ्ग्रह…

  • लिम्बू भाषामा अन्तर्वार्ता

    As a Public Health Expert Nawa Raj Subba was taken an interview on the Public Health issues of Nepal and also as a Poet some questions

    As a Public Health Expert Nawa Raj Subba was taken an interview on the Public Health issues of Nepal and also as a Poet some questions were asked to Subba on Limbu culture and literature by a Journalist Ram Laoti. Here is the detail of that interview in Limbu dialect as follows.

Leave a Reply