नेपालीपन ढकमक्क फक्रेको दार्जिलिङ (यात्रा-संस्मरण )

नवराज सुब्बा

“दार्जिलिङ शहर बत्ती है बल्यो झलल…” यो गीतको पूरै शव्दावली मलाई सम्झना छैन तर यो गीतको केही शब्द, केही संगीत र बूबाको मीठो स्वर भने अझै भुलेको छैन । बाल्यकालमा म रुँदा बूबाले मलाई काखमा राखेर फकाउँदा गाएको गीतको एक अंश हो- यो । यो गीत मैले पछि फेरि न बूबाबाट सुन्न पाएँ, न त अरुबाट, न रेडियोबाट नै । त्यही दार्जीलीङ शहरमा पुग्ने रहर यसपालि पूरा गरें । हुन त दार्जीलीङ जानु आउनु कुनै ठूलो कुरो होइन । जो कोहीले चाहेमा गाडीमा झापाबाट तीन चार घण्टा अर्थात् विराटनगरबाट पाँच छ घण्टाको दूरीमा रहेको शहर हो- दार्जिलिङ ।
हालै एकदिन फूर्सद निकालेर झापाबाट एउटा ट्याक्सी लिएर हुइकिएँ चारआली हुदै- पशुपतिनगर । बाटामा ठाउँठाउँमा सडकका डिलमा अम्लिसोले इलामको प्रतिनिधित्व गर्दै हामीलाई स्वागत गर्‍यो । चारआलीबाट फिक्कलको बाटो त निकै हिंडेकै हो । तर यसपालि कन्याम चिया बगान त्यत्ति सुन्दर देखिएन । मानौं, कपाल नकोरी झोक्राएर शोकमा बसेकी कुनै महिलाको रुप जस्तो लाग्यो मलाई । चिया मजदूर र मालिकबीचको टकरावको कारणले हो वा अन्य के कारणले चिया बगान त्यो अवस्थामा पुग्यो, मैले बुझिन । फिक्कलबाट दाहिनेतिर अर्थात् पशुपतिनगर मोडियौं । बाटामा बुद्धका मूर्ती र गुम्बा भेटिए अलि माथि त बौर्द्धधर्म उच्च मा.वि. पनि देखें गाडीदेखिन् । विहानीपख विद्यार्थीहरू झोला पिठ्यूँमा बोकेर हिडेको लर्को देखेर मलाई सारै रमाइलो लाग्यो ।
पशुपतिनगर पुग्ने बेलामा मैले भि.सी. रामबहादुर लिम्बूलाई सम्झें । उनले आफ्नो आत्मवृत्तान्तमा पशुपतिनगरको उल्लेख गरेका छन् । उनले संस्मरणमा त्यसबेला लाहुरेहरूको कथा र व्यथा उल्लेख गरेका छन् । त्यसबेला युवाहरू लाहुर लाग्नका लागि यहीँ पशुपतिनगर आउथें । परीक्षामा उत्तीर्ण भएपछि यहाँबाट दार्जिलिङ हुदै कलकत्ता जान्थे । त्यहाँ पानीजहाज चढेपछि उनीहरू मलाया पुग्दथे । सोही कल्पना गर्दै मैले गाडीको झ्यालबाट त्यहाँ कुनै खेलमैदान पो कतै छ कि भनेर दायाँ वायाँ आँखा डुलाएँ तर कतै देखिन । सीमानामा गाडी प्रवेश सम्बन्धी प्रक्रिया पूरा गरेपछि हामी भारत प्रवेश गर्‍यौं । गोब्रेसल्लाका लहरै रुखहरुले भारतीय क्षेत्र अर्थात् गोर्खाल्याण्डको प्रतिनिधित्व गर्दै हामीलाई स्वागत गरे । यसबेला मलाई हाम्रातिर हुने वनजंगलको दशाको सम्झना आयो । हाम्रातिर त यत्रा ठुल्ठुला रुखहरु कहाँ रहन पाउँछन् र ! राजनीतिक परिवर्तन हुनासाथ रातारात गायब भैहाल्छन् नि यस्ता रुखसुख !
दिउसो १२ बजेतिर स्वागत गर्‍यो दार्जिलिङले हामीलाई । हाल झापामा सुनिने एफ.एम.समाचार र स्थानीय पत्रपत्रिकामा गोर्खाल्याण्ड आन्दोलनको चर्चा गरिन्छ । यसमार्फत् मैले पनि यहाँको शान्तिपूर्ण जनआन्दोलनबारे केही जानकारी राखेको छु । हाल गोर्खालैण्ड आन्दोलनको अलि चर्को रुपधारण गरेको छ । त्यहाँ दौरासुरुवाल र गुन्यूचोली लगाउने अभियान चलेको छ । त्यसैले मैले यहाँ यात्रामा आउँदा धित् मर्ने गरि दौरासुरुवाल र टोपी लगाएँ । आफ्नो मातृभूमि नेपालमा सधैं पट्याएर राख्नुपर्ने दौरासुरुवाल बाकसबाट झिकेर लगाइयो तर वाकसमै लामो समय बन्द गरेपछि झिकेर लगाउँदा कपडाबाट बुङ्बुङ्ती आएको कपुरको वास्नाले भने आफैलाई व्यङ्य गरिरहेको महसूस गरें ।
मैले दौरासुरुवालसंगै आफ्नै गाउँमा लिम्बूनी दिदीबहिनीले बुनेको ढाकाटोपी लगाएको छु । यही पोशाक लगाएर चौरस्ता पुगेर भानुभक्तको सालिक अघि उभिएर फोटो खिचाएँ । यसरी यहाँ आएर भानुभक्तको सालिकमा फोटो खिचाउन पाउँदा मलाई सन्तुष्टिको अनुभूति भयो । चौरास्तामा मानिसहरु वरिपरि बसेर गफ गरेको अर्थात् रमिता हेरिरहेको दुष्य देख्दा आनन्द आयो । छेवैमा एउटा अस्थायी मञ्च निर्माण गरिएको छ । महिनाव्यापी सास्कृतिक कार्यक्रम चलिरहेछ । अपरान्ह सुरु हुने कार्यक्रमको लागि कलाकारहरूले तैयारी गरिरहेको दुश्य देख्दा मलाई आफ्नै बैंशालु दिनको याद आयो ।

चौरास्तामा उभिएर चारैतिर आँखा घुमाएँ, उता चियावारीतिर पनि आँखा डुलाएँ, माथि हिमाल मुस्कुराइरहेछ, यी अमूक साक्षीहरूसित मैंले खोजें सुधपा, अगमसिङ गिरी, वैरागी काइँला, प्रकाश कोविद, मनबहादुर मखियाका स्मृति चिन्हहरू । चियावारीमा आँखा ठोक्किनासाथ कताकताबाट “अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा” गीतको याद आयो । मैले संझें गीतकार भूपी सेरचन, संगीतकार गोपाल योञ्जन र गायक नारायण गोपाललाइ । अनि मनमनै एक्लै सम्झें, अम्बर गुरुङ, कर्म योञ्जन, शरण प्रधान, अरुणा लामा, कुमार सुब्बा, दावा ग्याल्मो, डेजी बराइली लगायतका संगीतकर्मीहरूलाई । उनीहरुले हिडेको, खेलेको यस भूमिमा उनीहरुलाई भौतिक रुपमा नभेटे पनि भावनात्मक रुपमा साक्षात्कार भएको अनुभव गरें । यो ठाउँमा न त मलाई कसैले जाउँ भन्यो न त कसैले आऊ नै भन्यो । म आफै सोध्दै खोज्दै लुरुलरु आइपुगें दार्जिलिङ । यो ठाउँप्रति म भित्रको भावना र कल्पनाको नाताले नै सायद आज मलाई डोर्‍याएर ल्याएको छ । यस अर्थमा मैले आफूलाई भाग्यमानी ठानें कि – मेरो जीवनको कर्तव्यपथमा प्राथमिकताका सूचीमा सधैं तल पर्ने एउटा इच्छा आज साकार भयो । चौरास्ताबाट र्फकदा दाहिनेतिर ‘दास फोटो स्टुडियो’ पनि झुलुक्क देखें जसमा खिचिएका थुप्रै तस्वीरहरू मैले बाल्यकालमा दोहोर्‍याइ-तेहर्‍याइ हेरेको थिएँ, त्यो हेर्दै मैले नानाथरि कल्पना गरेथें, त्यही फोटो स्टुडियो अघि आज एकछिन् उभिएँ टाढैबाट स्टुडियो नियालें र मनमनै धन्यवाद दिएँ र हिँडे ।
दार्जिलिङको भौतिक चिनो एक प्याकेट चियापत्ति, केही बर्को किनेर झोलामा हालें अनि दार्जिलिङबाट खर्साङ झर्‍यौं अपरान्ह तीन बजेतिर । बाटामा जताततै सयपत्री, बाबरी, मखमलीका फूलहरू फक्रेको तथा लालुपातेका बोट झुलेको देख्दा मलाई मेरो गाउँ हाम्पाङको याद आयो । उहीले केटाकेटीमा चाख मानेर सुन्ने गरेको ‘खर्साङ रेडियो स्टेसन’ लाई नियालें । टाढैबाट टावर हेरें र चित्त बुझाएँ । केही तस्वीर खिचेर पनि ल्याएँ ।
खर्साङ झर्दै गर्दा गाडीको झ्यालबाट माथि दार्जिलिङ शहर पुलुक्क च्याएँ, मलाई तेहथूमको लसुने डाँडाबाट वसन्तपुर चित्रेबजारतिर फर्केर हेर्दा देखिने दृश्यझैं लाग्यो । यसबेला मैले कल्पना गरें, हाम्रो गाउँठाउँ पनि यो भन्दा कम सुन्दर छैनन्, तेह्रथूम वसन्तपुर, तीनजुरे, मेन्छ्याप ढापमा चिया खेती र पर्यटन व्यवसाय सुदुढ गर्न सके यो दार्जिलिङ र खर्साङ भन्दा कम हुने थिएनन् । बाटामा कतै गुम्बा, कतै क्राइष्टको मूर्ती कतै मन्दिरहरु देखिन्थे । गोर्खाल्याण्ड अभियान अन्तर्गत् गाडीमा जी.एल. लेख्ने अभियान केही दिन अघि चलेको समाचार मैले झापामैं सुनेको थिए । सडकमा कुद्ने सबै गाडीका प्लेटनम्बरमा जी.एल. अर्थात् गोर्खाल्याण्ड लेखिएका देखिन्थे । झापाबाट दौरासुरुवाल सिलाउन जान्ने जति सबै दर्जी तथा टेलरहरू दार्जिलिङ पसे अरे, एकजोर दौरासुरुवाल सिलाउनेलाइ भा.रु.५००।- तोकिएको छ रे भनेको सुनेको थिएँ । बाटामा जताततै दौरासुरुवाल लगाएका पुरुष र ढाकाको गुन्युचोली लगाउने महिलाहरू देखिए । युवापुस्ता यो पोशाकमा सारै नै खुलेको देखियो । मलाई कताकता हाम्रो पूर्वी पहाडतिर लाग्ने आठराइको मदनमेला, ताप्लेजुङको पुषेमेला, तेह्रथूमको गौखुरीमेलाहरुको मीठो याद आयो, जहाँ लिम्बू तरुनीतन्देरीहरु यस्तै पोशाकमा ठाँटिएर मस्तले धान नाच्ने गर्दछन् ।
झापा झर्दा साँझ परिसकेको छ । बाटोमा अतीतको मधुर गीतसंगीत सम्झेँ । बाल्यकालमा मैले सुनेको मधुर गीत “दार्जिलिङ शहर बत्ती है बल्यो झलल…” मनमनै गुन्गुनाएँ । स्मृतिका नाताको गाँठो मनभित्रै अरु कस्दै, बेलुकापख झरें आफ्नै वासस्थानमा । वास्तवमा, मेरा बूबाले गाएको गीतमाझैं, मैले पनि दार्जिलिङको झिलिमिलि देखें । अझ, दौरासुरुवाल, गुन्यूचोली र त्यहाँ व्याप्त सफलोन्मुख शान्तिपूर्ण जनआन्दोलनले यता पोशाकसम्बन्धी विवादमा अल्झिएका तथा हिंसामा रुमलिएका हामी नेपालीलाई केही सन्देश दिइरहेको पनि पाएँ ।

कार्तिक २०६५, झापा नेपाल

Similar Posts

  • समयको स्वाद

    ‘Samayako Swad’ a collection of memoir written by Nawa Raj Subba has been released. Essays was published by Banni Prakashan. Second essay book of Subba was uncovered by Prof. Bal Krishna Pokhrel in a ceremony. असार २२, २०७० शनिबार, विराटनगर । साहित्यकार नवराज सुब्बाद्वारा लिखित वाणी प्रकाशनद्वारा प्रकाशित “समयको स्वाद” निबन्धसंग्रह लोकार्पण भयो । वाणी…

  • तिहार डायरी (फट्याक–फुटुक) नवराज सुब्बा

    “हेलो” मैले मोवाइलमा कल रिसिभ गरें । प्रश्न सोधियो “के छ सिक्टी प्लस ?” मैले पनि जवाफ दिएँ “ओहो सिक्टी प्लस ठिक छ ।” फेरि सवाल सोधियो “अनि के गरिंदै छ नि !” म गाडीमा भएकोले गफ त्यति लम्ब्याउने अवस्थामा थिइन यसैले मैले करिव ५ मिनेटमा बेलिविस्तार लगाउन सकिने मेरो हालखवर दुइटै शब्दले अभिव्यक्त गर्न…

  • रोयल्टी सङकलन अन्तरक्रिया

    पौष १६, २०६८ इटहरी सुनसरी । सङ्गीत रोयल्टी सङकलन समाज र कपीराइट रजिष्ट्रारको कार्यालयद्वारा इटहरी सुनसरीमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । गीतसङ्गीत क्षेत्रमा संलग्न गीतकार, संगीतकार तथा गायकहरुको सहभागिता उत्साहजनक थियो ।

  • खुशीको आँशु

    नवराज सुब्बा समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई…

  • अलबिदा कुमार कान्छा !

    करिव डेढवर्षअघि कुमार कान्छासित मेरो पहिलो र अन्तिभ भेट भएको थियो काठमाडौंको एक रेकर्डिङ स्टुडियोमा । मलाई सारै मन परेको मेरो एउटा गीतको संगीत जसलाई युवा संगीतकार साजन राइले संगीतबद्ध गर्नुभएको थियो त्यसलाई म नरेन्द्र प्यासीको स्वरमा रेकर्ड गर्न चाहन्थें । यसै उदेश्यले मैले सो गीतको संगीत संयोजनको जिम्मा मैले भूपेन्द्र रायमाझीलाई दिएँ । संगीत…

Leave a Reply