गाउँको पाटीबाट
|

गाउँको पाटीबाट


— डा. नवराज सुब्बा

परिचय

पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङलाई साधारण रूपमा हेर्दा पनि यो ठाउँ प्रतिभाको भण्डारजस्तै लाग्छ। यहीं जन्मिएका धेरै सपूतहरूले देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए। कोही राजनीतिमा, कोही प्रशासनमा, कोही सेवामा समर्पित भएर आफ्नो भूमिकामा उज्यालो थपिदैं गए। ती सबैको नाम यस सानो लेखमा समेट्नु सम्भव छैन।

यस लेखको मुख्य उद्देश्य भनेको ती मध्येका कुनै एक स्रष्टालाई पाठकसमक्ष प्रस्तुत गर्नु हो, ताकि निरन्तर साधनामा लागिरहने यस्ता व्यक्तिहरूले मान्यता पाउन अन्तिम क्षणसम्म प्रतीक्षा गर्न नपरोस्। उनीहरूले बेहोरेका अन्याय देख्दा मौन बस्न मनले मानेन, त्यसैले आत्मीय अनुभवका आधारमा यो लेख तयार पारेको हुँ। यसका लागि मैले न त गुगल सर्चको सहारा लिएँ न पुस्तकालयको। म उनका जीवनसँग गाउँठाउँकै माटोबाट परिचित छु। बाल्यकालदेखि नजिकबाट देख्दै बुझ्दै आएको व्यक्तित्व भएकाले यहाँ राखिएका विषयहरू मेरा आफ्नै अवलोकन र अन्तर्वार्ताबाट आएका हुन्।

यसलाई कसैले चापलुसीको रूपमा पनि लिन सक्छ, तर मेरो दृष्टिमा यो कदर र सच्चा सम्मानको अभिव्यक्ति हो। वर्षौंको मेहनत, साधना र सिर्जनालाई देख्दा त्यसलाई शब्दमा उतार्नु प्रशंसा मात्र होइन, योग्य व्यक्तिलाई योग्य स्थान दिने प्रयास हो।यहाँ प्रस्तुत सामग्री नेपाली गीतसंगीतमा अध्ययन गर्ने विद्यार्थी र शोधार्थीलाई उपयोगी हुने विश्वास छ। आज म पाठकलाई गीतसंगीतमा निरन्तर साधनारत स्रष्टा तथा समाजसेवी जीवन श्रेष्ठको बारेमा बताउँदैछु।

विद्यालय स्थापना र शिक्षण

जीवन जन्मिएको दोभान बजार रहेको चाँगे गाउँ त्यतिबेला भौगोलिक रूपमा ठूलो मात्र होइन, बसोबासको हिसाबले पनि चहलपहल भएको ठाउँ थियो। तर शिक्षा भने गाउँको धेरै छेउछाउसम्म पुग्न सकेको थिएन। चाँगे र नेसुममा विद्यालय खुलेका भए पनि सोबुवा र दोभानजस्ता टाढाका बस्तीमा विद्यालय स्थापना गर्ने विषयमा तत्कालीन गाउँ पञ्चायतले खासै ध्यान दिएन। त्यसैले मेरो सम्झनामा पनि ती क्षेत्रहरूमा प्राथमिक विद्यालय निकै पछि मात्र खुले।

तीनदशकको अन्त्यतिर परिस्थिति धैरै बदलियो। दोभान बजारका व्यावसायी लोकबहादुर श्रेष्ठ र एस.एल.सी. पास गरेर गाउँ फर्किएका जीवन श्रेष्ठले आफ्नै टोलका बालबालिकालाई अक्षर चिनाउने अभियान थाले। उनीहरूलाई लाग्यो कि शिक्षा नपाएसम्म गाउँको भविष्य उज्यालो हुँदैन। यही सोचले एक दिन पाटी र शिवालय रहेको ठाउँमा स्थानीय भूभागकै आधार लिएर तिलबारी प्राथमिक विद्यालय खोल्ने काम सफलतापूर्वक सम्पन्न भयो।

विद्यालय खुलेपछि एउटा रोचक घटना पनि जोडिन्छ। सोबुवा र दोभान क्षेत्र विद्यालयका लागि कहिल्यै प्राथमिकतामा परेका थिएनन्, त्यसैले विद्यालय स्थापना भएपछि तत्कालीन प्रधानपञ्च लक्ष्मीबहादुर आङबुहाङले जीवनलाई बोलाएर किन जानकारी नदिइकन विद्यालय खोलियो भनेर स्पष्टिकरण सोधेछन्। जीवन भन्छन्, “प्रधानपञ्चले उप्रान्त काम गर्दा पहिले जानकारी गराउनु भनेर मलाई चेतावनी दिएका थिए।” यस कुराले त्यो समयको प्रशासनिक वातावरण र तिनले शिक्षा विस्तारलाई कसरी हेर्दथे भन्ने झल्को दिन्छ।

खाम्लुङमा सांस्कृतिक चेतना

विद्यालयमा केही समय सेवा दिएपछि जीवन नवस्थापित खाम्लुङ स्कुलमा पुगे। त्यहाँ उनले शिक्षणसँगै गीतसंगीत र सांस्कृतिक गतिविधिमा विशेष रुचि देखाए। त्यो बेलाका उनका केही गीत वा कार्यक्रमहरू मेरो कानमा पनि परेका स्मृतिहरू आज पनि टल्किन्छन्।

खाम्लुङको सांस्कृतिक वातावरणबारे कुरा गर्दा एउटा घटना छुटाउन मिल्दैन। एक दिनको कार्यक्रममा ताप्लेजुङ फुङलिङबाट आएका अतिथि कलाकार माधव प्रधानले “कोही त भने जहाजमा सरर, कोही भने पसिना तरर, हाम्रो नेपालमा” भन्ने गीत प्रस्तुत गरे। गाउँ होस् कि शहर, जहाँ पनि टाठाबाठादेखि सुलसुलेसम्म सबैतिर भेटिन्छन्। त्यही भीडमा एक जनाले यो गीतलाई राल्फाली भनेर प्रशासनमा उजुरी हालेछन्। त्यसको प्रभाव यति गहिरो परेछ कि जीवनले निकै वर्षसम्म कम्युनिष्टको ट्याग बोकेर प्रशासनको निगरानीमै बस्नुपरेको अनुभव सुनाउँछन्।

यी घटनाहरूले उनीको प्रारम्भिक जीवन, शिक्षा विस्तारमा उनका प्रयास र सांस्कृतिक साधनाका बीच चलेका संघर्षहरू स्पष्टरूपमा देखाउँछन्। यी नै अनुभवले पछि उनको सिर्जनात्मक यात्राको आधार तयार गरेको जस्तो लाग्छ।

अवसरको खोजी

गाउँमा केही अर्थपूर्ण काम गर्न चाहने मान्छेले त्यतिबेला दुई किसिमका बाधाहरू सामना गर्थ्यो। एकातिर सानातिना पहल गर्दा पनि ठूला मान्छेहरूको खप्की खानुपर्थ्यो, अर्कोतिर प्रशासनको कुदृष्टिले छायाले झैँ पछ्याइरहन्थ्यो। यस्तो वातावरणमा दीर्घकालीन सपना बुन्नु नै साहसको काम थियो। त्यसपछि पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि आफन्तजनको हात समात्नु पर्ने परिस्थिति आयो, र त्यो स्वाभाविक पनि थियो।

तीसको दशकको अन्त्यतिर उनी काठमाडौं गए र आफ्नो घटनाक्रम र भावी लक्ष्य र इच्छा खुलाएर तत्कालीन सूर्यप्रसाद श्रेष्ठसमक्ष राखे। “पढेर केही गर्नुछ” भन्ने उनको सरल चाहनाले सूर्यप्रसादको मन छोयो होला। यही भावना बोकेर उनले रत्नपार्कको साझा भण्डारमा जागिरको व्यवस्था गरिदिए। त्यो सानो अवसरले काठमाडौंमा उनको अध्ययन र दिनचर्या दुवैलाई एउटा सुरक्षित ढोकाजस्तो बनाइदियो। यही आधारबाट उनी अघि बढे, चालिसको दशकको सुरूमा शाखा अधिकृत परीक्षा पास गरे र पछि उपसचिव भएर देशका विभिन्न जिल्लामा जिम्मेवारी सम्हाल्न पुगे।

जापान प्रवास किन

वर्षौंपछि भेट हुँदा मैले त्यो सबै छाडेर किन जापानतिर लाग्नुभयो भनेर सोधेको थिएँ। उनको उत्तर सीधासाधा हुन्छ, तर भित्री पीडाले भरिएको। पहिलो कारण थियो सरकारी सेवामा तलब र सुविधाको न्यूनता। काठमाडौँजस्तो शहरमा घरभाडा तिर्नु, परिवार पाल्नु र बच्चाहरू पढाउनु सरकारी तलबमा सम्भव हुँदैनथ्यो। दोस्रो कारण अरु नै संवेदनशील। प्रशासनिक पदमा हुँदा गरेका केही सेवामूलक निर्णयले तत्कालीन एक कम्युनिष्ट पार्टीका कार्यकर्तामा असन्तुष्टि पैदा भयो। उनीहरू आफूमाथि लक्षित असुरक्षा बढ्दै गएको महसुस गर्थे। यस्तो अवस्थामा सुरक्षित भविष्य खोज्दै उनी विदेशतर्फ बसाइँ सरे।

उनका ती शब्द सुन्दा एउटा गहिरो विडम्बना मनमा उठ्छ। जुन राजनीतिक विचारधाराको आरोप उनी शिक्षक हुँदा लगाइयो, सोही धारणाका मानिसहरूबाट सरकारी सेवामा पुग्दा फेरि चुनौती भोग्नुपर्‍यो। एउटा मान्छेले जीवनभर खोजेको बसोबास र पेशागत पहिचान कसरी क्षणभरमै असुरक्षामा बदलिन सक्छ भन्ने उदाहरण उनको कथामा जस्ताको तस्तै देखिन्छ।

जागिर, जिम्मेवारी र जीवन—यी तीनै चीजको चाप कतिपय मान्छेको काँधमा कति भारी हुन्छ भन्ने कुरा जीवन श्रेष्ठको जीवनयात्राले निकै मार्मिक रूपमा सम्झाइदिन्छ। उनले खोजेको अवसर केवल विदेश पलायन होइन, सुरक्षित र सम्मानजनक बगैँचाजस्तै वातावरण थियो, जहाँ श्रम र लगनको मूल्य र संरक्षण दुवै मिलोस्।

जीवनको जापान प्रवास

जापानको बाटो जीवन श्रेष्ठले कुनै सजिलो यात्राको रूपमा रोजेका थिएनन्। नेपालमा दिनदिनै बढ्दै आएको आर्थिक सकस र भौतिकअसुरक्षाले उनलाई परदेशको दिशातिर धकेल्यो। आफन्तको एउटा सानो सल्लाहले पनि ठूलो ढोकाजस्तै काम गर्‍यो। जापानमा बसेका ती आफन्तले भनेका थिए, “थोरै दुःख सहन सकिन्छ भने तिमीले आफ्नो घरको अवस्था परिवर्तन गर्न सक्छौ।” यही वाक्य जीवनको मनमा बीउझैँ उम्रियो र उनले अन्ततः देश छोडे।

नेपालमा हाकिमजस्तो सम्मान पाएका जीवन, जापानमा आएपछि पहिलो काम भाँडा माझ्ने नै पर्‍यो। त्यो उनलाई आत्मसमर्पणजस्तै लागेको थियो, तर जीवन कहिल्यै गुनासो गर्ने मान्छे थिएनन्। किनभने जो पनि नेपाली चाहे उ नेपाल जतिसुकै पढेको किन नहोस् उसको भर्ती हुने ठाउँ नै त्यो भएको देखेपछि उनलाई संकोच पनि लागेन। घरमा गरेको कै‌‌यौँ दुःखका सामु त्यो भाँडा मोल्ने काम त मामुली नै लाग्यो जीवनलाई। यत्ति हो भाँडाकुँडा एयरपोर्टमा ब्यागेज सरर आएजसरी बग्दै आउँथे जसलाई निर्धारित समयमा सफा गरिसक्नु पर्दथ्यो। ढिलाई गर्न मिल्दैनथ्यो। जसोतसो पाएको काममा उनी मन, तन र समय सबै लगाएर लागिपरे। बिस्तारै उनको मेहनतले दाम पनि ल्यायो, स्थिरता पनि। यही कमाइले उनले आफ्नो घर परिवारलाई राहत दिँदै दाजुभाइको समेत हात थाम्न सके।

कमाइको मधुरो उज्यालो आफूले मात्र किन देख्ने भन्ने सोचले उनी जापानमै रहेका नेपाली र नेपालबाट आएको कलाकारसमूहलाई पनि सहयोग गर्न थाले। कसैले सांस्कृतिक कार्यक्रमका लागि आउँदा बस्ने ठाउँ, खानपान, यातायातदेखि आर्थिक मद्दतसम्म उनले खुलेर गरे। उनको भनाइ थियो, “एक घण्टा ओभरटाइम गरे मैले दिने सहयोग जुटिहाल्थ्यो।” यही सरल सोचका कारण धेरै कलाकारले जापानमा पहिलोपटक उत्रँदा जीवनलाई अभिभावकझैँ पाए।

कलाकारलाई माया गर्नुको मूल कारण उनको आफ्नै कलाप्रेम हो। हारमोनियम काँधमा बोकेर मञ्चमा उभिने उनको बानी अहिले पनि सम्झनाजस्तै ताजा छ। ख्यातिप्राप्त कलाकारको छेउमै उभिएर गीत सुनाउनु, त्यो उनको लागि कुनै पदकभन्दा कम थिएन। त्यस्तो क्षणले उनलाई आफू पनि सांस्कृतिक यात्राको एक हिस्सा भएको अनुभूति दिन्थ्यो।

पारिवारिक तथा सामाजिक दायित्वबोध

तर जीवनको जीवनमा सबैभन्दा ठूलो मोड त्यतिबेला आयो जब उनका वृद्ध पिता लक्ष्मीप्रसाद श्रेष्ठको शारिरीक अवस्था कमजोर हुँदै गयो। लम्बिएको परदेश जीवन काटेर उनी अन्ततः नेपाल फर्किए। प्रजातन्त्रका लागि सर्वस्व त्यागेर परिवारलाई गरिबीको धुलोमा फ्याँकिदिने आफ्ना पिताको अन्तिम क्षणमा सेवा गर्न पाउनु उनको लागि करुणा र गर्व दुवै थियो।

आज उनी कहिलेकाहीँ जापानमा बितेका वर्ष सम्झन्छन्। सहयोग लिएका कलाकारहरूमध्ये कतिपय अझै भेट्दा सम्झन्छन्, बोल्छन्, सम्मान गर्छन्। कतिपयले भने बेवास्ता गर्छन्, नचिनेझैँ गर्छन्। यस्ता अनुभवपछि उनले बुझे, बूढापाकाले भनेको “मान्छे बैगुनी जात हो” भन्ने कुरा हावामा बोलेको थिएन।

यसो भए पनि जीवनका आँखामा कुनै कटुता छैन। उनले परदेशमा देखेका कठिनाई, गरेका सेवा र बटुलेका अनुभवहरू अहिले पनि उनको जीवनकथाको गहना बनेर चम्किन्छन्। यस कथाको सन्देश त्यही छ, मानिसले जहाँ पुगे पनि मन ठूलो भयो भने बाटो कहिल्यै साँघुरिदैन।

जापानबाट सिकेको पाठ

जापानमा बितेका वर्षहरू जीवनका लागि एउटा लामो पाठशाला बने। उनको भनाइमा, जापानको समाज कुनै ठूला भाषण वा प्रवचनले बनेको होइन, कामप्रतिको अनुशासनले चलेको देश हो। त्यहाँका मानिसले कामलाई केवल दायित्व चिनेर गर्दैनन्, त्यो त उनीहरूको श्रद्धा जस्तै हो। हरेक बिहान कारखानामै होस् वा कार्यालयमै, सहकर्मीहरूको चालढाल हेर्दा लाग्थ्यो, मानौँ उनीहरू कुनै अदृश्य मन्दिरमा प्रवेश गर्दैछन्, जहाँ पूजा गर्ने विधि श्रम नै हो।

जीवनले त्यहाँ पहिलोपटक अनुभव गरेको कठोरता कहिल्यै बिर्सँदैनन्। कामको बेला सुपरभाइजर भेटिएपछि त शरीरभरि चिसो पसिना बग्थ्यो। त्यो सुपरभाइजर, जुन कामपछि चौकमा बसेर मदिरा साटासाट गर्दै हाँस्दै बोल्थ्यो, उही मानिस ड्युटीको घन्टी बजेसँगै बाघजस्तै कठोर बन्थ्यो। उसका आँखा मानौँ हरेक गल्तीको भूत खोज्दै हिँड्थे। जीवन भन्थे, “कामचोर र चालबाजी गर्ने व्यक्तिको जापानमा कुनै ठाउँ छैन।” त्यहाँ समय एक धड्कन हो र जिम्मेवारी एउटा शपथ।

यिनै परीक्षाबाट गुज्रँदै जीवन बिस्तारै उक्लिँदै गए। एक दिन त्यस्तो पनि आयो, जब उनी आफै सुपरभाइजर बने। त्यो दिन उनले जापानको कठोर मिहिनेतले दिएको उपहार समाए। नेपालको कार्यालयमा शाखा अधिकृत वा उपसचिव हुँदा महसुस गरेको सम्मानभन्दा त्यहाँको अत्यन्त सीधासादा तर कदरले भरिएको अभिवादनले उनलाई अझै ठूलो गर्व दिलायो। जापानमा सुपरभाइजर हुनु भनेको धेरैजना कामदारले भरोसा राखेको एउटा बलियो ढुंगो बन्नु थियो। उनीसँग झुकेर गरिएको प्रत्येक अभिवादनले जीवनलाई आफ्नो श्रम यात्रा साँचो मार्गमा लागेको अनुभूति गराउँथ्यो।

जापानी शिष्टाचारले उनीभित्र जे बीउ रोप्यो, त्यो अझै फुलिइरहेछ। जापानीहरूले सानो कुरामा पनि झुकेर सम्मान गर्ने बानीले उनलाई गहिरोसम्म छोयो। उनी नेपाल फर्किएपछि पनि त्यो संस्कार बोकेर हिँड्छन्। आफूभन्दा उमेरले, अनुभवले वा पदले अग्ला व्यक्तिलाई सम्मानपूर्वक अभिवादन गर्दा आफू झुकेको होइन, आफ्नै व्यक्तित्वलाई शुद्ध बनाइरहेको अनुभूति गर्छन्।

उनको कथा बुझाउँछ, परदेशमा सिकेको संस्कार गृहदेशमा ल्याएर चलाउन सके व्यक्ति भित्रदेखि नै उज्यालो बन्छ। जीवनको शिष्टता, अनुशासन र कृतज्ञतामा जापानका वर्षहरूको छाप आज पनि देखिन्छ। मान्छे जहाँ पुगे पनि, सीप र सभ्यता बोकेर फर्किन सके त्यो यात्रा सफल नै मानिन्छ।

हरिभक्त कटुवाल र जीवन: मित्रता, गीत र समयका अव्यक्त अध्याय

कटुवालले लेखेको गीतको पछाडि रहेको जीवनकथा निकै भावुक छ। चालीस दशकको सुरुतिर उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य बने। पदावधि सकिएपछि आर्थिक अवस्था लगातार कमजोर हुँदै गयो। एक दिन उनी पुतलीसडकमा जीवन श्रेष्ठलाई भेटे र साधारण ढंगले भने कि खानबस्न नै गाह्रो भइसकेको छ।

जीवनले हल्का आश्चर्य मान्दै सोधे, “तपाईँका त कतिपय ठूला मान्छे साथीहरू छन्, कसैले पनि घरमा बोलाएनन्?” कटुवालको उत्तर भित्रसम्म छुने किसिमको थियो। उनले भने, “भाइ, गर्ने के? सबै साथी कहलिएका मानिसहरू रक्सी खान त जाउँ भन्छन्, तर भात खान आउ है भन्ने भने कसैले भनिदिएनन्।”

यस कुराले जीवन स्तब्ध भए। उनले तुरुन्तै सहयोग गर्न मन लगाए तर आफ्नो अवस्थाकै कुरा पनि खुलाए, “दाइ, हामी पनि सामान्य मानिस हौं। साग भात खाएर डेरामा गुजारा चलाइएको छ। तपाईँलाई चल्छ भने हाम्रो साथमै बसौँ, जे खान हुन्छ, त्यही खाऔँ।”

कविसितको आत्मियता

जीवनले यसरी आफ्नो सानो डेरामा लगभग छ महिनासम्म कटुवाललाई आश्रय दिए। त्यो सहारा केवल बसोबास मात्र होइन, एक कविको मन बुझ्ने आत्मीयता थियो।

त्यही बसाइको दिनहरूमा कटुवाल र जीवनबीचको निकटता झनै बढ्यो। जीवन कहिलेकाहीँ आफ्नै मीठो स्वरमा गीत गाउँथे र कटुवाल मनै लगाएर सुन्थे। त्यो स्वरको मधुरता कटुवाललाई त्यति नै छुन्थ्यो, जति कुनै कविताले आफ्ना शब्दहरूलाई छुन सक्छ। अन्ततः एक दिन उनले जीवनकै लागि नयाँ गीत दिए। गीतको शीर्षक थियो– “मलाई नसोध कहाँ दुख्छ घाउ”। आज हामी यो गीत नारायण गोपालको स्वर र संगीतमा सुन्छौँ तर सुरुमा यसको पहिलो हकदार जीवन श्रेष्ठ रहेछन् भन्ने कुरा पछि उनका अन्तर्वार्ताहरूमा सुन्दा एक प्रकारको अचम्म जाग्छ।

यो केवल एउटै मान्छेको भनाइ होइन। पुतलीसडकका जीवनका पुराना साथीहरूले पनि त्यही कुरा दोहोर्याएर पुष्टि गरेका छन्। त्यो समय कटुवाललाई भेट्न नारायण गोपालदेखि लिएर अन्य प्रतिष्ठित कलाकार र गीतकारहरू पनि आउँथे। भेटघाटका ती क्षणहरूमा जीवनको परिचय धेरै वरिष्ठ कलाकारहरूसँग जोडिँदै गयो, मानौँ एउटा सानो कोठामा बसेरै उनले संगीतको ठूलो संसारसँग हात मिलाए।

एक दुर्लभ घटना

सायद त्यस डेराको न्यानोपन र मित्रताको साहाराले कटुवालको मन थप खुल्यो। जीवनप्रतिको माया र स्नेहले गर्दा नै उनले आफ्नो गहिरो भावनालाई गीतका रूपमा जीवनकै नाममा अर्पण गरे होला। त्यतिबेला गीत रेकर्ड गर्ने ठाउँ भने एक्लो रेडियो नेपाल थियो, र त्यहाँका महाप्रबन्धक दौलतविक्रम विष्ट थिए। कटुवालले उत्साहका साथ जीवनलाई भने, “हिँड, रेडियो नेपालमा जाउँ, रेकर्डको वातावरण मिलाउँ।” उनीहरू रेडियो नेपाल सँगै पुगे।

तर महाप्रबन्धकको कार्यालयको ढोकासम्म आइपुग्दा कटुवालको बान्की अचानक बदलियो। ढोका उघारेर कड्किने तरिकाले “ए दौलते” भनेर बोलाए। जीवन झसंग भए। विष्टजी पनि छक्क परेर बाहिर आए। कटुवालले जीवनतर्फ देखाउँदै भने, “यो भाइलाई स्वर परीक्षा पास गराइदेऊ।” उनका ती निर्भीक शब्दले जीवन अक्कबक्क परे। मनमा भय लागेजस्तो पनि लाग्यो। कतै केही उल्टो होलान् कि भन्ने शंका लिएर उनी फर्किए।

पछि जीवनले स्वर परीक्षा पास त गरे, तर रेकर्डिङको पालै आएन। कार्यालयको जिम्मेवारी पनि त्यसका बीचमा रोकावट बन्यो। कहिले निरीक्षण, कहिले काज, हाकिमले पठाएको ठाउँतिर दौडिनुपर्दा प्राप्त अवसर हातमै आएर चुक्दै गयो। जीवनको सम्झनामा त्यो समय कटुवालसितै मधुर बनेर बसिरहन्छ, किनकि संघर्ष र चाहनाबीचको लयमा कहिलेकाहीँ गीतभन्दा पनि गहिरो कथा लुकेको हुन्छ।

नारायण गोपाल र जीवन: सहयोगले बाँधिएको एउटा मधुर स्मृति

तीस दशकको अन्त्यतिर जीवन र नारायण गोपालबीच पहिलो भेट भएको थियो। त्यो बेला नारायण गोपाल घर बनाउँदै थिए, तर सिमेन्ट भने सुन जत्तिकै दुर्लभ थियो। बजारका पसलमा किन्न पाइँदैनथ्यो, केवल साझा भण्डारले मात्र वितरण गर्थ्यो। त्यसैले धेरैजसो मान्छे सिमेन्ट खै कहाँ भेटिन्छ भनेर भौंतारिन्थे।

नारायण गोपाल पनि त्यही खोजीमा थिए। साझा भण्डारका महाप्रबन्धककहाँ गएर आफ्नो आवश्यकताबारे नारायणले विनम्र अनुरोध गरे। तर महाप्रबन्धकले कुरा सारेर भने, पहिले एउटा गीत सुनाऊ, अनि मात्र सोचौंला। मागभन्दा मोडिएको त्यो अपेक्षाले नारायण गोपाल अल्मलिँदै थिए।

जीवनले टाढैबाट नारायणलाई देखे। संकेत गरेर बोलाए र स्थिति बुझेर सहज स्वरमा भने, “गीत गाएर अल्झिनु पर्दैन। म भोलि व्यवस्था गरिदिन्छु। तपाईंले मान्छे पठाउनुहोस्।” त्यस दिन उनीहरू हल्का राहतका साथ छुट्टिए।

भोलिपल्ट जीवनले आफ्नो प्रतिज्ञा पूरा गरे। नारायण गोपालको मागअनुसार ५० बोरा सिमेन्ट उपलब्ध भयो। त्यो घटना जीवन गर्वका साथ स्मरण गर्छन्, किनकि त्यो समय एक बोरा सिमेन्ट पनि बाहिर किन्न नपाइने कठोर नियम थियो। साझा भण्डारमा बसेर नियमकै दायरामा त्यति ठूलो मात्रा उपलब्ध गराउनु त्यत्ति सजिलो कुरा थिएन।

यो केवल सामान आपूर्ति गर्ने काम थिएन। त्यो कलाकारप्रतिको सम्मान थियो। एउटा घरको छानो उठाउन हात बढाइदिएको मानवीयपन थियो। अनि सँगसँगै सांस्कृतिक जगतका मानिसहरू एकअर्काप्रति कसरी तन्किने पुल बनेर उभिन्थे भन्ने मधुर प्रमाण पनि थियो।

गीत पाउनु वा गाउनु पनि भाग्यको एउटा रमाइलो खेल

जीवन श्रेष्ठको अनुभव सुन्दा मैले आफ्नै पुराना दिनहरूको झिनो उज्यालो फेरि देखें। त्यो चालीस दशकतिर म पनि रेडियो नेपालमा स्वर परीक्षा दिने तयारीमा थिएँ। त्यतिबेला एक जना संगीतकारको सहारा लिएर कुनै गीत अभ्यास गर्ने र त्यसैको आधारमा परीक्षा दिनुपर्ने चलन थियो।

म संगीतकार सिके रसाइलीकहाँ पुगें। उनी गीतकार नीर शाहसँग नजिक थिए। त्यो समय नीर शाहकै शब्दमा रसाइलीले संगीत भरेको, रविन शर्माले गाएको एउटा गीत निकै चलेको थियो। रसाइलीले मलाई पनि नीर शाहको “आँखा जुधेको कति दिन भयो…” भन्ने गीत देखाए। मनमा हल्का संकोच लाग्यो, रोमानी भावनाले मलाई खासै छोएन। त्यसपछि उनले अर्को पाण्डुलिपि अघि सारे— “आज मलाई मेरो आँगन सिँगो एउटा संसार भो।” त्यो गीत अपाङ्गता भएका गीतकारको मनबाट निस्किएको रहेछ। शब्दमा जीवनको चञ्चल धड्कन थियो। मैले त्यही गीत रोजें र मनै लगाएर अभ्यास गरेँ।

स्वर परीक्षा दिएँ, पास भएँ, र त्यो गीत रेकर्ड पनि भयो। पछि रेडियो नेपालको इन्द्रेनी कार्यक्रममा पहिलोपटक सुनेँ। त्यही एकपटक सुनेको आवाज पछि कहाँ हरायो, फेरि कहिल्यै भेटिएन। खोज्दा पनि भेटिएन। कलाकारको सुरिलो धुन कहिलेकाहीँ समयको धूलोले ढाकिदिन्छ, तर स्मृतिमा भने त्यो सानो चमक बाँकी रहिरहन्छ।

स्मरण रहोस्, “आँखा जुधेको कति दिन भयो” बोलको गीत पछि सिके रसाइलीको संगीतमा प्रकाश श्रेष्ठले रेकर्ड गरे। त्यो समय त्यो गीत निकै चर्चित पनि भयो। आफ्नै गीत रेडियोमा त्यत्ति नबजेको भए पनि, मैले छाडेको गीत त्यति लोकप्रिय भएको देख्दा नीर शाहको शब्द र व्यक्तित्वको प्रभाव मैले त्यसपछि मात्र वास्तविक रूपमा बुझेँ।

त्यसबेलाको रेडियो नेपाल— दुर्गमका कलाकारका दृष्टिमा

त्यो समयको रेडियो नेपाल एउटा फरक संसारजस्तै लाग्थ्यो। भित्तामा टाँसिएका पुराना पोस्टर, कोरिडोरभरि घन्कने धुनको अनुभूति र त्यसभित्र लुकेको एउटा अदृश्य व्यवस्था। त्यही व्यवस्थाको छायाँमा चाकरीको हल्का गन्ध पनि मिसिन्थ्यो, मानौँ कसैले नदेखिने धागोले केही मानिसलाई नजिक तान्थ्यो र केहीलाई पर धकेल्थ्यो।

त्यसै संसारका दुई ठूला नाम थिए नातिकाजी र शिवशंकर। उनीहरूको उपस्थितिले त्यो भवनको धड्कन नै निर्धारण गर्थ्यो। रेकर्डका लागि डेट माग्न नातिकाजीलाई सम्पर्क गर्नुपर्दथ्यो। उनको संगीतसँग देशै मोहित थियो, तर भेटघाटका क्षणहरूमा उनी केही टाढा जस्ता लाग्थे, जसले मलाई अडिने ठाउँभन्दा पनि अलिकति पछाडि धकेलेको अनुभूति दिन्थ्यो।

संगीतको बाटो आफ्नै तालमा बग्ने नदी हो। त्यस नदीका किनारामा उभिँदा सबैलाई समान छायाँ मिलोस् भन्ने चाहना पनि कसरी पूरा होस्, त्यो जमाना नै यस्तो थियो। मैले नातिकाजीप्रति आकर्षण महसुस गर्न नसक्नु कुनै वैमनस्य होइन, त्यो त मेरो भोगाइको एउटा सानो अंश मात्र हो।

यो कुरा खोतल्नुको मतलव केवल त्यस समयको वातावरण सम्झाउनका लागि हो। नेपालका टाढाटाढाबाट आएका कलाकारले कस्तो मनःस्थिति लिएर अवसर खोज्थे र कति भित्री बाधासँग जुध्थे, त्यो देखाउनका लागि मात्र हो। यसलाई पूर्वाग्रह मान्नु ठीक हुँदैन, यो त इतिहासको एउटा काँचो पाना हो, जसमा भावना र अनुभूति दुवैले आफ्नो रङ छोडेका छन्।

त्यसबेलाको रेडियो नेपालको माहोलको झलक

यही माहोल सम्झिँदा जीवन श्रेष्ठको यात्रा कत्तिको कठिन र कत्तिको धैर्यको माग गर्ने रहेछ भन्ने कुरा सहजै बुझिन्छ। उनीमाथि परेका अवरोध, प्रतीक्षा र मनभरिको अनिश्चितता म अनुभव गर्छु। किनभने मेरो पनि समस्या, ब्यथा र वातावरण कतिपय मिल्दाजुल्दा छन्।

दुर्गम गाउँबाट बाआमाको सपना बोक्दै सहर छिर्ने युवकहरूका लागि रेडियो नेपाल त्यतिबेला आशा र दूरी दुवै थियो। जुरेमा रेकर्ड भयो, नजुरेमा आफूलाई सम्हालेर फर्कनु पर्दथ्यो। किनभने घरबाट आएर बस्नु, पढ्नु, काम गर्नु, सबै कुरा एकैसाथ सम्हाल्नुपर्ने युवा उमेर थियो।

जीवन जस्ता धेरैले गीतलाई सपनाको स्वर माने, तर जीविकालाई सधैँ अग्रस्थानमा राख्नैपर्थ्यो। जागिर रोजी–रोजगारीकै लागि ठूलो लडाइँ थियो। यिनै कारणले गर्दा काठमाडौँले दिएको सानो अवसर पनि ठूलो ढोकाजस्तै बन्नु स्वाभाविक थियो। शहरले चुनौती पनि दियो, तर बलियो बनाउने आँट पनि जागायो। त्यसैले ती दिनहरूको संघर्ष सम्झँदा जीवन श्रेष्ठको हरेक प्रयास अझै अर्थपूर्ण लाग्छ, मानौँ सपना र दैनिकी दुईवटैलाई काँधमा बोकेर हिँड्ने यात्रुको उर्जा कहिल्यै सकिदैन। उनी अहिले पनि साधनारत कलाकार हुन्। हामी उनका सिर्जना सुन्न आतुर रहन्छौँ।

Similar Posts

  • |

    चिन्ताद्वारा उत्पन्न विकारहरू

    डा. नवराज सुब्बा चिन्ता वा एन्जाइटी जीवनमा सबैले अनुभव गर्ने भावना हो। तर, जब चिन्ताले दैनिक जीवनलाई हानी पुर्‍याउन थाल्छ तब त्यस अवस्थालाई भने चिन्ता विकारको अवस्था भनिन्छ। चिन्ता विकारहरू धेरै प्रकारका हुन्छन्। तिनीहरूले जीवनका विभिन्न पक्षहरूमा गहिरो प्रभाव पार्न सक्छन्। यस लेखमा, हामी चिन्ता विकारका प्रमुख प्रकारहरू र तिनीहरूको विशेषताबारे संक्षेपमा छलफल गर्नेछौं। सामान्यीकृत…

  • नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)

    अचानक एउटा कार्यक्रमको निम्तो आयो । २१ अगष्ट २०१० का दिन श्री साझा प्रकाशन काठमाडौं र भारत पश्चिम बंगाल स्थित मतिगढा गोर्खा सेवा परिषद सिलिगुरीको सहआयोजनमा नेपाल र भारतका केही साहित्यकारहरूबीच सानो भेटघाट कार्यक्रम बनाइएको रहेछ । साझा प्रकाशन संचालक समितिका सदस्य अनिल पौडेलको निम्तोका दिन शनिवारको विदा परेकाले यसपालिको विदामा भारतीय नेपालीभाषीहरूसंग बिताउने निश्चयका…

  • |

    Yuma Samyo

    Yuma Samyo: Cultural Patterns and Contemporary Issues Introduction The book critically evaluates not only the religious philosophy of Yuma religion,  but also its social, political, and cultural implications. Essentially, this book is not a limited religious text, but rather an analysis of a lived experience and indigenous religion-consciousness—where ‘originality’  is struggling not only in the…

  • |

    साहित्यिक बजार

    डा. नवराज सुब्बा कलात्मक लेखनलाई साहित्य वा सिर्जना भन्‍ने चलन छ । साहित्यमा वस्तुगत लेखन मात्र हुँदैन विषयगत कल्पना पनि हुन्छन् । त्यसो भन्दैमा सोचेका वा लेखेका सबै साहित्य हुँदैनन् । त्यसको लागि साधना पनि चाहिन्छ । अझ साधना मात्र गरेर पुग्दैन सार्थक सन्देश पनि चाहिन्छ । सिर्जना निरपेक्ष र शैली मौलिक हुनुपर्दछ भन्ने मेरो…