रिक्सावाला

  • नवराज सुब्बा

अनिश्चितकालीन बन्द । आज पनि बन्द छ, विराटनगर । शहरमा मोटरसाइकल, गाडी कतै चलेका छैनन् ।

खाना खाएपछि घरबाट हिंड्दै भृकुटीचोक पुगें र यसो आँखा दौडाएँ र एउटा रिक्सामा आँखा ठोक्कियो, रिक्सवालातिर हेरें अलि पाको उमेरको तराइवासी रहेछ । चढ्न अघि रेट फिक्स नगर्दा भरे ओर्लेर जानेबेलामा रिक्सावालसंग दलाली गर्नुको बेमज्जा सम्झें । त्यसमाथि फेरि आज बन्दको दिन रिक्सावाला छोइसक्नु हुँदैनन् भन्ठानेर पहिल्यै रेट सोधें “देवकोटाचोकसम्मको कति लिन्छौं ?” उसले बडो रसिलो पाराले ठाँटपूर्वक भन्यो—“आ… दिनोस्न बीस रुपैया, आखिर मरिलानु के छ र !” आजकल यो भृकुटीचोक देखि देवकोटाचोक बीसरुपैया चलेको छ, रेट ठिक हो । तर कतिपय रिक्साले तीसरुपैया भन्छन् । सही रिक्साभाडा भन्ने रिक्सावालाको इमान्दारिता देखेर आज सहि रिक्सावाला फेला परेछ जस्तो लाग्यो र त्यही रिक्सामा उक्लिएँ ।

यतिञ्जेलमा मैले रिक्सावालालाई अनि रिक्सावालाले मलाई आपसमा नियालि सकेका थियौं । डिएसपी रोड हुँदै तेर्सोबाटोमा पुगेपछि रिक्सावाला बडो भावुक ढँगले बोल्न थाल्यो “हेर्नोस हजुर ! तपाई हामीलाई यी नेताहरूले मिल्न दिंदैनन्, कहिले के नारा भन्छन् कहिले के भन्छन् । वास्तवमा हामी सबैको खून त एउटै छ नि हजुर !” म उसको भनाइको समर्थनमा “हाँ” “हाँ” भन्छु अनि कहिले “हो ठिक हो” भन्दै उसको कुरालाई बडो अभिरुचिपूर्वक एकोहोरो सुन्दै समर्थनमा टाउको हल्लाउँछु । ऊ अझ सुरिदै भन्छ– “यिनीहरु पहाडे, मधेसीको नारा घन्काउँछन् अनि कहिले मधेस र पहाड भनेर डुक्रेका छन्, नेपाल र नेपाली भन्ने भावनालाई यिनले भुले तर अब जनताले यिनीहरुको खाटि कुरा बल्ल बुझे ।” एउटा निरक्षर रिक्सावाललाई समेत राजनीतिप्रतिको यत्रो तिक्तता रहेछ । सायद मलाई पहाडे अनुहार देखेर उसको भावना उर्लेको पो हो कि जस्तो पनि लाग्यो । उसलाई पनि आफ्ना कुरा कसैलाई व्यक्त गर्न आतुरता रहेछ । भावुक रिक्सावालाको त्यो विचार मलाई एकप्रकारको जनमत जस्तो पनि लाग्यो । म जे अनुमान गर्दैथें त्यही कुरा रिक्सावालाबाट सुनेर म पनि दङ्ग परें ।
बीस रुपैयाको ठाउँमा तीसरुपैया नै दिउँ जस्तो पनि लाग्यो । तैपनि देवकोटाचोकमा ओर्लेर बीसको नोट उसको हातमा थमाएँ । उसको अनुहारमा सन्तुष्टिको चमक देखें । उसको बोहनी रहेछ क्यार, उसले बीसको नोटलाई निधारमा छुवायो अर्थात् ढोग्यो र कमिजको गोजीमा राख्यो । मैले उसलाई ‘धन्यवाद’ को एउटा शब्द पनि थपिदिएँ । जवाफमा ऊ फिसिक्क हाँस्यो र मुन्टो हल्लायो र अघि बढ्यो ।

आज मलाई केवल यत्ति कुराले मूड रमाइलो बनायो । बन्दले अस्तव्यस्त शहरमा भुईभरि टायरको अँगार र खरानीको कालो पोतिएको छ । शहरमाथिको निलो आकासलाई टायरको धुँवाले कालो बादललेझैं छोपेको छ । तर यही अँधेरो बन्द शहरको एउटा सडकबाट आज मैले कतै पर क्षितिजमा चाँदिको घेराझैं देखें– रिक्सावालाको वचनलाई । अनि आँखाले भ्याएसम्म हेरिरहें– रिक्सावालालाई ।

Dr. Nawa Raj

Dr. Nawa Raj Subba is a public health specialist, researcher, and author with over three decades of experience in healthcare management in Nepal. He has contributed to public health research, operational studies, and intercultural psychology. In addition to his work in health, he has published books and articles on Nepali literature, culture, and music. His contributions have been recognized by civil society, the government of Nepal, and international audiences. Currently, he is engaged in public health and intercultural psychology studies.

Leave a Reply