रिक्सावाला

  • नवराज सुब्बा

अनिश्चितकालीन बन्द । आज पनि बन्द छ, विराटनगर । शहरमा मोटरसाइकल, गाडी कतै चलेका छैनन् ।

खाना खाएपछि घरबाट हिंड्दै भृकुटीचोक पुगें र यसो आँखा दौडाएँ र एउटा रिक्सामा आँखा ठोक्कियो, रिक्सवालातिर हेरें अलि पाको उमेरको तराइवासी रहेछ । चढ्न अघि रेट फिक्स नगर्दा भरे ओर्लेर जानेबेलामा रिक्सावालसंग दलाली गर्नुको बेमज्जा सम्झें । त्यसमाथि फेरि आज बन्दको दिन रिक्सावाला छोइसक्नु हुँदैनन् भन्ठानेर पहिल्यै रेट सोधें “देवकोटाचोकसम्मको कति लिन्छौं ?” उसले बडो रसिलो पाराले ठाँटपूर्वक भन्यो—“आ… दिनोस्न बीस रुपैया, आखिर मरिलानु के छ र !” आजकल यो भृकुटीचोक देखि देवकोटाचोक बीसरुपैया चलेको छ, रेट ठिक हो । तर कतिपय रिक्साले तीसरुपैया भन्छन् । सही रिक्साभाडा भन्ने रिक्सावालाको इमान्दारिता देखेर आज सहि रिक्सावाला फेला परेछ जस्तो लाग्यो र त्यही रिक्सामा उक्लिएँ ।

यतिञ्जेलमा मैले रिक्सावालालाई अनि रिक्सावालाले मलाई आपसमा नियालि सकेका थियौं । डिएसपी रोड हुँदै तेर्सोबाटोमा पुगेपछि रिक्सावाला बडो भावुक ढँगले बोल्न थाल्यो “हेर्नोस हजुर ! तपाई हामीलाई यी नेताहरूले मिल्न दिंदैनन्, कहिले के नारा भन्छन् कहिले के भन्छन् । वास्तवमा हामी सबैको खून त एउटै छ नि हजुर !” म उसको भनाइको समर्थनमा “हाँ” “हाँ” भन्छु अनि कहिले “हो ठिक हो” भन्दै उसको कुरालाई बडो अभिरुचिपूर्वक एकोहोरो सुन्दै समर्थनमा टाउको हल्लाउँछु । ऊ अझ सुरिदै भन्छ– “यिनीहरु पहाडे, मधेसीको नारा घन्काउँछन् अनि कहिले मधेस र पहाड भनेर डुक्रेका छन्, नेपाल र नेपाली भन्ने भावनालाई यिनले भुले तर अब जनताले यिनीहरुको खाटि कुरा बल्ल बुझे ।” एउटा निरक्षर रिक्सावाललाई समेत राजनीतिप्रतिको यत्रो तिक्तता रहेछ । सायद मलाई पहाडे अनुहार देखेर उसको भावना उर्लेको पो हो कि जस्तो पनि लाग्यो । उसलाई पनि आफ्ना कुरा कसैलाई व्यक्त गर्न आतुरता रहेछ । भावुक रिक्सावालाको त्यो विचार मलाई एकप्रकारको जनमत जस्तो पनि लाग्यो । म जे अनुमान गर्दैथें त्यही कुरा रिक्सावालाबाट सुनेर म पनि दङ्ग परें ।
बीस रुपैयाको ठाउँमा तीसरुपैया नै दिउँ जस्तो पनि लाग्यो । तैपनि देवकोटाचोकमा ओर्लेर बीसको नोट उसको हातमा थमाएँ । उसको अनुहारमा सन्तुष्टिको चमक देखें । उसको बोहनी रहेछ क्यार, उसले बीसको नोटलाई निधारमा छुवायो अर्थात् ढोग्यो र कमिजको गोजीमा राख्यो । मैले उसलाई ‘धन्यवाद’ को एउटा शब्द पनि थपिदिएँ । जवाफमा ऊ फिसिक्क हाँस्यो र मुन्टो हल्लायो र अघि बढ्यो ।

आज मलाई केवल यत्ति कुराले मूड रमाइलो बनायो । बन्दले अस्तव्यस्त शहरमा भुईभरि टायरको अँगार र खरानीको कालो पोतिएको छ । शहरमाथिको निलो आकासलाई टायरको धुँवाले कालो बादललेझैं छोपेको छ । तर यही अँधेरो बन्द शहरको एउटा सडकबाट आज मैले कतै पर क्षितिजमा चाँदिको घेराझैं देखें– रिक्सावालाको वचनलाई । अनि आँखाले भ्याएसम्म हेरिरहें– रिक्सावालालाई ।

Similar Posts

  • प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !

    भीरको खरझैं लजालु गुराँस फूलझैं बैंशालु कस्की छोरी कस्की चेली कस्की हौ तिमी मायालु ? सीताकी हुँ म बहिनी पार्वती मेरी साहिंली विशाल हिमाल पिता मेरा नेपाल मेरो माइती । (गणेशबहादुर राई) आकर्षक बिम्ब, देशप्रेमयुक्त भावमा शुन्दर संगीत भरेर हामी विद्यार्थीहरुलाई गाउन सिकाउने आदरणीय गुरु गणेशबहादुर राई आज स्वयम् एउटा बिम्ब बन्नु भएको छ ।…

  • गुरुकुलमा साहित्यिक भेटघाट

    विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ । गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता…

  • पोखरेलजी नाम जस्तै मधु

    भेट्यो कि हाँस-हाँस उठ्छ गजलकार मधु पोखरेललाई देख्दा । पल्लव साहित्य प्रतिष्ठान चितवनको निम्त्यालु भएर विराटनगरका हामी झण्डै आधादर्जन स्रष्टाहरू गइयो र भेला भइयो नारायणघाट स्थित बृद्धाश्रम सभाकक्षमा । प्रतिष्ठानको वार्षिक समारोह अन्तर्गत सम्मान आदि कार्यक्रम सकिएपछि कविगोष्ठीको आयोजना गरिएको थियो । गजलकार मधु पोखरेलले गजलवाचन गर्न माइकसामु उभिएर बोल्न थालेको केही बेरमै हतारहतार भुइँमा खसेको केही चिज टिप्नुभो । मैले सोचें, वहाँको हातको कुनै वस्तु जस्तै कलम वा कलमको विर्को आदि खसेकोले टिप्नुभएको होला । तर होटलमा फर्के पछि मेरी पत्नी चन्चलाले जब सो घटनाबारे बताइन् तब मात्र थाहा पाएँ कि त्यसबेला वहाँको दाँत नै पो खसेको रहेछ । पहिले त चन्चलाले पनि मुखबाट सुपारी खसेछ भन्ठानिछन् । तर भुइँबाट हतारहतार टिपेर मधुजीले पैण्टको गोजीमा हालेपछि मात्र दाँत रहेछ भनेर उनले चाल पाइछन् ।

  • आफ्नै गीतमा…

    नवराज सुब्बा एउटा गीतकार हुनुको पीडा र सुख पनि बेग्लै भएको छ मलाई । आफ्ना केही गीत अरुका स्वरमा तथा अरुका संगीतमा पहिलो पटक सुन्दा म रोएको छु । त्यसबेला मलाई भक्कानिएर रुन मन लाग्छ । तर लाज लाग्छ आफूलाई नियन्त्रित गर्न हम्मे पर्छ, र एकान्तमा छेलिएर म रुमालले आँशु पुच्छु, बाथरुममा पसेर मुख, आँखा…

  • जदौ ! मगर्नी मैया (नवराज सुब्बा)

    कृतित्व तथा व्यक्तित्वउपर समीक्षा र समालोचना समय समयमा पत्रपत्रिकामा प्रकाशित हुने गर्छन । पाएसम्म आफूसंग सम्बन्धित ती पत्रपत्रिकाहरू संग्रहित गरेर राख्ने गरेको छु । ‘मनको मझेरी’ निबन्धसङ्ग्रहउपर विराटनगरका समालोचक तथा साहित्यकार हरि प्रसाद बरालज्यूले एउटा समीक्षा गर्नुभएको थियो । केही वर्षअघि म बिदामा झापाबाट विराटनगर फर्कदा उहाँले नै मलाई त्यो पत्रिका उपहारस्वरुप दिनुभएको पनि थियो…

Leave a Reply