डा. नवराज सुब्बा
ताप्लेजुङ जिल्लाको हाङपाङ बस्ने फयङहाङ साँबाको इतिहास तथा वंशावलीको अध्ययनको क्रममा अन्य साँबा तथा लिम्बूहरुको वंशावाली, तथा इतिहास उपयोगी सावित भएका छन् । प्राथमिक श्रोतको रुपमा आफ्नै र अरु थरका बूढापाका जान्नेबुझ्नेसित अन्तरवार्ता तथा भनाईमार्फत् सूचना संकलन गरिएका छन् । यसरी एक थरीको इतिहास अध्ययन गर्दा स्वतः अन्य थरी लिम्बूको पनि जानकारी प्राप्त हुने गर्दछ जसले घटना तथा तथ्यको सम्पुष्टि गर्दछ ।
फयङहाङ साँबाका जानकार टेकबहादुर फयङहाङ साँबा लिम्बू अनुसार बाजे पुस्ताका वही थेबा (तुम्याहाङ हिरीका चौथो पुस्ता पञ्चनन्द) को भनाइमा साँबाहरु वि.स. १८०० सालतिर आफ्नो थूम ताप्लेजुङ मेवाखोला साँबा छाडेर एक समूह हाङपाङ आएका हुन् । त्यो साँबा समूह सोवुवाखोलाको चुँङ्वा दोभानदेखि उँभो हाल हाङपाङको मध्य भूभागको जङ्गल फँडानी गरेर चारकिल्ला बाँधेर बसे । त्यसैले त्यसबेला साँबाले फँडानी गरेको जग्गालाई ‘खुर्पेठ्याक’ भनियो । उसबेला हाङपाङ गाउँको तल्लो भाग बिसमुरे जग्गामा हाङबाङ थरका लिम्बू र गाउँको माथिल्लो भाग सिंङ्सोबामा सुनेबा थरका लिम्बू बसोबास गर्दथे । हाङपाङमा आएर फयङहाङ साँबा त्यसबेला खुर्पेठ्याकमा मात्र हैन बिजिल्ले अर्थात् अर्कैको थूममा आएर बसेका लिम्बू जाति भए । साधनस्रोतलाई लिएर त्यहाँ पहिलेदेखि बसोबास गर्ने हाङबाङ र सुनेबा लिम्बूसित संभवतः साँबा लिम्बूको तनाव उत्पन्न भयो होला । साँबाहरुले तम्बरखोलाबाट यक्सोलाई जिम्मावाल जिल्ला बनाउन खोजेर ल्याए (टेकबहादुर लिम्बू, २०७५) ।
फयङहाङ साँबा र यक्सोबीच चलेको कुटुम्बेरी साइनोले पनि सम्बन्ध नजिक रहेको देखिन्छ । किनभने फयङहाङ साँबाले यक्सोलाई आफ्ना छोरीचेली तथा दाइजो स्वरुप जग्गा दिएको जानकार बताउँछन् । उदाहरणको लागि हाङपाङ चुँवा बस्ने अम्बरबहादुर यक्सोकी आमा असलबहादुर फयङहाङ साँबाकी फुपू चेली हुन् । साँबाले दिएको जग्गामा हाल अम्बरबहादुर यक्सो तथा खड्गबहादुर यक्सोका दरसन्तान बसेका पाइन्छन् (नरमाया फयङहाङ, सरला सुब्बा, २०७५) । इतिहासमा एकपटक संभवतः जनसंख्या बढ्दै गएपछि वि. स. १८०७ सालमा साँबा र यक्सोबीच कुनै जग्गाको स्वामित्वलाई लिएर झगडा पनि भएको थियो । फलस्वरुप मिलापत्रको कागज खडा भएको जानकार साँबाहरु बताउँछन् (अर्थबहादुर, धिरेन्द्रराज फयङहाङ साँबा, २०७५) ।
छोरीचेलीलाई जग्गा दिएर राख्ने चलन यक्सोमा पनि पाइन्छ । यक्सोले पनि आफ्नी चेलीलाई जग्गादिएर गरिखान दिएका थिए । आफ्नी छोरीचेली सोबुवा बस्ने मुदेन्छङ् साँबासित गएपछि उनलाई पछि यक्सोले आफ्नै जग्गामा गरिखान दिए । उदाहरणको लागि सोबुवा बस्ने आनन्दधोजका बाबु, जसबहादुरका बाजे हाल नाम थाहा नभएका मुदेन्छङ साँबालाई चेली दिएर दाइजोस्वरुप हाङपाङमा आफ्नो जग्गामा राखेर गरिखान दिएका थिए (नरमाया फयङहाङ, २०७५) । कालान्तरमा यिनै मुदेन्छङ साँबाका दरसन्तान र फयङहाङ साँबाका दरसन्तानबीच कुटुम्बेरी भएको छ । यो पङ्तिकारको पितृवंश फयङहाङ र मातृवंश मुदेन्छङ साँबा हुन् । यसैले यो पङ्तिकार मावली साइनोले कतिपय यक्सोलाई मामा भन्छ भने कतिपय यक्सोलाई बूबाको साइनो खेद्दै लुङ्वा दाजु भाई काका, बडाबा आदि साइनोले सम्बोधन गर्ने गर्दछ ।
‘खुर्पेठ्याक’ भनेको के हो भनेर बुझ्दा येहाङ लाओति भन्नुहुन्छ– जंगल फडानी गरेर प्राप्त गरिएको जग्गालाई खुर्पेठ्याक भन्ने चलन छ । हाङपाङ चुँवा क्षेत्रमा खुर्पेठ्याक गरेर बसेका फयङहाङ साँबाले आफूले त त्यसरी जग्गा हासिल गरेको बताए । तर यहीँ बसोबास गर्ने अन्य लिम्बूको भनाई के छ भन्ने कुराको खोजी तथा भनाई पनि अघि सार्नु पर्ने हुन्छ । हाङपाङ निवासी सरला सुब्बाकी सासु शंकरमाया तुम्रोक आङबुहाङको बाल्यकाल चुँवाको सुन्तलाबारीमा वितेको थियो । उहाँले आफ्नो बाल्यकालमा हजुरबाले बताए अनुसार ‘साँबाहरुको खुर्पेठ्याक चुँङवा जग्गा’ भनेको सुनेको र त्यही कुरा आफ्नी बुहारी सरलालाई संस्मरणस्वरुप बताउनु भएको थियो (सरला सुब्बा, २०७५) ।
साँबाहरुको यक वा थूम मेवाखोला साँबा भएको कुरामा दुईमत छैन । उनीहरुको मूल माङगेना यक पनि ताप्लेजुङ जिल्लाको साँबामा छ । उनीहरुको पुर्खौली स्थल साँबाको भूस्वामित्वको अधिकार उनीहरु हाङपाङ आएता पनि कायम रहेको थियो । यस सम्बन्धमा हाङपाङ निवासी ऐतराज फयङहाङ साँबा भू–नापि हुनुपूर्व साँबा तथा ओलाङचुङगोला मार्गमा पर्ने गाउँबाट तिरो तिर्न मानिस आउने गर्दथे । पछि ओलाङचुङ गोलामा सरकारी तहबाट भन्सार तथा पुलिस पोष्ट स्थापना गर्न तिनै पुराना पाटीपौवालाई उपयोग गर्नलाई भौतिक संरचना तथा स्वामित्वलाई लिएर सरकारी प्रतिनिधि घरमा सोधिखोजी गर्दै आएको र आफूले नै ती पाटीपौवा तथा जग्गाको स्वामित्व सरकारलाई हस्तान्तरण गरिदिएको स्मरण गर्नु हुन्छ । उहाँका अनुसार उहाँका पुर्खा भोटबाट नूनको व्यापार गर्ने गर्दथे । त्यही सिलसिलामा बाटोमा चौरीसमेत वास बसाल्न ओलाङचुङ गोलादेखि मैवादोभानसम्मका विभिन्न क्षेत्रमा पाटिपौवा बनाइएको थियो । यसरी आफ्ना पुर्खौली यक ताप्लेजुङ साँबाबाट हाङपाङमा आएर खुर्पेठ्याक गरेर बसेकोले नापिपश्चात् साँबा यकको भूस्वामित्व त्यागेको ऐतराज फयङहाङ साँबा बताउनु हुन्छ (ऐतराज फयङहाङ साँबा, २०७५) । यसैगरि ‘हामीले हाम्रो पट्टिको किपट तथा भूस्वामित्व त्यहीँकै दाजुभाइलाई बेचेका थियौं’ भनेर टेकबहादुर साँबा बताउनु हुन्छ (टेकबहादुर फयङहाङ साँबा, २०७५) ।
ताप्लेजुङ साँबाबाट आएर हाङपाङमा खुर्पेठ्याक गरेको अर्थात् जंगल फँडानी गरेर अन्य कुनै जातिलाई विस्थापित नगरिकन चारकिल्ला कोरेर हाङपाङको चुँवा क्षेत्रमा बसेकाले फयङहाङ साँबालाई हाङपाङ चुँवाका आदिवासी वा भूमिपुत्र मान्न सकिन्छ तर यही गाउँको अघिदेखि बिसमुरे बसोबास गर्दै आएका हाङबाङ लिम्बू र सिंङसोबा क्षेत्रमा बसेका सुनेबा लिम्बू जत्तिका प्राचीन भने होइनन् । हाङपाङमा फयङहाङ साँबाको अलग्गै चिहानडाँडा छ । हाङपाङमा चुँवाखोला वारिपारि बस्ने साँबाको अलग–अलग माङगेना यक पनि देखिन्छन् । पूजाआजा हुँदा वल्लो डाँडा र पल्लो डाँडामा साँबाहरुको चहलपहल देखिन्छ । तर आजकल हाङपाङबाट धेरै फयङहाङ साँबाहरु अन्यत्र बसाई सरेका छन् । रोजगारी, भौतिक सुविधा तथा अवसरको नाममा एकपुस्ता अघिदेखि धेरैजसो साँबाहरु तराईको मोरङ, झापा, सुन्सरी झरेका छन् भने कोही काठमाडौं उपत्यका पसेका छन् । अवसरको खोजीमा दुईपुस्ता अघिदेखि नै निकै साँबाहरु भारतको आसाममा गइबसेका छन् । करिव एकदशक यता बेलायती सेनामा पेन्सन पकाएर वेलायत सरकारले बस्ने अवसर र सुविधा दिएको तथा त्यहाँ सन्ततिको अभिष्य राम्रो हुने भन्दै केही साँबा परिवार वेलायतमा स्थायी बसोबास गर्न थालेका छन् ।
जेहोस्, उल्लिखित ऐतिहासिक तथ्यहरुको मूल्याङ्कन गर्दा फयङहाङ साँबा कर्मठ, सरल र व्यवसायिक देखिन्छन् । यिनीहरु प्रशासनिक झण्झट र राजनीतिक क्रियाकलापमा अघि सरेको देखिएन । यिनीहरुले हाङपाङमा खुर्पेठ्याक गरेर भूमि हासिल गरे पनि सुभाङ्गी लिन आफू पन्छिए र यक्सोलाई अघि सारे । यद्यपि पुरानो साँबा थूमको सुभाङ्गी भने पछिसम्म कायम राखेका थिए ।
स्रोत-
विभिन्न व्यक्तिहरुसित गरिएको टेलिफोन वार्ता तथा अन्तरवार्ता