जति माया लाए पनि… (नवराज सुब्बा)

“जति माया लाए पनि जति कसम खाए पनि…” बोलको गीत लोकप्रियताको शिखरमा थियो । जुन गीत रेडियो नेपालको फर्मायसी गीत कार्यक्रममा हरेक दिनजसो बज्ने गर्दथ्यो । हाम्रा साथीहरुका जीभ्रामा झुण्डेको थियो यो गीत । बाँसुरी बजाउन सिक्ने साथीहरु यहि गीतको बाँसुरीको धूनमा अभ्यास गर्ने गर्दथे ।

यस्ता लोकप्रिय गीतका स्रष्टा अरुण थापाका एकजना समकालीन कलाकार साथी जो त्यसबेला रेडियो नेपालमा काम गर्दथे, उनीसंग मेरो भेट भयो । उनी पनि उत्तिकै सशक्त कलाकार थिए । मैले अरुण थापाको बारेमा उनीबाट जान्न खोज्दा उनले मलाई भने- “अरुण थापा सुत्दाखेरी ओछ्यानमा पिसाब फेर्दो रैछ, त्यसैले उसकी स्वास्नीले छोडेर गएछ, अनि यस्तो गीत गाएछ ।” यो सुनेपछि म पनि अल्लारे न परें साथीभाइको हाँसोमा हाँसो थप्दै उडाएँ अरुण थापालाई पनि । आफ्ना समकालीन साथीले पाएको लोकप्रियताबाट उत्पन्न इर्ष्यावश भनिएको हो कि भन्ने कुराको शङ्कै गरिन मैले उसबेला ।

तैपनि मलाई उनका केही गीतको संगीत अर्थात् संगीत संयोजनले भने कताकता तानिरहन्थ्यो । उनले गाएको गीतको कुनै कुनै ठाउँमा बहने उनको स्वरलहरीले मलाई मोहनी नै लगाएको थियो । तर साथीको कुराले मेरो मनमा उब्जाएको पूर्वाग्रहले मभित्र उनीप्रति अझै उति श्रद्धा भने जागेको थिएन । होला, कुनै संयोगवश उनका गीतहरु लोकप्रिय भए होलान् जस्तो मात्र लाग्या थियो ।

यसरी धेरै वर्षरू बिते, धेरै गीतसंगीत पनि सुनियो तर उनको जस्तो स्वरभित्रको दर्द, गहिराइ र गायकीमा बहने जुन आकर्षक बहावको स्वाद छ त्यसको अभाव नेपाली संगीतमा पाउन थालेपछि भने मैले उनका क्यासेटहरु किनें । र सुनें । अझै सुन्दैछु ।

बी.बी.सी. नेपाली सेवाको विश्वव्यापी नेपाली लोकप्रिय गीतको सूचीमा पहिलो स्थानमा उनले गाएको “ऋतुहरूमा तिमी हरियाली वसन्त हौ…” बोलको गीत परेको जब थाहा पाएँ त्यसपछि भने मभित्र उनीप्रति साँच्चै श्रद्धा जाग्यो । मलाई उसबेला “ओछ्यान मुतुवा” भनेर घृणा जगाइदिने मेरा मित्रप्रति नै उल्टो एकप्रकारको नकारात्मक धारणाको विकास भएको अनुभूति गर्दैछु अहिले ।

मान्छे मरेपछि मात्रै सम्मान पाउँछ भनेको हो रहेछ जस्तो लाग्यो । समयमा मान्छे नचिन्ने मरेपछि मात्रै घैंटामा घाम लाग्ने खालको मान्छेमा म पनि एउटा लठुवा रहेछु यो जगतमा । जे होस् म उनलाई कहिल्यै बिर्सन सक्दिन जसरी नेपाली संगीत जगतले गायक तथा संगीतकार अरुण थापालाई सदा सम्झने छ । आज नेपाली संगीत जगतसंगै म पनि उनलाई सम्झेर श्रद्धाको एक थूँगा फूल यी शब्दहरुमार्फ चढाउँछु र भन्न चाहन्छु- “अरुण ! यो दुनियाँ आज पनि उत्तिकै निष्ठुर छ जतिबेला तिमी यहाँ थियौ ।”

हो, म साँच्चै भन्दैछु, अरुण थापाका केही गीतहरु मलाई असाध्यै मन पर्छन् । जसलाई म फूर्सदमा संगीतको उच्च आनन्द लिने क्रममा गम्भीरतापूर्वक सुन्ने गर्दछु । नेपाली गीतसंगीतप्रेमी मन आकाशमा सदा चम्किरहने अमर स्रष्टा अरुण थापाको बारेमा अध्ययन अनुसन्धान आज हुँदैछ र भविश्वमा पनि हुनेछ । मानसिक स्वास्थ्यको दृष्टिले हेर्दा बाल्यावस्था पार गरेपछि पनि निद्रामा ओछ्यानमा पिसाब गर्नु एक मनोवैज्ञानिक रोग हो जसको उपचार सम्भव छ । यस रोगलाई मनोरञ्जनको विषय बनाएर कसैको व्यक्तित्वलाई होच्याउने प्रवृत्ति निश्चय नै परिपक्व सोंच होइन । तैपनि थापाको त्यो बानी यथार्थ हो कि वा उनका कुनै समकालीन कलाकारले इर्ष्यावश चलाएको हल्ला मात्र हो, एउटा अध्ययनको विषय हुनसक्छ भनेर पनि यो कुरा यहाँ मैले कोट्याएको हुँ । उनीप्रति नकारात्मक भाव पैदा गर्नलाई भने किमार्थ होइन । यदि उनको त्यो बानी असत्य रहेछ भने, उनीजस्ता प्रतिभाशाली स्रष्टालाइ तत्कालीन उनका साथीहरुले कत्तिसम्म निम्नस्तरमा झरेर इर्ष्या गरेका थिए, भन्ने निष्कर्ष निकाल्न सजिलो हुनेछ ।

श्रावण ६, २०६७ विराटनगर

Similar Posts

  • सूर्तीको स्वाद

    नवराज सुब्बा

    मैले सबैभन्दा धेरै आशिर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिँडी तथा सूर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशिर्वाद पाएँ ।

  • स्रष्टालाई सलाम (नवराज सुब्बा)

    मलाई जीवनमा सारै नराम्रो लागेको क्षण मध्ये एउटा क्षण थियो- वरिष्ठ कलाकार तथा संगीतकार भक्तराज आचायको जीब्रो काटिएको समाचार । लेखकको औंला काटिनु र गायकको जीब्रो थुतिनुमा के नै फरक छ र ! तर कहिलेकाहिँ अखवार पढ्दा आनन्द पनि आउँछ । आज बिहानको चियासितै जब मेरा आँखा भक्तराज आचार्यलाई लाइफटाइम एचिभमेण्ट एवार्ड दिइएको समाचारका हरफमा

  • |

    आत्मासितको साक्षात्कार रहेछ कविता

    डा. नवराज सुब्बा । जति लेखे पनि धीत नमर्ने चीज रहेछ कविता । ६ थान काव्यसङ्‍ग्रहमा सबै कुरा निथ्रियो होला भन्ठानेर जति परपर हुन खोजे पनि कविताले मलाई नछोडे पछि पुनः सातौं काव्यलाई मालामा उन्दैछु । भावनाका फूल मनमा झुल्दै गर्दा अब अरूतिरै लागौं भनेर आफूलाई निकै सम्झाएँ । कवितामा अब आउने रचना मेरा पुनरावृत्ति…

  • |

    Intellectual Property

    Dr. Nawa Raj Subba. An object created by a person using his knowledge, wisdom, and art is called intellectual property. The creations produced in literature, music, art, prose, poetry, drama, and music are intellectual property. For example, writers’ stories, poems, and plays are their intellectual property. Likewise, any song is the intellectual property of the…

  • संगीतकार साथीलाई पत्र

    प्रिय सिथलिङजी नमस्कार ! मेरो यो खुशी सर्वप्रथम म तपाईसँग बाँड्न चाहन्छु र धन्यवादको एउटा फूल सिउरिदिन चाहन्छु । तपाईले नै संगीत भरिदिनु भएको गीतमा आज शनिबार मैले रिभ्स डिजिटल स्टुडियो इटहरीमा गएर आफ्नो स्वरमा गीत रेकर्ड गरें ।

  • |

    बौद्धिक सम्पत्ति

    डा. नवराज सुब्बा । कुनै व्यक्तिले आफ्नो ज्ञान, विवेक, कलाको प्रयोग गरेर सिर्जना गरेको वस्तुलाई बौद्धिक सम्पत्ति भनिन्छ । साहित्य, सङ्गीत, कला क्षेत्रमा उत्पादित सिर्जना गद्य, पद्य, नाटक, गीतसङ्गीत बौद्धिक सम्पत्ति हुन् । जस्तै, साहित्यकारले लेखेका कथा, कविता, नाटक उनीहरुको बौद्धिक सम्पत्ति हुन् । कुनै गीत रचनाकार, सङ्गीतकार तथा गायकका बौद्धिक सम्पत्ति हुन् । यी…

Leave a Reply