रक्सी, चामल र खुशी (गफ)

कुरा त्यस्तै वि.स.२०५४ सालतिरको हो भन्छन् लामिछाने । उनी गफलाई रोमाञ्चित बनाउँदै भन्छन्– पहाडि जिल्ला भोजपुर जाने सिलसिलामा दिनभरि हिंडेर साँझ बल्ल पुगियो दिदीबहिनी डाँडामा तर खानलाई भने केही छैन भनेर पसलेहरूले बताए पछि उनका साथी रुम्दाली र उनी निरास भए । त्यहाँ डाँडामा भएका दुइतीन घरमा बुझ्दा कतै पनि खाना पकाउनको लागि चामल वा पीठो केही किन्न भेटिएन । अब लामिछाने र रुम्दाली फसादमा परे । एकठाउँ खाने नाममा रक्सी चाहिँ भेटियो र अलिकति सुकुटी माछा पनि झुन्ड्याएको देखियो । यही भए पनि खानै पर्यो भन्दै एक बोतल रक्सी लामिछानेले किन्यो । एकदुई चुस्की तानेपछि अलि पर पोकोबाट चामल झिकेर खाना पकाउने सुरसार गर्दै गरेको एकजना भरियामाथि उनीहरूको दृष्टि पर्यो । बिहानदेखि खाना खान नपाएर पेट चाउरी परेकोले लामिछाने अघि बढे र बडो भरोसापूर्वक भरियादाईलाई सोधे “एकमाना चामल किन्न देऊ न” । लामिछानेले प्रस्ताव मात्र के गरेका थिए तातेको कराईको तेलमा पानी पर्दा तेल पड्किएझैं भरियादाई रातोपिरो भएर तोक्मा उझ्याउँद कड्किए “तलाई बेच्न ल्याएको चामल देखिस्” । भोकशोक बिर्सेर लामिछाने लुसुक्क फर्किए ।

यसरी लामिछानेको भालेसातो भरियादाईले खाइ हाल्यो । लामिछाने निन्याउरो मुख लिएर रुम्दालीकोमा फर्किए पछि दुवैजना मिलेर एकछिन रुञ्चे हाँसो हाँसे र सुरुप्प खाए । एकछिन पछि एउटा विचार आयो र कूटनीति चाल्न लामिछाने पुनः तम्सियो । रक्सिको बोतल लिएर ऊ भरिया छेऊ गयो र बिस्तारै भन्यो “हैन दाई ! थाकेर आउनु भएको होला यसो अलिकति थाप्नोस् न !” भरियाले लामिछानेको मुखमा निकैबेर हेर्यो, माथिदेखि तलैसम्म नियाल्यो र ढाकरबाट एउटा स्टिलको गिलास झिक्यो र रक्सी थाप्यो ।

अब यो रक्सीको असर कस्तो पर्छ होला भनेर लामिछाने र रुम्दाली अलिपर अघिकै ठाउँमा बसेर चियाएर हेर्न थाले । करिव आधा घण्टापछि भरियादाईमा रक्सीको असर देखियो । अचम्म ! भरियादाई लामिछाने र रुम्दालीको छेऊमा आयो र भन्यो “अघि चामल चाहियो भन्या हैन, लौ थाप !” ।

यसपछि उनीहरूको भान्सा एउटै भयो । चामल, माछा, गुन्द्रुक, टमाटरको तरकारी र नूनभुटुनको पैसा रुम्दालीले तिरिदिए । भात भरियाले नै पकायो र तीनैभाईले पेटभरि खाए । यसपछि लामिछाने र रुम्दाली त खुशी हुने नै भए उता भरियादाई पनि खुशी भएछन् क्यार ! यही खुसीमा उनले भात, तिहुन पकाउने भाँडाकुँडाहरू पनि एक्लै माझिदिए ।

आज करिव डेढदशक पछि यही कुरा सम्झेर लामिछाने र रुम्दाली उत्तिकै रोमाञ्चित देखिन्छन् । रक्सीले त्यत्रो काम गरेकोमा यो काम लाग्ने चीज नै रहेछ भनेर लामिछाने साथीभाइसित गफ गर्छन् । तर त्यसको केही वर्षपछिको एउटा घटनाले उनलाई यो बानीबाट छुटायो । त्यसताका उनलाई मासिक तलबको हिसाबकिताब आफ्नी पत्नीलाई बुझाउन सधैं गार्हो पर्दथ्यो । एकचोटी साथीभाईलाई रक्सी खुवाउँदा बनेको बिल तिर्दा तिर्दा यसबाट मुक्त हुन उनलाई छ महिना जति लागेको थियो यही तीतोले उनलाई रक्सी खान रोक्यो उनी निन्याउरो पारामा भन्छन् ।

रक्सीसम्बन्धी तीतो र मीठो दुवैखाले अनुभव सुनाउँने क्रम चलिरहेको छ । उनलाई एउटा जिज्ञासा म यसरी राख्छु – “यतिबेला खाइन्छ कि खाइदैन ?” । लामिछाने जवाफमा अनायास हातले टाउको र टुप्पी सुम्सुम्याउँदै भन्छन्– “हेर्नोस् ! आजकल मैले टुप्पी निकै लामो पालेको छु, कसैले रक्सी खाने हो ? भनेर सोधे म यसैलाई हल्लाई दिन्छु र तर्काइ दिन्छु” । यो सुनेर, उनको हाउभाउ देखेर हामी पेट मिचिमिचि हाँस्न थाल्यौं ।

चैत्र २४, २०६८ विराटनगर ।

Similar Posts

  • हारमोनियमको नशा (संस्मरण)

    हाल शनिश्चरे मोरङमा बसोबास गर्ने श्री ओमनाथ उप्रेती मेरा बाल्यकाल विद्यालयका सहपाठी हुन् जोसित धेरै वर्षपछि आज भेट भयो । ताप्लेजुङ जिल्लाको श्री सरस्वती माद्यमिक विद्यालय हाङपाङमा पढ्दा उनी मेरा एकजना रमाइला मित्र थिए । आज कामविशेषले विराटनगर आएको बेलामा फूर्सद मिलाएर भेटघाट गरि पुराना कुरा याद गर्दै मित्रता ताजा बनाउन उनी मेरो अफिसमा पसे…

  • |

    नेपाली भाषाको उत्पत्तिको पुनःमूल्यांकन

    खस भाषिक मूल र पूर्ववैदिक जातीय अन्तरक्रियाको अध्ययन — डा. नवराज सुब्बा नेपाली भाषालाई खस भाषा पनि भनिन्छ। यस लेखमा नेपाली भाषाको उत्पत्तिको पुनःमूल्यांकन गरिनेछ। नेपाली भाषालाई दिनानुदिन अंग्रेजीकरण र संस्कृतीकरण गरिदैछ। जसले अंग्रेजी वा संस्कृत शब्द नेपालीमा मिसायो उ उति विद्वान मानिने भन्ने गलत प्रचलन र भ्रम फैलिएको अवस्था छ। मलाई घरिघरि झर्रोवादी आन्दोलनको…

  • मितज्यू कुलप्रसाद प्रसाइ

    उसबेला हाङपाङमा पैण्ट, शर्ट र चश्मा हेडसर अर्थात् गणेशबहादुर राइले मात्र लगाउनु हुन्थ्यो । लाग्दथ्यो, पैण्टशर्ट भनेको काम नगरी बस्ने, धेरै पढेका अर्थात् धनिमानीको पहिरन हो, चश्मा भनेको विद्वानको गहना हो

  • |

    गाउँको पाटीबाट

    — डा. नवराज सुब्बा परिचय पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङलाई साधारण रूपमा हेर्दा पनि यो ठाउँ प्रतिभाको भण्डारजस्तै लाग्छ। यहीं जन्मिएका धेरै सपूतहरूले देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए। कोही राजनीतिमा, कोही प्रशासनमा, कोही सेवामा समर्पित भएर आफ्नो भूमिकामा उज्यालो थपिदैं गए। ती सबैको नाम यस सानो लेखमा समेट्नु सम्भव छैन। यस लेखको मुख्य उद्देश्य…

  • गीतको माया (अनुभूति) नवराज सुब्बा

    गीत लेख्नुको आनन्द वा गीत सुन्नुको आनन्दको मात्र कुरा गरियो । अब गीत लेख्नुको पीडा पनि कोट्याँउछु है ! निकै वर्ष अघि विराटनगरको एकजना साहित्यकारले मसित एउटा गीत मागे— कुनै एक बालकलाकारको एल्बम निर्माणको लागि । मैले द्वन्दकालीन अवस्थामा बालबालिकाहरूद्वारा विद्यालयलाई शान्तिक्षेत्र बनाइयोस्, कृपया खेलमैदान परेडमैदान नबनाइओस् भन्ने आव्हान भएको बालगीत उनलाई दिएँ । केही…

Leave a Reply