लोक साहित्य र ‘मुन्धुम’ : एक चर्चा
डा. नवराज सुब्बा
—
आजकल ‘मुन्धुम’ अर्थात् किरात वेदको चर्चा छ । मुन्धुमको अर्थ लगाउन मुन्धुमका पंडित साम्बा, फेदाङ्बा पनि कतिपय सवालमा अड्किन्छन् । विभिन्न कालखण्ड, स्थलगत र जातिगत आधारमा मुन्धुमी वर्णन र भावार्थमा विविधता आउँछ । तथ्य बझ्न वा जिज्ञाशा शान्त पार्न मुन्धुमलाई साहित्यिक दृष्टिले पनि अध्ययन गर्नुपर्ने हुन्छ । मुन्धुम काव्यमा आउने अविधा, लक्षणा र ब्यञ्जना भावार्थ, प्रतीक र विम्बलाई गुरु, भक्त वा पाठकले आ–आफ्नै ढंगले ब्याख्या गर्ने गरेकाछ्न् । त्यसैले ग्रन्थउपर अन्त्यहीन शास्त्रार्थ र विभिन्न ब्याख्यान् हुने गरेको छन् । हिन्दू वेद अर्थात् किरात मुन्धुम श्रुतिस्मृति परम्परामा आधारित लोकगाथा हुन्, जो लेख्यरूपमा आउनुपूर्व लामो कालखण्डसम्म सयौं–हजारौं पुस्ता मुखमुखमा झुण्डिएर, धेरै भूगोल खेपेर मात्र एक–दुई हजारवर्षपूर्व लेख्य रूपमा आइपुगेका हुन् । श्रुतिस्मृति परम्परा लेखिनुपूर्व यो एक लोकसाहित्यको रूपमा उत्पत्ति र विकसित भयो । यसैले यसको अध्ययन गर्न लोक साहित्यसम्बन्धी सिद्धान्तको ज्ञान हुन पनि आवश्यक छ ।