‘बीच बाटोमा ब्यूँझेर’ मा कवि नवराज सुब्बाको बिम्ब चेत (शैलेन्द्र साकार)
‘बीच बाटोमा ब्यूँझेर’ मा कवि नवराज सुब्बाको बिम्ब चेत
शैलेन्द्र साकार
बिम्ब भन्नु नै शब्दहरूको संवेदनशील चित्र बनाउनु हो । मानिस जीवनभर बिम्बहरूसिँग बाँच्ने गर्दछ । मानिसले देखेको सपना स्वयं बिम्बको राम्रो प्रस्तुति हो । सपना देखुञ्ज्याल आफ्नै वरिपरि रहेको बिम्ब केही समयलाई हराएजस्तो अनुभूति ब्यूँझेपछि हुने गर्छ । तर, त्यो हराएको हुँदैन त्यो अवचेतन मनमा गएर थपक्क बस्दछ । मानिस बिम्बमा जन्मन्छ र बिम्बमा मर्दछ । बिम्ब लेख्न नचाहँदा नचाहँदै पनि लेखिन्छ किनभने त्यो हाम्रो अवचेतनमा रहिरहेको हुन्छ । बिम्बबिनाको कविता प्राणबिनाको शरीरजस्तो हुन्छ, त्या गतिशील हुँदैन । बिचारमात्र लेख्ने प्रयत्न गरे पनि त्यो बिम्बको आवरणभित्र आएको हुन्छ । कोरा विचारमात्र कदापि कविता हुन सक्दैन । त्यो फगत अनुसन्धान र वक्तव्यबाजी मात्र हुनेगर्छ । बिम्बप्रधान रचनाहरू प्रभावोत्पादक र विस्मरणीय हुन जान्छ । कवि नवराज सुब्बाले ‘र्समर्पण’ मा सुरुमै कथ्य बिम्बको प्रयोग गरेका छन् । दर्शन पनि बिम्बको खोल ओढेर प्रकट भएको छ । ‘गयौ सँगै लिएर आफ्नो लास पनि…’ मा उनको दार्शनिक चेत कथ्य बिम्बको माध्यमबाट प्रकट भएको छ । एकजना प्रख्यात कविले कतै लेखेका छन्, ‘नो पोएट नो आर्टिस्ट अफ एनी आर्ट ह्याज हिज कम्प्लिट मिनिङ अलोन ।’