धेरैपछि गुलाफका कुरा

धेरैपछि गुलाफका कुरा

– नवराज सुब्बा

एक दृष्टिकोणले हेर्दा बालुवामा सुन खोजे जस्तै गरि खोज्नुपर्छ अखबारमा सकारात्मक कुराहरू । हालसालै नेपाली र भारतीय जनतावीच नेपाल-भारत सिमामा गुलाफका फूलहरू आदानप्रदान गरियो भन्ने समाचारले मलाई रोमाञ्चित तुल्यायो । यसरी खुशी हुनाका दुइ कारणहरू छन् । पहिलो कुरो त गुलाफको फूलहरू आदानप्रदान स्वयम्मा भावनात्मक अभिव्यक्ति हो जसले सकारात्मक सन्देश दिएको छ । अर्को कुरा यो घटनाले मलाई दुइ दशक अघिको कर्मशील दिनहरूको याद दिलायो ।

गुलाफी त्यो ओठ खोली एकै थुँगा हाँसिदेऊ
पर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ ।

२०४५ सालतिर जब म तेहथूमको मोराहाङ हेल्थपोष्टमा इञ्चार्जको रूपमा कार्यरत थिए त्यसबेला मैले एउटा गीत लेखें- गुलाफको र पठाएँ हुलाकद्वारा बीबीसी नेपाली सेवामा । आज पनि म सम्झन्छु उक्त गीत खगेन्द्र नेपालीले कार्यक्रमको अन्ततिर बडो मीठो ढंगले वाचन गरिदिनु भएको थियो । वास्तवमा त्यो गीत केवल मेरा कल्पनाले मात्र हैन मेरा कर्मशील हातले पनि परिपोषित रचना थियो । हेल्थपोष्ट भवनलाई बस्तीदेखि अलि टाढा जङ्गलमा अर्थात् डाँडामा बनाइएको थियो- चिहानडाँडामा । उसबेला मेरो जेठो छोरो कौशल टुकुटुकु हिड्ने भैसकेको थियो । त्यहाँ क्वार्टरमा सपरिवार सँगै बस्दा त ठिकै थियो तर कहिलेकाहिँ कामविशेषले सदरमुकाम म्याङलुङ जाँदा अर्थात् कलमा विरामी हेर्न गाउँ जाँदा मेरा परिवार त्यहाँ रात कटाउन डराउँथे । यसैले म परिवारलाई छिमेकी बोलाएर राती सुत्नेसाथीको बन्दोबस्त मिलाएर मात्र छाड्ने गर्दथें ।

त्यही डाँडामा रहेको हेल्थपोष्टको कम्पाउण्डमा एकदिन मैले फूलबारी र करेसाबारी बनाउने निधो गरें र काम थालें । कुटो, कोदालोले खन्दाखेरि प्रायः ढुँगामात्र भेटिने त्यो डाँडामा मैले काम थालेको देखेर जति पनि विरामी, छिमेकी हेल्थपोष्ट आउँथे उनीहरु भन्दथे- “के दुःख गरेको नि यस्तो प्याङ्गकरमा के हुन्छ र ! भो नगर्नोस् दुःखै मात्र हुन्छ” । तैपनि अफिस पछाडीको समय के गर्ने मलाई तास खेल्न नआउने । चियासिया खाँदै गफ छाँट्न पनि आफुलाई मन नलाग्ने भए पछि समय त आफैले केही गरेर काट्नै पर्‍यो नि ! जेहोस्, एकदिन फूलबारी बनाएँ र करेसाबारी पनि लगाएँ । बाँसको कप्टेरोको नाला बनाएर पानी पटाउने प्रवन्ध पनि गरियो ।

करेसाबारीमा पाख्रिबास कृषि केन्द्रबाट गाउँमा वितरण गरिएको फूलकोपी, ब्रोकाउली, सिमी, र रायोका विरुवाहरू ल्याएर रोपियो । हलक्क बढेका विरुवाहरूले हेल्थपोष्ट आउने जोकोही विरामीलाई आर्श्चर्यचकित तुल्यायो । करेसाबारी देख्नेहरू प्रायः भन्दथे- “ओहो ! यस्तो डाँडामा पनि तरकारी कति सप्रेको !” कोही कोही चाहिँ के भन्थे भनें- “हुँदो रैछ नि ! खै हाम्रोमा बारी त्यत्तिकै बाँझो छ, हामी पो अल्छी रहेछौं धत्तेरी” । रायोको साग छिटै टिपेर खान भ्याइयो तर कोबी र ब्रोकाउलीलाई भने निकै मेहनत र समय पर्खनु पर्‍यो । हलक्क हुर्केका कोबीका बोटहरू कुनै फूलभन्दा कम आकर्ष थिएनन् । एकदिन विहानै उठेर हेर्छु त कोबीका बोटहरू त हँसियाले फेदै लाएर काटेर कसैले लगेको जस्तोगरि चट् भएको छ, बारी अलिअलि माँडिएको पनि छ यो देखेर म सारै खिन्न भएँ । भरे यसो बुझदा पो थाहा भयो त्यहाँ जङ्गलमा खरायो बस्दा रहेछन् । पक्कै खरायोले खायो भनेर भने सबैले । खरायो पक्रन धराप पनि थापें तर खरायो धरापमा परेन ।

यस्तै उता फूलबारीमा गुलाफका फूलहरू पनि फुल्न थाले । फूलहरू जोगाउनु पनि उस्तै हम्मे हम्मे पर्‍यो । जब गौखुरी माध्यमिक विद्यालयको टिफिन हुन्थ्यो विद्यार्थी हुल बाँधेर हेल्थपोष्ट आउँथे । खासगरि केटीहरू “आहा ! कति राम्रो फूल” भन्दै फूलका बोटै ढाकेर वरिपरि झुम्मिन्थे । म भने मनमनै मख्ख पर्दथें । तर जुन फक्रेको फूल हुन्थ्यो त्यो गायब हुन्थ्यो, उनीहरू हिंडेपछि । त्यसबेला भने मलाई नमीठो लाग्दथ्यो ।

केही वर्षछि त्यहाँबाट एकदिन मेरो सरुवा भयो । त्यहाँबाट विदा हुने बेलामा गुलाफका बोटमा फूलहरू ढकमक्क फुलिरहेका थिए । हिँड्ने बेलामा सबै फूलहरूले एकसाथ मलाई र मेरा परिवारलाई हाँसेरै विदा गरे जस्तो लाग्यो मलाई । छुट्न अघि एकपटक सबै बोटहरू छोएँ तर कुनै गुलाफ चुँड्न सकिन । केवल मनमनै चुँमे । बाटामा मैले सम्झें- यो गुलाफको जीवन जहाँ रोप्यो त्यहीँ बस्नुपर्ने, जे दियो त्यही खाएर बाँच्नुपर्ने, कठै ! त्यो गुलाफको बोटको नियति कहिलेकाहि आफ्नै जस्तो लाग्छ । यसरी जागिरे जीवन र गमलामा हर्ुर्केको गुलाफको बोटको जीवनलाई तुलना गर्दै मन खेलाउँदै देउराली, भन्ज्याङ्ग र बाटो काटें ।

आज यी कुराहरू म किन पनि सम्झन चाहन्छु भनें दुइदशक अघि गुलाफका फूलहरूले मलाई गीत लेख्न बाध्य बनाएका थिए । जुन गीत मेरो पहिलो कवितासङ्ग्रह “जीवन मेरो शव्दकोशमा” पनि सङ्ग्रहित छ । एकवर्षअघि त्यो सङ्ग्रह पढेपछि मेरा एकजना संगीतप्रेमी मित्र एन्ड्रयू सिथलिङ्ग जसलाई मैले वि.स.२०३४ सालतिर चिकित्सा शास्त्र अध्ययन संस्थान केन्द्रीय क्याम्पस महाराजगञ्जमा पढ्ने क्रममा भेटेको थिएँ । उनलाई पुस्तक उपहार दिँदै मैले लेखेका कुनै गीतले छोयो भने त्यसमा सङ्गीत भर्नोस् म गाइदिन्छु भनेको थिएँ । उनले यही गुलाफको गीत मन पराएछन् । उनी कुनै व्यवसायिक सङ्गीतकार नभए पनि उनमा सङ्गीतप्रतिको जुन लगाव र प्रेम छ त्यो मैले बुझेको थिएँ । वास्तवमा, हामी कुनै व्यवसायिक कलाकार होइनौ केवल गीतसङ्गीतलाई औधी माया गर्दछौं । समय बचाएर यसैमा श्रम र श्रोत खर्च गर्दछौं र केवल एउटा रहर पूरा गर्दछौ अनि यसैमा सन्तुष्टी पाउँछौं । हामीलाई न त दामको आशा छ, न त नामको नै आशक्ति । केवल कसैले छिः चाहिँ नभन्दिओस् बस् त्यत्ति भए पुग्छ हगि ! भन्दै आपसमा गफ गर्ने गर्दछौ ।

उनले एकदिन उनको ल्यापटपबाट कपी गरेर संगीतको डमी सारेर मलाई दिए । उनले भरेको संगीतमा महाराजगञ्ज क्याम्पसको होस्टेलको छतमा बसेर साँझपख जोरगितार बजाउँदै उसबेला हामीले मिलेर गाएको गीतमैं आधारित लय रहेछ । उनको सङ्गीतले मेरो मन छोयो अर्थात् फेरि एकपटक अतीत बल्झायो । संगीत संयोजक धिरज श्रेष्ठलाई वाद्यवादन भर्न दिएँ । गीतको ट्रयाक पनि तयार भएको छ । अहिले म गीत गाउने अभ्यास गर्दैछु अर्थात् पुरानो गुम्सिएको रहर पूरा गर्दैछु । यही गुलाफको गीत स्टूडियोमा रेकर्ड गरेर कुनैदिन श्रोतासामु अवश्य आउनेछु ।

गमलाको छातीभरि फुल्यौ आहा जीवनभरि
हाँस्दा कति सुहाएको गुलाफ र बाबरी ।

[email protected]

Similar Posts

  • विराटनगरमा एकल प्रस्तुती

     १ फागुन २०६६, विराटनगर, कवि नवराज सुब्बाले रोटरी क्लब अफ विराटनगरमा एकल प्रस्तुती कविता, गीत, गजल र मुक्तक वाचन गर्नुभयो । सोही अवसरमा "देशको माया" एलवमको "नेपाली नेपाली हामी नेपाली" गीतको भिजुयल -श्रव्यदृष्य) पनि प्र

  • जदौ ! मगर्नी मैया (नवराज सुब्बा)

    कृतित्व तथा व्यक्तित्वउपर समीक्षा र समालोचना समय समयमा पत्रपत्रिकामा प्रकाशित हुने गर्छन । पाएसम्म आफूसंग सम्बन्धित ती पत्रपत्रिकाहरू संग्रहित गरेर राख्ने गरेको छु । ‘मनको मझेरी’ निबन्धसङ्ग्रहउपर विराटनगरका समालोचक तथा साहित्यकार हरि प्रसाद बरालज्यूले एउटा समीक्षा गर्नुभएको थियो । केही वर्षअघि म बिदामा झापाबाट विराटनगर फर्कदा उहाँले नै मलाई त्यो पत्रिका उपहारस्वरुप दिनुभएको पनि थियो…

  • रोयल्टी सङकलन अन्तरक्रिया

    पौष १६, २०६८ इटहरी सुनसरी । सङ्गीत रोयल्टी सङकलन समाज र कपीराइट रजिष्ट्रारको कार्यालयद्वारा इटहरी सुनसरीमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । गीतसङ्गीत क्षेत्रमा संलग्न गीतकार, संगीतकार तथा गायकहरुको सहभागिता उत्साहजनक थियो ।

  • अलबिदा कुमार कान्छा !

    करिव डेढवर्षअघि कुमार कान्छासित मेरो पहिलो र अन्तिभ भेट भएको थियो काठमाडौंको एक रेकर्डिङ स्टुडियोमा । मलाई सारै मन परेको मेरो एउटा गीतको संगीत जसलाई युवा संगीतकार साजन राइले संगीतबद्ध गर्नुभएको थियो त्यसलाई म नरेन्द्र प्यासीको स्वरमा रेकर्ड गर्न चाहन्थें । यसै उदेश्यले मैले सो गीतको संगीत संयोजनको जिम्मा मैले भूपेन्द्र रायमाझीलाई दिएँ । संगीत…

  • गुरुकुलमा साहित्यिक भेटघाट

    विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ । गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता…

Leave a Reply