डा. नवराज सुब्बा
गाउँको पृष्ठभूमि
ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने यो हाङपाङ गाउँ हाल संघीय नेपालको आठराई त्रिवेणी अन्तर्गतको हाङपाङ वडामा परिणत भएको छ । अहिले यो हाङपाङ गाउँ छिमेकी चाँगे, फूलबारी र निघुरादिन गाउँको सदरमुकाम गाउँपालिका बनेको छ । सरस्वती उच्च माद्यमिक विद्यालय आठराई त्रिवेणी गाउँपालिका सदरमुकाममा रहेर सर्वत्र शिक्षाको ज्योति फैलाइरहेको छ । यहाँको शैक्षिक पृष्ठभूमि जान्न विद्यालयको इतिहास कोट्याउन पर्दछ ।
आठराई हाङपाङ गाउँ वि.स. २०३२ अघि तेह्रथूम जिल्लाको एक दूर्गम गाउँ आठराई हाङपाङ थियो । यो गाउँ दुर्गम भए तापनि त्यहाँका जनता जागरुक थिए । विक्रम सम्बत् एक्काइशौं शताब्दी आरम्भपछि यहाँ टोलटोलमा विद्यार्थी भेला पारेर पढाउनलाई शिक्षक राख्ने चलन चल्यो । यसले तत्कालीन अवस्थामा लेखापढी गर्न जान्ने जनशक्ति तयार पार्यो ।
२००७ सालको क्रान्तिको सामाजिक चेतनाको प्रकाश यहाँसम्म आइपुग्यो । तब अनौपचारिक शिक्षाले मात्र समयको माग र आवश्यकतालाई पूरा गर्न नसकेको महसुस भयो । फलस्वरुप गाउँघरका विभिन्न केन्द्रहरुमा जनताले सामुदायिक विद्यालय भवन बनाउन थाले । उनीहरुले शिक्षकलाई पारिश्रामिक दिनका लागि जनसहभागितामा आधारित ब्यवस्था मिलाए । सबैको मुठीदानमा प्राप्त अन्न वा रकम दान सङ्कलन गरी शिक्षकलाई पारिश्रामिक दिने ब्यवस्था मिलाइयो । यसरी नै विद्यालय खोल्ने र संचालन गर्ने अभियान अघि बढ्यो । फलस्वरुप २०१८ सालमा हाङपाङमा सरस्वती डि.एस.बी. मिडिल स्कुल स्थापना भयो ।
त्यसबेला हाम्रो क्षेत्रमा सात कक्षासम्म पढाउने मिडिल स्कुल थिएनन् । आठराई सक्रान्ति र चुहाण्डाडामा विद्यालय खुलेका थिए । त्यहाँ पुग्न एकदिन लाग्दथो । गाउँघरमा पढेलेखेका मानिस ज्यादै कम थिए । शिक्षक खोज्दा मान्छे पाउनै मुस्किल पर्दथ्याे । त्यसबेला शिक्षकलाई अहिले जस्तो सरकारले तलब दिंदैनथ्यो । विद्यालयलाई सरकारको गतिलो अनुदानको व्यवस्था थिएन । शिक्षकलाई तलब खुवाउन, विद्यालयको भौतिक संरचना बनाउन, मरम्मत गर्न जनताले नै चन्दा उठाउन पर्दथ्यो । शिक्षकले तलब बापत नगद वा जिन्सी वार्षिक रुपमा पाउँथे ।
विद्यार्थीको समस्यामा कक्षाकोठामा पानी चुहिनु प्रमुख थियो । खरको छानाले चार-पाँच वर्ष थाम्दथ्यो । छाना छाउने साल चन्दा उठाएर काम पुरा गर्नै मुस्किल पर्दथ्यो । विद्यालय चलाउन, छानामा जस्तापाता लगाउन, कोठा थप्नलाई चन्दा नउठाइ उपाय थिएन । त्यसैले विद्यालय चलाइराख्न वा स्तरोन्नति गर्न संचालक समितिका पदाधिकारी तथा शिक्षकले मेहनत र त्याग गरे । गाउँमा उठेका चन्दाले नपुगेर उनीहरु चन्दा उठाउन कहिलेकाहिँ मधेस झर्दथे, कहिले भारतको आसामसम्म पुग्दथे । यसरी उठाइएको चन्दाले विद्यालय संचालन, भवनको छानामा जस्तापाता लगााउने र कोठा थप्ने काम गरियो ।
संचालक समितिका पदाधिकारी तथा शिक्षक बेलाबेला चौतारामा बसेर गफ गर्दथे । चन्दा उठाउँदा भोगेका दुःखसुखका कुरा गर्दथे । फलानाले यति चन्दा दियो चिलानाले बोलायो तर दिएन आदि, इत्यादि । त्यो बेला गाउँमा वार्षिक भेला बोलाएर जनतालाई चन्दा रकम तोकिन्थ्यो । चन्दाको नाममा विद्यालय र समाजले लगाएको त्यो अघोषित शैक्षिककर नै थियो । अहिले मूल्याङ्कन गर्दा त्यसबेला जनताले गरेको योगदानलाई उच्च मान्नु पर्दछ ।
वास्तवमा, सरस्वती माध्यमिक विद्यालयलाई स्थानीय जनताले रगत, पसिना र आँशुले सिंचेर हुर्काएको सामाजिक सम्पदा हो । यसको धरातलका साक्षीहरु अझै ज्यूँदै छन् भने कतिपय घटना त्यहीँ माटोमा बिलाएका छन् । आज हाङपाङ र आसपासका जनताले त्यसको मीठो फल खान पाएका छन् । मजस्ता कैंयौं विद्यार्थीको मनमा आज सरस्वती माद्यमिक विद्यालय सरस्वतीको मन्दिर प्रमाणित भएको छ ।
गणेशबहादुर राईको आगमन
अङ्ग्रेजीका स्नातक गणेशबहादुर राई विक्रम सम्बत् २०१८ अर्थात् सन् १९६१ मा शिक्षाप्रेमी गाउँलेको आग्रहमा दार्जिलिङबाट आठराई हाङपाङ आएका थिए । फलस्वरुप सरस्वती डिएसबी मिडिल स्कुल हाङपाङले एक शिक्षित व्यक्तिलाई हेडसरको रुपमा पायो । यो विद्यालयले केही मात्रामा भारतीय सैनिक बोर्डबाट आर्थिक सहयोग पाएको थियो । विश्व युद्धमा मारिएका अनगिन्ति नेपालीको बेवारिसे सम्पत्ति ब्यवस्था गर्ने कोशले लाहुरेको गाउँ हाङपाङलाई पनि लाभग्राही सूचीमा रखेको थियो । त्यसैले विद्यालयको नाममा डिएसबी संज्ञा पनि जोडिएको थियो । कालान्तरमा विद्यालय हाइस्कुल भयो । सरकारी अनुदान पाउँदै गएपछि उक्त डिएसबी शब्द पनि हटेर गयो ।
हाल यो विद्यालय सरकारी अनुदानप्राप्त उच्च माद्यमिक विद्यालय बनेको छ । विद्यालयलाई यो अवस्थामा ल्याउनेमध्येका एक शिक्षकका रुपमा गणेशबहादुर राईलाई लिइन्छ । उनलाई चिन्ने वा बोलाउने नाम थियो– हेड सर । म अहिले तत्कालीन सरस्वती डिएसबी मिडिल स्कुलका हेडसर गणेशबहादुर राईको शब्दचित्र कोर्दैछु ।
हेड सरका रुपमा गणेशबहादुर राई हाङपाङ आएको साल र मैले यो धरती टेकेको वर्ष संयोगले एकै परेछ । त्यसैले मैले उनलाई सानैदेखि गाउँमै देखें । उनी मलाई हाङपाङकै रैथाने जस्तो लाग्दथ्यो । मेरो उमेर बढ्दैं जाँदा मैले बुझें, हाङपाङका अग्रजहरुले शिक्षकको रुपमा उनलाई दार्जिलिङबाट ल्याएका रहेछन् ।
राईका पिता तेह्रथूमस्थित भारतीय सैनिकको संस्था डिष्ट्रिक्ट सोल्जर्स बोर्डमा कार्यरत अधिकृत थिए । उक्त बोर्डको सहयोगप्राप्त विद्यालयमा उनले आफ्ना छोरा गणेशबहादुर राईलाई पठाएको बुढापाका भन्दथे । हुन त यो विद्यालयलाई सोल्जर बोर्डले केही मात्रामा सहयोग गरे तापनि मूलतः जनताको चन्दाले नै चलेको थियो । त्यसबेला विद्यालयमा साधनस्रोतको ज्यादै कमी थियो । शिक्षकले तलब पाउन ६ महिना वा एक वर्षसम्म कुर्नु पर्दथ्यो । शिक्षकले नगद वा जग्गा जमिन तलबबापत पाउने गर्दथे । सोल्जर बोर्डमा कार्यरत पिताले आफ्ना होनहार पुत्रलाई त्यस्तो जोखिमपूर्ण अवस्थामा पनि हाङपाङ पठाएकामा मलाई अचम्म मात्र होइन, त्यो हाम्रो भाग्यको खेल जस्तो पनि लाग्दछ ।
२०१८ सालको स्नातकले सरकारी नोकरीमा छिरेको भए आज उनी सचिव भएर निस्केका हुन्थे । त्यसबेला उनले कोशिस गरेको भए उनको लागि अवसरका अनेकौं ढोका थिए । यद्यपि उनी हामी जस्ता कुनाकाप्चामा बसेका अशिक्षितलाई शिक्षाको ज्योति बोकेर आए । उनी एकप्रकारले अज्ञानताको अन्धकारमा छट्पटाएको गाउँमा छिरे । गाउँ र त्यस क्षेत्रलाई उज्यालो पारे । गाउँमा शिक्षक पेशा सम्मानित भए तापनि उसबेला त्यो पेशा धेरै चुनौतीपूर्ण थियो । उनको जीवनको सारलाई बिम्वमा भन्नुपर्दा उनी मैनवत्तिझैं जलेर दुनियाँ उज्यालो त पारे तर स्वयम् भने बत्तीको फेदको अँध्यारो छायामा परे ।
अनुशासित परिवारिक तथा शैक्षिक पृष्ठभूमिका गणेश सर विद्यालयमा आएपछि उनको कुशल नेतृत्वमा विद्यालय क्रमसः फस्टायो, मौलायो । विद्यालयको छवि चारैतिर फैलियो । वरिपरिका धेरै विद्यार्थी यहाँ पढ्न आए । त्यसको साक्षीमध्येको म एक विद्यार्थी अझै यसबारे भन्न सक्दछु । गणेशसरको म एक छिमेकी पनि हुँ जोसंग मेरो सम्पूर्ण बाल्यकाल बितेको थियो । बाल्यकालको विद्यार्थी जीवन उनकै छत्रछायामा व्यतीत भएको थियो । त्यसैले म उनलाई नजिकबाट जान्दछु । तसर्थ, मेरा स्मृतिका पानामा छरिएका धुमिल अनुभूतिका पाना पल्टाउँदैछु ।
लवाइ खवाइ
हाम्रो गाउँमा त्यसबेला चश्मा लगाउने मानिस थिएनन् । पण्डितहरु किताव पढ्दा गान्धी चश्मा लगाउँथे । कोही मानिस बेला–बेला कालो शीतलु चश्मा लगाउँथे । सधैं चश्मा लगाउने मानिस गाउँमा एकजना गणेश सर मात्र थिए । हामी केटाकेटीलाई के लाग्दथ्यो भने चश्मा भनेको हेडसरले लगाउने गहना हो । किनभने उनीजस्तो निरन्तर चश्मा लगाउने मानिस गाउँमा अरू कोही थिएनन् । हामीलाई उसबेला चश्मा आँखाको दृष्टि कमजोर भएकाले लगाउने वस्तु हो भन्ने थाहा थिएन । लाग्दथ्यो, चश्मा भनेको धेरै पढेकाले लगाउने चीज होला । या कतै राम्रो शिक्षित देखिनलाई लगाउने चीज होला । जेहोस्, हामी विद्यार्थीको मनमा चश्मा विद्धान मान्छेको द्योतक थियो ।
अर्को कुरा, त्यसबेला हाम्रो गाउँमा पैण्ट, शर्ट लगाउने मानिस उति थिएनन् । उक्त पहिरन लगाउने गणेश सर गाउँमा एक्लै नै थिए । हुन त गाउँमा लाहुरेहरू छुट्टिमा आउँदा केही दिन पैण्ट, शर्ट लगाउँदथे । तर केही दिनपछि उनीहरु पनि पैण्ट, शर्टको सट्टा दौरासुरूवाल सिलाएर लगाउने गर्दथे । हामीलाई के विश्वास थियो भने पैण्ट, शर्ट लगाएपछि काम गर्न मिल्दैन । किनभने गणेशसर पैण्ट, शर्ट लगाएर अरूझैं खेतबारीमा काम गरेको कहिल्यै देखेनौं । त्यसकारण हामीलाई के लाग्यो भने पैण्ट सर्ट काम नगरी कुर्सी टेबलमा बस्ने मानिसले लगाउने पोसाक होला ।
गणेश सर सरल र शालीन व्यक्ति थिए । उनी ज्यादै कम मात्रामा बोल्ने गर्दथे । उनले अरूजस्तो गलल हाँसेको हामीले कहिले देखेनौं । सधैं गम्भीर मुद्रामा रहने गणेश सरको छेऊ पर्न विद्यार्थी डराउँथे । उनलाई देखेपछि विद्यार्थी टाढैैबाट परपरै तर्कन्थे । विद्यार्थी आपसमा खासखुस कुरा गर्दथे, उनी रिसाहा स्वभावका छन् । गल्ति गरेको थाहा पाएमा उनले अफिसमा बोलाएर छरीले हातमा पिट्छन् भन्ने हल्ला चलेकाे थियो । हुन पनि कक्षामा पाठ सोधेको बेला विद्यार्थीलाई आएन वा कुनै विद्यार्थीले अनुशासनहीन काम गरेमा उनी सजायस्वरूप हात थाप्न लगाएर फिट वा लौरोले पिट्दथे ।
अनुशासन
विद्यालयमा विद्यार्थी र शिक्षक सबैले कठोर अनुशासन पालन गर्नुपर्दथ्यो । कसैले पनि विद्यालय परिसरमा चुरोट, बिडी खान पाउँदैनथे । उसबेला अहिले जस्तो खैनी खाने चलन थिएन । विद्यालय ढिला गरी आउने विद्यार्थीले छुट्टै लाइन लाग्नुपर्दथ्यो । उनीहरुले सजाय पाएपछि मात्र कक्षाकोठामा पस्न पाउँथे । मैले लाइनमै एकदुई पटक विद्यालय ढिला आउने विद्यार्थीहरूलाई सामुहिक रूपमा लाइन लगाएर पिटेको देखेको थिएँ । त्यसरी पिट्दा केटाहरू लाजले नरोए पनि केटीहरू भने पछ्यौराले मुख छोपेर घुँक्कघुँक्क रुन्थे । पाठ बुझाउँदा वा बोल्दा उनीतिर फर्केर कसैले हाँस्यो भने “सिस्नो खाएको तेरो दाँत देखाउँछस्, नाथे” भनेर हप्काउँथे ।
उनी विद्यार्थीलाई झपार्दा ‘नाथे’ शब्दले गाली गर्दथे । हामी विद्यार्थी त्यो ‘नाथे’ भनेको के रहेछ भनेर आपसमा कुरा गर्दथ्यौं । पछि पछि थाहा भयो त्यसको अर्थ नाकभित्रको रौं रहेछ । त्यत्ति सारै नराम्रो गाली त हैन रहेछ जस्ताे लाग्दथ्यो । कुनैबेला ‘गधा’ ‘गोरु’ भनेर पनि हपार्दथे । पहाडतिर हामीले गधा नदेखेको हुँदा हामीलाई त्यो गालीमा आउने विम्बले छुँदैन थियो । गोरु शब्दले अलिअलि छुन्थ्यो तर हप्काएका बेला उनको शब्द भन्दा पनि अनुहारको भाव र आवाजको झोक्काले थर्काउँथ्यो र विद्यार्थी त्यसै थर्थरी काँप्दथे ।
वास्तवमा, गणेशसरले हाङपाङ र आसपासका क्षेत्रमा विद्यार्थीलाई अनुशासनको पाठ सिकाए । गाउँमा पढेका भन्दा नपढेका मानिस धेरै हुन्छन् । त्यसबेला ‘पढ्यो लेख्यो के काम हलो जोत्यो खायो माम’ भन्ने उक्ति प्रचलित थियो । पढ्यो भने त्यसले हलो जोत्दैन, घरमा काम गर्दैन, छोरी पढाए लभ लेटर लेखेर पोइला जान्छे भनेर अभिभावक छोराछोरीलाई विद्यालय पठाउन उति मन गर्दैनथे । त्यसबेला विद्यालयमा भर्ना हुने विद्यार्थीहरू अलि उमेर छिप्पिएकाहरु बढी मात्रामा थिए । अर्थात् ५/७ कक्षामा पढ्ने विद्यार्थी पनि १५/२० वर्ष माथिका हुन्थे । अहिले त १५/१६ वर्षमा एस.एल.सी./एस.ई.ई. पास गर्छन्, उसबेला करिव २५/३० वर्षमा मात्र प्रायः म्याट्रिक गर्दथे ।
शरीरमा बल पसेका तर अनुशासन नजान्ने विद्यार्थीलाई विद्यालयमा पढाउनु र तिनलाई विद्यार्थीका रुपमा सधाउने काम सजिलो थिएन । गाउँमा फुटबल खेल लाेकप्रिय थियो । विद्यार्थी खेलाडी हुन् वा गाउँले खेलाडी आपसका खुट्टा हानाहान गर्थे, आपसमा छिर्के लाउँथे र खेल प्रायः भिडन्तमा टुङ्गिन्थ्यो । एकैछिन अघि मिलेर खेल्दै गरेका विद्यार्थी पछि ढुँगा हानाहान गर्दै छुट्टिन्थे । त्यस्ता काँचा युवक विद्यार्थीहरूलाई गणेशसरले खेलको माध्यमबाट अनुशासनको पाठ सिकाए । उनी भएको बेला विद्यालयमा कवाज, दौड तथा एथलेटिक्सको वार्षिक प्रतियोगिता आयोजना गरिन्थ्यो । खेलकुदमा विद्यार्थी अभ्यस्त र अनुशासित हुन्थे । पढाइको अतिरिक्त विद्यालयमा सिकाइएको खेलकुद, दौड, पिटी आदिले विद्यालय पढिसकेर वा बीचमा पढाइ छाडेर लाहुर जानेलाई खूब काम लाग्दथ्यो । उनीहरु पल्टनबाट हेडसरले सिकाएको काम लाग्यो भनेर पत्र पठाउँथे ।
विद्यालयमा अनुशासनका बारेमा विद्यार्थीहरूलाई निबन्ध, कविता, नाटक लेख्न प्रोत्साहित गरिन्थ्यो । राम्रो अनुशासन भएका कक्षाबाट एकजना विद्यार्थीको नाम हरेक वर्ष घोषणा गर्ने चलन थियो । कुनै विद्यार्थीको रिपोर्ट–कार्डमा शिक्षकले कुनैबेला कैफियत लेखिदिएमा उक्त विद्यार्थी नराम्रो विद्यार्थीमा दरिन्थ्यो । शिक्षकले विद्यार्थीको अनुशासनमा कैफियत लेखिदिएको खण्डमा विद्यार्थी विद्यालयबाट निष्काशितसम्म हुने व्यवस्था गरिएको थियो । त्यसैले गर्दा हरेक वर्ष एस.एल.सी. परीक्षामा सरस्वती माद्यमिक विद्यालयको परीक्षाफल राम्रो आउँथ्यो । विद्यालयको नाम र गणेशसरको नाम चारैतिर फैलिएको थियो ।
स्वस्थकर जीवन शैली
गणेश सर हाम्रो गाउँको रोल मोडल थिए । गाउँमा चर्पी बनाउने चलन त्यत्ति थिएन । प्रायः बाँसघारी, खोल्सा, खाल्सीमा दिसापिसाब गर्ने चलन थियो । त्यस्तो बेलामा उनले गाउँमा व्यवस्थित चर्पीको चलन ल्याए । उनी बिहानै हातमा पानीको वोतल बोकेर चर्पी जान्थे । कहिलेकाहीँ हामी केटाकेटी पछ्याउँदै उनी चर्पी गएको, चाबी खोलेको, भित्र पसेर चुक्कुल लाएको, निस्केको दृश्य लुकेर हेर्दै रमाइलो गर्दथ्यौं । हामीलाई त्यसबेला त्यो क्रिया अचम्म जस्तो लाग्दथ्यो । हामी जङ्गल पस्नेलाई चर्पीको आवश्यकता र महत्वबारे त्यसबेला थाहा थिएन । धेरै पछि अरू सरहरूले पनि घरमा चर्पी निर्माण गरेको देख्यौं । अहिले सम्झँदा हामी कति असभ्य रहेछौं जस्तो लाग्दछ ।
धुम्रपान नगर्ने उनको अर्को राम्रो बानीमा थियो । विद्यालयमा शिक्षक र विद्यार्थीलाई विद्यालय परिसरमा धुम्रपान गर्न निषेध गरिएको थियो । विद्यालयमा कुनै विद्यार्थीले धुम्रपान गरेको पाइएमा कठोर सजाय हुन्थ्यो । शिक्षक पनि लुकेर मात्र सुर्ती वा चुरोट पिउँने गर्दथे ।
अङ्ग्रेजी भाषामा दखल
अंग्रेजी भाषामा उनको दखल थियो । मलाई साल ठ्याक्कै याद भएन त्यस्तै २०२५/२६ सालतिर होला म तीन कक्षामा पढ्दथें । विद्यालयमा पीटर नामका एकजना अमरिकी पिसकोर स्वयमसेवक शिक्षकका रुपमा हाम्रो विद्यालयमा आएका थिए । उनी हामीलाई अंग्रेजी भाषा पढाउने शिक्षक थिए । त्यसबेला आठराई हाङपाङ क्षेत्रका शिक्षक र विद्यार्थीमाझ कम्यूनिष्ट विचारको लहर फैलँदो अवस्थामा थियो । हामी त केटाकेटी मान्छे कुरो अलिअलि मात्र बुझ्दथ्यौं । विद्यालय छुट्टी भएर घर फर्कने बेलामा विद्यार्थीहरूले उनै पीटरलाई घेर्दथे । विद्यार्थीहरु उनलाई तिमी अमेरिकी साम्राज्यवादी देशका नागरिक हौ, यहाँ जासुसी गर्दैछौ, यहाँ बस्न पाउँदैनौं, तिमी आफ्नो देश फर्क भन्दथे । विद्यार्थीहरु पीटरलाई पटक पटक उल्याँउँथे र निरुत्साहित पार्दथे । सायद उनले त्यसको जानकारी आफ्नो दूतावासलाई दिए होलान् ।
अब के होला भनेर हामी केटाकेटी सशङकित थियौं । नभन्दै एकदिन अमेरिकी राजदूत क्यारोल सी. लेस हेलिकप्टर चढेर हाङपाङ आइन् । हेलिकप्टर बस्ने स्थान हाम्रो विद्यालयमा बनाइएको थियो तर सो स्थानमा बसेन । गाउँको अलि माथि रहेको कालिका प्राविको खेलमैदानमा हेलिकप्टर बस्यो । सायद यसैमा हाम्रो गणेश सरलाई रिस अठ्यो होला । राजदूत साँझ ६–७ बजे विद्यालयमा आइन् । राति आएको पाहुनालाई गणेश सरले स्वागत गरेनन् । उनी ढोका लगाएर सुते । विद्यालयको मैदानमा तयार गरेको हेलिप्याडमा जहाज नउत्रेकाले हेडसर रिसाएको हामीलाई थाहा थियो । त्यसैले उनले राजदूतलाई आउनासाथ स्वागत गरेनन् । अरु शिक्षकहरुले राजदूतलाई स्वागत गरे । हामी केटाकेटी लाइनमा लाग्यौं र राजदूत क्यारोल सी लेसको हातबाट चकलेट थाप्दै थ्याङ्कयू भन्यौं । किनभने सरहरुले हामीलाई चकलेट थापेपछि धन्यवाद भन्न सिकाएका थिए । एकजना विद्यार्थीले थ्याङ्कयूमा भेरी मच पनि थपिदियो, हामी गलल हाँस्यौं ।
भोलिपल्ट बिहान मात्र गणेश सरले ती अमेरिकी विशिष्ठ नागरिकसंग भेट गरे । उनले अंग्रेजीमा फरर बोलेको देख्दा हामी दङ्ग पर्यौं । अहिले सम्झँदा मलाई अलि नमीठो लाग्दछ । हाङपाङको विद्यालयमा सायद सुरक्षाको कारणले हेलिकप्टर अवतरण नगरेर छिमेकी विद्यालयमा गएको हुनसक्छ । त्यति विवेक राखिदिएको भए गणेश सरले चित्त दुखाउनु पर्दैनथ्यो । उनी त्यसबेला गाउँलेका अघोषित प्रतिनिधि पनि थिए । कमसेकम साँझपख गाउँमा आएको पाहुनालाई स्वागत गरिदिएको भए हुन्थ्यो ।
मलाई राजदूत भन्दा पनि उनी चढेर आएको हेलिकपप्टरले आकर्षित तुल्यायो । आकासमा उडेको देखिन्थ्यो, त्यो वस्तुलाई त्यसबेला नजिकै देख्दा औधी खुशी र उद्वेलित भएँ । त्यसपछि त सपनामा पनि हेलिकप्टर मात्र देख्न थालें । लेख्ने कापीमा पनि जताततै हेलिकप्टरको चित्र मात्र कोर्न थालें । एक दिन म पनि पाइलट हुन्छु भन्ने भावना उम्रियो । हेलिकप्टर वा हवाइजहाज चढ्न पाए कस्तो होला भनेर म दिनरात कल्पना गर्न थालें ।
फुटबल खेलाडी
मैले सुनेको मात्र गणेश सर राम्रो फुटबल खेलाडी थिए । हाम्रो विद्यालयमा ठूलो फुटबल मैदान थिएन । त्यसैले उनले विद्यालयको खेल मैदानमा फुटबल खेलेको देखिन । विद्यार्थीहरू मात्र यसमा फुटबल खेल्दथे । खेल मैदान सानो भएको कारणले रहेछ रेफ्रीले दौडनु पर्दैन थियो । विद्यालयको बार्दलीमा बसेर गणेश सर रेफ्रीको काम गर्दथे । हामीलाई लाग्दथ्यो फुटबलको रेफ्री पनि भलिबलको रेफ्रीझैं एकै ठाउँ बसेर वा उभिएर खेल खेलाउँछ ।
आठराई सक्रान्तिमा वर्षेनी भव्य मदन मेला लाग्दथ्यो । त्यहाँको त्रिमोहन माद्यमिक विद्यायलमा हाम्रो भन्दा ठूलो फुटबल मैदान थियो जहाँ वर्षेनी फुटबल म्याचको आयोजना गरिन्थ्यो । मदन मेलामा ताप्लेजुङ, तेह्रथूम, फिदिम, खाम्लालुङ, सम्दु, साँघु, फेदापतिरबाट खेलाडीहरू भेला हुन्थे र प्रतियोगितात्मक प्रतिस्पर्धामा भिड्दथे ।
मदन मेलामा फुटबल, भलिबल, ब्याडमिण्टन, क्यारेमबोर्ड लगायतका प्रतियोगिता हुन्थे । हामी भुराभुरी छँदा गणेश सरले उक्त मदन मेलामा राम्रो फुटबल खेल प्रदर्शन गरे भनेर चर्चा सुन्दथ्यौं । त्यसबेला अर्का खेलाडी आठराईतिरकै रसाइली सर थिए । उनी लामो केश पालेर कपालमै काइँयो सिउरन्थे तर उनको फुटबल खेल भने राम्रो थियो । उनी सुनसरी धरान स्थित फुटबल टिमका एक खेलाडी भएको थाहा पायौं । एकपटक उनै रसाइली सर हाङपाङ चुँवाको खेल मैदानमा भएको फुटबल म्याचमा रेफ्री भए । उनी खेलाडीसंगै दौडेको देखेर हामी छक्क पर्यौं । पहाडतिरका खेलमैदान साना हुन्छन् यसैले हामीले रेफ्री मैदानका बीचमा उभिएर सिटी बजाएको मात्र देखेका थियौं । त्यसबेला रसाइली सरको चुरीफुरी देखेर हामी विद्यार्थीलाई रमाइलो लाग्यो । यिनै रसाइली सरको टिमलाई हाम्रो गणेश सरको टिमले मदन मेलामा जितेको रे भन्ने हल्ला हामीले सुनेका हौं ।
मैले गणेश सरबाट सिकेको महत्वपूर्ण कुरा हो– स्पोर्टसम्यानसीप अर्थात् खेलकुद भावना । उनी बारम्बार भन्दथे– खेलाडीले खेलमा अनुशासित भइ नियमपूर्वक कलात्मक खेल प्रदर्शन गर्नुपर्दछ । तिमी अनुशासनपूर्वक राम्रो खेल र भरसक जित । यदि हार्यौ भने दुःख नमान, जित्नेलाई बधाई देऊ, मित्रता स्थापित गर । खेल हारेमा दुस्मनी नराख । खेल खेल्नु भनेको मैत्रीभाव बढाउनु हो । खेल जित्नलाई मात्र खेलिन्न, उत्कृष्ट खेल प्रदर्शन गर्नु र रेकर्ड राख्नु पनि खेलकुदको मर्म हो भनेर उनले हामीलाई सिकाए । उनी खेलकुद होस् वा विद्यालयमा अनुशासनको बारेमा विद्यार्थीहरूलाई जोड दिन्थे ।
गीतसङ्गीत
गणेशसर गीतसङ्गीतमा रूची राख्ने स्रष्टा पनि थिए । उनले बिहान, बेलुका सङ्गीत साधना गर्दा बजाएको म आफ्नो घरैबाट सुन्दथें । उनले बजाएको हारमोनियको ध्वनिले मभित्र पनि साङ्गीतिक राग जन्मायो । हारमोनियमका बज्ने मीठा धुन र मेलोडीले मलाई साँच्चै आकर्षित तुल्यायो । फलस्वरुप गीतसङ्गीतप्रति मेरो मोह बढ्यो । मभित्र हारमोनियम बजाउने वा सिक्ने इच्छा जागृत भयो ।
विद्यालयको सांस्कृतिक कार्यक्रममा उनी गीत आफै कम्पोज गर्दथे । उनले केही आधुनिक गीत रचना र सङ्गीत भर्ने काम पनि गरे । उनको स्वर पातलो भएकाले बेनु सर वा अन्य विद्यार्थीलाई गीत गाउन लगाउँथे । नाच्ने कलाकार पनि सिपालु थिए । केटा मान्छे नै केटी भएर नाच्नु पर्दथ्यो । कोही केटी केटा भएर अर्को केटीसित युगल नृत्य गर्दथे । त्यसबेला गणेश सरले बनाएका मौलिक गीतहरु पनि हामीले सुन्यौं ।
उनले नभ्याउँदा बेनु चुडाल सरले सांस्कृतिक कार्यक्रममा हारमोनियम बजाउँन थाले । बेनु सरको हातमा हारमोनियम परेपछि यदाकदा मौका पारेर मैले पनि हारमोनियम छुने र ट्याँट्याँ पार्ने मौका पाएँ । यसरी मेरो हृदयमा साङ्गीतिक चेतनाको विजारोपण गणेश सर, बेनु सरको सामीप्यताले पल्लवित भयो ।
विवाह
म गणेश सरको विवाह उत्सवलाई पनि भुल्न सक्दिन । म भुराभुरी नै छँदा उनको विवाह ताप्लेजुङ फुङलिङ निवासी शिक्षिका विद्या प्रधानसंग भयो । विवाह हुने दिनमा हामी विद्यार्थी अत्यन्तै प्रफुल्लित थियौं । गुरुमा अर्थात् बेहुली हेर्न भनेर हामी खुवा गाउँमा गएर पर्खियौं । बाटोमा दानाको फल टिप्दै पर्खेको अझै सम्झना आउँछ । ताप्लेजुङ फुङलिङबाट दोभान नभएर खडकुडे पुल तरेर फुलबारी, छिन्ताङ हुँदै बेहुली ल्याइयो । दुलही हाङपाङ आइपुग्दा करिव साँझ परिसकेको थियो ।
हाङपाङ निवासी कम्युनिष्ट नेता नन्दकुमार प्रसाई जो खोक्लिङ स्कुलमा शिक्षक थिए उनले बेहुला–बेहुलीको जोडी बाँधिदिएको भन्ने हल्ला हामीले सुन्यौं । हालको गाविस भवन जसलाई त्यसबेला पञ्चायत घर भनिन्थ्यो । जहाँ गणेश सरको निवास थियो त्यहीँ बेहुली भित्र्याइयो । केही महिनामा विद्या गुरुमाले मलाई र सरला बहिनीलाई निवासमा बोलाएर पसलमा सामाग्री प्याक गर्ने कागजको थूँगे बनाउन सिकाइन् । हाङपाङमा हेडसरका दुई सन्तान अशोक र आलोकको जन्म भयो ।
राजनीति
गणेश सर राजनीतिक हिसाबले पनि सचेत थिए । मलाई ठ्याक्कै साल त याद आएन । दशकले हिसाब गर्दा तीस दशकको कुरो हुनुपर्दछ । एक पटक उनी हाङपाङमा प्रधानपञ्चको चुनावमा पनि उठेका थिए । चुनावलाई त्यसबेला हामी भोट भन्दथ्यौं । हाल हेल्थपोष्ट रहेको स्थान जसलाई त्यसबेला डिस्पेन्सरी भनिन्थ्यो, त्यहाँको सानो मैदानमा भोट सम्पन्न भएको थियो । मत खसाल्ने ठाउँमा दुई उम्मेदवारको अलग अलग रङ्गको बाकस थापिएको हुन्थ्यो । भोट थाप्ने बाकस सेतो र रातो रङ्गको थियो । भोट माग्दा रातो वा सेतो बक्समा मत खसाल्नु भनिन्थ्यो । मतदान केन्द्रमा मतपत्र टिपेर गोप्य मतदान गर्ने ब्यवस्था गरिएको थियो । मतदान सकिएपछि जसको बाकसमा धेरै मत खस्यो उसको जीत हुन्थ्यो । अपरान्ह ५ बजेपछि चुनाव सकियो । साँझपख नतिजा घोषणा भयो । चुनावको नतिजा नरेन्द्र लिम्बूको पक्षमा गयो । अर्थात्, गणेशसर पराजित भए । हामी भुराभुरीले तल्लागाउँलेले भोट हार्यौं भन्ने बुझ्यौं ।
म त सानै थिएँ । भोट जिते वा हारेमा के हुन्छ? आमालाई खुसुक्क जिज्ञाशा राखें । आमाको जवाफ यस आसयको थियो– भोट जिते हेडसरलाई अबिर, फूलमाला लगाएर वासस्थानमा ल्याउँछन् । यदि उनी हारेको खण्डमा लाजले लुक्दै लुक्दै फर्कन्छन् नि । नभन्दै भोटको नतिजा आएपछि नरेन्द्र लिम्बूलाई अबिरमाला लगाएर बोक्दै–बोक्दै उँभो माथिल्लो गाउँतिर लगे । हाम्रो गणेशसर केही शिक्षकहरूका साथ बाटैबाटो लुरूलुरू हिडेर निवासतिर फर्के । आमाले भनेजस्तै गणेश सर कसरी लुक्दै फर्केलान् जस्तो लागेको थियो उनी त नलुकी बाटैबाटो फर्किए, अचम्ममा परें । अहिले सम्झँदा हाँस उठ्छ ।
हाङपाङ गाउँ राजनीतिक हिसाबले संवेदनशील पनि थियो । हाङपाङ गाउँ भौगोलिक हिसाबले तल्लो गाउँ र माथिल्लो गाउँमा विभाजित थियो । तल्लो गाउँमा बस्ने खहरे घरखाल, बाह्र भैयाखाल गणेश सरकोमा आउजाउ गर्दथे । माथिल्लो गाउँको समुदायको नेतृत्व अघोषित रुपमा क्याप्टेन खगेन्द्रसिंह आङबुहाङ लिम्बू गर्दथे । माथिल्लो गाउँमा यक्सो गाउँ, कालिका प्रा.वि. वरिपरिका घरहरू पर्दथे । गाउँ भित्रभित्रै कम्युनिष्ट र कांग्रेसमा पनि विभाजित थियो । मानिस धेरै पञ्चायत समर्थक कम मात्रामा कम्यूनिष्ट र काङ्ग्रेसमा भित्रभित्रै लागेका थिए । पंचायत समर्थक खुल्ला रुपमा थिए भने अरु सुसुप्त अवस्थामा थिए ।
जिल्लाको राजनीतिक ध्रुवीकरणको प्रभाव गाउँमा पनि परेको थियो । गाउँ लामो समय विष्णु मादेन र विजयप्रकश थेबे समूहमा विभाजित थियो । क्याप्टेन खगेन्द्रसिंह मादेन पक्षीय व्यक्ति थिए । विद्यालयका शिक्षक प्रायः थेबे पक्षका थिए । यसरी हाम्रो गाउँ तल्लो गाउँ र माथिल्लो गाउँबीच प्रतिस्पर्धारत थियो ।
एक पटक गणेश सर विराटनगर झरेको बेला कम्यूनिष्टको आरोपमा पक्राउ परे । हाङपाङबाटै विराटनगर झरेकाहरूले उनलाई अंचलाधीससमक्ष झोसपोल गरे भन्ने हल्ला हामीले सुन्यौं । यसरी गाउँको राजनीतिक प्रभाव हाङपाङबाट विराटनगर गएर बसेकाहरुमा सरेर गएको थियो । त्यसको शिकार उनी भएका थिए । उनी केही दिन विराटनगरमा थुनामा परेर मुक्त भएका थिए ।
विदाइ
चालिस दशकको अन्ततिर हाङपाङ गाउँको राजनीतिले अनौंठो रूप लियो । एक दिन चाँगे, नेसुम, ढुँगेसाँगु, साँघुका विद्यार्थीहरूले सोबुवा खोलाको पुल भत्केकाले मर्मत गर्नुपर्ने आवाज निकाले । उनीहरुले उक्त माग विद्यालय व्यवस्थापनसमक्ष राखे । विद्यार्थीको मागलाई संचालक समितिले सही ढङ्गले सम्बोधन गर्न सकेन । यसमा राजनीति मिसिएको बहानामा विद्यार्थीमाथि दमन गरियो । सानो कुराले विद्यालयमा तनाव उत्पन्न भयो । हेडसरको प्रशासन मन नपराउने शिक्षक, विद्यार्थी संगठित हुने अवसर पाए । यसरी सानो निहुँले गाउँमा विस्तारै उग्र रूप लियो । विद्यालयमा विद्यार्थी आन्दोलन चर्कियो ।
विद्यालयको तनाव साम्य पार्न जिल्ला शिक्षा कार्यालय ताप्लेजुङबाट तत्कालीन सहायक जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाई आएका थिए । उनी हाङपाङ निवासी थिए । उनलाई गाउँको माया थियो । उनले हेडसर र विद्या गुरुमालाई राजीनामा नदिन सम्झाइबुझाइ गरे । लक्ष्मी प्रसाईले गणेश सरलाई विचलित नहुन तथा राजीनामा नदिन धेरै सम्झाए । तर गणेश सर राजिनामा नदिइ नछाड्ने अडान लिए । संभवतः अनपेक्षित रुपमा विद्यार्थीबाट आएको असन्तुष्टिले गाउँले राजनीतिको साथ पाएपछि हेडसर एकाएक विचलित बन्नपुगे । उनले एक्कासी हाङपाङ छाडे ।
जसरी उनलाई हाङपाङले ससम्मान दार्जिलिङबाट ल्यायो त्यसरी नै फुलमालाले विदाइ गर्न पाएको भए कत्ति राम्रो हुन्थ्यो । नियतिले त्यो हुन पाएन । उनको व्यक्तिगत कमी कमजोरीमा स्वार्थीतत्वले खेल्ने मौका पायो । स्वाभिमानी स्वभावका गणेशबहादुर राईले आफूविरुद्ध उठेको समूहसित सम्झौता गर्न मानेनन् । उनी आफ्नो अडानमा चट्टानझैं दृढ भइदिए । यसरी २०१८ सालमा हाङपाङ आएका गणेश सरले करिव दुई दशकसम्म हाङपाङको सेवा गरेर आफूखुसी ठाउँ त्याग गरे । उनले विद्यार्थी, शिक्षक, गाउँलेलाई उनकाे अवस्थाबारे कुनै जानकारी दिएनन् । उनको विदाई कार्यक्रम पनि भएन ।
उनले ससुराली गाउँ फुङलिङ ताप्लेजुङ सदरमुकाममा बोर्डिङ स्कुल खोले । पछि सुन्यौं उनले काठमाडौंमा पनि बोर्डिङ स्कुल चलाए । कालान्तरमा गणेश सर शिक्षककै रुपमा हङकङसम्म पुगे भन्ने पनि थाहा पायौं । हाङपाङ छाडेपछिको उनको शैक्षिक यात्राबारे म त्यत्ति जानकार छैन । यद्यपि उनले सोचेजस्तो त्यसपछिको शैक्षिक यात्रा भएन भन्ने भाव उनको अवस्था र ब्यवहारले बुझाउँथ्यो ।
जेहोस्, हाङपाङले दुई दशकपछि आकस्मिक रूपमा गणेशसरलाई गुमाउनु पर्दा दुःख लाग्यो । आवेशमा विद्यालय छाड्दा पेन्सनबाट बञ्चित हुनपरेकामा गणेश सरलाई पनि पछुताउ भयो । लामो अन्तरालमा शिक्षाको उज्यालाे खेल हाङपाङले जित्याे तर साेहीअनुरुप विवेकसम्मत ब्यवहार देखाएन । एउटा बैगुनी टीका हाङपाङको निधारमा अनायास लाग्न पुग्यो । बल्की यसमा एक पक्षको मात्र दोष छैन, सबै जिम्मेवार छन् ।
२०७३ सालमा धेरै वर्षपछि गणेशसरलाई भेट्न भक्तपुरस्थित उनको निवासमा गएँ । उमेर आठ दशक पार गरेका, पक्षाघातले पीडित शरीर देखें । बोल्न खोजे पनि आवाज नबुझिने भएको रहेछ । उनका अनुहारमा झल्कने भाव र आँखामा छचल्किने आँशुले धेरै कुरा आभास भयो । कुराकानीमा विद्या गुरुमाले सघाइन् र भनिन्– कोही विद्यार्थी आउँदा उहाँ यसरी नै खुशी र भावविव्हल बन्नुहुन्छ, रूनुहुन्छ ।
अन्तमा
गणेश सर एक असल र योग्य शिक्षक थिए । विषयवस्तुमा दक्ष थिए । व्यवहार सरल, शालीन थियो । इमान्दार स्वभावका थिए । उनी स्वाभिमानी थिए, उनले कसैको चाकरी र चाप्लुसी गरेनन् । उनीभित्र कतिपय मानवीय कमी र कमजोरी पनि थिए । यद्यपि, उनका गुन र योगदानका अघि ती अवगुन नगन्य थिए, यो मेरो व्यक्तिगत धारणा हो । हाल भौतिक संसार त्याग गरेका गणेशबहादुर राईले आफ्नो जीवनको उर्वर कालखण्ड गाउँ र गाउँलेलाई समर्पित गरेका थिए । त्यसैले आठराई हाङपाङ क्षेत्र, ताप्लेजुङको शैक्षिक उन्नयनमा उनको योगदान उल्लेखनीय मानिन्छ ।
(प्रकाशोन्मुख ‘बहुवचन’ लेख/निबन्धसंग्रहबाट)
Dr. Nawa Raj Subba is a Public Health Specialist, Researcher, Author, Poet, Lyricist, and Essayist from Nepal. He has published research papers and books in the fields of public health, history, and culture. In the sphere of literature, he has also released a collection of poems, essays, and albums.
Dr. Nawa Raj

Dr. Nawa Raj Subba is a public health specialist who has more than three and a half decades of experience working in public healthcare management at the Ministry of Health and Population in Nepal. In the spirit of public-private partnerships to expand access to health care in rural communities in Eastern Nepal, he played a vital role in leading operational research. He has also independently researched public health and intercultural psychology in Nepal. He published his works in books and journals. Nepali literature, culture, and music recognized him as an author. He has written artistic and cultural texts and CDs. His work has been acknowledged and appreciated by civil society, the government of Nepal, and abroad. He is now involved in Public Health and Intercultural Psychology studies in Nepal.