गीतियात्रा संक्षिप्त आत्मसमीक्षा

– डा. नवराज सुब्बा

चारदशक लामो सांगीतिक यात्रामा ६ एल्बम निकालेपछि मलाई केही समय सोच्न आत्मसमीक्षा, आत्ममूल्यांकन गर्न मन लाग्यो । चालीसवर्ष पछाडि फर्केर हेर्दा मैले मेरा सांगीतिक भावनालाई रचनाको रुपमा औंला भाँचेर गन्नुपर्दा ६ थान एल्बम् र तीन पुस्तकमा स्वरबद्ध तथा लिपिवद्ध गरेंछु । जीवन मेरो शब्दकोशमा कवितासंग्रह (२०६३), देशको माया देशभक्ति एल्बम (२०६३), सहिदलाई सलाम गीतसंग्रह (२०६७), लुकेको रहर गजल एल्बम (२०६७), अमूल्य जीवन आधुनिक गीत एल्बम् (२०६८), हामी पहिले नेपाली देशभक्ति गीत एल्बम्, हिमालैमा हिउँ लोकगीत एल्बम् (२०७०), बहारसंग आधुनिक गीत एल्बम् (२०७२) र मन र माटो गीतसंग्रह (२०७३) मा मेरा सांगीतिक सिर्जना पाठक वा श्रोतामा पस्केको छु ।

मैले करिव २०३० सालतिर पहिलो गीत कथेर सरमग सिक्दै संगीत क्षेत्रमा प्रवेश गर्दा यो क्षेत्र जति रोमाञ्चक लाग्दथ्यो फर्किहेर्दा त्यो सोचेजस्तो रहेन । आरम्भमा मेरो ठूलो लक्ष्य पनि थिएन केवल एकदिन म पनि रेडियोमा गीत गाउँछु भन्ने चाहनासम्म थियो । त्यो धोको मेरो पूरा भयो । अलि पछि पलाएको चाहना थियो केही सुन्दर सौगात गीतसंगीत जगतलाई दिने तर त्यो चाहना भने अझै पूरा गर्न सकिन ।

ताप्लेजुङ जस्तो दुर्गम जिल्लाबाट त्यसबेला काठमाडौं जानु चानचुने अवस्था थिएन । धेरै बाधा व्यवधान नाघेर घरपरिवारको ठूलो सपनाको भार बोकेर चिकित्साशास्त्र जस्तो कठिन विषय अध्ययन गर्न २०३४ सालमा म काठमाडौं गएको थिएँ । गीतसंगीतमा लाग्ने समय मसित थिएन । तापनि मनमा सल्केको सांगीतिक चाहनाको आगो निभाउन बेलाबेला रेडियो नेपालको प्राङ्गणमा प्रवेश गरें । २०३६ सालतिर रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा भाग लिएँ आफ्नो शब्द रचना प्रेम भट्टचनको संगीतमा गाएँ ।