आत्मसन्तुष्टीको अनुभूति

जीवनकालमा आफ्नै रचनाले अरु कसैको मन जितेको देख्नु वा सुन्नु पाउनु अथवा अनुभूत गर्न पाउनु भन्दा सुन्दर उपलब्धि अरु केही छैन ।

आजकल हङकङमा राष्ट्रिय गीत गायक सुमित खड्का ‘हामी पहिले नेपाली’ गीति एल्बम हङकङमा बसोबास गर्ने नेपाली माझ सार्वजनिक गर्दै हुनुहुन्छ । हङकङ नपाली महासंघको संयोजनमा उक्त एल्बम हङकङमा पनि सार्वजनिक गरिने र हङकङ नेपाली महासंघको अफिसियल गीत पनि लोकार्पण गर्ने कार्यक्रमहरु तय गरिएका छन् । संगीतकार शक्ति बल्लभ, गायक सुमित खड्का र गीतकार म आज यस घडिमा हामी एकअर्कालाई धन्य ठान्दछौं । गायक खड्काका अनुसार उक्त गीतहरु हङकङका श्रोताहरुले पनि मन पराइएको प्रतिक्रिया मलाई बारम्बार अवगत गराउँदै हुनुहुन्छ र भरखरै पनि च्याटिङबाट अपडेट गराउनु भयो । धन्यवाद ।

यसैगरि ‘नेपाली नेपाली हामी नेपाली मधेशी होस् वा जनजाति हामी नेपाली’ बोलको गीत यता विराटनगर क्षेत्रमा तथा नेपालका विभिन्न रंगमञ्चमा अर्का प्रतिभाशाली युवा कलाकार साजन राइले घन्काइरहनु भएको छ । हिजै मात्र एकजना साहित्यकार तथा पत्रकार युवाराज पौडेलजी मलाई भन्दै हुनुहुन्थ्यो– “तपाईले यो गीतमा प्रयुक्त गरेको ‘मेचीमा घाम झल्कँदा कालीको शीत पग्लियोस’् भन्ने विम्ब बजोड लाग्यो…. ” भनेर भन्दै हुनुहुन्थ्यो । यसैगरि यही गीतको रिङटोन बजारमा अरुहरुका मोवाइलमा बेलाबेला सुन्छु भनेर मेरो छोरा कौशलले पनि मलाई सुनाइ रहन्छन् । केही दिन अघि म बाटो हिड्दा हिड्दै गीत सुनें “विवशताले बाँधिएको मान्छेको जीवन पिंजडा भित्र छट्पटिरहने मैनाझैं यो मन” । पंचायतकालमा विद्यार्थी जीवनमा मैले रचना गरेको उक्त गीत २०३८ सालतिर रेडियो नेपालको स्टूडियोमा मेरा मित्र सूर्य थुलुङजीको स्वरमा रेकर्ड भएको उक्त पुरानो गीत पनि अभैm कसैलाई मन पर्दो रहेछ भनेर मनमनै हाँसें र खुशी मानें ।

यसरी एउटा गीतकार तथा सर्जकको हैशियतले यहाँभन्दा सन्तुष्टि लिने ठाउँ अरु कहाँ छ र ! मैले यो भन्दा बढी आशा राखेको पनि छैन । यसैले यो नै मेरो सबैभन्दा ठूलो सन्तुष्टी हो पुरस्कार हो जो मैले पाएँ वा पाइरहेछु वा पाएको अनुभूत गरिरहेछु ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply