मुक्तक
टुट्न टुट्न खोज्छ टुट्दैन
फुट्न फुट्न खोज्छ फुट्दैन
नाटक भन्थे हो कि क्या हो !
जुट्न जुट्न खोज्छ जुट्दैन ।
टुट्न टुट्न खोज्छ टुट्दैन
फुट्न फुट्न खोज्छ फुट्दैन
नाटक भन्थे हो कि क्या हो !
जुट्न जुट्न खोज्छ जुट्दैन ।
करेसाबारीमा नअटेको डिलबाट पनि धकेलिएको भीरमा फुल्ने फूल जस्तै यहाँ कसैको जिन्दगी हरदम आफैसित रम्नु रहेछ आखिर जिन्दगी गमला वा फूलबारी हैन स्वतन्त्र जिन्दगी ।
(एक) खेलियो विश्वयुद्ध खुकुरीसित नाँचियो स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ? शत्रु हैन आफैलाई नै सिद्याउन आँटियो ! (दुई) बोकायौ बन्दूक काँधमा नपुगेर घाऊ लगायौ आसामी मानेर काँधमा विदेशी ऋण बोकायौ न गरी खायौ न गरी खानै दियौ सरकार ! भन्दाभन्दै परिवन्दले पासपोर्ट र भीसा बोकायौ ।
कविता कोर्दा किन हो कवि नै रिसाए गीत गाउँदा किन हो कलाकार रिसाए जब नियालें आफन्त र आफन्तका मन अचम्म ! नजिककाहरू किन हो टाढिए । फागुन १५, २०६८ विराटनगर
हुट्टिट्याउँले आकास थामेन किन भो उभिण्डो न त बाख्राको मुखमा अट्छ कहिल्यै कुभिण्डो आफूलाई नधोच्ने जुँघाले अरुलाई नै घोच्दछ यसरी सकिंदैन गोल गर्न यो सपनाको भकुण्डो । जेठ १५, २०६९ विराटनगर नेपाल ।
झुत्रे झोला नभए यी मनका कुरा म कहाँ राख्थे हुँला थोत्रे बाकस नभए यत्तिका बात कता थन्क्याउँथे हुँला कहाँ सकिंदा रहेछन् भावना मात्र पोखिएर कवितामा सोच्दछु डष्टबिन नभए यतिधेरै कुरा कहाँ फाल्थें हुँला । — जेठ ३२ गते २०६९ विराटनगर नेपाल ।
(एक) वहाँको बोलीको कुनै ठेगान भएन बन्दूक र गोलीको पनि ठेगान भएन घरिघरि म्याद थपेको देख्दा, संविधान आउने भोलिको पनि ठेगान भएन । (दुई) घरमा आगोको सारै भर थिएन अब पानीको पनि कुनै भर भएन झर्ला र खाउँला भन्दाभन्दै, संविधान कुर्दाकुर्दै शान्तिपूर्वक सुत्ने घर भएन ।