|

साहित्यिक बजार

डा. नवराज सुब्बा

कलात्मक लेखनलाई साहित्य वा सिर्जना भन्‍ने चलन छ । साहित्यमा वस्तुगत लेखन मात्र हुँदैन विषयगत कल्पना पनि हुन्छन् । त्यसो भन्दैमा सोचेका वा लेखेका सबै साहित्य हुँदैनन् । त्यसको लागि साधना पनि चाहिन्छ । अझ साधना मात्र गरेर पुग्दैन सार्थक सन्देश पनि चाहिन्छ ।

सिर्जना निरपेक्ष र शैली मौलिक हुनुपर्दछ भन्ने मेरो मान्यता छ । मेरो भनाइको तात्पर्य, कुनै सवालमा आग्रह वा पूर्वाग्रहबाट सकभर मुक्त स्वतन्त्र वा स्वच्छन्द भएर लेखिनुपर्दछ । कसैलाई फकाउने वा खसाउने गरी लेखिएमा त्यो लेखाइ स्तुति वा नारा हुन जान्छ । जसलाई सबैले साहित्य मान्दैनन् । त्यसैले साहित्यिक सिर्जना स्वतन्त्र, स्वच्छन्द भावना हो जो केही मान्यताद्वारा बाँधिएका हुन्छन् । साहित्यिक सिर्जनाका केही आदर्श पनि हुन्छन् । जमातमा आफू चिनिनलाई कोही नयाँ ढर्रा गर्दछन् ।

साहित्यकार, कलाकार स्वाभिमानी हुन्छन् कसैले कसैलाई गन्दैनन् । आफैलाई वा आफ्नो मण्डलीलाई मात्र पत्याउँछन् । त्यसैले साहित्य भनेको खिचडी पनि हो । यहाँ साहित्यिक माल पाउन वा चाल पाउन गाह्रो पनि छ । म नेपाली भाषा साहित्यको एक विद्यार्थी भएकाले यसबारे चासो राखिरहन्छु । मलाई अरुतिरको त्यत्ति ज्ञान छैन । मैले मेरै गृहनगर विराटनगरका बारेमा केही जानकारी राख्छु र मैले झापा, सुनसरी, धनकुटा, काठमाडौं, चितवनको साहित्यिक झलक पाएको छु । त्यही आधारमा म आफ्नो अनुभूति पोख्दैछु । मलाई थाहा छ म कलात्मक पाराले लेख्‍न त्यति जान्दिन पनि । जे देखेको भोगेको लागेको ठाडै बोल्ने बानी छ । नरिसाउनु होला ।

साहित्यकारहरु साधनारत हुन्छन् । राम्रा राम्रा सिर्जना गरिरहेका छन् । हेर्दाहेर्दै नेपाली साहित्य क्षेत्र आज बजार भएको छ । साहित्यलाई व्यक्तिगत तवरबाट मात्र नभएर संस्थागत रुपमा पनि अघि बढाउन खोजिएको छ । साहित्यिक संघसंस्थाका नाम र उद्देश्य सुन्दा जति गहकिला सुनिन्छन् उनीहरुका कृयाकलाप र शैली देख्दा भिन्न देखिन्छ । साहित्य सेवाका नाममा खोलिएका संघसंस्था र पुरस्कार देखेर तपाई दङ्ग पर्नु होला । यिनीहरुको राजनीति, रणनीति र कार्यव्यापार देखेर भने छक्क परिन्छ ।

राजनीतिक बजार र साहित्यिक बजार आज एकै ठाउँमा लाग्ने गर्दछ । राजनीतिक नेता र कार्यकर्तालाई जसरी तीन तहको सरकारमा मंत्री, सांसद पदमा ब्यवस्थापन गरिन्छ, उसैगरी पार्टीका खोक्रा सिद्धान्तका झोला बोक्ने कलमवीर कार्यकर्तालाई नेपाल प्रज्ञा प्रतिष्ठान, नाट्य प्रज्ञा प्रतिष्ठान, संगीत प्रज्ञा प्रतिष्ठानमा भागशान्ति गरिन्छन् । त्यसमा कोही योग्य पनि होलान् तर ती देखाउने सुनका दाँत जस्ता थोरै मात्रामा हुन्छन् । साहुमहाजनले खोलेका गुठी वा प्रतिष्ठानले वर्षेनी साहित्यिक, सांगीतिक डम्फू बजाएर बजार तताउँछन् । कुन कृति वा लेखकले के आधारमा पुरस्कार पायो भनेर यथार्थ बुझेपछि ती सबै नाटक जस्ता लाग्दछन् । त्रिविविमैं पिएचडीकाे थेसिस अर्कैले लेखिदिएकाे मैले देखेकाे थिएँ । मदन पुरस्कार पाउने फलाना पुस्तक तीनजनाले लेखिदिएकाे हाे भनेर एकजना पत्रकार दावी गर्दछन् । एकजना समालाेचक गुठीकाे फलाना काम गरिदिएबापत ढिस्कानाले पुरस्कार पाएकाे दावी गर्दथे । पर्दाभित्र र बाहिर दृश्य फरक छन् ।

पञ्चायतकालमा पदधारी साहित्यकार, कलाकारका जमातले राजतन्त्र र व्यवस्थाको गीत गाउँथे आज पार्टी र नेताको इसाराअनुसार ती नाच्ने गर्दछन् । चर्मचक्षुले नदेख्‍ने अस्वस्थ दौडमा साहित्यकार, कलाकारहरुको लामो ताँती निरन्तर दौडेको छ । कृति वा स्रष्टा मूल्याङ्कनका पारदर्शी मापदण्ड छैनन् । साहित्यिक संघसंस्था पुरस्कार सम्मान आदान प्रदान गर्नमा व्यस्त छन् । आत्मरतिमा स्रष्टा भुलेका छन् । त्यसैले सोझो साहित्यकारले आज साहित्यिक बजारमा शिर निहुराएर हिड्नु परेको छ ।

कुनै साहित्यिक गोष्ठीमा जानुस् वा सभा सम्मेलन जानुस् त्यहाँ मञ्चमा कार्यक्रम सुरु नहुँदै साहित्यकार, कलाकार आफू माला लगाएर गमक्क फुलेर बसेका हुन्छन् । यदि तपाई बीचमा पुग्‍नुभाे भने बुझ्नुस् मालाले पुरिएको भलाद्मी सभापति वा प्रमुख अतिथि वा कुनै विशिष्ट व्यक्ति हुनुपर्दछ । उनीहरुका चेलाहरु दर्शकदीर्घामा अगाडीपट्टी बसेका हुन्छन् । मञ्चमा बसेका हुन् वा अगाडी बसेका साहित्यकार, कलाकार हुन् यिनीहरुको एउटै बानी हुन्छ, अधिकतम् ताली खानु ।

हो, साहित्यकार, कलाकार वाहवाहीका रमाउँछन् । उनीहरु ताली पिट्न बारम्बार दर्शकतिर आँखा जुधाउँछन् । कोही कोही त ताली पिट्न ईसारा गर्छन् वा मुखै खोल्छन् । साहित्यकार र कलाकारलाई लाग्ने भोक पनि अनौंठो छ । कोही नामका भोका, कोही पुरस्कारका भोका, कोही दामका भोका, कोही पदका भोका, कोही प्रतिष्ठाका भोका हुन्छन् । म बाजी नै ठोक्छु माथिका कुनै भोक नहुने कोही कलाकार वा साहित्यकार हुँनै सक्दैन । जसको उदाहरण म आफै छु । म पनि माथिका मध्ये कुनै एक वा बढीको भोको छु । यसैले म आफू पानीमाथिको ओभाने बनेर लेखेकै होइन । मैले आत्मसमीक्षा पनि गरेको हो ।

हामी शक्तिका पुजारी हौं । जसको शक्ति उसको भक्ति भन्ने हाम्रो मन्त्र नै हो । शक्तिलाई पूजा गर्ने राजनीति झैं कला जगत सरस्वती माताको पूजामा सीमित भए कत्ति राम्रो हुन्थ्यो । साधनामा रमेको भए हुन्थ्यो । तर देश अनुसारका नेता भने जस्तै समाज अनुसारका साहित्यकार र कलाकार छन् । उनीहरु बिहान पहिले मन्दिर जान्छन् त्यसपछि बाटामा कुनै राजनीतिक नेतालाई गणेश परिक्रमा गरेर आश्वासनरुपी टीका थापेर आफूलाई धन्य सम्झन्छन् ।

आजको साहित्यिक बजारमा भीडभाड छ । मानिस चिन्न एककिसिम सजिलो छ गाह्रो पनि छ । गतिला साहित्यिक सिर्जना वा साहित्यिक साधना छाडेर साहित्यकार, कलाकार कोही राजनीतिक, व्यापारिक दलानमा चाहार्छन् । त्यहाँबाट पाइने आश्वासन र आशिर्वादले मुख मिठ्याउँछन् । आफ्नो क्षेत्र छ साहित्य, धक्कु छ राजनीतिक दलको वा सिद्धान्तको । हुन पनि सत्तामा पुगेका बेला आफ्नो पार्टीले उनीहरुलाई कार्यकता ठानेर साहित्यकारको बिल्ला, पद, पुरस्कार, अवसर मिलाइ दिन्छ । त्यसैले साहित्यिक संघसंस्था आज राजनीतिक दलका भगिनीसंस्था जस्ता लाग्छन् ।

आज लेखक बन्नलाई ठूलो मान्छे भए पुग्छ । उसको आत्मवृत्तान्त लेखिदिने कलमवीर बजारमा प्रसस्त पाइन्छन् । बजारमा जताततै देखिने नेता, प्रशासक, ब्यापारीको फोटासहितका आकर्षक पुस्तक के तिनले आफैले लेखे होलान्? होइन, ती सबै लेखिदिने हाम्रै साहित्यिक बजारका ब्यावसायिक कलमजीवी नै हुन् । तिनीहरु आकर्षक पैसा लिएर उनीहरुको कुरा टिपोट गरेर पुस्तक लेखिदिन्छन् । अथवा तपाईले डायरीमा अलिकति खेस्रा गरिदिएपछि उनीहरुले पैसा लिएर आकर्षक पुस्तक नै छपाइदिन्छन् । अब पाठकले कुनै पुस्तक कसले किन लेख्यो भनेर सोच्ने बेला आएको छ । कृति प्रायोजित त होइन केलाउने दिन आएका छन् । माथि भनेझैं केवल नाम, चर्चा, पुरस्कारकै लागि लेखिएका हुन् कि ती साँच्चै सिर्जना वा साधनाका उपज हुन् नियाल्ने बेला आएको छ । स्रष्टाले स्वस्फूर्त रुपमा आएका भावना र विषयवस्तुलाई कलात्मक सम्प्रेषण नै साहित्य हो भनिन्छ तर आज साहित्यिक बजारको माहौल अर्कै छ । को असली लेखक हो को होइन छुटयाउन बडो गाह्रो भएको छ । पर्दा पछाडीको लेखक चिन्न अब गाह्राे छैन । ब्यावसायिक लेखन र साहित्यिक सिर्जना आज मिसिएका छन् । त्यसैले असली साधक र कृति बजारमा पाउन मुस्किल भएको छ ।

अब विराटनगरको साहित्यिक वातावरण नियालौं । हिजो विराटनरमा अग्रज साहित्यकारहरुले साहित्यको साझा चौतारी वाणी प्रकाशन नामक सहकारी संस्था खोलेका थिए । हिजो जस्तो लाग्छ संस्था आजै इतिहास भैदियो । जे भए पनि यसका संस्थापक साहित्यकारहरुलाई नमन गर्नुपर्दछ । किनभने वाणी प्रकाशनले सबैखाले साहित्यकार एकठाउँ भेला गराएको थियो । कालान्तरमा यो संस्था आर्थिक अवस्था बिग्रेर विलयको अवस्थामा पुग्यो । अरु सहकारी संस्था दिन दुई गुना रात चौगुना फलेका फुलेका छन् तर वाणी प्रकाशन सहकारी किन ओइलायो, चित्त बुझ्दैन । के साहित्यकार त्यति बेइमान थिए कि सहकारीबाट लिएको पैसा नतिरेर संस्था नै डुबाइदिए? संस्थाको लेखापरीक्षण गरेर विवरण सार्वजनिक गर्नुपर्‍यो भनेर यो पङ्तिकारले वाणी प्रकाशनमा एकपटक बोलेको थियो । अचम्म, त्यस्तो बोलेकाले होला यो लेखक विराटनगरका साहित्यिक खेलाडीका नजरमा कसिङ्गर बन्नपुग्यो । त्यसरी बोलेको केही वर्षमा नभन्दै वाणी प्रकाशन बन्द भयो । कसरी डुब्यो भनेर कोही किन बोल्दैनन्? वाणी प्रकाशन सहकारी संस्थाका तत्कालीन पदाधिकारीहरुको केही जिम्मेवारी छैन? न कुनै भेला, न कुनै जानकारी, कुनै व्यक्तिको पसल झैं ताला लगाएर वाणी प्रकाशन सहकारी सदाका लागि बन्द भयो । सबैजना तैं चुप मैं चुप भएकामा म अचम्ममा परेको छु ।

वाणी प्रकाशनको विसर्जनपछि विराटनगरमा एकाएक नयाँ साहित्यिक संस्थाहरु चम्किए । थरिथरिका साहित्यिक संस्थाहरु भटाभट खुले । यो कलमलाई भने वाणी प्रकाशन खट्किरह्यो । सबैजना भेला हुँदा कोही पनि साहित्यकार वाणीको ‘व’ सम्म उच्चारण गर्दैनन् । कुरा कोट्याउँदा पनि किन हो बोल्न चाहँदैनन् । वाणी प्रकाशनको कक्षमा भेला भएर कविता सुनाउने, कृती छपाउने साहित्यकार साथीहरु त्यसरी चुप लागेको देखेर म अचम्मित र दुःखित भएँ ।

सहकारीको एक शेयरवाला सदस्य भएका नाताले केही चिन्ता गर्दछु । सेयर सदस्य पनि भएकाले संस्थासित कानूनी सम्बन्ध छ । यद्यपि, साहित्यप्रेमी भएकाले वाणी प्रकाशनसित मेरो भावनात्मक नाता छ । यही संस्थाबाट मैले आफ्नै खर्चमा भए पनि पुस्तक प्रकाशित गरें । कृति छपाउँदा मैले पनि संस्थाको नाम उपयोग गरें । संस्थाले आयोजना गरेका साहित्यिक गोष्ठी र भेलामा उपस्थित भएर कविता सुनाएँ । फलस्वरुप मैले आफूलाई साहित्यिक क्षेत्रमा चिनाउने अवसर पाएँ । यसरी वाणी प्रकाशन संस्थाले मलाई पुर्‍याएको योगदानलाई म कहिल्यै भुल्न सक्दिन । विराटनगरका साहित्यकारहरु सचेत, जागरुक छन् जस्तो मलाई लाग्दथ्यो । मैले विराटनगरमैं भोगेको एउटा घटनापछि भने हामी साहित्यकार कलाकार कस्ता रहेछौं भन्ने छर्लङ्ग भयो ।

विराटनगरका साहित्यकारहरुसित निकै लामो उठबस भइसकेको थियो । उनीहरुको मनोभाव बुझ्ने थोरबहुत मौका पाएको थिएँ तर त्यो सतही रहेछ । यसैबीचमा साहित्यकार, कलाकारसित भएका भेटघाटले उनीहरुको जानकारी थियो । देशमा आएको राजनीतिक परिवर्तनको सन्दर्भमा सबै नयाँपन खोजिरहेका देखिन्थे । उनीहरु संगठन बनाउन वा संस्था खोल्न लालायित थिए । यही क्रममा एकदिन म पनि होहोरेमा लागेर एउटा संस्थाको अध्यक्ष बन्न पुगें ।

मलाई चाँडै थाहा भयो कि म त कुनै स्वार्थ समूहको गोटी पो बनेको रहेछु । हामी साहित्यकारहरु संगठित भएर केही सिर्जनात्मक काम पो गरिएला भन्ने सोंच थियो । अन्तरक्रियाका क्रममा मलाई थाहा भयो कि मैले सोचे जस्तो विशुद्ध साहित्यिक सिर्जना प्राज्ञिक विकासका अवधारणा मात्र त्यहाँ थिएनन् । साहित्यिक प्रबर्द्धन जस्ता उद्देश्य देखाउने दाँत जस्ता थिए । चपाउने दाँत चार्ही के थिए भने सरकारी निकायमा जाने, गैह्रसरकारी संस्था चाहार्ने, आर्थिक साधन स्रोत जुटाउने । त्यत्ति मात्र भए त हुन्थ्यो नि, कतै नगरपालिकाको सरकारी ओइलानी जग्गा कसैले ओगटेको चाल पाएमा त्यसलाई हत्याउन पहल गर्ने र आफ्नो साहित्यिक संस्थाका नाममा पार्ने गरी अघि बढ्न खोजियो । मैले त्यसको विरोध गरें तर पनि मलाई अध्यक्षको नाताले निरन्तर दवाव दिइयो ।

उता कलाकार समूह पनि स्थानीय तहमा जनप्रतिनिधि नभएको मौका छोपेर विराटनगरको सभागृह जिम्मा लिन चाहन्थे । कलाकारको यस्तो मागलाई साथ दिन मलाई पनि आग्रह गरियो । मलाई नगरको साझा मञ्च कुनै कलाकार समूहलाई जिम्मा दिने काम उचित लागेन । अर्कातिर आफ्नै संस्थाका एक जना साहित्यकार चर्को स्वरमा के माग राख्दैथे भने हामी साहित्यकारले पनि सरकारी तवरबाट पेन्सन पाउने व्यवस्था हुनुपर्छ । त्यसका लागि हामीले सरकारलाई दवाव दिनुपर्छ । म बडो अप्ठेरोमा परें । विराटनगरका साहित्यकार तथा कलाकार साथीहरुका माग, मनसाय, नियत बुझेपछि म एकप्रकार छाँगाबाट खसेजस्तो भयो । समाजलाई आँखा देखाउने भनिएका साहित्यकार कलाकारहरुको मनोभाव, आचरण र निहीत लक्ष्य बुझ्न मलाई अब विराटनरमा अरु ठक्करको आवश्यकता परेन ।

मलाई विराटनगरले केही महिनाअघि एक साहित्यिक संस्थाका अध्यक्ष बनाएको थियो तर त्यसको अभिप्राय भनिएजस्तो नभएर निहीत स्वार्थकेन्द्रीत पो रहेछ । मैले पदीय आकर्षणमा लोभिएर अध्यक्ष पद स्वीकारेको पनि होइन । सेवानिवृत्त जीवनमा साँच्चै सिर्जनात्मक काम गरौं भनेर नै लागेको थिएँ । केही महिनामा जब मैले साहित्यकार, कलाकारहरुको असलियत बुझें, तब मैले संस्थाको नेतृत्व गर्न अनुचित ठानें । मैले तत्काल उक्त संस्थाबाट राजीनामा दिएँ र स्वतन्त्र भएर बसें ।

आजकल मलाई धेरैले सोध्छन्, किन हो साहित्यिक गोष्ठीहरुमा देखिनुहुन्न नि! मेरो छोटो जवाफ – म अस्वस्थ छु घरैमा आराम गर्दैछु । निकै वर्षमा पनि मलाई नदेख्दा कोही कोही सोध्छन् किन हो भेटघाट हुन छाड्यो नि! उनीहरुलाई मेरो जवाफ हुन्छ– आजकल घरैमा बसेर लेखपढ गर्छु, अध्ययनमा लागेको छु आदि । अलि मन मिल्ने साथीलाई मनको डाम सुम्सुम्याउँदै भन्दिन्छु, अब म अघाएँ ।

यी मेरा जवाफलाई म आफै केलाउँछु । यी जवाफ पूर्ण होइनन् । ती अपूर्ण अभिव्यक्ति हुन् । पूर्ण सत्य होइनन् तर असत्य पनि होइनन् । मेरो अन्तरात्मा भन्छ, साहित्य भनेको निस्वार्थ सेवा वा गतिविधि हो । जब त्यहाँ त्यो छैन भने किन चाहार्नु? भनिन्छ, साहित्यले जीवन र जगत देखाउँछ । हो, मैले सम्पूर्ण नदेखे पनि केही देखें ।

साहित्यिक बजार मैले सोचेको जस्तो मूल्य र मान्यतायुक्त विशुद्ध प्राज्ञिक क्षेत्र रहेनछ, त्यो भड्किएको रहेछ । त्यहाँ सिर्जनाका देखाउने दाँत भन्दा स्वार्थैस्वार्थका चपाउने दाँत धेरै बलिया रहेछन् । त्यसैले होला आजकल मेरो मन तथाकथित् साहित्यिक माहौलसित तर्सिएको छ, तर्किएको छ । अस्वस्थ प्रतिस्पर्धासित यो मन आफै विरक्तिएको छ । मलाई नै थाहा छैन मेरो मन कहिले बजार फर्केला ।

Similar Posts

  • |

    Ganesh Bahadur Rai in Atharai Hangpang

    Dr. Nawa Raj Subba Background of the Village Hangpang village in Taplejung district has now transformed into Hangpang ward under Atharai Triveni Gaupalika of federal Nepal. This village has become the headquarters of neighboring Change, Phulbari, and Nighuradin villages. Saraswati Higher Secondary School locates in the center of Atharai Triveni Gaupalika and is spreading the…

  • गीतको माया (अनुभूति) नवराज सुब्बा

    गीत लेख्नुको आनन्द वा गीत सुन्नुको आनन्दको मात्र कुरा गरियो । अब गीत लेख्नुको पीडा पनि कोट्याँउछु है ! निकै वर्ष अघि विराटनगरको एकजना साहित्यकारले मसित एउटा गीत मागे— कुनै एक बालकलाकारको एल्बम निर्माणको लागि । मैले द्वन्दकालीन अवस्थामा बालबालिकाहरूद्वारा विद्यालयलाई शान्तिक्षेत्र बनाइयोस्, कृपया खेलमैदान परेडमैदान नबनाइओस् भन्ने आव्हान भएको बालगीत उनलाई दिएँ । केही…

  • स्रष्टालाई सलाम (नवराज सुब्बा)

    मलाई जीवनमा सारै नराम्रो लागेको क्षण मध्ये एउटा क्षण थियो- वरिष्ठ कलाकार तथा संगीतकार भक्तराज आचायको जीब्रो काटिएको समाचार । लेखकको औंला काटिनु र गायकको जीब्रो थुतिनुमा के नै फरक छ र ! तर कहिलेकाहिँ अखवार पढ्दा आनन्द पनि आउँछ । आज बिहानको चियासितै जब मेरा आँखा भक्तराज आचार्यलाई लाइफटाइम एचिभमेण्ट एवार्ड दिइएको समाचारका हरफमा

  • गुरूहरू सम्झँदै (संस्मरण)

    डा. नवराज सुब्बा ————– हामी गुरूलाई सम्झन्छौं, विहान सम्झन्छौं, साह्रोगाह्रोमा सम्झन्छौं अनि सम्झन्छौं आफूले केही गरेको कुरा देखाउनलाई । एकजना असल गुरू हेडसर गणेशबहादुर राई जो आठराई हाङपाङको सरस्वती माद्यमिक विद्यालयमा वि.स.२०१८ सालदेखि २०३८ साल दुईदशक लामो कालखण्ड प्रधानाध्यापक भएर कुशलतापूर्वक विद्यालय, गाउँ, समाज र देशको सेवा गर्नुभयो, र उहाँले संसारबाटै विदा लिनुभयो । उक्त…

  • सहिद सत्ता र स्वार्थ विरुद्ध

    डा. नवराज सुब्बा॥ आज हामीले उपभोग गरेका स्वतन्त्रता, नागरिक हक र अधिकार त्यसै पाएका होइनौं । विभिन्न बन्धनबाट मुक्ति पाउन, मानव अधिकार स्थापित गर्नका लागि विश्वका जनता हिजो निरङ्कुश शासनविरुद्ध लडेका थिए । कालखण्डमा मानवोचित अधिकार प्राप्तिको लागि भएका अभियानमा धेरै मानिस सहिद भएका छन् । वीर मानिस मात्र देशको प्राकृतिक, सामाजिक, सांस्कृतिक उन्नयन खातिर…

  • जति माया लाए पनि… (नवराज सुब्बा)

    “जति माया लाए पनि जति कसम खाए पनि…” बोलको गीत लोकप्रियताको शिखरमा थियो । जुन गीत रेडियो नेपालको फर्मायसी गीत कार्यक्रममा हरेक दिनजसो बज्ने गर्दथ्यो । हाम्रा साथीहरुका जीभ्रामा झुण्डेको थियो यो गीत । बाँसुरी बजाउन सिक्ने साथीहरु यहि गीतको बाँसुरीको धूनमा अभ्यास गर्ने गर्दथे ।