कम्लहरी

मलाई
माघीसँग डर लाग्छ आमा !
मलाई यो माघमा
तिम्रो न्यानो काख छाडेर
महाजनको घरमा
जान पटक्कै मन छैन !

भोक लाग्नुको अपराधमा
आङ ढाक्न खोज्नुको सजायस्वरूप
जानुपर्‍यो मैले परायाघर
अब तिम्रा दूधले मेरा पेट भरिएनन् आमा !
तिम्रा मायाले मात्र अब मेरा लाज छोपिएनन् बा !
पापी पेट र पापी शरीरकै लागि
म आज बेचिनुपर्‍यो अर्काको घरमा
यो झुप्रो छाडेर त्यो दरबार जान बन्दै मन छैन
मलाई !

तर
मेरा बाआमा नै
बिदा गर्दैछन् मलाई
म के गरौँ के नगरौँ !
लाग्छ, म चर्न जाँदैछु पेट भर्न
रहर बेच्दैछु लाज ढाक्न
मलाई आफ्नै घरबाट लखेट्न
किन आउँछ यो माघी हरसाल –
म दुःखी कम्लहरी
अब दुःखमै मर्छु होला !
जाने बेलामा-
यत्ति त भनिदेऊ आमा !
मलाई सुत्ने बेलामा
त्यहाँ कसले कथा सुनाउँछ ?

-नोट-पश्चिम नेपालमा थारू जातिका छोरीलाई सातआठ वर्षो उमेरमा साहू-महाजन, जमिनदार एवम् कर्मचारीका घरमा कामका लागि पठाउने प्रथा कम्लहरी हो ।) “बीच बाटोमा ब्यूझेर” कवितासंग्रहबाट

Similar Posts

  • नदी निदाएको बेला

    केवल रमिता हेर्छन् तर रातो अचानामा बगेको महाभारत पढ्ने आँखा अझै उघ्रेनन् द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो जीवनहरण दिउँसै भइरहेछ नारीलाई बोक्सी आरोपित गरेर लछारपछार गर्दै दुनियाँ जननीको गला निमोठ्दै छ मानवशून्य बन्दै मान्छे दिसापिसाब मुखमा बलात् कोच्दैछ घाँटी थिचेर चीत्कार  दबाइँदैछ यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।

  • मनसुनको लय (कविता)

    डा. नवराज सुब्बा बादल हाम्रो गीत सुन्दैन एकोहोरो एक्लै गडगडाउँछ खलबल गर्दै हामीमाथि सल्बलाउँछ आतङककारी बादल वर्षेनी परेड खेल्छ हाम्रो तन मनमा बेसुर गड्याङ्गुडुङ तालमा कड्किन्छ मनसुन चट्याङ पार्छ ताण्डव नृत्य नाच्दै गहिरो हाम्रो मायालाई एक्कै छिन भए पनि चुडाइदिन्छ यो मौसमले यहाँ कस्तो झरी पर्छ ? न पेट भर्ने खेत रोपियो न मन भर्ने…

  • दशैं

    बन्द छलेर, कर्र्‍यू तोडेर दशैं आएको छ आज बिर्खेको घरमा केही दिन भए पनि खुशी  छाएको छ केटाकेटी रमाएका छन् मक्किएको धोति पनि फेरिएको छ

  • भूकम्पको प्रतिध्वनि (Poem)

    – डा. नवराज सुब्बा आस्थाको आकाश हिजो खसेकै थियो टेकेको धरती धस्यो आज घामपानी छेक्ने घरहरू पनि भूकम्पसितै नाच्यो जब हामीमाथि एक मूठी स्वास फेर्न नपाएर उडे धेरै आत्माहरु कतै अरू पनि ढले यसबेला इतिहासका थुप्रै धरहराहरू ईश्वर बस्ने मठ मन्दिर र गुम्बाहरू

  • झरी र रित्ता गाग्रीहरू

    ‘हरहर महादेव पानी देऊ देऊ यत्तिले पुगेन अलि थपिदेऊ’ भन्दै रित्ता गाग्रीहरूको जुजुस हिड्यो सडकमा कैलाशमय कान छिचोल्न गगनभेदी बन्दूक पड्काइयो र मागियो झरी यसपाली खडेरीमा

Leave a Reply