कविता सुन्नु पर्ला
समय बेकार जाला भनेर
भागी भागी हिड्ने मान्छे म होइन
म त जता जता कविता छ
उता उता सोध्दै खोज्दै
सुन्न जाने मान्छे
सायद
तपाइ मलाई चिन्नुहुन्न होला
कविता सुनेर म तीन पटक हाँस्छु
यसैले म कविता खोजी खोजी सुन्छु

पहिलो पटक
अरुले ताली पिट्दै हाँसेको देखेर
म पनि ताली पिट्छु
र वाह वाह गर्दै हाँस्छु
दोस्रोपटक बल्ल बुझेर हाँस्छु
अनि तेस्रो पटक
अघि आफूले नबुझिकनै
बुझेको अभिनय गर्दै हाँसेकोमा
एकान्तमा एक्लै हाँस्छु

ए कविज्यू !
म राम्ररी चिन्दिन तपाईलाई
त्यसैले तपाईको कविता मनपर्छ
माफ गर्नुस्
अलि बुझदिन कविता
यसैले मलाई कविता मनपर्छ
कविता मलाई मनपर्छ ।

शुभकामना आदानप्रदान र मैत्रीपूर्ण कविगोष्ठी
कवि नवराज सुब्बाको "बीच बाटोमा ब्यूँझेर" माथि विचार गोष्ठी

Leave a Comment