जदौ ! मगर्नी मैया (नवराज सुब्बा)

कृतित्व तथा व्यक्तित्वउपर समीक्षा र समालोचना समय समयमा पत्रपत्रिकामा प्रकाशित हुने गर्छन । पाएसम्म आफूसंग सम्बन्धित ती पत्रपत्रिकाहरू संग्रहित गरेर राख्ने गरेको छु । ‘मनको मझेरी’ निबन्धसङ्ग्रहउपर विराटनगरका समालोचक तथा साहित्यकार हरि प्रसाद बरालज्यूले एउटा समीक्षा गर्नुभएको थियो । केही वर्षअघि म बिदामा झापाबाट विराटनगर फर्कदा उहाँले नै मलाई त्यो पत्रिका उपहारस्वरुप दिनुभएको पनि थियो । यसपालिको दशैं विदामा उक्त लेख खोजेर टाइप गरेर वेभसाइटमा राख्ने विचारले पत्रपत्रिकाको रासमाथि खनिएँ । धुलोमुलोले एलर्जी भयो रुघामर्गी लाग्यो तर त्यो सामग्री फेला पार्न सकिन । रुघामर्गी अलि कम भएकाले आज शनिबार बिहान फेरि बाँकी प्याकेटहरू खोल्दै थिएँ, बरु पहिले निकै खोज्दाखोज्दा नभेटेको तर अहिले भने नखोजेको एउटा सामग्री पो भेट्टाएँ- दाहाल यज्ञनिधिको ‘ढिकुरोको गीत’ भन्ने गीतको कटिङ । २०५९ सालमा म संखुवासभा जिल्लामा सेवारत रहँदाको घटनासँग गाँसिएको छ यो रचना ।

यो रचनाको बारेमा मैले मेरो ‘मनको मझेरी’ निबन्धसङ्ग्रहमा ‘जदौ दाहाल यज्ञनिधि’ शिर्षमा पनि उल्लेख गरेको थिएँ । उक्त निबन्ध एकदिन स्वयम् दाहालजीले पढेपछि ‘हैन हौ त्यो गीत त मैले पनि पो हराएँ, तपाईसँग भए पाउँ न’ भन्नुभो । मैले पनि तत्काल ‘हुन्छ नी’ भनें । तर घरमा आएर खोज्छु अहँ भेट्दिन । कता पर्‍यो होला भन्दाभन्दै केही वर्षपनि बिते मैले पनि खोज्न छाडें उहाँले पनि कुरा गर्न छाड्नुभो । एकदिन मित्र अनिल पौडेलजीसँग यस्तै साहित्यिक भित्तेक्यालेण्डरको चर्चा हुँदा मैले उनै दाहाल यज्ञनिधिको रचनाको कुरा उप्काएँ । ‘हैन हौ त्यसको सम्पादक त मै हुँ नि यार’ भन्नु भो । अब भने मलाई त्यो सामग्री घरमा मुसाले खायो कि धमिराले खायो भन्दै चिन्ताले झन सतायो, तर अब भेट्दिन होला भनेर एकप्रकारले मनमनै माया पनि मारेको थिएँ । तर अचम्म, आज नचिताएको सामग्री अर्थात् उही सामग्री पो फेला पारें त । यसबेला मलाई जुन खोजेको कुरा नभेट्दा जति खल्लो लाग्दैथ्यो, नखोजेको कुरा भेट्दा त्यो सबै विस्वाद बिर्सिदिएँ । यो सामग्री अर्थात् कटिङले दुइचार प्याराग्राफ नकोरी बस्न सुखै दिएन त्यसैले केही कुरा कोर्न बसें ।

बरिष्ठ कवि विक्रम सुब्बाले एकदिन फेसबुक अनलाइनमा एउटा सन्देश प्रवाह गर्नुभयो । ‘कुनै काव्य वा कविता पढेर लागेको अनुभव अब आदानप्रदान गरौं ।’ वहाँको यो सन्देश मलाई यत्ति सकारात्मक लाग्यो कि मैले तत्कालै ‘हुन्छ’ भनेर प्रतिक्रिया दिएँ, सम्भवत पहिलो व्यक्तिको रुपमा । दिन त दिएँ जवाफ तर अब कुन रचनाको प्रतिक्रिया के दिने हो बडो सोंचमा परें । सम्झे मेरो हातमा अहिले बरिष्ठ गीतकार प्रेमविनोदनन्दनको ‘ऐनाभित्रको आकाश’ गीतसंग्रह छ, यस्तै अर्का एकजना प्रचारप्रसारबाट टाढा रहेका प्रतिभाशाली गीतकार विश्वरमण न्यौपानेको गीतसंग्रह ‘तिमी कहिल्यै नरुनु है’ मेरो हातमा छ । यिनका बारेमा केही अनुभूति लेख्ने टुङ्गोमा म पुगेको छु । दिमागमा एकप्रकारको ढाँचा पनि तयार गरिसकेको छु । तर आज अचानक दाहाल यज्ञनिधिको यो रचनाले उछिन्यो र मलाई हतारमा केही लेख्न बाध्य तुल्यायो ।

आज म मेरो अतीत सम्झन्छु । मेरो साहित्यिक यात्रामा अध्ययन, चिन्तन, मनन, र एकप्रकारको साहित्यिक निराशा, सुस्तताले थिचिएर बसेको कालखण्डमा मेरो सुस्ताइ र सुसाइलाई एकाएक लहर र स्वरमा रुपान्तरण गर्न उर्जा दिने केही स्रष्टाहरू मध्येका एक हुन दाहाल यज्ञनिधि र उनको यो रचना पनि । जसको मर्म मेरो मुटुमा गढेर बास बसेको छ । र यसले मलाई बेलाबेला शक्ति दिन्छ यस्तै रचना गर्नलाई । यो ‘ढिकुरोका गीत’ कस्तो छ, मैले बताउनै पर्दैन, आफै बोल्छ । सायद पाठकको मन जित्छ होला भन्ने आशाका साथ आज बाँड्दैछु । यसरी हाम्रै समाजकी एउटी सीमांन्तकृत मगर्नीको मर्म बुझेर आँशु बहाउने मर्मज्ञ र्सजकको दीर्घायुको कामना पनि गर्दछु ।

२०६७।७।६ विराटनगर

Similar Posts

  • म हुस्सु !

    साँच्चै नढाँकिन भन्ने हो भने म हुस्सु छु । नपत्याय आज मैले गरेको चर्तिकलाले यो पुष्टि गर्दैन र ! मलाई दिनको २ बजेर ५० मिनेटमा कान्तिपुर एफ. एम. मा बोलाएको थियो । म चाहिँ १ बजेर ५० मा नै पो पुगें । त्यहाँ पुगेर यसो हेर्छु मलाइ बोलाउने मान्छेको चालामाला क्यै छैन ।

  • रोयल्टी सङकलन अन्तरक्रिया

    पौष १६, २०६८ इटहरी सुनसरी । सङ्गीत रोयल्टी सङकलन समाज र कपीराइट रजिष्ट्रारको कार्यालयद्वारा इटहरी सुनसरीमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । गीतसङ्गीत क्षेत्रमा संलग्न गीतकार, संगीतकार तथा गायकहरुको सहभागिता उत्साहजनक थियो ।

  • मेरो प्रारम्भिक गीतलेखन एवम् रचनागर्भ

    बिक्रम सम्बतले त्यस्तै २०३०/३२ सालतिर नेपालको एक विकट उत्तरपूर्वी जिल्ला ताप्लेजुङको आठराई हाङपाङमा सरस्वती माद्यमिक विद्यालयमा त्यस्तै १२/१४ वर्षको नवराज सुब्बा नामको एउटा विद्यार्थी केटो ८/१० कक्षामा पढ्दथ्यो । हाइस्कुल छेउमै घर भएकाले गुरुहरुको संगतले होला हारमोनियम टयाँटयाँटुँटुँ गरेको देखेर सुनेर तथा गीत गाउन नाच्न फ¥याक फुरुक गरेको देखेर होला त्यसबेला विद्यालयका प्रधानाध्यापक गणेशबहादुर राई…

  • पोखरेलजी नाम जस्तै मधु

    भेट्यो कि हाँस-हाँस उठ्छ गजलकार मधु पोखरेललाई देख्दा । पल्लव साहित्य प्रतिष्ठान चितवनको निम्त्यालु भएर विराटनगरका हामी झण्डै आधादर्जन स्रष्टाहरू गइयो र भेला भइयो नारायणघाट स्थित बृद्धाश्रम सभाकक्षमा । प्रतिष्ठानको वार्षिक समारोह अन्तर्गत सम्मान आदि कार्यक्रम सकिएपछि कविगोष्ठीको आयोजना गरिएको थियो । गजलकार मधु पोखरेलले गजलवाचन गर्न माइकसामु उभिएर बोल्न थालेको केही बेरमै हतारहतार भुइँमा खसेको केही चिज टिप्नुभो । मैले सोचें, वहाँको हातको कुनै वस्तु जस्तै कलम वा कलमको विर्को आदि खसेकोले टिप्नुभएको होला । तर होटलमा फर्के पछि मेरी पत्नी चन्चलाले जब सो घटनाबारे बताइन् तब मात्र थाहा पाएँ कि त्यसबेला वहाँको दाँत नै पो खसेको रहेछ । पहिले त चन्चलाले पनि मुखबाट सुपारी खसेछ भन्ठानिछन् । तर भुइँबाट हतारहतार टिपेर मधुजीले पैण्टको गोजीमा हालेपछि मात्र दाँत रहेछ भनेर उनले चाल पाइछन् ।

  • मेरो सपना

    बि.स. २०४० सालमा पाँचथरको इम्बुङ हेल्थपोष्टको उद्घाटन मेरै कार्यकालमा तत्कालीन गृहमन्त्री श्री पद्मशुन्दर लावतीबाट भएको थियो । लोकसेवा आयोगबाट जनस्वास्थ्य कार्यालय पाँचथर हुँदै इम्बुङ हेल्थपोष्टलाई प्रत्यायोजित अधिकार प्रयोग गरेर त्यसबेला मैले स्थानीय दुईजना युवा भाईहरुलाई कार्यालय सहयोगी (पियन) को रुपमा स्थायी नियुक्ति गरेको थिएँ । नियुक्ति भए बापत उनीहरुले खुशीयालीमा एक एक वोटा भाले… ल्याएर…

Leave a Reply