केही कविताहरू

कठघरामा उभिएर

हो ! हो ! हो !
म सत्य सत्य बोल्दैछु
आमाको परिभाषा म केवल आमा बुझ्दछु
जोड्दछु नाता नानाथरि
तर कदापि तोड्दिनँ यो नाता
कतिन्जेल केरिरहन्छौ
हिरासत–मुक्त गरिदेऊ मलाई
अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ !

भन, ती को हुन् ?
जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन्
माया गरेर बुई चढाइन्
उनैको शरीरमा दिसापिसाब गरे पनि
पखालेर म्वाइँ खाइन्
भन, काँडाले घोच्दाखेरि
हिँड्दा ठेस लाग्दाखेरि
बताऊ ए आरोपित !
रगत बग्दा तिम्रो मुखैमा
पहिले को आइपुग्छ ?
भन ! नसेलाउने न्यानो काख
र कहिल्यै ननिभ्ने आँखा कोसँग हुन्छ ?
अनि कसका छातीभित्र
दुःखको अपार सगर मात्र हैन
अथाह सुखको सागर पनि छ ?
ऐय्या, अब भो !
कति मीठा नमीठा सवालहरूले हिर्काइरहन्छौ !
ल भैगो म मेरो आत्मै खोलिदिन्छु
हो श्रीमान् ! विकल्प सबै कुराको छ
तर छैन विकल्प जननीको
हुँदैन विकल्प आमाको
आमा निर्विकल्प सत्य हुन् ।

उहिले सानामा रूँदाखेरि
‘लौ हाँस हाँस मेरो बाबु’ भन्थिन् आमा
आज म आत्मसमर्पण गर्दै
कठघराबाट उद्घोष गर्दैछु-
आमा ! एकफेर हाँसि देऊ न !
तिम्रो मुस्कान फर्काउन
म हिमाल भएर ठि…ङ्ग… उभिएको छु ।
तिमी जहाँ छौ म त्यहीँ छु
आखिर म नै तिमी र तिमी नै म हुँ
तिमी मेरो मुखमा झुन्डिएकी छौ
हृदयमा मुस्कुराइरहेकी छ्यौ आमा !
तिमी मेरो आत्माझैं अमर छौ
दूबो, ढुङ्गा छोएर बोल्दैछु-
आमा ! तिमी आत्माझैं अमर छौ ।

(बेलायतस्थित नेपाली साहित्य मञ्चद्वारा आयोजित ‘प्रथम अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४’ मा प्रस्तुत कविता प्रथम स्थान हासिल गर्न सफल भएको थियो । उक्त प्रतियोगितामा विश्वका २७ देशबाट १०३ जना नेपाली कविहरु सहभागी थिए ।)

मेरो पहाड

पहाड छाती ठोक्छ नशामा
घरीघरी ठोक्किन्छ भोकका भित्तामा
बिसाएर पीरका भारी बजाउँदै मुर्चुङ्गा
दन्त्यकथा बौराउन खोज्छ कुनै राजकुमारको
साइँला साइँलीको गाग्री र ढाकरले
पार नपाएको त्यो अपार थुप्रो मात्र नभन न गाँठे !

जुरेलीको जुरो हो मेरो पहाड
तर, हेर्दाहेर्दै समयको गहिरो पहिरोजस्तै
रगतका नाता गुरुत्वका बाचा तोड्दै
खहरे, खोला र नदीहरू
पहाड नाँघ्दै कुल्चँदै उँधै झरे
ए दुःखी पहाड !
त्यहीँ बस है भन्दै
आफ्ना खुट्टा लागेपछि
वीरे लाहुरे बन्न तलै झ¥यो
लेखपढ गर्छु भन्दै चाउरे पनि उँधै झ¥यो
बटुवाहरू रुँदै झरे,
दुःखको त्यो पहाडले
कति दुःखले जन्मायो होला
लाहुरे, चाउरे र बटुवाहरू
सबैले बहानावश छाडिगए
यसरी जीवन दुख्नुको प्रतीक बनेछ पहाड
परदेशी लाहुरेदाइको सम्झनामा
विरक्तिएको भाउजूको मन बनेको छ पहाड
बर्सेनि आगाले खाने वन बनेको छ पहाड
तैपनि पौरखी पाइलाले टेक्न मानेनन् भनेर
गुनासो गर्दैन मेरो पहाड
मानौँ पर्यटककै लागि बनेका हुन्
केवल पासपोर्ट र नागरिकतामा लेखिन उभिएका हुन्
मेरा हिमाल र पहाडहरू !
के नागरिकतामा लेखिने जन्मस्थान मात्र हौ पहाड ?
के पासपोर्टमा लेखिने स्थायी ठेगाना मात्र हौ पहाड ?
एक पटक पासपोर्ट भएर म तिमीलाई सोध्दैछु
सहर भनेपछि हुरुक्कै हुने सन्तान
किन जन्मायौ पहाड ?
हेर पहाडमा त !
आसैआसको सपना फुल्छ
तर के गर्नु ओइलिन्छ सधैँ !
दुःखी आँखा रित्ता पेट
ढिकीजाँतो पनि थकाइ मारेर
दसैँ पर्खिरहेछन् त्यहाँ !
साउने–झरीमा दुःखी घुम ओढ्दै
कान्छी, अन्तरी र जन्तरीहरू
छुपुछुपु खेतमा धान रोप्छन्
धानजस्तै एकदिन जीवन
हाँस्दै फल्ला कि भनेर !
पहाडमा
खेतमा पानी जत्ति लगाऊ
जत्ति नै रोप माया तर खै
त्यहाँ पानी सधैँ उँधै बग्छ
जति रोके पनि
खेतका आली–कान्ला नाघेर
बग्दै जान्छ पानी
कुला, खोल्सा, खोला, नदी सबै
गुरुत्वाकर्षण तोड्दै–मोड्दै
अरूका प्रदेशतर्फ आकर्षित हुन्छन्
अन्ततः कुनै खाडीमा भासिन्छन्–मासिन्छन्
यता पहाडका छातीभरि
अभाव–असन्तोषका घाँसपातहरू
बस्तुबाख्राले पनि खाई नसकेर
गम्लङ्ग छोपेको छ फूलमायालाई!
म पनि त पहाडबाट झर्दा
पहाडमा देउराली थियो
मायाका उकाली डाँडा थिए
जहाँबाट तल हेर्दा
छाडिजाने गाउँको मायामा
एक थोपा बिदाइका आँसु अनि
पुगिने ठाउँको सम्झनामा
खुसीका अर्को थोपा आँसु पुछ्दै
देउरालीको शिरमा
आफ्नो मुटु एउटा ढुङ्गो थपेथेँ
नमरिबाँचे दैवले साँचे भेटौंला है! भन्दै
भाकलका पहाड त्यहीँ छाडेथेँ ।
उक्लेर म—
सम्झनाका पहाड
आज लौ यो के देख्दैछु !
मैले त मेरो पहाड र दुःख
त्यहीँ छाडिआएँ भन्थेँ
त्यो त सँगै पो आएछ मसँगै टाँस्सिएर
अनुहारमै यी अर्को पहाड जन्मेछ
देखेनौ लालबाबु !
हेर त यी मेरा आँखामा ।

आमाको तिर्सना

बाल्यस्मृतिपटलभित्र
अझै झल्झल्ती आइरहने
जीवनमा पहिलो पटक
आँखाले नियालेका
दुई आकृति हुन्
क्षितिज छोएर लहरै
उभिएका डाँडाहरू
र सुसाउँदै कसैलाई भेट्न
हतारहतार उँधो बग्ने
तम्बर !
कोक्रामा निदाएर उठ्दा
मेरी आमा नदेखेपछि
रुँदै थाक्दै फेरि रुँदै
आमालाई पहिल्याएँथेँ
आँखाले परपरसम्म पछ्याएथेँ
उसैबेला आमा खोज्ने आँखामा ठोक्किएथेँ
उही डाँडा र बग्ने खोलामा ।

सायद
अलिकति भोकले
अलिकति तिर्खाले रोएँ उसबेला
त्यो भन्दा पनि
आमाले मलाई एक्लै छाड्नु भो कि
भनेर रोएँ, कहालिदै रोएँ
साँच्चै दिलै दुख्ने गरी रोएँ
बिपनामा अनि सपनामा घरीघरी धुरुधुरु रोएँथेँ
मेरी आमालाई नदेखी आमाका सट्टा उभिएका
डाँडा र बगेका खोला देखेर सारै रोएँथेँ,
घाँटी सुकेको आवाज कोक्रामा सुनेर
तीनधारे पधेँराबाट आएर डोको बिसाउँदै
हतारहतार मेरी आमा तिमीले
चुल्हो छोएर हातमा थुःथुः गर्दै मलाई
‘आम्बी’ भन्दै काखमा लियौ
तिम्रो काख र छातीमा टाँस्यौ
मैले संसार पाएँथेँ
एकैछिनमा सबै दुःख, डर सबै भुलेँथेँ !
शिरमा उन्यूँका पात सिउरेर
तिम्रो पैतालाको धूलो निधारमा दलिदियौ
र हामी चिप्लेटी डाँडा काटेर
गोधूलि साँझमा
मावल पनि गयौँ ।

आज
खोलासितै बग्ने पानीमा
बगेर गएका ती दिन
अनि डुबेर हराएका सन्तान नियाल्दै
मेरी आमा जब आँखामै तम्बर उमार्छिन्
डाँडामा अस्ताउन लागेका
घामजूनका पछिपछि हिँड्न तम्सिन्छिन्
एक्लै कतै चौताराको फलै“चामा बसेर टोलाउँछिन्
तब मेरी आमाका अनुहारमा
ठोक्किन्छु, कतै बग्छु र बल्झिन्छु म पनि !
आमा !
आऊ फेरि एक पटक यी मेरा हातमा
आज दिउँसै हराएको सातो डाकिदेऊ
छोइदेऊ मेरो शिर
र फेरि एकपटक उन्यू सिउरी देऊ
‘आम्बी’ भन्दै थुःथुः गरिदेऊ यी हातमा
तिम्रा पैतालाको माटो लगाइदेऊ
यो मेरो निधारमा
आमा ! म अझै कोक्रामै झुन्डिएको छु
म तिम्रो थुन्सेमै बर्कोमा गुटुमुटिएको छु
यो मन कुल्चेर कतै नगइदेऊ
मेरी आमा !
तिमी कतै नछेल्लिदेऊ
कतै नहराइदेऊ !
ए डाँडा र खोला !
के तिमीहरूलाई म यसरी नै दुखेको मन पर्छ ?
उसोभए नछेकिदेओ, नलुकाइदेओ मेरी आमालाई
म मेरा सारा उमेर उधारेर उनैलाई नै डाकिरहेछु
छाती जताततै खोस्रेर आमालाई नै खोजिरहेछु ।
हिँड्दा–हिँड्दै
खेल्दा–खेल्दै
हराएँ सातो मैले
साँझ पर्न लाग्यो आमा !
मलाई किन किन डर लाग्छ
भुइँमा खसेका पातपतिङ्गर बर्कामा सोहोरेर
‘बोरोम् बोरोम्’ भन्दै आऊ आमा !
खोइ ! कस्तो भोकतिर्खा माया हो वा के लाग्छ
हरेक साँझ तिम्रो सारै पीर लाग्छ
आमा मलाई तिम्रो तिर्सना लाग्छ ।

(नोट—‘आम्बी’ भन्नाले लिम्बू भाषामा आश्चर्यबोधक शब्द ‘आम्मै’ भनेझैँ । ‘बोरोम् बोरोम्’ लिम्बू भाषामा केटाकेटी खेल्दा हिँड्दा हराएको सातो (आत्मा) बोलाउँदा अभिभावकले उच्चारण गर्ने शब्दावली ।)

Similar Posts

  • ऐना र मानिस

    परिचय “ऐना र मानिस” – डा. नवराज सुब्बाको गहिरो भावनात्मक र सामाजिक चेतनायुक्त कविता हो, जसले आधुनिक मानिसको आत्म–प्रतिबिम्बलाई चुनौती दिन्छ। कविता एक समय थियो—मानिसले हेर्थ्यो आफ्नो अनुहारकुनै शान्त पोखरीको पानीमा,या प्रियसीका आँखाभित्र,जहाँ देखिन्थ्यो उसको असली रूप—र सपनाको उज्यालोमानिस्किन्थ्यो यात्रामा। तर अब—मानिसको हातमा छ ऐना,र उसले हेर्छआफ्नो अनुहार होइन,अरूको तेज, अरूको चमक।र त्यो चमकमाउसको मन…

  • The Voice of Mukkumling

    Dr. Nawa Raj Subba The Voice of Mukkumlung: A Poetic Tribute to History and IdentityBy Dr. Nawa Raj Subba Mukkumlung, a sacred Limbu heritage site, reverberates with history, spirituality and struggle. Sacred stones around it sing the song of past generations who speak of Sirijanga and Yalambar with reverence. Mukkumlung is more than a place; it stands…

  • साहित्यमा साइबर

    डा. गोविन्दराज भट्टराई प्रमिथस महाकाव्यको आरम्भमा महाकविले पुकारेका छन्— हे युनानी शारदे ! सर्वप्रथम त तिनी प्रत्येक मानवलाई वाणी दिन उभिएकी छन्, त्यसपछि मात्र विद्या, बुद्धि र चेतना रश्मी सल्काउनलाई । मलाई यो साइबर युग र सरस्वती जोड्न मन लागेको छ । ती हाम्रो मनोजगत्मा बिराजमान भावनात्मक सरस्वतीले यो साइबर युगमा कस्तो स्थान ग्रहण गर्दै…