
शोधार्थी मञ्जु शर्माको शोधपत्र ‘नवराज सुब्बाको काव्यकारिता’को सारांश र निष्कर्ष
पृष्ठभूमिः त्रिभुवन विश्व विद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौं पत्रको प्रयोजनको लागि मञ्जु शर्माको प्रस्तुत शोधकार्य वि.स. २०७३ सालमा सम्पन्न भएको थियो । शोधपत्रको निर्देशन नेपाली केन्द्रीय विभागका सहप्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले गर्नुभएको थियो । उक्त शोधपत्रको मूल्याङ्कन समितिमा विभागीय प्रमुख प्रा.डा. देवीप्रसाद गौतम र बाह्य परीक्षक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल रहनु भएको थियो ।
सारांशः नवराज सुब्बाको काव्यकारिता शीर्षकमा केन्द्रीत यस शोध परिच्छेद एकमा शोध परिचय अन्तर्गत विषय परिचय, समस्याकथन, शोधको उद्देश्य, पूर्व कार्यको समीक्षा, शोधको औचित्य, शोधको सीमा, शोधविधि र शोधको रुपरेखा प्रस्तुत गरिएको छ । परिच्छेद दुईमा नवराज सुब्बाको परिचय तथा उनको कवितायात्रा र प्रवृत्ति अन्तर्गत लेखनको क्षेत्रमा प्राप्त प्रेरणा र प्रभाव, लेखन आरम्भ, काव्य सिर्जनाको चरण विभाजन, प्रथम चरण, द्वितीय चरण एवं सुब्बाका काव्यगत प्रवृत्तिहरु तथा अध्यायगत निष्कर्ष प्रस्तुत गरिएको छ ।
परिच्छेद तीनमा सुब्बाका काव्य कृतिको विधातत्वका आधारमा विश्लेषण गरिएको छ । त्यस क्रममा कविता कृतिको परिचय, विषयवस्तु, पात्र, परिवेश, उद्देश्य, दष्टिविन्दु र भाषाशैलीका आधारमा उनका चारवटै कविताकृतिको चर्चा गरिएको छ ।
परिच्छेद चारमा प्रवृत्तिका आधारमा सुब्बाका कविताकृतिको विश्लेषण प्रस्तुत गरिएको छ । जस अन्तर्गत सुब्बाका कविताकृतिहरुमा प्रयुक्त कविताहरुलाई विभिन्न प्रवृत्ति अन्तर्गत राखेर विश्लेषण गरिएको छ । परिच्छेद पाँचमा सारांश तथा निष्कर्ष अन्तर्गत सारांश भागमा प्रत्येक अध्यायका अध्ययनगत निष्कर्ष र निष्कर्ष भागमा शोधको समग्र निष्कर्ष प्रस्तुत गरिएको छ ।
निष्कर्षः कवि नवराज सुब्बा नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत ताप्लेजुङ जिल्लाको हाङपाङ भन्ने गाउँमा वि.स. २०१८ साल आश्वीन १६ गते जन्मिएका हुन् । काल्यकालदेखि नै उनको साहित्यप्रति गहिरो अभिरुचि थियो । बहुमुखी व्यक्तित्वका धनी सुब्बा सरल, सरस र यथार्थपरक साहित्य रचनाका विशिष्ट सर्जक हुन् । वि.स. २०३० देखि औपचारिक साहित्य लेखनको यात्रा आरम्भ गरेका सुब्बाले हालसम्म करिव आधादर्जन साहित्य कृतिहरु प्रकाशन गराएका छन् । उनी विशेषतः काव्यकार व्यक्तित्व हुन् । उनको कविता लेखनको यात्रालाई प्रथम चरण र द्वितीय चरण गरी दुई भागमा विभाजन गरिएको छ । उनको कविता लेखनको पूर्वार्ध चरण आभ्यासिक चरण मानिन्छ भने उत्तरार्ध चरण विकसित चरण मान्न सकिन्छ ।
सुब्बाका कविताहरु विधातत्वका हिसावले उपयुक्त खालका छन् भने प्रवृत्तिका आधारमा पनि उत्तिकै प्रभावकारी रहेका छन् । सामाजिक यथार्थता, प्रेमको भावना, प्रेम र प्रणयको अनुराग, व्यङ्ग्य चेतना, सांस्कृतिक बिम्बको प्रयोग, जातीयता चिनारी जस्ता प्रवृत्तिगत विशेषताहरु उनका कविता कृतिमा पाइन्छन् । यस शोधमा खासगरी कवि नवराज सुब्बाको काव्यप्रवृत्तिगत विशेषताहरुको आधारमा सुब्बाद्वारा लिखित ‘जीवन मेरो शब्दकोशमा’ (२०६२), ‘बीच बाटोमा ब्यूँझेर’ (२०६५), ‘यात्रा आधा शताब्दीको’ (२०६८) नामक कवितासङ्ग्रह तथा ‘चीत्कार’ (२०६९) नामक मुक्तकसङ्ग्रह गरी चारवटा काव्य कृतिको संक्षिप्त रुपमा विश्लेषण गरिएको छ । जसका आधारमा उनी एउटा सफल काव्यकार हुन् भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ । यही नै यस शोधकार्यको प्रमुख उपलब्धि हो ।
सन्दर्भसामग्री-
शर्मा, मञ्जु (२०७३) नवराज सुब्बाको काव्यकारिता, त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौं पत्रको प्रयोजनको लागि सम्पन्न शोधपत्र, पृष्ठ ८७-८८