पोखरेलजी नाम जस्तै मधु

  • नवराज सुब्बा

भेट्यो कि हाँस-हाँस उठ्छ गजलकार मधु पोखरेललाई देख्दा । पल्लव साहित्य प्रतिष्ठान चितवनको निम्त्यालु भएर विराटनगरका हामी झण्डै आधादर्जन स्रष्टाहरू गइयो र भेला भइयो नारायणघाट स्थित बृद्धाश्रम सभाकक्षमा । प्रतिष्ठानको वार्षिक समारोह अन्तर्गत सम्मान आदि कार्यक्रम सकिएपछि कविगोष्ठीको आयोजना गरिएको थियो । गजलकार मधु पोखरेलले गजलवाचन गर्न माइकसामु उभिएर बोल्न थालेको केही बेरमै हतारहतार भुइँमा खसेको केही चिज टिप्नुभो । मैले सोचें, वहाँको हातको कुनै वस्तु जस्तै कलम वा कलमको विर्को आदि खसेकोले टिप्नुभएको होला । तर होटलमा फर्के पछि मेरी पत्नी चन्चलाले जब सो घटनाबारे बताइन् तब मात्र  थाहा पाएँ कि त्यसबेला वहाँको दाँत नै पो खसेको रहेछ । पहिले त चन्चलाले पनि मुखबाट सुपारी खसेछ भन्ठानिछन् । तर भुइँबाट हतारहतार टिपेर मधुजीले पैण्टको गोजीमा हालेपछि मात्र दाँत रहेछ भनेर उनले चाल पाइछन् ।
बाफ् रे ! त्यत्रो शभामा सबैसामु उभिएकै बेला खस्नु पर्ने त्यो दाँतले ! त्यसमा पनि जब गजलवाचन गर्ने बेलामा नै खस्नु पर्ने त्यो वनावटी दाँतले ! यसरी मलाई त्यो दाँतसित रिस र मधुजीसँग हाँस उठ्न थाल्यो ।

कुरा गर्दै जाँदा वनावटी दाँतका थुप्रै किस्सा पनि सुनियो । केटी माग्न जाँदा रातीपख हाछिउँ गर्दा खसेको दाँत रातभर बत्ति बालेर खोज्दा पनि नभेटिएको तर सोही दाँत विहानपख कुकुरले चपाउँदै गरेको पाइएको जस्ता किस्सा सुनेपछि मलाई मधुजीको त्यो घटना सम्झेर निकै हाँसो उठ्यो । आज यो घटना भएको झण्डै छ महिना जति भयो होला तर अझै पनि मलाई हाँस उठिरहन्छ गजलकार मधुलाई देख्दा, भेट्दा ।

यो घटनाबारे लेख्न बस्दा म प्रफुल्लित छु तर केवल त्यही एउटा घटनाले मात्र भने होइन । वहाँसँग संगत भएको झण्डै डेढ दशक जति भयो होला तर मैले वहाँ रिसाएको देखेकै छैन । जहिले पनि प्रफुल्ल मुद्रामा म वहाँलाई देख्छु । सधै हाँसिखुशी बस्न रुचाउने, साथीभाई भने पछि हुरुक्कै हुने, रमाइलो गर्न पछि नहट्ने पोखरेलजी वास्तवमा नाम जस्तै मधु हुनुहुन्छ ।

जब वहाँको बोली माइकमा सुनिन्छ तब वहाँको आवाज एउटा कुशल गायकको जस्तो ओजपूर्ण ध्वनिमा गुन्जिन्छ कानमा मात्र हैन मुटुमा प्रतिध्वनित हुनेगरी । लयात्मक गजलवाचनका निम्ति जुन स्वर वहाँले पाउनु भएको छ त्यसको सटिक प्रस्तुती नै वहाँको विशिष्ठता हो, मैले देखेको कुरा ।
यति मात्र होइन वहाँ एउटा राष्ट्रसेवक पनि हुनुहुन्छ । वहाँले मेरो कार्यक्षेत्र जिल्ला जनस्वास्थ्यको प्रशासन शाखा समेत केही वर्षसम्हालिसक्नु भएको छ । जिल्ला विकास समिति मोरङको योजना, अनुगमन तथा प्रशासकीय अधिकृत जस्तो महत्वपूर्ण पदमा वहाँ बहाल रहँदा मैले पनि वहाँसित प्रत्यक्ष सहकार्य गरेको थिएँ । मोरङ जिल्लामा २०६१-६२ सालतिर हामी विराटनगरका सरकारी तथा गैरसरकारी संस्थाहरू, विद्यार्थी, संचारकर्मी, स्वास्थ्यकर्मी लगायत मिलेर भव्य रूपमा सहिद मैदानमा विश्व एड्स दिवस मनाउँथ्यौं । त्यसबेला जिल्ला विकास समितिको एक ज्रिम्मेवार अधिकृतको हैसियतले वहाँले सभाको सन्चालन गर्दा प्रदर्शन गर्नू भएको वहाँको वक्तृत्वकलाले आमसभालाई एकसूत्रमा बाँधेको थियो । समुदायलाई तितरबितर हुन नदिई एकत्रित पारेर सभा सफल बनाउन वहाँको आवाजले ठूलो भूमिका खेलेको थियो, जो म कहिल्यै बिर्सने छैन ।
एकातिर एक राष्ट्रसेवकको जिम्मेवारी बहन गर्नु पर्ने अनि अर्कातिर नेपाली वाङ्मयमा समर्पित रहनु पक्कै पनि चानचुने कुरो होइन । कविता, गजल, निबन्ध लगायतका विधामा जुन सिर्जना र साधना गरिरहनु भएको छ त्यसको म मुक्तकण्ठले प्रशंसा गर्दछु । देशप्रेमयुक्त भावना वहाँका रचनामा प्रसस्त पाइन्छन् । वहाँले चितवनमा वाचन गर्नुभएको गजलको मतलामा पनि राष्ट्रप्रतिको चिन्ता मुखरित भएको छ ।
तिमीले भुल्यौ र पो देश दुख्छ
स्वयं मुस्कुरायौ र पो देश दुख्छ ।
यस अवसरमा म वहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । अस्तु ।
(संस्मरण)

Similar Posts

  • फेसबुकबाट पुस्तक लोकार्पण

    श्रावण १३, २०६९ शनिबार, विराटनगर नेपाल । नेपाली वाङमयका एक स्रष्टाका विविध आयाममा गरिएको नवीनतम् अनुसन्धानात्मक कृति हालै प्रकाशित गरिएको छ । त्रिभुवन विश्व विद्यालय मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्नातकोत्तर तह नेपाली विषयमा अध्ययनरत चूडामणि बराइलीद्वारा लिखित तथा सम्पादित “व्यक्तित्वका विविध आयामहरूमा नवराज सुब्बा” नामक पुस्तक आज फेसबुक, ट्वीटर र वेभसाइटबाट एकसाथ विमोचित गरियो ।…

  • गुरुकुलमा साहित्यिक भेटघाट

    विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ । गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता…

  • आफ्नै गीतमा…

    नवराज सुब्बा एउटा गीतकार हुनुको पीडा र सुख पनि बेग्लै भएको छ मलाई । आफ्ना केही गीत अरुका स्वरमा तथा अरुका संगीतमा पहिलो पटक सुन्दा म रोएको छु । त्यसबेला मलाई भक्कानिएर रुन मन लाग्छ । तर लाज लाग्छ आफूलाई नियन्त्रित गर्न हम्मे पर्छ, र एकान्तमा छेलिएर म रुमालले आँशु पुच्छु, बाथरुममा पसेर मुख, आँखा…

  • तिहार डायरी (फट्याक–फुटुक) नवराज सुब्बा

    “हेलो” मैले मोवाइलमा कल रिसिभ गरें । प्रश्न सोधियो “के छ सिक्टी प्लस ?” मैले पनि जवाफ दिएँ “ओहो सिक्टी प्लस ठिक छ ।” फेरि सवाल सोधियो “अनि के गरिंदै छ नि !” म गाडीमा भएकोले गफ त्यति लम्ब्याउने अवस्थामा थिइन यसैले मैले करिव ५ मिनेटमा बेलिविस्तार लगाउन सकिने मेरो हालखवर दुइटै शब्दले अभिव्यक्त गर्न…

  • म हुस्सु !

    साँच्चै नढाँकिन भन्ने हो भने म हुस्सु छु । नपत्याय आज मैले गरेको चर्तिकलाले यो पुष्टि गर्दैन र ! मलाई दिनको २ बजेर ५० मिनेटमा कान्तिपुर एफ. एम. मा बोलाएको थियो । म चाहिँ १ बजेर ५० मा नै पो पुगें । त्यहाँ पुगेर यसो हेर्छु मलाइ बोलाउने मान्छेको चालामाला क्यै छैन ।

Leave a Reply