डा. नवराज सुब्बा
मानवजाति (होमोसेपियन्स) आजभन्दा दुईलाख वर्षपूर्व अफ्रिकामा देखा परे । नियन्डरथल आजभन्दा तीनलाख वर्षपूर्व दक्षिणी युरोपमा देखा परे । नियन्डरथल जातिका ती पुर्खाको एक वंश आजभन्दा ३८,००० वर्षपूर्व संसारबाट लुप्त भयो । नियन्डरथल कस्ता थिए? यिनीहरु किन विलुप्त भए? मानवजातिलाई यिनीहरुको योगदान के रह्यो? भन्ने उत्तरको खोजी गर्दैछु ।
मानवजातिका समकक्षी नियन्डरथल जाति शारीरिक दृष्टिले बाहिरबाट हेर्दा मानिस जस्तै थिए, शरीरमा रौं बढी मात्रामा थिए । शिकारी भए पनि यिनीहरु धर्म मान्दथे । यिनीहरु मृत्युपछिको जीवनकोबारेमा पनि ध्यान दिन्थे । जुन कुरा यिनीहरुको चिहान उत्खननमा प्राप्त गहना, फलफूल आदि सहित समाधिले पुष्टि भएको छ । यिनीहरु शरीरलाई तथा मुहारलाई मसीले रंगाएर पहिचान दिने गर्दथे । यिनीहरुले संगीतको विकास गरेको पनि प्रमाण भेटिएको छ । यिनीहरुले चराको प्वाँख टोपीमा सिउरेर लगाउने तथा गुफामा चराको प्वाँखले सजाउने गरेको प्रमाण पनि भेटिएको छ । फ्रान्स, स्पेन र जिब्राल्टरका मियन्डरथल बस्ने क्षेत्रमा यिनीहरुले ढुँगामा संकेतहरु कुँदेर छाडेको तथा गुफाको भित्तामा ढुँगामा विभिन्न चित्रहरु, धर्काहरु कोरेको पनि भेटिएको छ । यसरी नियन्डरथलले धार्मीक परम्परा, आध्यात्मिक विश्वास तथा संस्कार गर्ने गरिएका प्रमाण पनि वैज्ञानिकहरुले भेटेका छन् ।
यी नियन्डरथलसित मानिसजातिको को भेट आजभन्दा ४०,००० वर्षअघि युरोपक्षेत्रमा भयो । यी जाति आजभन्दा ३८,००० वर्ष अघि संसारबाट किन र कसरी लुप्त भए भनेर वैज्ञानिकहरुले अध्ययन र तर्क राखेका छन् । एकथरीका वैज्ञानिकहरुले मानिसजातिले यी नियन्डरथलजातिलाई युद्धहरुमा हत्या गरे र सखाप पारे भन्ने छ । अर्काथरी वैज्ञानिक यिनीहरु भाषाको कारण शिकार खेल्न मानिसजाति जत्तिको संगठित हुन नसकेर लुप्त भए भन्ने छ । माथिको दोस्रो तर्कलाई बल पु¥याउने तथ्य हालै बैज्ञानिकहरुले पाएका छन् । यिनीहरुको टाउकोको हड्डीको अध्ययन गर्दा यिनीहरुको दिमागको भित्रीतल्लो भाग मानिसको भन्दा अलि चेप्टो भेटियो । नियन्डरथलको घाँटीमा श्वासनलीको क्षेत्र अलि साँगुरो, छोटो (मानिसको बच्चाको जस्तै) अवस्थाको भएको कुरा पत्ता लाग्यो । यसले के कुराको जानकारी भयो भने नियन्डरथलको बोल्ने क्षमता र भाषिक दखल मानिसजातिको भन्दा कमजोर थियो । जसले गर्दा उनीहरुबीच आपसमा कुराकानी गर्न र सन्देश आदानप्रदान गर्न एवम् संगठीत हुन मानिस जातिलाई भन्दा अप्ठेरो थियो ।
बैज्ञानिकहरुले नियन्डरथलको हड्डीबाट तिनीहरुको डिएनए परीक्षण गरे । उक्त वंशाणुगत परीक्षणको आधारमा फक्स पि२ जिनोममा देखिएको भिन्नताले नै मूलतः नियन्डरथल र मानिसबीच फरक पाइयो । परीक्षणमा पत्ता लागेको वंशाणु बोल्न तथा भाषा सिक्ने गुणसित सम्बन्धित भएकोले नियन्डरथलको यही कमीको कारण उनीहरु प्रतिस्पर्धामा मानिसजाति भन्दा कमजोर प्रमाणित भए भन्ने वैज्ञानिकहरुको निष्कर्ष छ । जेहोस्, हजारौं वर्ष मानिसजाति र नियन्डरथल पृथ्वीमा संगै बसे र आजभन्दा ३८००० वर्ष अघि पृथ्वी मानवजातिलाई बुझाएर नियन्डरथल जाति सदाको लागि विदा भए ।
यी नियन्डरथल जातिको वंशाणुको अंश हाल मानवजातिमा पनि पाइन्छ । एउटा परीक्षणमा भारोपेलीमा ३ प्रतिशत, मंगोलमा २.५ प्रतिशत र अफ्रिकनमा १ प्रतिशत नियन्डरथलको वंशाणु भेटिएको छ । यसले दुइटा प्रमुख कुरा संकेत गर्दछ । पहिलो, नियन्डरथलको संसर्ग युरोपेली क्षेत्रमा बढी भयो फलस्वरुप भारोपेली रगतमा त्यो नियन्डरथलको अंश सबैभन्दा बढी भेटियो । दोस्रो नियन्डरथल तीनलाख वर्षपूर्व नै अफ्रिकाबाट उत्तर लागेका र युरोप क्षेत्रमा प्रवेश गरेको तथा मानवजाति करिव एकलाख वर्षपूर्व अफ्रिकाबाट उत्तर लागेर एशियातिर लागेकाले अफ्रिकी मानिसमा नियन्डरथलको वंशाणु कम पाइएको वैज्ञानिकहरुको मान्यता छ ।
नियन्डरथलको वंशाणुको अध्ययनबाट निस्केको एउटा प्रारम्भिक निष्कर्षले के बताउँछ भने नियन्डरथल मानिसजाति भन्दा अघि नै युरोप तथा अन्य भूभागमा फैलिएर विभिन्न रोगबाट बच्ने क्षमता इम्यूनिटी हासिल गरेका थिए । त्यो पछि रक्तमिश्रणबाट मानिसजातिमा पनि प्राप्त भयो । नियन्डरथलबाट प्राप्त एचएलए टाइप डिएनएले क्यान्सररोग लड्ने शक्ति प्रदान गर्ने भएको तथ्य हालै वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यसरी संसारबाट विलुप्त हाम्रा पूर्वजका एक महत्वपूर्ण वंश नियन्डरथलको थप वंशाणुगत अध्ययन भइरहेको छ । साथै यिनीहरु संसारबाट यसरी विलुप्त हुनका थप कारण पत्ता लागेमा मानिसजातिलाई पनि संसारमा टिकाइराख्न तथ्यहरुबाट सहयोग मिल्नेछ ।
स्रोतः Ancestral Lineage Media.