२. कृति : ‘बीच बाटोमा ब्यूँझेर’ काव्यको अध्ययन
लेखक : इन्द्रावती सुब्बा
विधा : अनुसन्धान
प्रकाशन : २०६८
प्रकाशकः वाणी प्रकाशन, विराटनगर
शोधनिर्देशकः डा. कृष्णप्रसाद दाहाल, सहप्राध्यापक
संयोजक, प्रा.डा. जगदीशचन्द्र भण्डारी, नेपाली स्नातकोत्तर कार्यक्रम, नेपाली स्नातकोत्तर कार्यक्रम, पाटन संयुक्त क्याम्पस, विशेषज्ञ सहप्राध्यापक सुरेन्द्रवरसिंह थापा, विभागीय प्रमुख, नेपाली शिक्षण समिति, पाटन संयुक्त क्याम्पस, बाह्य परीक्षकः श्री परशु प्रधान, पाटनढोका, ललितपुर Preview/Download
उपसंहार एवम् निष्कर्ष
कवि नवराज सुब्बाको जन्म वि.सं. २०१८ साल असोज १६ गते पिता आइतराज सुब्बा र माता नरमायाका ज्येष्ठ सुपुत्रका रूपमा ताप्लेजुङ जिल्लाको हाङपाङमा भएको हो । उनको पारिवारिक पृष्ठभूमि मध्यमवर्गीय देखिन्छ । उनको पुर्खाहरू ताप्लेजुङको मेवाखोला सावाबाट हाङपाङमा बसाइँ सरेको थाहा हुन आउँछ । तुमयाङ फेयङहाङ साम्बादेखि आइतराजसम्म उनको वंशावली लम्बिएको छ । पिता आइतराजका तीनवटी श्रीमतीहरूमध्ये जेठीपट्टिका जेठो छोरो नवराज सुब्बा हुन् । नवराज सुब्बाको बाल्यकाल पारिवारिक माह्वलमा नै हुर्किएको पाइन्छ । नवराज सुब्बाले आफ्नो औपचारिक शिक्षारम्भ सरस्वती मा.वि. बाट गरेका हुन् । सोही विद्यालयबाट वि.सं. २०३३ सालमा एस.एल.सी. परीक्षा उत्तीर्ण गरी जनस्वास्थ्य विषयमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जबाट एम. पी. एच. र त्रि.वि. बाटै नेपाली विषयमा एम. ए. सम्मको अध्ययन पूरा गरेको देखिन्छ । उनले वि.सं. २०३७ बाट स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूमा इन्चार्जको हैसियतले कार्य गर्दै आफ्नो पेसागत जीवनका थालनी गरेका हुन् । वि.सं. २०५१ बाट जनस्वास्थ्य अधिकृत तथा वरिष्ठ जनस्वस्थ्य अधिकृतको जिम्मेवारी सम्हाल्दै हाल वरिष्ठ जनस्वास्थ्य प्रशासकका रूपमा झापा र मोरङमा कार्यरत देखिन्छन् । मध्यमवर्गीय आर्थिक हैसियत राख्ने सुब्बा विभिन्न साहित्यिक तथा गैरसाहित्यिक सङ्घसंस्थामा पनि आबद्ध भएको पाइन्छ । यिनी गायन, वाद्यवादन, खेलकुद, समाजसेवा, जनस्वास्थ्य आदि साहित्यिक तथा गैरसाहित्यिक विधा तथा क्षेत्रप्रति यिनको रुचि रहेको पाइन्छ । वि.सं. २०६१ सालमा आफ्नो भाइ दीपकराज सुब्बाको आत्महत्या प्रकरण यिनको जीनवको सबैभन्दा दुखद् अविस्मरणीय घटना भएको यिनी बताउँदछन् । विभिन्न मान, सम्मान तथा पुरस्कारबाट पनि यिनी विभूषित देखिन्छन् । यिनले भारत, चीन, थाइल्यान्ड, इन्डोनेसिया, बङ्गलादेश आदिको भ्रमण गरेका छन् । मिलनसार, मृदुभाषी र शालीन व्यक्तित्वका धनी सुब्बा मझ्यौला किसिमको शारीरिक बनोट भएका व्यक्ति हुन् । यिनी साहित्यका विभिन्न विधाहरूमा आफ्नो क्षमता प्रस्तुत गर्ने व्यक्ति हुन् । कविता, कथा, निबन्ध, गजल, समीक्षा, गीत आदि विधाहरूमा यिनले कलम चलाएको देखिन्छ । यद्यपि उनको उर्वर साहित्यिक विधा भने कविता र गीत—गजल नै हो । यिनले आफ्नो साहित्यिक यात्रा वि.सं. २०३० को दशकपछि थालेका हुन् । यिनको यो साहित्यिक यात्रालाई वि.सं. २०३० देखि २०६२ सालसम्मलाई प्रथम चरण र २०६३ पछिको अवधिलाई द्वितीय चरण मान्न सकन्छि । उनको साहित्यिक यात्राको प्रथम चरण आभ्यासिक चरण हो । यस अवधिमा उनका काव्यकृतिहरू फुटकर रूपमा प्रकाशित भएका छन् । उनको साहित्यिक यात्राको दोस्रो चरण भने उर्वर चरण हो । यस चरणमा उनको पुस्तकाकार कृतिहरू प्रकाशित भएका छन् । यस क्रममा उनको “जीवन मेरो शब्दकोशमा” (२०६३) र “बीच बाटोमा ब्यूँझेर” (२०६५) गरी दुईवटा कवितासङ्ग्रहहरू प्रकाशित भएका छन् । यस अवधिमा “मनको मझेरी” (२०६४), निबन्धसङ्ग्रह “यात्रा आधा शताब्दीको” कवितासङग्रह (२०६८) “सहिदलाई सलाम” गीतिसङ्ग्रह (२०६७) पनि प्रकाशित भएको छ । यस अवधिमा “मनको मझेरी” (२०६४) निबन्धसङग्रह पनि प्रकाशित भएको छ । यसै अवधिमा उनको “लुकेको रहर”, “देशको माया” गीतिएल्बम पनि बजारमा आएको अवस्था छ । यस चरणमा उनी बहुआयमिक साहित्यिक व्यक्तित्वका रूपमा चिनिएका छन् । यी बहुआयमिक साहित्यिक व्यक्तित्वहरूमध्ये उनी कवि व्यक्तित्व र गीतकार व्यक्तित्वका रूपमा स्थापित छन् ।
नेपाली साहित्यको विकास क्रममा समसामयिक धारामा देखिने कवि नवराज सुब्बा स्वच्छन्दतावादी प्रगतिवादी चेत भएका गद्य कवि हुन् । यिनका कविताले समसामयिक, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, भौगोलिक पर्यावरणीय घटनाक्रम तथा वस्तुस्थितिको प्रतिनिधित्व गर्दछ । सामाजिक, आर्थिक र सांस्कृतिक विसङ्गतिमाथि व्यङ्ग्य गर्दै सुधारका अपेक्षाहरू यिनका काव्यकृतिहरूमा संस्थापना गरिएका छन् । उनका कविताहरूमा प्राकृतिक परिदृश्यका छटाहरू गुञ्जायमान छन् । राष्ट्रियताका विषयवस्तुहरू पनि यिनका कविताहरूमा उठाइएका छन् । स्थानीयताको छाप यिनका कविताहरूमा देखिन्छ । आगन्तुक, तद्भव, तत्सम शब्दहरूको प्रयोग नियका कविताहरूमा भएका छन् । मझ्यौला आयामका कविताहरू रच्ने सुब्बाका कविताहरूमा प्राकृतिक, सांस्कृतिक, पौराणिक ऐतिहासिक आदि बिम्बहरूको प्रयोग पाइन्छ । ती बिम्ब प्रतीकहरूले अभिधात्मक लाक्षणिक र व्यञ्जनात्मक अर्थसापेक्ष दिएका छन् । सुबोध्य र सरल भाषिक प्रयोग भए पनि अन्त्यानुप्रासको प्रयोग विशृङ्खलित देखिन्छ । उनी मध्यमस्तरका कविका रूपमा स्थापित छन् । कविताका अतिरिक्त यिनी गीतकार गजलकार र निबन्धकारका रूपमा पनि चर्चित रहेको देखिन्छ ।
यिनको वि.सं. २०६५ सालमा प्रकाशित भएको “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहमा ७७ वटा कविताहरू समावेश छन् । ती कविताहरू सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक, आध्यात्मिक, वैज्ञानिक, प्राकृतिक विषयवस्तुमा आधारित छन् । यसका साथै शृङ्गारिक विषयवस्तुका कविताहरू पनि समाविष्ट छन् । यिनले जनयुद्धको १० वर्षे अवधिको चित्रण यी कविताहरूमा गरेका छन् । कवितासङग्रहको शीर्ष कविता “बीच बाटोमा ब्यूँझेर” ले एकातिर सम्पूर्ण कविताहरूको नेतृत्व गरेको छ भने उक्त शीर्षकले देशको वर्तमान अवस्थामा उभिएर भूत र भविष्यलाई नियाल्ने प्रतीकात्मक अर्थ वहन गरेको पाइन्छ । उक्त शीर्षक कविताले जीवन दर्शनको प्रस्तुति गर्दै राजनीतिक विषयवस्तु मानवनियति र सङ्घर्षमय परिस्थितिको आँकलन गरेको पाइन्छ । त्यस्तो सङ्ग्रहभित्र समाविष्ट २०६३ को आयतन “क्रान्तिको मोल” “मुकुन्डो आतङ्क” आदि कविताहरूले जनयुद्धकालीन भयत्रास, उन्माद, आपराधिक घटनाहरूको शृङ्खला, विस्थापनको अवस्था आदिको चित्रण गरेका छन् । नारीहरूको अवस्थितिको चर्चा गर्दै “सतीढुङ्गानेर अरूण ” कविताको रचना कवि सुब्बाले गरेका छन् । यसमा आदिकालदेखि नारीको पीडामय अवस्था र सतीप्रथाको चित्रण गरेका छन् । उनको शृङ्गारिक भाव धारामा आबद्व “चीरप्रतिक्षित यौवन” कविताले सभ्ययुगकालीन यौन व्यापारको चर्चा गर्दै लोकतान्त्रिक तथा गणतान्त्रिक उन्मादको चित्रण गरेको छ । नारीहरूको पीर, व्यथा, कुण्ठा, मातृत्व समस्या आदिलाई चित्रण गर्दै “कठघरामा उभिएर” “आमाको तिर्सना”, “बूढीकन्याको गन्थन” आदि कविताहरू रचिएका छन् । उनको ‘हाकिम कविताले भ्रष्ट सहकर्मी कर्मचारीहरूको चेपमा परेको एउटा अधिकृतको वा हाकिमको मानसिक तनावलाई प्रस्तुत गरिएको छ ।
सीमान्तकृत समुदाय तथा निम्नवर्गीय मानिसहरूको समस्या, पीडा, उनीहरूले खेप्ने दमन आदिलाई विषयवस्तु बनाएर ‘सतारको सम्बोधन’ ‘राउटेको मन’, ‘कम्लहरी’, गर्धा मन्जुर’ ‘जालहारी र माछा’ आदि कविताहरू रचिएका छन् । प्रकृतिलाई विषयवस्तु बनाएर ‘दूबो’, मौसम’ ‘झुसिलकीरा, ढुङ्गा हुनुको पीर, ‘बिहानीसित’, ‘आकाशको सुगन्ध खोज्दा’ आदि कविताहरू रचिएका छन् । यी समाविष्ट कविताहरूले विविध विषयवस्तुहरूको प्रतिनिधित्व गरेको छ । यहाँ प्रशस्त बिम्ब तथा प्रतीकहरूको प्रयोग भएको छ । सुबोध्य र सरल भाषाशैलीमा प्रयोग भएका छन् । प्रथम पुरुषीय र तृतीय पुरुषीय कथनपद्धतिको प्रयोग पाइन्छ । आयामगत दृष्टिले हेर्दा केही छोटा र धेरेै मझ्यौला आयाम भएका कविताहरू सङग्रहमा सङ्गृहीत छन् । यो कवितासङ्ग्रह समसामयिक नेपाली कविता धारामा देखा परेका समकालीन काव्यकृतिहरूसँग प्रतिस्पर्धा गर्न लायकको देखिन्छ । कवि नवराज सुब्बालाई सफल कवि बनाउन यो कवितासङ्ग्रह सहायक भएको छ ।
निष्कर्ष
वि.सं. २०१८ सालमा ताप्लेजुङमा जन्मिएका र एम.पि.एच. सम्म अध्ययन गर्दै वरिष्ठ स्वास्थ्य अधिकृतसम्म हुन पुगेका नवराज सुब्बा बहुआयामिक व्यक्तित्व हुन् । एक स्वास्थ्यकर्मीका अतिरिक्त कवि, गीतकार, निबन्धकार, गजलकार व्यक्तित्व हुन् । यिनी कविता र गीत विधामा बढी सक्रिय रहेको देखिन्छ । वि.सं २०३० बाट साहित्यिक यात्रा तय गरेका सुब्वाको साहित्यिक यात्रालाई वि.सं. २०३० देखि २०६२ सम्म पहिलो चरण र २०६३ पछिको अवधिलाई दोस्रो चरण मान्न सकिन्छ । यस चरणमा यिनले दुईवटा कविता सङ्ग्रहहरू प्रकाशित गरेका छन् भने एउटा निबन्धसङ्ग्रह पनि प्रकाशित छ । यिनको पछिल्लो कवितासङ्ग्रह “बीच बाटोमा ब्यूँझेर” मा ७७ वटा कविताहरू सङ्गृहीत छन् । ती कवितासङ्ग्रहका कविताहरूले वि.सं. २०४६ साल पछिको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक पर्यावरणको प्रतिनिधित्व गर्दछ ।
विषयवस्तुका दृष्टिकोणले शृङ्गारिक, प्राकृतिक, राजनैतिक, राष्ट्रियता, जीवनदर्शन, स्थानीय वस्तुस्थिति आदिलाई लिइएको छ । ती कविताहरूमा विभिन्न बिम्ब प्रतीकहरूको माध्यमबाट व्यङ्ग्य प्रहार भएको पाइन्छ । छोटा र मझ्यौला खालका कविताहरू सङ्ग्रहमा सङ्गृहीत छन् । कवि सुब्बाको कवितात्मक सामथ्र्यलाई उचाल्न विवेच्य कवितासङ्ग्रह सफल भएको देखिन्छ । यो नै प्रस्तुत शोधको निष्कर्ष हो ।
यस शोधपत्रले कवि नवराज सुब्बाको जीवनी, व्यक्तित्वको अध्ययनको परिधिमा उनको पछिल्लो कवितासङ्ग्रह “बीच बाटोमा ब्यूँझेर’ को अध्ययन गरेको छ । भविष्यमा कवि नवराज सुब्बाका बारेमा शोध तथा अनुसन्धान गर्न चाहने व्यक्तिहरूले निम्न शोधशीर्षकअन्तर्गत अनुसन्धान गर्न सक्नेछन् :
१. कवि नवराज सुब्बाको साहित्यिक प्रवृत्तिको अध्ययन
२. कवि नवराज सुब्बाको, ‘जीवन मेरो शब्दकोशमा’ काव्यकृतिको अध्ययन
३. नवराज सुब्बाको यात्रा आधा शताब्दीको कवितासङग्रहको अध्ययन
४. गीतकार नवराज सुब्बाको गीतहरूको अध्ययन ।