मितज्यू कुलप्रसाद प्रसाइ

उसबेला हाङपाङमा पैण्ट, शर्ट र चश्मा हेडसर अर्थात् गणेशबहादुर राइले मात्र लगाउनु हुन्थ्यो । लाग्दथ्यो, पैण्टशर्ट भनेको काम नगरी बस्ने, धेरै पढेका अर्थात्  धनिमानीको पहिरन हो, चश्मा भनेको विद्वानको गहना हो । हुन पनि पैण्टशर्ट, चश्मा खेतीकिसानी गर्नेलाई कहाँ हुन्छ र ! अल्झाइहाल्छ नि जस्तो लाग्दथ्यो । किनभने उसबेला कामको सुरमा लागेपछि चप्पल, जुत्ताले त अल्झाउथ्यो हामीलाई । कहिले हतारमा चप्पल जुत्ता खुस्कने, कहिले लोती चुडिने, कहिले पानी, हिलोले भिज्ने । बरु खाली खुट्टा हिड्यो एकछिन बालुवा, ढुँगाले घोच्छ एकछिन पछि थाहै हुँदैन थियो घोचेको पनि । अहिले सम्झँदा कहाली लागेर आउँछ ।

त्यसबेला अर्थात् २५/३० सालतिर हाम्रो पहिरन दौरा सुरुवाल वा कमिज सुरुवाल हुने गर्दथ्यो । मलाई पनि दौरा सुरुवाल नै खूब मन पर्दथ्यो । किनभने यो कुनै पनि खेल खेल्नलाई, काम गर्नलाई सजिलो हुन्छ । पैण्ट लगाएर खेल्दा धेरैचोटी पेण्ट फुटेर कन्तबिजोग हुने गर्दथ्यो । मधेश झरेर आउनेले एकदुइ दिन पैण्ट लगाउँथे र सबैका आँखाका तारा बन्दथे । पहाडको उकालीओरालीले टाइट पेण्ट फुट्न थालेपछि दौरा सुरुवाल नै लगाइन्थ्यो । यसो सम्झन्छु त्यसबेला टाइट पैण्टको जमाना थियो । अहिलेको जस्तो खुकुलो पैण्टको जमाना त्यसबेला गइसकेको थियो । अलि पछि जिन्स पैण्ट चलन आएपछि मात्र पैण्ट लोकप्रिय भयो जस्तो लाग्छ । बल्ल खुकुलो पैण्टको जमाना अलि टिकेको छ र आजकल यो पहिरन गाउँबजार जताततै छ्प्छ्याप्ती भएको छ ।
मेरा मितज्यू कुलप्रसाद प्रसाइ जो मेरो छिमेकी पनि हुनुहुन्थ्यो वहाँलाइ दौरा सुरुवालमा नेपाली ठिटोको मोडल जस्तो लाग्दथ्यो र आजसमम पनि त्यो विम्व मेरो मानसपटलमा ताजै छ । दौरा सुरुवाल लगाएर बसेर नाच्न थालेपछि फूलको हाँगामा चरी नाचे जस्तो देखिन्थ्यो मितज्यूलाई । यी सबै अब सम्झनामा मात्र रहे यसैले लिपिवद्ध गर्न खोजेको । कारण वहाँ मेरो मितज्यू भएकाले मात्र होइन एउटा प्रतिभाशाली नृत्यकारलाई सम्झना गरेको हुँ वहाँको त्यो नृत्यकलालाई मेरो सलाम ।
म नढाँटीकन भनिरहेछु, दौरा सुरुवाल लगाएर नाच्दा वहाँलाई जत्ति सुहाएको आजसम्म मैले न त कुनै सास्कृतिक कार्यक्रम न त पर्दामा, वा काँचको शिशामा नै देखेको छु । म २०२५/२६ साततिरको कुरो गर्दैछु । “नेपालीको के राम्रो पहिरन, दौरा र सुरुवाल कोट लाएको कम्मरमा पटुकी कसेर खुकुरी भिरेको” । आहा ! म सम्झन्छु सुरिलो स्वरमा हरि संग्रौला गीत गाउँथे, शालिन भाकामा गणेशबहादुर राइ हारमुनियम बजाउनु हुन्थ्यो र फूर्तिलो पारामा विद्याराज प्रसाइले मादल घन्काउन थालेपछि त्यसबेलाको सरस्वती माद्यमिक विद्यालयको सांस्कृतिक कार्यक्रम गुञ्जयमान हुन्थ्यो ।
कुलप्रसाद प्रसाइ उमेरको हिसावले मभन्दा केही जेठो भए पनि धनमाया (इन्दिरा) दिदीले मीत लाउनु पर्छ भनेर हामीलाई खै किन हो उक्साउनु भयो र हामीबीच  टोपी साटासाट गराउँदै एकदिन तखतीघरको पुराणमा मीत लगाइ दिनु भयो । त्यसबेला दुइचार प्याकेट रातो मीठाइ बोकेर गाउँ डुल्दै गाउँलेहरूलाई मीठाइ पनि खुवायौं । तर त्यसबेला मीत लाएपछि नजिक होइन्छ होला भनेको त झन झन टाढा टाढा भए जस्तो पो भयो । जेसुकै बोल्न पनि नहुने, जिस्कन पनि नहुने । भेटे पछि ढोग्नु पर्ने । ढोग्नु पर्ला भनेर कहिलेकाहि टाढैबाट तर्कने पनि भइएको थियो ।
आज मीत लगाएको लगभग चालीस वर्षभयो । पाँचवर्षअघि होला म विराटनगरमा अफिसमा बसिरहेको थिएँ । मीतज्यू अचानक आउनु भयो । हामी गला लाग्यौ । त्यसबेला मेरा खुशीका आँशु झरेका थिए । फेरि त्यहाँदेखि आजसम्म भेट भएको पनि छैन । तीस वर्षछि पछिल्लो भेट भएको थियो विराटनगरमा । बा कतै फेरि त्यत्तिकै अन्तरालमा मात्र पो भेट हुने हो कि भनेर कहिलेकाहि म भावुक हुन्छु, यो तस्वीर हेरेर ।

Similar Posts

  • रक्सी, चामल र खुशी (गफ)

    कुरा त्यस्तै वि.स.२०५४ सालतिरको हो भन्छन् लामिछाने । उनी गफलाई रोमाञ्चित बनाउँदै भन्छन्– पहाडि जिल्ला भोजपुर जाने सिलसिलामा दिनभरि हिंडेर साँझ बल्ल पुगियो दिदीबहिनी डाँडामा तर खानलाई भने केही छैन भनेर पसलेहरूले बताए पछि उनका साथी रुम्दाली र उनी निरास भए । त्यहाँ डाँडामा भएका दुइतीन घरमा बुझ्दा कतै पनि खाना पकाउनको लागि चामल वा…

  • रोकेर रोकिन्नन् हातका कलमहरू ! (नवराज सुब्बा)

    भनिन्छ, सन्तान र सिर्जना उस्तै-उस्तै हुन् यिनको माया बराबरी लाग्छ । तर साहित्य र कला क्षेत्रमा सिर्जनाबारे गहिरिएर हेरेमा केही मूलभूत अन्तर भेटिन्छन् । बर्तमान नेपालमा दुइमात्र सन्तान इश्वरका बरदान भन्ने गर्दछौं । यसको पछि विश्व जनसंख्या नीति र असल घरब्यवस्थापनको कुटनीति लुकेको छ । त्यसैले दुइभन्दा बढी सन्तान नहुन बन्ध्याकरण गरिन्छ वा परिवार नियोजन…

  • स्रष्टा र सञ्चारको सम्बन्ध (नवराज सुब्बा)

    स्रष्टालाई प्रविधिले पाठक, दर्शक र श्रोतासामु पुर्‍याएको छ । प्रविधिमैत्री हुन नसकेर आज पाठकलाई मात्र हैन धेरै स्रष्टालाई प्रविधि चुनौति भएको छ । तर यसले स्रष्टा र पाठक दुवैलाई अवसर पनि थपि दिएको छ । अत्यन्त द्रुतगतिमा विकसित भएको सूचना प्रविधिका साथ लागेर आज धेरै स्रष्टाहरू उन्नतीको भर्‍याङ उक्लिरहेछन् र सजिलै विश्वव्यापी भइरहेका छन् । स्रष्टाहरूका…

  • मुक्कुलुङ अर्थात् पाथिभरा देवी

    डा. नवराज सुब्बा —– पाथिभरा नाम लिनासाथ जो कोहीको मन कुम्भकर्ण हिमालको काखमा अवस्थित अग्लो पहाडमा स्थापित देवीको मन्दिरमा पुग्दछ । म यसको प्राचीन पृष्ठभूमि अलिकति कोट्याउन चाहन्छु । फक्ताङलुङ अर्थात् कुम्भकर्ण हिमाल फेदको भूभाग किरात लिम्बूको मुन्धुममा पुकारिने देवीदेवताहरूको क्रिडास्थल हो । श्रुतिपरम्परामा आधारित लिम्बूदर्शन मुन्धुममा मुक्कुलुङ नामले हालको पाथिभरादेवी स्थललाई चिनिन्छ । पाथीमा…

  • |

    आत्मासितको साक्षात्कार रहेछ कविता

    डा. नवराज सुब्बा । जति लेखे पनि धीत नमर्ने चीज रहेछ कविता । ६ थान काव्यसङ्‍ग्रहमा सबै कुरा निथ्रियो होला भन्ठानेर जति परपर हुन खोजे पनि कविताले मलाई नछोडे पछि पुनः सातौं काव्यलाई मालामा उन्दैछु । भावनाका फूल मनमा झुल्दै गर्दा अब अरूतिरै लागौं भनेर आफूलाई निकै सम्झाएँ । कवितामा अब आउने रचना मेरा पुनरावृत्ति…

  • हारमोनियमको नशा (संस्मरण)

    हाल शनिश्चरे मोरङमा बसोबास गर्ने श्री ओमनाथ उप्रेती मेरा बाल्यकाल विद्यालयका सहपाठी हुन् जोसित धेरै वर्षपछि आज भेट भयो । ताप्लेजुङ जिल्लाको श्री सरस्वती माद्यमिक विद्यालय हाङपाङमा पढ्दा उनी मेरा एकजना रमाइला मित्र थिए । आज कामविशेषले विराटनगर आएको बेलामा फूर्सद मिलाएर भेटघाट गरि पुराना कुरा याद गर्दै मित्रता ताजा बनाउन उनी मेरो अफिसमा पसे…

Leave a Reply