सहिद सत्ता र स्वार्थ विरुद्ध

डा. नवराज सुब्बा॥

आज हामीले उपभोग गरेका स्वतन्त्रता, नागरिक हक र अधिकार त्यसै पाएका होइनौं । विभिन्न बन्धनबाट मुक्ति पाउन, मानव अधिकार स्थापित गर्नका लागि विश्वका जनता हिजो निरङ्कुश शासनविरुद्ध लडेका थिए । कालखण्डमा मानवोचित अधिकार प्राप्तिको लागि भएका अभियानमा धेरै मानिस सहिद भएका छन् । वीर मानिस मात्र देशको प्राकृतिक, सामाजिक, सांस्कृतिक उन्नयन खातिर निरन्तर स्वस्फूर्त लड्दछन् । सहिद त्यो हो जसले लोकहितमा बिना स्वार्थ आफूलाई समर्पित गर्दछ ।

नेपालमा पनि जहानीया शासन विरुद्ध सहिदले जीवन बलिदान दिए । फलस्वरुप हामीले जहानीया राणा शासनबाट छुटकारा पायौं । देशभित्र र बाहिर उर्लेका स्वतन्त्रता तथा मानव अधिकार आन्दोलनका प्रकाशमा नेपालमा भएका राजनीतिक परिवर्तनमार्फत् प्रजा नागरिक भएका हुन् । अतः ज्ञात, अज्ञात सहिदलाई सम्झेर इतिहासप्रति कृतज्ञता जनाउन कहिल्यै नभुलौं ।

हाम्रो देश नेपालमा प्रथम राणा प्रधानमंत्री जंगबहादुर राणाले आफूविरुद्ध प्रचारप्रसार गरेको अभियोगमा वि. स. १९३३ फागुन २० गते लखन थापा मगरलाई मनकामना मन्दिर नजिकैको जङ्गलमा रुखमा झुन्ड्याएर सहिद बनाइदिए । स्वतन्त्रताको मूल्यखातिर राणाविरुद्ध लखन थापा मगरले विद्रोह गरे । उनी राणा निरङ्कुशताविरुद्ध जीवन बलिदान दिएर सहिद बने । राणाविरुद्ध यो पहिलो बलिदान थियो ।

राणा शासक नेपाललाई आफ्नो बपौती ठान्दन्थे । राणा शासनको अत्याचार उत्कर्षमा थियो । वि.स. १९९७ मा निरङ्कुश राणा सरकारले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई काठमाडौं टेकु पचलीमा रुखमा झुन्ड्याएर, गोली हानेर सहिद बनायो । नेपाली प्रजातान्त्रिक आन्दोलनमा चारजना वीर सपूतहरुले ज्यान बलिदान दिए । उनीहरु अमर सहिद बने ।

राणाहरुले शाह राजालाई पनि चङ्गुलमा परेका थिए । यही क्रममा राजा त्रिभुवन भागेर भारतको शरणमा परे । उनी सपरिवार भारतीय राजदूतावासमार्फत् भारतको नयाँ दिल्लीमा पुगे । राजा त्रिभुवन, राणा परिवार र प्रजातन्त्रिक शक्तिबीचमा भारतले दिल्लीमा राजनीतिक सन्धि गरायो । फलस्वरुप, राणा नै प्रधानमंत्री बने तापनि राणाले हडपेको राजाको शक्ति फिर्ता गरियो । राजा त्रिभुवन राजगद्दिमा पुनः आसिन भए । यसरी नेपालमा २००७ सालको प्रजातन्त्र आएको घोषणा भयो । आज हामी यही घटनालाई प्रजातन्त्र दिवसको रुपमा मनाइरहेका छौं । यद्यपि यसलाई धोखापूर्ण दिल्ली सम्झौता मान्ने बामपन्थी राजनीतिक दलहरु पनि नेपालमा छन् ।

जेहोस्, राजा त्रिभुवन नेपालका राष्ट्रपिता बने । राणाले पछिल्लो कालमा सहिद बनाएका चारजनालाई सहिद घोषणा गरिए । यही सन्देश दिन काठमाडौं टुँुडखेलमा सहिदगेट बन्यो । जहाँ राजा त्रिभुवन र चार सहिदको प्रतिमा राखियो । त्यहाँ राणाविरुद्ध जंगबहादुरकै पालामा लडेका प्रथम सहिद लखन थापा मगरलाई स्थान दिइएन ।

सत्ताले सहिदमाथि खेलवाड गर्ने गरेको छ । देशमा राणा शासन समाप्त भएको औपचारिक घोषणा गरिए तापनि वास्तवमा नेपालको शासन प्रणालीमा राणाहरुको प्रभाव कायम छ । त्यसैले आफ्नाविरुद्ध लागेका प्रथम सहिद लखन थापा मगरलाई श्री ५ को सरकारले २००७ सालपछि तत्काल सम्मान नगर्नुमा राणा शासन सकिएपछि पनि राणा प्रभाव मान्न सकिन्छ । उनलाई वि.स. २०५६ मा मात्र नेपालको पहिलो सहिद घोषणा गरियो ।

लखन थापा मगर आदिवासीका प्रतिनिधि पात्र पनि हुन् । जंगबहादुरले जालझेल गरी सत्ता लिएको, सत्ता पाएपछि अंग्रेजसित हेलमेल गरेर देश बेचेको, सन् १८५४ को मुलुकी ऐनले जनजातिलाई तल्लो जातमा राखेको, राज्यले छुवाछुत र भेदभाव बढावा गर्ने खालका नियम कानून ल्याएको, शिक्षाको अवसरबाट जनतालाई बञ्चित राखे । त्यही अत्याचारका विरुद्धमा लखन थापा मगरले साहसिक कदम चाले । जंगबहादुरलाई सत्ताच्यूच गर्न मगरले मनकामना गढमा मानिस संगठित गरे । उनले वि.स. १९३२ मा चेतनाको दियो बालेर राँके जुलुस निकाले । यसरी सत्ताविरुद्ध शङ्खघोष गरे । अत्याचारी राणाशासनले उनलाई वि.स. १९३३ मा सहिद बनायो । देशको मुहार फेर्ने सपना बोकेका लखन थापा मगरले ज्यान उत्सर्ग गरिदिए ।

शाहकालीन निरङ्कुश राणाशासनले सामाजिक भेदभाव बढायो । राणाशासनले आदिवासीका भाषा लिपि र संस्कृतिलाई माथि पनि दमन गर्‍यो । तत्कालीन सत्ताले पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी लिम्बूका भाषा र लिपिमाथि नियन्त्रण गर्‍यो । भाषा र लिपिमार्फत जातीय एकता गरेर राज्यविप्लव गर्लान् भन्ने त्रास शाह र राणा शासकले पालेका थिए । यही क्रममा गोरखा राज्य विस्तार गरेपछि तत्कालीन गोरखाली शासकले वि.स. १८४५ मा तेअङ्सी सिङ (सेन) थेबेलाई चैनपुरबाट लखेटिदियो । लिम्बू भाषा, लिपि तथा संस्कृति प्रचारप्रसार गरेको आरोपमा थेबेलाई गोरखाली शासकले देश निकाला गरिदियो ।

ज्यान जोगाउन थेबे त्यहाँबाट सिक्किम भागे । उनले त्यहाँ पनि लिम्बू भाषा, लिपि सिकाउने कामलाई निरन्तरता दिए । त्यसबेला सिक्किममा बौद्ध धर्मावलम्बी शासकले अन्य भाषा, लिपि र संस्कृतिको उपस्थिति सहेनन् । लिम्बू भाषा र लिपिको प्रचारले बौद्ध परम्परामा असर पर्ने ठानेर त्यहाँका लामाहरुले तेअङ्सी सिङ (सेन) थेबेको अमानवीय तवरले हत्या गरिदिए । यसरी तेअङ्सी सिङ (सेन) थेबे लिम्बू भाषा र लिपिका निम्ति जीवन बलिदान गर्ने वीर सहिद बने । यद्यपि, नेपाल सरकारले उनलाई चिनेको छैन । नेपालको संविधान २०७२ अनुसार नेपालमा बोलिने मातृभाषा नेपाली भाषा भए । यद्यपि मूलधारको नेपाली खस भाषा साहित्य जगतले नेपालकै अर्को राष्ट्र भाषा किरात लिम्बू भाषाका सहिद थेबेको सोधखोज गर्ने औचित्य देखेको छैन ।

नेपाल एकीकरण वा गोरखा विस्तार भएपछि पराजित आदिवासी लिम्बू भाषा र संस्कृतिलाई उसैको रैथाने भूमिमा प्राकृतिक रुपमा हुर्कन, बढ्न दिइएन । लिम्बू भाषा र लिपिलाई नेपालमा मात्र हैन लिम्बू बहुल क्षेत्र रहेको सिक्किम, दार्जिलिङमा समेत राणामैत्री अंग्रेज शासनले बन्देज गरिदियो । भित्रभित्रै भाषा, लिपि प्रयोग गरेको थाहा पाएमा जासुस लगाएर उसको खेदो खन्ने, लखेट्ने वा हत्या गरिदिने जस्ता जघन्य काम त्यसबेलाका शासकले गर्ने गर्दथे भनी बूढापाका सुनाउँछन् । त्यही डर, त्रासले गर्दा आफ्नो ज्यान जोगाउन आफ्नो परम्परागत भाषा र लिपि त्याग्नु परेको ब्यथा–वृत्तान्त बृद्ध किरात लिम्बू सुनाउने गर्दथे । परिणामस्वरुप आज किरात लिम्बू भाषा साहित्यको घिडघिडो मात्र रहेको नाजुक अवस्था छ । धेरै किरात लिम्बू भाषा साहित्यका पुस्तक, पाण्डुलिपि तत्कालिन शासकले जफत गरेर जलाइदिएको गुनासो किरात लिम्बूको छ । यसर्थ, मानव संस्कृति, भाषा साहित्यको इतिहास खोतल्दा होस् वा आदिवासीका मन चियाएर हेर्दा अत्याचारी शासकका अनुहार काला मोसोले पोतिएका छन् ।

सहिदको बलिदानीले नै नेपालको राजनीतिक स्वरुप र संरचना फेरिएको हो । नेपालमा लोकतान्त्रिक संघीय गणतन्त्र आएपछि आदिवासीका भाषा, लिपि र संस्कृतिले स्वास फेर्न पाएका छन् । आज नेपालका आदिवासीले आफ्ना दुःख गुनासो लेख्न, पोख्न वा भन्न पाएका छन् । आज पालिकास्तरमा मातृभाषा पढाउने चलन चलेको छ । मातृभाषा र लिपिको संरक्षण र विकासमा विभिन्न जाति जागरुक बनेका छन् । पाठ्यक्रम, पाठ्यपुस्तक, सहित विद्यालयमा पढाई संचालनमा आएका छन् । अब महाविद्यालय, विश्वविद्यालयका सपना आदिवासीले देख्न थालेका छन् । यसलाई पक्कै सकारात्मक मान्नुपर्दछ । सहिदको सपनास्वरुप यो अवस्था हामीले उपहार पाएका हौं ।

नेपालको इतिहासमा सत्ता र स्वार्थीतत्वले सामाजिक क्षेत्रमा आदिवासीलाई मात्र तारो बनाएन । महिलालाई सधैं दोस्रो दर्जामा राखेर शोषण गर्‍यो । तत्कालीन समयमा बालविवाह, बहुविवाह, सतिप्रथाले महिलालाई वस्तुसरह तुल्यायो । नारी अस्मितालाई लामो कालसम्म बलात्कार गरिरह्यो । पूर्वी नेपालमा व्याप्त अन्याय अत्याचार तथा सामाजिक कुरीति र कुसंस्कारबिरुद्ध भोजपुरमा जन्मेकी योगमाया न्यौपानेले सामाजिक विद्रोह गरिन् । वि.स. १९९८ सालमा उनी लगायत ६७ जना महिलाले सामुहिक रुपमा कोशी नदीमा जलसमाधि लिए । उनीहरुले महिला अत्याचारविरुद्ध जीवन बलिदान दिए । यसरी पूर्वी पहाडी जिल्लामा महिलाहरुले एक साहसिक सामाजिक क्रान्तिको सूत्रपात गरे । फलस्वरुप रुढीग्रस्त समाजविरुद्ध सामाजिक आन्दोलनले उग्र बन्यो । नारीहरुको त्यो जीवनउत्सर्गबाट प्राप्त भावनात्मक बलले समाज रुपान्तरणमा बल पुग्यो । उक्त बलिदानी सन्देशले सामाजिक एकता निर्माण भयो, जसले अन्ततः राणाशासन ढल्यो । यसरी सहिदका बलिदानले मात्र समाजमा व्याप्त कुरीति र कुसंस्कारका पर्खाल भत्किए ।

राजनीतिक तथा सामाजिक क्षेत्रमा मात्र नभएर वातावरण संरक्षणको क्षेत्रमा पनि नेपालमा सहिद जन्मिएका छन् । नेपालको वनजङ्गल नदीनालाका साधनस्रोतलाई दोहन गरेर वातावरणलाई विनास गर्न पल्केका नाफाखोरविरुद्ध लड्दा आफ्नो ज्यान बलिदान दिने वीर नेपाली सपूत यो धरतीमा जन्म लिए । मिथिला नगरपालिका वडा न. ५ का दिलिप (ओमप्रकाश) महतोले चुरेदोहन रोक्न भगिरथ प्रयत्न गरे । फलस्वरुप नदीजन्य स्रोतदोहनमा लिप्त समूहले २०७६ सालमा दिलिप महतोको ज्यान लियो । चुरे क्षेत्रमा बग्ने नदीजन्य प्राकृतिक स्रोतदोहनमा लिप्त नाफाखोरले उनलाई डोजरले कुल्चेर कायरतापूर्वक क्रूर हत्या गर्‍यो । वातावरण संरक्षण तथा चुरेदोहन नियन्त्रण अभियानमा महतोले आफ्नो अमूल्य जीवन बलिदान दिए । यसरी दिलिप (ओमप्रकाश) महतो नेपालको वातावरण संरक्षण अभियानको पहिलो सहिद बने ।

दिलिप महतोलाई सत्ताले सहिद घोषणा गर्न कन्जुस्याई गरे तापनि इतिहासले उनको योगदान बिर्सन्दैन । समयमा त्यसको मूल्याङ्कन हुनेछ । हामी आशावादी भएर जीवन र जगतलाई हेरौं । जहिले पनि सत्ता र स्वार्थी तत्वले बहुसंख्यक सहिदको रगत बिनामूल्य पिउँछन् । समय वलवान छ, त्यो आउँछ । इतिहासले अलिखित सहिदको हिसाबकिताब राखेको हुन्छ ।

आज सहिद दिवसको दिन । राजनीतिक तथा सामाजिक क्षेत्रमा बिरलै उदाउने त्यस्ता वीर सपूतप्रति आज सहिद दिवसको प्रातःकालमा स्मरण गर्दै शिर झुकाएर नमन गर्दछु । महान सहिदहरुको सपना साकार होस् । जय सहिद ।

Similar Posts

  • |

    गाउँको पाटीबाट

    — डा. नवराज सुब्बा परिचय पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङलाई साधारण रूपमा हेर्दा पनि यो ठाउँ प्रतिभाको भण्डारजस्तै लाग्छ। यहीं जन्मिएका धेरै सपूतहरूले देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए। कोही राजनीतिमा, कोही प्रशासनमा, कोही सेवामा समर्पित भएर आफ्नो भूमिकामा उज्यालो थपिदैं गए। ती सबैको नाम यस सानो लेखमा समेट्नु सम्भव छैन। यस लेखको मुख्य उद्देश्य…

  • |

    A Sample of the Literary Writers and Artists Market.

    Dr. Nawa Raj Subba. Artistic writing is called literature or creation. In literature, there is not only objective writing but also thematic imagination. Not all literature is thought or written. Sadhana or dedication is also needed for that. It is not enough to do sadhana; there should also be meaningful work. I believe creation should…

  • स्रष्टालाई सलाम (नवराज सुब्बा)

    मलाई जीवनमा सारै नराम्रो लागेको क्षण मध्ये एउटा क्षण थियो- वरिष्ठ कलाकार तथा संगीतकार भक्तराज आचायको जीब्रो काटिएको समाचार । लेखकको औंला काटिनु र गायकको जीब्रो थुतिनुमा के नै फरक छ र ! तर कहिलेकाहिँ अखवार पढ्दा आनन्द पनि आउँछ । आज बिहानको चियासितै जब मेरा आँखा भक्तराज आचार्यलाई लाइफटाइम एचिभमेण्ट एवार्ड दिइएको समाचारका हरफमा

  • सिर्जाशीलता र भावी पुस्ता – नवराज सुब्बा

    सन्दर्भः अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार दिवस अप्रिल २६, २०१३ यस पालिको अन्तराष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार दिवसको नारा रहेको छ— सिर्जनशीलता र भावी पुस्ता । आजको सिर्जनशीलता आजको लागि मात्र नभएर भावी पुस्ताको भाग्य पनि निर्धारक हो भन्ने अवधारणाका साथ अप्रिल २६ का दिन विश्वमा यो दिवस मनाइदैछ । यो दिवस मनाउन कुनै प्लेकार्ड वा ब्यानर…

  • गुरूहरू सम्झँदै (संस्मरण)

    डा. नवराज सुब्बा ————– हामी गुरूलाई सम्झन्छौं, विहान सम्झन्छौं, साह्रोगाह्रोमा सम्झन्छौं अनि सम्झन्छौं आफूले केही गरेको कुरा देखाउनलाई । एकजना असल गुरू हेडसर गणेशबहादुर राई जो आठराई हाङपाङको सरस्वती माद्यमिक विद्यालयमा वि.स.२०१८ सालदेखि २०३८ साल दुईदशक लामो कालखण्ड प्रधानाध्यापक भएर कुशलतापूर्वक विद्यालय, गाउँ, समाज र देशको सेवा गर्नुभयो, र उहाँले संसारबाटै विदा लिनुभयो । उक्त…