|

बौद्धिक सम्पत्ति

डा. नवराज सुब्बा ।

कुनै व्यक्तिले आफ्नो ज्ञान, विवेक, कलाको प्रयोग गरेर सिर्जना गरेको वस्तुलाई बौद्धिक सम्पत्ति भनिन्छ । साहित्य, सङ्गीत, कला क्षेत्रमा उत्पादित सिर्जना गद्य, पद्य, नाटक, गीतसङ्गीत बौद्धिक सम्पत्ति हुन् । जस्तै, साहित्यकारले लेखेका कथा, कविता, नाटक उनीहरुको बौद्धिक सम्पत्ति हुन् । कुनै गीत रचनाकार, सङ्गीतकार तथा गायकका बौद्धिक सम्पत्ति हुन् । यी बौद्धिक सम्पत्तिलाई प्रतिलिपि अधिकार कानुनले सुरक्षित गर्दछ ।

विश्वभर हरेक वर्ष अप्रिल २६ का दिन विश्वमा यो बौद्धिक सम्पत्ति दिवस मनाइन्छ । यो दिवस मनाउनलाई कुनै प्लेकार्ड वा ब्यानर बोकेर नगर परिक्रमा गरिरहन पर्दैन । सकिन्छ भने बौद्धिक जमात एकै ठाउँमा बसेर यसबारे छलफल गर्न सकिन्छ । एक्लै बसेर भए पनि यसको मूल्य र मान्यताबारे चिन्तन मनन् गरेर वौद्धिक दिवसलाई सार्थक तुल्याउन सकिन्छ ।

मान्छेले आफ्नो बुद्धिले सिर्जना गरेका सबै कुरा बौद्धिक सम्पत्ति हुन् । यद्यपि मूर्त वा अमूर्त रचना वा अभिव्यक्ति जो बौद्धिक सम्पत्ति हुनलाई मौलिक हुनै पर्दछ । यसपछि यो अधिकार स्रष्टालाई स्वतः प्राप्त हुन्छ चाहे त्यो वस्तु गुणस्तरीय, उपयोगी वा मूल्यवान होस् वा नहोस् ।

यस्तो अधिकार प्राप्त गर्न सर्जकले कुनै औपचारिकता पूरा गरिरहनु पर्दैन । सार्वजनिक अभिलेख राख्‍नकाे लागि वा प्रमाण पुर्‍याउनका लागि स्वैच्‍छिक रूपमा दर्ता गर्न सकिने ब्यवस्था गरिएको छ । नेपालमा पनि यस सम्बन्धि ब्यवस्था प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ मा व्यवस्था गरिएको छ । उपरोक्त ऐन, नियम कार्यान्वयन गर्न नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय स्थापना गरिएको छ ।

बौद्धिक सम्पतिलाई सामान्यतयाः दुई भागमा बाँड्न सकिन्छ— (१) प्रतिलिपि अधिकार (२) औद्योगिक सम्पत्ति अधिकार । लेखन, कला, सिर्जना आदि प्रतिलिपि अधिकार अन्तर्गत पर्दछ । आविष्कारमूलक काम पेटेन्ट अधिकारमा पर्दछ । वस्तुको मौलिक डिजाइन आदिको संरक्षण डिजाइन अधिकारले गर्दछ । कुनै उत्पादकले आफ्नो वस्तु तथा सेवाहरूलाई अरूको भन्दा फरक देखाउन वा चिनाउन विशेष चिन्ह ट्रेडमार्कको प्रयोग गर्ने गर्दछन् । त्यसको संरक्षण औद्योगिक सम्पत्तिसम्बन्धी बौद्धिक अधिकारले गर्दछ ।

प्रतिलिपि अधिकारका क्षेत्रहरूमा मानिसका रचनात्मक र सिर्जनात्मक कामहरू पर्दछन् । एक दृष्टिकोणले हेर्दा यो क्षेत्र असीमित छ, तापनि यसलाई ब्यवस्थित बनाउन वौद्धिक सम्पत्तिलाई निम्नानुसार बर्गिकरण गरिएको छ । (१) लेखनकार्यः लेख, निबन्ध, उपन्यास, कथा, कविता, नाटक, पाठ्यपुस्तक, वेभपेज, विज्ञापन सन्देश, सङ्गीत तथा नृत्यका संकेतहरू आदि । (२) सांगीतिक कार्यः गीत, सङ्गीत आदि । (३) कलात्मक कार्यः चित्रकला, मूर्तिकला, रेखाचित्र, फोटोग्राफी, नक्सा, खाकाचित्र आदि । (४) नाट्य वा नृत्य रचनाः नाटक, ओपेरा, नाच आदि । (५) चलचित्रजन्य रचनाः चलचित्र, भिडियो खेल, टेलिभिजन कार्यक्रम, कार्टुन फिल्म आदि । (६) कम्प्यूटर रचनाः कम्प्यूटर प्रोग्राम, सफ्टवेयर आदि ।

वर्न महासन्धिका अनुसार प्रतिलिपि अधिकारका किसिमहरूमा सामान्यतयाः दुईवटा अधिकार मुख्य मानिन्छन् । (१) आर्थिक अधिकार (२) नैतिक अधिकार । कुनै स्रष्टाले रचनाबाट प्राप्त हुने आयमा उसलाई लाभको अधिकार प्राप्त हुन्छ । अर्कातिर कृतिकारको नाम वा जस पाउने अधिकार पनि कानूनले सुरक्षित राखेको हुन्छ । यसका साथै रचनाकारलाई सर्वाधिकार वा लाभांश पाउने अधिकार रहन्छ ।

आर्थिक अधिकार अन्तर्गत पुनः उत्पादन गर्ने, अनुवाद गर्ने, शैली परिवर्तन गर्ने, वितरण गर्ने, प्रशारण गर्ने, सार्वजनिक सञ्चार गर्ने प्रावधान पर्दछन् । नैतिक अधिकार अन्तर्गत आफ्नो रचनाको ख्याति, सम्मान, प्रतिष्ठा कायम राख्‍ने अधिकार पर्दछन् । यस अन्तर्गत रचनामा वास्तविक वा छद्म नाम उल्लेख गर्न पाउने अधिकार निहित रहन्छ ।

प्रतिलिपि अधिकार प्राप्त हुने अवधि पनि कानुनमा ब्यवस्था गरिएको हुन्छ । यो अधिकार सर्जकलाई सदा उपलब्ध रहँदैन । राज्यको कानुनले रचनाकार वा रचनाको किसिम अनुसार प्रतिलिपि अधिकार संरक्षण अवधिको सीमा तोकेको छ । उक्त संरक्षण अवधि समाप्त भएपछि त्यस्ता रचना सार्वजनिक सम्पत्ति हुन्छन् । वर्न महासन्धिले रचयिताको जीवनभर र मृत्युपछि ५० वर्षसम्म प्रतिलिपि अधिकार संरक्षण गरिदिनु पर्ने न्यूनतम शर्त तोकेको छ । कतिपय मुलुकले यो समयावधि भन्दा बढी समयावधि तोकेका छन् । अज्ञात रचनाकारको हकमा भने रचना प्रकाशित भएको मितिले ५० वर्ष प्रतिलिपि अधिकार सुरक्षित रहन्छ । कुनै रचनाको धनी ब्यक्ति नभइ संस्था भएमा प्रकाशित भएको मितिले ५० वर्षसम्म मात्र प्रतिलिपि अधिकार कायम रहने ब्यवस्था गरिएको छ ।

प्रतिलिपि अधिकार अन्तर्गत धनीको स्वीकृति नलिईकन पनि कुनै रचनाको प्रयोग गर्न पाइदैन । केही अवस्थामा भने प्रयोग गर्न पाइने विशेष ब्यवस्था प्रतिलिपि अधिकारसम्बन्धी कानुनमा गरिएको छ । जसलाई असल नियतको सिद्धान्त भनिन्छ । यस अन्तर्गत अरूको रचना प्रयोग गर्दा सकिने अवस्था निम्नानुसार छन्—
(१) कुनै रचनाको सानो अंश उद्धरण गर्दा,
(२) पढाउने कामको लागि प्रयोग गर्दा,
(३) समाचार सम्प्रेषण गर्दा,
(४) संग्रह वा व्यक्तिगत रूपमा प्रयोग गर्न एक प्रति प्रतिलिपि बनाउँदा ।

उल्लेखित अवस्थामा अरूको रचनाको कुनै सानो अंश उद्धरण गर्दा वा शैक्षिक प्रयोजन वा समाचारको लागि अन्यको रचना प्रयोग गर्दा मूल रचना वा रचनाकारको नाम तथा स्रोत खुलाउनै पर्दछ । व्यक्तिगत प्रयोजनको लागि एक प्रति बनाउन सकिन्छ तर त्यसको व्यवसायिक वा आर्थिक लाभ हुने गरी प्रयोग गर्न भने पाइदैन ।

प्रतिलिपि अधिकारको उल्लंघन विभिन्न प्रवृत्ति र स्वरुपमा हुने गरेका छन् । त्यसलाई अपराध मानिन्छ । त्यस्ता अपराध क्षेत्रहरू अनेक छन् । जस्तै, अरूको रचनाका पूरै वा आंशिक अंश नक्कल गरेर आफ्नो रचना हो भनेर उत्पादन बिक्री वितरण गर्नेलाई नक्कली प्रवृत्ति पाइरेसी भनिन्छ । त्यस्तै अरूको रचना जस्तै पुस्तक, सङ्गीत, चलचित्र, कम्प्यूटर सफ्टवेयर, भिडियो गेम आदिको बिना अनुमति नक्कली कपी उत्पादन गरी बिक्री वितरण गर्ने प्रवृत्तिलाई डकैती भनिन्छ । आजकल डिजिटल प्रविधि तथा इन्टरनेटको माध्यमबाट हुने सामग्रीहरुको डाउनलोड, अपलोड, पीटूपी फायल सेयरिङ गरेर बिक्री वितरण तथा आदान प्रदान हुने गरेका छन् । यसबाट प्रतिलिपि अधिकार संरक्षणमा थप चुनौति भएको छ ।

विश्वमा बौद्धिक सम्पत्ति संरक्षणमा धेरै काम भएका छन् । रोम महासन्धि १९६१, विश्व बौद्धिक सम्पत्ति प्रतिलिपि अधिकार सम्झौता १९९६ र विश्व बौद्धिक सम्पत्ति कार्यान्वयन सन्धि १९९६ महत्वपूर्ण छन् । ति सन्धि कार्यान्वयनले मानव जातिको बौद्धिक सिर्जनशीलतालाई टेवा पुग्नेछ । यसबाट भावी पुस्ता पनि लाभान्वित हुनेछन् ।

बौद्धिक सम्पत्ति सम्बन्धी अन्तराष्ट्रिय सन्धि सम्झौताहरूका शर्त सबै राष्ट्रले पालना गर्नुपर्दछ । मेलमिलाप तथा मध्यस्थता जस्ता विवाद समाधानका सरल उपायहरू पनि अपनाउन सकिने प्रचलन रहेको पाइन्छ । वर्न महासन्धि जसमा नेपाल लगायत १६० मुलुकहरूले हस्ताक्षर गरेका छन् । जसअनुसार सदस्य राष्ट्रले अर्को मुलुकको नागरिकको रचनालाई पनि आफ्नो मुलुकको नागरिकलाई दिने सरहको बौद्धिक सम्पत्ति सुरक्षा दिनु पर्दछ ।

जेनेभामा प्रधान कार्यालय रहेको संयुक्त राष्ट्र संघको विशिष्टीकृत अन्तर्राष्ट्रिय संस्था विश्व बौद्धिक सम्पत्ति संगठनले यो अधिकारलाई सुदृढ बनाउने जिम्मेवारी लिएको छ । नेपाल सरकार पनि यसमा प्रतिबद्ध छ ।

कानुनी उपचारको सन्दर्भ हेर्दा विशेष गरी प्रतिलिपि अधिकार सम्बन्धी अपराध नियन्त्रण गर्न देवानी र फौजदारी दुवै प्रकारका कानुनी उपचारको ब्यवस्था गर्नुपर्ने देखिन्छ । अन्य मुलुकबाट प्रतिलिपि अधिकार उल्लंघन गरेर माल वस्तु आयात गर्नलाई रोक्न भन्सारमा नै नियन्त्रण हुन आवश्यक छ ।

अन्तमा, हरेक धनी वा लेखकले आफ्नो प्रतिलिपि अधिकार र अरुको अधिकारबारे सचेत रहनुपर्दछ ।

सन्दर्भ सामग्री

  1. WIPO. Copyright: What is Copyright? Accessed November 27, 2021. https://www.wipo.int/copyright/en/
  2. WIPO Copyright Treaty (WCT) 1996.
    Nepal Copyright Registrar’s Office. A Brief Introduction of Copyright and Its Different Aspects.
    Accessed November 27, 2021. http://www.nepalcopyright.gov.np

Share this:

Similar Posts

  • |

    साहित्यिक बजार

    डा. नवराज सुब्बा कलात्मक लेखनलाई साहित्य वा सिर्जना भन्‍ने चलन छ । साहित्यमा वस्तुगत लेखन मात्र हुँदैन विषयगत कल्पना पनि हुन्छन् । त्यसो भन्दैमा सोचेका वा लेखेका सबै साहित्य हुँदैनन् । त्यसको लागि साधना पनि चाहिन्छ । अझ साधना मात्र गरेर पुग्दैन सार्थक सन्देश पनि चाहिन्छ । सिर्जना निरपेक्ष र शैली मौलिक हुनुपर्दछ भन्ने मेरो…

  • |

    गाउँको पाटीबाट

    — डा. नवराज सुब्बा परिचय पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङलाई साधारण रूपमा हेर्दा पनि यो ठाउँ प्रतिभाको भण्डारजस्तै लाग्छ। यहीं जन्मिएका धेरै सपूतहरूले देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए। कोही राजनीतिमा, कोही प्रशासनमा, कोही सेवामा समर्पित भएर आफ्नो भूमिकामा उज्यालो थपिदैं गए। ती सबैको नाम यस सानो लेखमा समेट्नु सम्भव छैन। यस लेखको मुख्य उद्देश्य…

  • स्रष्टा र सञ्चारको सम्बन्ध (नवराज सुब्बा)

    स्रष्टालाई प्रविधिले पाठक, दर्शक र श्रोतासामु पुर्‍याएको छ । प्रविधिमैत्री हुन नसकेर आज पाठकलाई मात्र हैन धेरै स्रष्टालाई प्रविधि चुनौति भएको छ । तर यसले स्रष्टा र पाठक दुवैलाई अवसर पनि थपि दिएको छ । अत्यन्त द्रुतगतिमा विकसित भएको सूचना प्रविधिका साथ लागेर आज धेरै स्रष्टाहरू उन्नतीको भर्‍याङ उक्लिरहेछन् र सजिलै विश्वव्यापी भइरहेका छन् । स्रष्टाहरूका…

  • मुक्कुलुङ अर्थात् पाथिभरा देवी

    डा. नवराज सुब्बा —– पाथिभरा नाम लिनासाथ जो कोहीको मन कुम्भकर्ण हिमालको काखमा अवस्थित अग्लो पहाडमा स्थापित देवीको मन्दिरमा पुग्दछ । म यसको प्राचीन पृष्ठभूमि अलिकति कोट्याउन चाहन्छु । फक्ताङलुङ अर्थात् कुम्भकर्ण हिमाल फेदको भूभाग किरात लिम्बूको मुन्धुममा पुकारिने देवीदेवताहरूको क्रिडास्थल हो । श्रुतिपरम्परामा आधारित लिम्बूदर्शन मुन्धुममा मुक्कुलुङ नामले हालको पाथिभरादेवी स्थललाई चिनिन्छ । पाथीमा…

  • संगीतकार साथीलाई पत्र

    प्रिय सिथलिङजी नमस्कार ! मेरो यो खुशी सर्वप्रथम म तपाईसँग बाँड्न चाहन्छु र धन्यवादको एउटा फूल सिउरिदिन चाहन्छु । तपाईले नै संगीत भरिदिनु भएको गीतमा आज शनिबार मैले रिभ्स डिजिटल स्टुडियो इटहरीमा गएर आफ्नो स्वरमा गीत रेकर्ड गरें ।

  • |

    Towards Immune Health

    Dr. Nawa Raj Subba Book Introduction This book is not just a theory but is a collection of practical counseling based on research findings on immune health. It has compiled new knowledges system presented in the chapters. The chapters are assessing immune health in the context of lifestyle focussing preventive measures. The book emphasizes the…