रिक्सावाला

  • नवराज सुब्बा

अनिश्चितकालीन बन्द । आज पनि बन्द छ, विराटनगर । शहरमा मोटरसाइकल, गाडी कतै चलेका छैनन् ।

खाना खाएपछि घरबाट हिंड्दै भृकुटीचोक पुगें र यसो आँखा दौडाएँ र एउटा रिक्सामा आँखा ठोक्कियो, रिक्सवालातिर हेरें अलि पाको उमेरको तराइवासी रहेछ । चढ्न अघि रेट फिक्स नगर्दा भरे ओर्लेर जानेबेलामा रिक्सावालसंग दलाली गर्नुको बेमज्जा सम्झें । त्यसमाथि फेरि आज बन्दको दिन रिक्सावाला छोइसक्नु हुँदैनन् भन्ठानेर पहिल्यै रेट सोधें “देवकोटाचोकसम्मको कति लिन्छौं ?” उसले बडो रसिलो पाराले ठाँटपूर्वक भन्यो—“आ… दिनोस्न बीस रुपैया, आखिर मरिलानु के छ र !” आजकल यो भृकुटीचोक देखि देवकोटाचोक बीसरुपैया चलेको छ, रेट ठिक हो । तर कतिपय रिक्साले तीसरुपैया भन्छन् । सही रिक्साभाडा भन्ने रिक्सावालाको इमान्दारिता देखेर आज सहि रिक्सावाला फेला परेछ जस्तो लाग्यो र त्यही रिक्सामा उक्लिएँ ।

यतिञ्जेलमा मैले रिक्सावालालाई अनि रिक्सावालाले मलाई आपसमा नियालि सकेका थियौं । डिएसपी रोड हुँदै तेर्सोबाटोमा पुगेपछि रिक्सावाला बडो भावुक ढँगले बोल्न थाल्यो “हेर्नोस हजुर ! तपाई हामीलाई यी नेताहरूले मिल्न दिंदैनन्, कहिले के नारा भन्छन् कहिले के भन्छन् । वास्तवमा हामी सबैको खून त एउटै छ नि हजुर !” म उसको भनाइको समर्थनमा “हाँ” “हाँ” भन्छु अनि कहिले “हो ठिक हो” भन्दै उसको कुरालाई बडो अभिरुचिपूर्वक एकोहोरो सुन्दै समर्थनमा टाउको हल्लाउँछु । ऊ अझ सुरिदै भन्छ– “यिनीहरु पहाडे, मधेसीको नारा घन्काउँछन् अनि कहिले मधेस र पहाड भनेर डुक्रेका छन्, नेपाल र नेपाली भन्ने भावनालाई यिनले भुले तर अब जनताले यिनीहरुको खाटि कुरा बल्ल बुझे ।” एउटा निरक्षर रिक्सावाललाई समेत राजनीतिप्रतिको यत्रो तिक्तता रहेछ । सायद मलाई पहाडे अनुहार देखेर उसको भावना उर्लेको पो हो कि जस्तो पनि लाग्यो । उसलाई पनि आफ्ना कुरा कसैलाई व्यक्त गर्न आतुरता रहेछ । भावुक रिक्सावालाको त्यो विचार मलाई एकप्रकारको जनमत जस्तो पनि लाग्यो । म जे अनुमान गर्दैथें त्यही कुरा रिक्सावालाबाट सुनेर म पनि दङ्ग परें ।
बीस रुपैयाको ठाउँमा तीसरुपैया नै दिउँ जस्तो पनि लाग्यो । तैपनि देवकोटाचोकमा ओर्लेर बीसको नोट उसको हातमा थमाएँ । उसको अनुहारमा सन्तुष्टिको चमक देखें । उसको बोहनी रहेछ क्यार, उसले बीसको नोटलाई निधारमा छुवायो अर्थात् ढोग्यो र कमिजको गोजीमा राख्यो । मैले उसलाई ‘धन्यवाद’ को एउटा शब्द पनि थपिदिएँ । जवाफमा ऊ फिसिक्क हाँस्यो र मुन्टो हल्लायो र अघि बढ्यो ।

आज मलाई केवल यत्ति कुराले मूड रमाइलो बनायो । बन्दले अस्तव्यस्त शहरमा भुईभरि टायरको अँगार र खरानीको कालो पोतिएको छ । शहरमाथिको निलो आकासलाई टायरको धुँवाले कालो बादललेझैं छोपेको छ । तर यही अँधेरो बन्द शहरको एउटा सडकबाट आज मैले कतै पर क्षितिजमा चाँदिको घेराझैं देखें– रिक्सावालाको वचनलाई । अनि आँखाले भ्याएसम्म हेरिरहें– रिक्सावालालाई ।

Similar Posts

  • खुशीको आँशु

    नवराज सुब्बा समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई…

  • अलबिदा कुमार कान्छा !

    करिव डेढवर्षअघि कुमार कान्छासित मेरो पहिलो र अन्तिभ भेट भएको थियो काठमाडौंको एक रेकर्डिङ स्टुडियोमा । मलाई सारै मन परेको मेरो एउटा गीतको संगीत जसलाई युवा संगीतकार साजन राइले संगीतबद्ध गर्नुभएको थियो त्यसलाई म नरेन्द्र प्यासीको स्वरमा रेकर्ड गर्न चाहन्थें । यसै उदेश्यले मैले सो गीतको संगीत संयोजनको जिम्मा मैले भूपेन्द्र रायमाझीलाई दिएँ । संगीत…

  • म हुस्सु !

    साँच्चै नढाँकिन भन्ने हो भने म हुस्सु छु । नपत्याय आज मैले गरेको चर्तिकलाले यो पुष्टि गर्दैन र ! मलाई दिनको २ बजेर ५० मिनेटमा कान्तिपुर एफ. एम. मा बोलाएको थियो । म चाहिँ १ बजेर ५० मा नै पो पुगें । त्यहाँ पुगेर यसो हेर्छु मलाइ बोलाउने मान्छेको चालामाला क्यै छैन ।

  • विराटनगरमा एकल प्रस्तुती

     १ फागुन २०६६, विराटनगर, कवि नवराज सुब्बाले रोटरी क्लब अफ विराटनगरमा एकल प्रस्तुती कविता, गीत, गजल र मुक्तक वाचन गर्नुभयो । सोही अवसरमा "देशको माया" एलवमको "नेपाली नेपाली हामी नेपाली" गीतको भिजुयल -श्रव्यदृष्य) पनि प्र

  • मेरो सपना

    बि.स. २०४० सालमा पाँचथरको इम्बुङ हेल्थपोष्टको उद्घाटन मेरै कार्यकालमा तत्कालीन गृहमन्त्री श्री पद्मशुन्दर लावतीबाट भएको थियो । लोकसेवा आयोगबाट जनस्वास्थ्य कार्यालय पाँचथर हुँदै इम्बुङ हेल्थपोष्टलाई प्रत्यायोजित अधिकार प्रयोग गरेर त्यसबेला मैले स्थानीय दुईजना युवा भाईहरुलाई कार्यालय सहयोगी (पियन) को रुपमा स्थायी नियुक्ति गरेको थिएँ । नियुक्ति भए बापत उनीहरुले खुशीयालीमा एक एक वोटा भाले… ल्याएर…

  • जदौ ! मगर्नी मैया (नवराज सुब्बा)

    कृतित्व तथा व्यक्तित्वउपर समीक्षा र समालोचना समय समयमा पत्रपत्रिकामा प्रकाशित हुने गर्छन । पाएसम्म आफूसंग सम्बन्धित ती पत्रपत्रिकाहरू संग्रहित गरेर राख्ने गरेको छु । ‘मनको मझेरी’ निबन्धसङ्ग्रहउपर विराटनगरका समालोचक तथा साहित्यकार हरि प्रसाद बरालज्यूले एउटा समीक्षा गर्नुभएको थियो । केही वर्षअघि म बिदामा झापाबाट विराटनगर फर्कदा उहाँले नै मलाई त्यो पत्रिका उपहारस्वरुप दिनुभएको पनि थियो…

Leave a Reply