|

एक्काइशौं शताब्दीको चाहनाः नेपाल सम्बतको सान्दर्भिकता

डा. नवराज सुब्बा ~

तिहारमा नेवार समुदायमा म्हपूजाका दिन नेपाल नववर्ष पनि मनाइन्छ । यसपालि वि..स. २०७८ कार्तिक १९ गते तथा सन् २०२१ नोवेम्वर ५ मा यो नेपाल नववर्ष ११४२ आरम्भ भएको छ । आजभन्दा करिव एकहजार एक सयवर्षअघि शंखध्वर साख्वाले उपत्यका आम गरिव दुःखीको ऋण तिरिदिएर ऋणमुक्त गरिदिएको सम्झनामा यो नेपाल सम्बतको चलेको थियो ।

उनको त्यो महत्वपूर्ण समाजोपयोगी योगदानलाई चिरस्थायी बनाइराख्न जनस्तरबाट चलाइएको नेपाल सम्बतको यो बाह्रौं शताब्दी हो । शंखधर पक्कै एक ढनाढ्य नागरिक थिए । उनीजस्ता कैंयौं ढनाढ्य अरु पनि थिए होलान् । आज उनीभन्दा ढनाढ्य मानिसको संसारमा कमी छैन । तर उनले गरिब मानिसको दुरावस्था देखेर आफ्नो धन बाँडिदिए । यस्तो दुर्लभ काम जहाँसुकै, जहिलेसुकै गरिदैन । आफ्नो व्यक्तिगत सम्पत्ति गरिव दुःखीलाई बाँडिदिनु चानचुने कुरो थिएन र होइन पनि । यस परिघटनाको अर्थ केवल धनसम्पत्ति बाँड्नुमा मात्र सीमित छैन । त्यो कार्य गर्नलाई मनमा चाहिने बलियो मानवीय भावना अहम् कुरा हो । यसबाट हुनेखानेले आफूसित भएको स्रोतसाधन गरिबदुःखीको उद्धारमा खर्च गर्दैजानु पर्दछ तब मात्र शान्ति सम्भव हुन्छ भन्ने सन्देश मिलेको छ ।

आज संसारमा जति पनि सम्बत् चलेका छन् ती या त राजाको नाममा, सत्ता वा शक्तिको तापमा तथा धर्म प्रवर्तकको नाममा चलाइएका छन् । जनस्तरबाट उठेको र जनस्तरमा चलेको नेपाल सम्बत नै हो । यसलाई नेपाल सरकारले मान्यता पनि दिएको छ तर सरकारी कामकाजमा प्रयोगमा अझै आउन सकेको छैन । कमसेकम सरकारी कागजपत्रमा नेपाल सम्बतमा समेत मिति लेखियोस् भन्ने जनताको आकांक्षा छ ।
हामी नेपाली जाति शक्तिका पूजारी हौं । हामी लामो समय राजाद्वारा शासित प्रजा पनि हौं । राजाको चलाएका सम्बत्लाई हामी महान र सहज ठान्दछौं । त्यसलाई कसैले अन्यथा भनेमा यसलाई धर्म र संस्कृतिसित जोड्न पछि पर्दैनौं । सामान्य विषयलाई हामी जानीजानी थप जटिल बनाउँछौं । नेपाल सम्बतको विरोध गर्नेको तर्क सुन्दा यस्तो लाग्दछ, मानौं हामी आफ्नै माटोमा उम्रेको अन्न र फलभन्दा बाहिरबाट ल्याएको खाना स्वादिलो मान्न पल्केका रहेछौं । नेपालको मौलिकता भन्दा हिन्दुस्तानी संस्कृतिप्रति हाम्रो झुकाव र प्रभाव रहेको छ ।

नेपाल जस्तो बहुसांस्कृतिक मुलुकमा हामी एक अर्काका सांस्कृतिक निधिलाई आत्मसात वा सम्मान गर्न तयार रहनु पर्दछ । संस्कृति र जनभावनालाई केवल राजनीति र रणनीतिक लाठीमुङ्ग्राले हिर्काउने तथा केवल सत्ता र स्वार्थ समूहको चाहनालाई उच्च ठान्ने प्रवृत्ति स्वमम्मा भने अत्यन्त स्तरहीन शैली हो । हामी एकातिर भारतभन्दा भिन्न संस्कृति र भाषा भएका नेपाली जाति भनेर थाक्दैनौं, अर्कातिर उही भारतसंग सम्बन्धित तर त्यहाँ पनि नचलेको विक्रम सम्बतलाई स्वयम् आफ्नो भूमिको नेपाल सम्बत्भन्दा महान देख्दछौं । भारत भूमिबाट नेपाल पुर्खा आएकाले भन्ने नाता जोड्न खोजेको हो भने त्यो भन्दा अघि त हामी सबैका पुर्खा अफ्रिका वा मेसोपोटेमिया, टर्की, अरब, इरान, इराकबाट आएका थिए । उनीहरु सबैले मान्ने सम्बत् ईस्वी सम्बतलाई नै माने भएगयो नि ! होइन हामीलाई हाम्रो स्वतन्त्र देशको स्वतन्त्र नागरिकले चलाएको सम्बतमा गौरव लाग्छ भने शंखधरले चलाएको सम्बत्लाई प्राथमिकता दिनु तर्कसम्मत ठहर्छ । हाल ईस्वी सम्बत्को हालिमुहाली छ, यसैले यो चलाउनु जति आवश्यक, व्यवहारिक छ यसमा उत्तिकै मात्रामा दासत्व पनि जकडिएको कुरा खुलागोप्य छ । जे भए पनि विक्रम सम्बत वा इस्वी सम्बतलाई भारतवर्ष र विश्व मानचित्रसित सम्बन्धित छन् । अतः नेपालको नक्सासित कुनै सम्बत् तुलना गरिहेर्दा नेपाल सम्बतलाई नदेख्नु दोषी चश्माको कारण हो ।

नेपाल सम्बत्ले नेपाल राष्ट्रको अस्तित्व बोकेको कुरा अब सबैले मनन गर्न जरुरी भएको छ । नेपालले स्वतन्त्र देशको रुपमा संयुक्त राष्छ« संघमा आवेदन गर्दा धेरै देशले यो भारतको एक प्रान्त ठान्दथे । किनभने मुद्रा, भाषा, लिपि, सम्बत् नेपाल र भारतका एकै थिए । त्यसैले त्यसबेला भारत र सोभियत संघले नेपालले संयुक्त राष्ट्र संघमा सदस्यता हासिल गर्नमा अवरोध गरे । यसमा भारतको विशेष चासो पनि रहेको सर्वविदितै छ । हुन पनि कुनै अलग देश बन्नलाई चाहिने अलग भाषा, संस्कृति, लिपि, सम्बत् आदि तत्कालीन नेपालले देखाउन सकेन । बेलायत र अमेरिकाको पहलमा काठमाडौं उपत्यकाका रैथाने नेपाल भाषा।, रञ्जना लिपि तथा नेपाल सम्बत्लाई नेपालको मौलिक विशेषता मानेर सोही आधारमा संयुक्त राष्ट्रमा आवेदन दिएपछि मात्र नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो ।

यही कारण पञ्चायत कालसम्म पनि म्हपूजा, नेपाल सम्बतको दिन नेपालले संयुक्त राष्ट्र संघ दिवस मनाउने गर्दथ्यो । जब दरबारमा रञ्जनराज खनाल आदिले प्रवेश भयो, त्यसपछि उनीहरुले यो चलन हटाए भनी मल्ल के सुन्दरले आज कार्तिक १९ गते एपी–वान टेलिभिजनको विहानको अन्तर्वार्तामा बताउनु भयो । देशलाई अन्तराष्ट्रिय जगतमा उभ्याउने नेपाल भाषा, नेपाल सम्बत् र रञ्जना लिपिप्रति पञ्चायत व्यवस्थाको पालमा नीति निर्माण तहमा नश्लवादी सोंच भएका मानिसको प्रभावमा परेपछि कृतध्न व्यवहार गर्यो । आज नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तन आए पनि उही पन्चायतकालीन सोच र शैली बोकेका नोकरशाही तथा नश्लवादी चिन्तनका राजनीतिक नेतृत्वले गर्दा नेपाल भाषा, नेपाल सम्बत् र रञ्जना लिपि हेर्ने राज्यको दृष्टिकोणमा खासै परिवर्तन आएको छैन ।

दुनियाँलाई थाहा छ, काठमाडौं उपत्यकालाई उहिले नेपाल भनिन्थ्यो । यही नेपाल नाम आज समग्र राष्ट्रको नाम बनेको छ । नेपालमा बोलिने सबै रैथाने भाषा नेपाली भाषा भए । खस भाषा सम्पर्क भाषा बन्यो । यसरी नेपाल भाषा, लिपी र सम्बत्ले राज्यवाट लामो कालदेखि आफ्नै माटोमा सौतेनी व्यवहार सहनु परेको छ । काठमाडौंलाई राजधानी मान्ने, विभिन्न जिल्लाबाट गएर त्यहाँ घरबार बसाल्ने अनि त्यही भूमिका सुपुत्रलाई नसम्झेर हिन्दुस्तानका राजालाई मान्यता दिँदा रैथाने मन र संस्कृति कति दुख्ला, एकपल्ट सोचौं । देशको अस्तित्व राख्न महत्वपूर्ण औजार बनेका नेपाल भाषा, नेपाल सम्बत्, रञ्जना लिपि संस्कृतिका जस्ता धरोहरलाई आज लात हान्नु भनेको, जुन थालमा खानु उही थालमा चुठ्नु होइन र !

हाम्रो राजधानी काठमाडौं उपत्यकामा जन्मेका जनताका छोराले देवदूतझैं गरेको पराक्रमको आज इतिहास साक्षी छ । तैपनि हामी उनलाई सम्मान गर्न नेपाल सम्बत चलाउन किन सङ्कुचित छौं । के हामी साच्ची कै स्वार्थी भएनौं र ! जब शंखधरलाई सम्झन्छौं भोली अरु पनि शंखधर जन्मने सन्देश जीवन र जगतभरि फैलन्छ । यसले मानिसको आँखा खोलिदिन्छ । वास्तवमा हामीले परिवर्तन खोजेका होउँ भने इतिहासका गुणात्मक पक्षको जगेर्ना गरौं । नेपाल सम्बत्को विशेषता, महिमा परिवर्तित समयको चाहना अनुसारको छ । यो राजाभन्दा जनताकेन्द्रीत छ, शासकभन्दा शासितकेन्द्रीत छ । गरिबलाई माया गर्नुपर्दछ भन्ने सन्देश छ ।

यसरी एक्काइशौं शताब्दीको अग्रगामी सोंचका लागि यो नेपाल सम्बत् सोही गौरवमय भूमिमा बस्ने जनताको लाीग एक प्रेरणा बन्न सक्दछ । अतः नेपाल सम्बतको महिमा, महत्व र सान्दर्भिकतालाई बद्लिँदो परिप्रेक्षमा सकारात्मक भएर सोचौं । नतिजा पनि अवश्य सकारात्मक नै आउने छ ।

Similar Posts

  • |

    मैले देखेजानेको आठराई चाँगे गाउँ

    डा. नवराज सुब्बा हामी जैविक, भौगोलिक आधारमा मात्र नभएर विचार, बिम्ब र स्वैरकल्पनाले एक अर्कासित गाँसिएका रहेछौं । इतिहास र संस्मरण सामाजिक जीवन र मानवीय आयामका ऐना रहेछन् । मिथकीय खोटोले हामीलाई जोडिराखेको रहेछ । यही बिम्वात्मक गुरुत्वर्षणका आधारमा म चागे गाउँको शब्दचित्र कोर्दैछु । आज चाँगेबाट दीपेन्द्र आङबुहाङले चाँगे माद्यमिक विद्यालयको स्मारिकाका लागि शिक्षालाई…

  • गाईजात्रा

    डा‍‌. नवराज सुब्बा गाई जात्रा नेवार समुदायको एक मौलिक तथा विशिष्ठ सांस्कृतिक पर्व हो । नेपाल भाषामा यो परम्परालाई ‘सापारु’ भनिन्छ । यो पर्व वर्षेनी भाद्र शुक्ल प्रतिपदाको दिन मनाइन्छ । सडकमा पङ्तिवद्ध भएर मृत व्यक्तिका तस्वीर सहित परिक्रमा गरिन्छ । यस क्रममा ढोल, झ्याम्टा बजाउँदै सङ्गीतमय वातावरणमा आकर्षक लाखे नाच पनि नाचिन्छ । नेवार…

  • किन फालिए तम्बरखोलामा जनैका ढाकर

    डा. नवराज सुब्बा आदिवासी लिम्बू जाति प्राचीनकालदेखि आर्यसंग संसर्गमा रहेर पनि किन हिन्दू धर्मसित विकर्षित भयो भन्ने सवाल इतिहासले बेलाबेला उठाउँछ र जवाफ पनि इतिहासभित्रै खोज्न लगाउँछ । आर्य धर्मग्रन्थमा ‘किरात’ शब्द प्रयोग गरियो भनेर वर्तमानमा यो शब्दप्रति नै वितृष्णाको मनोविज्ञान एकथरीमा चलायमान छ । जबकि सिन्धुमा आर्य आउनअघि सिन्धुघाँटीमा अवस्थित महञ्जोदरो र हरप्पा सभ्यताका…

  • |

    Ganesh Bahadur Rai in Atharai Hangpang

    Dr. Nawa Raj Subba Background of the Village Hangpang village in Taplejung district has now transformed into Hangpang ward under Atharai Triveni Gaupalika of federal Nepal. This village has become the headquarters of neighboring Change, Phulbari, and Nighuradin villages. Saraswati Higher Secondary School locates in the center of Atharai Triveni Gaupalika and is spreading the…

  • मुक्कुलुङ अर्थात् पाथिभरा देवी

    डा. नवराज सुब्बा —– पाथिभरा नाम लिनासाथ जो कोहीको मन कुम्भकर्ण हिमालको काखमा अवस्थित अग्लो पहाडमा स्थापित देवीको मन्दिरमा पुग्दछ । म यसको प्राचीन पृष्ठभूमि अलिकति कोट्याउन चाहन्छु । फक्ताङलुङ अर्थात् कुम्भकर्ण हिमाल फेदको भूभाग किरात लिम्बूको मुन्धुममा पुकारिने देवीदेवताहरूको क्रिडास्थल हो । श्रुतिपरम्परामा आधारित लिम्बूदर्शन मुन्धुममा मुक्कुलुङ नामले हालको पाथिभरादेवी स्थललाई चिनिन्छ । पाथीमा…