एल्बम- अमूल्य जीवन

१. दुर्व्यसनविरुद्ध गीत

अमूल्य यो जीवनलाई नफालौं है खेर
दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर ।

धुम्रपान मद्यपान अनि लागुपदार्थ
मानिसको जीवनलाई बनाउँछ ब्यर्थ ।

खेल खेलौं मिलिजुली अनि नाचगान
सिर्जना या समाजसेवा सार्थक जीवन ।

सकारात्मक सोंच राखौं सुन्दर भविष्य
आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग ।
(गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक : सुमित् खड्का, एल्बम: अमूल्य जीवन) download via box.com /preview

२. ए बहार !

ए बहार ! तिमीसँग बोलूँ बोलूँ लाग्छ
आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ ।

कति कति बत्तिहरू बल्न नै सकेन
जलेको यो मुटु भने निभ्न नै सकेन  ।

मनमा फुल्ने फूलहरू सजाउन सकिन
वनमा रम्ने कोइलीझैं गाउन सकिन  ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : सुनिता लिम्बू, एल्बम: अमूल्य जीवन, वि.स. २०३० सालतिर रचित जीवनको पहिलो गीतरचना ) download via box.com / preview

३. सोध्न मन

सोध्न मन लाग्छ प्रितम, भेट्न मन लाग्छ,
नमिलेको प्रश्न एउटा, सोध्न मन लाग्छ ।

जिन्दगीको सुरु भन कहाँदेखि हुन्छ,
संसार साँच्चै घुम्छभने भेट कैले हुन्छ ।

जत्ति हिडे पनि कतै, पाउँदिन म चौतारी,
उकाली र ओरालीमा आउनु पर्ने द्यौराली ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : नरेन्द्र प्यासी, एल्बम: अमूल्य जीवन) download via box.com / preview

४. सिमलको भुवा

सिमलको भुवासरी उड्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।

मन पुग्छ रनवन सङ्गी डाक्दै होला
वनपाखा झुत्ताझुत्तै काफल पाक्यो होला
काटिएको चङ्गासरी उड्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।

कुहिरोले बाटो ढाक्यो घाम–जून लुक्यो
खोली पङ्ख उड्नु पर्ने बतासैले छेक्यो
झरनाको पानीसरि झर्छ मेरो मन
खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान ।
(गीतकार : नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : साजन राई, एल्बम: अमूल्य जीवन) download via box.com / preview

५. बैगुनीलाई

फूलभित्र लुकी घोच्ने काँडा खोज्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।

दिउँसै म त हराएछु हिंड्दाहिंड्दै बजार
सोझो बाटो हिडे पनि छिर्के लाउने हजार
दुस्मनसित मीत लाउन माफी खोज्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।

काम अनि मान्छेका नाम सोध्दासोध्दै
कागजमा नअटेर मनमा लेख्दालेख्दै
छक्क परें मान्छेका रूप नाना देख्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : धिरज श्रेष्ठ, गायक : डी.बी.राई, एल्बम: अमूल्य जीवन) download via box.com / preview

६. सागर

सागरभन्दा गहिरो
भयो हाम्रो माया
सगर भई फैलियो
चोखो हाम्रो माया ।

फूलमा बसी झुल्दछु
जून जस्तै हाँस्दछ
बग्दै जान्छ खोला भई
दोभान पुगी मिल्दछ ।

दोमन हुन्छ कहिले
बाटो भुलेझैं लाग्दछ
बिर्सिन्छु म आफैलाई
हराएँझैं लाग्दछ ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम: अमूल्य जीवन) download via box.com / preview

७. विवशता

विवशताले वाँधिएको मान्छेको जीवन
पिजडाभित्र छट्पटीरहने मैनाझैं यो मन् ।

तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छ
लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ ।

बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगी
हजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी ।

(गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : सूर्य थुलुङ, एल्बम: अमूल्य जीवन, वि.स. २०३८ सालतिर रेडियो नेपालमा रेकर्ड गरिएको गीत) download via box.com / preview

८. गुलाफ

गुलाफको थूँगाभित्र, मायालुको बास्ना पाउँछु
उड्ने मेरो मनभित्र, तिम्रो मात्र सपना देख्छु ।

सुकेका यी ओठहरू, गीत गाई रुझुँ भन्छ,
चञ्चले यी आँखाहरू कतै गई अल्झुँ भन्छ ।

साँचेको छु मुटुभित्र, आई यहाँ बस्ने गर,
सपनीमा आउने माया, बिपनी मैं आउने गर ।
(गीतकार/गायक : नवराज सुब्बा, सङ्गीतकार : प्रेम भट्टचन, एल्बम: अमूल्य जीवन) download via box.com / preview

Nepali Modern Songs
Himalaima Hiun