आठराई हाङपाङमा गणेशबहादुर राई

Sharing is Caring

डा. नवराज सुब्बा

गाउँको पृष्ठभूमि 

ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने यो हाङपाङ गाउँ हाल संघीय नेपालको आठराई त्रिवेणी अन्तर्गतको हाङपाङ वडामा परिणत भएको छ । अहिले यो हाङपाङ गाउँ छिमेकी चाँगे, फूलबारी र निघुरादिन गाउँको सदरमुकाम गाउँपालिका बनेको छ । सरस्वती उच्च माद्यमिक विद्यालय आठराई त्रिवेणी गाउँपालिका सदरमुकाममा रहेर सर्वत्र शिक्षाको ज्योति फैलाइरहेको छ । यहाँको शैक्षिक पृष्ठभूमि जान्‍न विद्यालयको इतिहास कोट्याउन पर्दछ । 

आठराई हाङपाङ गाउँ वि.स. २०३२ अघि तेह्रथूम जिल्लाको एक दूर्गम गाउँ आठराई हाङपाङ थियो । यो गाउँ दुर्गम भए तापनि त्यहाँका जनता जागरुक थिए । विक्रम सम्बत् एक्काइशौं शताब्दी आरम्भपछि यहाँ टोलटोलमा विद्यार्थी भेला पारेर पढाउनलाई शिक्षक राख्‍ने चलन चल्यो । यसले तत्कालीन अवस्थामा लेखापढी गर्न जान्ने जनशक्ति तयार पार्‍यो । 

२००७ सालको क्रान्तिको सामाजिक चेतनाको प्रकाश यहाँसम्म आइपुग्यो । तब अनौपचारिक शिक्षाले मात्र समयको माग र आवश्यकतालाई पूरा गर्न नसकेको महसुस भयो । फलस्वरुप गाउँघरका विभिन्न केन्द्रहरुमा जनताले सामुदायिक विद्यालय भवन बनाउन थाले । उनीहरुले शिक्षकलाई पारिश्रामिक दिनका लागि जनसहभागितामा आधारित ब्यवस्था मिलाए । सबैको मुठीदानमा प्राप्त अन्न वा रकम दान सङ्कलन गरी शिक्षकलाई पारिश्रामिक दिने ब्यवस्था मिलाइयो । यसरी नै विद्यालय खोल्ने र संचालन गर्ने अभियान अघि बढ्यो । फलस्वरुप २०१८ सालमा हाङपाङमा सरस्वती डि.एस.बी. मिडिल स्कुल स्थापना भयो । 

त्यसबेला हाम्रो क्षेत्रमा सात कक्षासम्म पढाउने मिडिल स्कुल थिएनन् । आठराई सक्रान्ति र चुहाण्डाडामा विद्यालय खुलेका थिए । त्यहाँ पुग्‍न एकदिन लाग्दथो । गाउँघरमा पढेलेखेका मानिस ज्यादै कम थिए । शिक्षक खोज्दा मान्छे पाउनै मुस्किल पर्दथ्याे । त्यसबेला शिक्षकलाई अहिले जस्तो सरकारले तलब दिंदैनथ्यो । विद्यालयलाई सरकारको गतिलो अनुदानको व्यवस्था थिएन । शिक्षकलाई तलब खुवाउन, विद्यालयको भौतिक संरचना बनाउन, मरम्मत गर्न जनताले नै चन्दा उठाउन पर्दथ्यो । शिक्षकले तलब बापत नगद वा जिन्सी वार्षिक रुपमा पाउँथे । 

विद्यार्थीको समस्यामा कक्षाकोठामा पानी चुहिनु प्रमुख थियो । खरको छानाले चार-पाँच वर्ष थाम्दथ्यो । छाना छाउने साल चन्दा उठाएर काम पुरा गर्नै मुस्किल पर्दथ्यो । विद्यालय चलाउन, छानामा जस्तापाता लगाउन, कोठा थप्‍नलाई चन्दा नउठाइ उपाय थिएन । त्यसैले विद्यालय चलाइराख्‍न वा स्तरोन्नति गर्न संचालक समितिका पदाधिकारी तथा शिक्षकले मेहनत र त्याग गरे । गाउँमा उठेका चन्दाले नपुगेर उनीहरु चन्दा उठाउन कहिलेकाहिँ मधेस झर्दथे, कहिले भारतको आसामसम्म पुग्दथे । यसरी उठाइएको चन्दाले विद्यालय संचालन, भवनको छानामा जस्तापाता लगााउने र कोठा थप्‍ने काम गरियो ।  

संचालक समितिका पदाधिकारी तथा शिक्षक बेलाबेला चौतारामा बसेर गफ गर्दथे । चन्दा उठाउँदा भोगेका दुःखसुखका कुरा गर्दथे । फलानाले यति चन्दा दियो चिलानाले बोलायो तर दिएन आदि, इत्यादि । त्यो बेला गाउँमा वार्षिक भेला बोलाएर जनतालाई चन्दा रकम तोकिन्थ्यो । चन्दाको नाममा विद्यालय र समाजले लगाएको त्यो अघोषित शैक्षिककर नै थियो । अहिले मूल्याङ्कन गर्दा त्यसबेला जनताले गरेको योगदानलाई उच्च मान्‍नु पर्दछ । 

वास्तवमा, सरस्वती माध्यमिक विद्यालयलाई स्थानीय जनताले रगत, पसिना र आँशुले सिंचेर हुर्काएको सामाजिक सम्पदा हो । यसको धरातलका साक्षीहरु अझै ज्यूँदै छन् भने कतिपय घटना त्यहीँ माटोमा बिलाएका छन् । आज हाङपाङ र आसपासका जनताले त्यसको मीठो फल खान पाएका छन् । मजस्ता कैंयौं विद्यार्थीको मनमा आज सरस्वती माद्यमिक विद्यालय सरस्वतीको मन्दिर प्रमाणित भएको छ । 

गणेशबहादुर राईको आगमन

अङ्ग्रेजीका स्नातक गणेशबहादुर राई विक्रम सम्बत् २०१८ अर्थात् सन् १९६१ मा शिक्षाप्रेमी गाउँलेको आग्रहमा दार्जिलिङबाट आठराई हाङपाङ आएका थिए । फलस्वरुप सरस्वती डिएसबी मिडिल स्कुल हाङपाङले एक शिक्षित व्यक्तिलाई हेडसरको रुपमा पायो । यो विद्यालयले केही मात्रामा भारतीय सैनिक बोर्डबाट आर्थिक सहयोग पाएको थियो । विश्‍व युद्धमा मारिएका अनगिन्ति नेपालीको बेवारिसे सम्पत्ति ब्यवस्था गर्ने कोशले लाहुरेको गाउँ हाङपाङलाई पनि लाभग्राही सूचीमा रखेको थियो । त्यसैले विद्यालयको नाममा डिएसबी संज्ञा पनि जोडिएको थियो । कालान्तरमा विद्यालय हाइस्कुल भयो । सरकारी अनुदान पाउँदै गएपछि उक्त डिएसबी शब्द पनि हटेर गयो । 

हाल यो विद्यालय सरकारी अनुदानप्राप्त उच्च माद्यमिक विद्यालय बनेको छ । विद्यालयलाई यो अवस्थामा  ल्याउनेमध्येका एक शिक्षकका रुपमा गणेशबहादुर राईलाई लिइन्छ । उनलाई चिन्‍ने वा बोलाउने नाम थियो– हेड सर । म अहिले तत्कालीन सरस्वती डिएसबी मिडिल स्कुलका हेडसर गणेशबहादुर राईको शब्दचित्र कोर्दैछु । 

हेड सरका रुपमा गणेशबहादुर राई हाङपाङ आएको साल र मैले यो धरती टेकेको वर्ष संयोगले एकै परेछ । त्यसैले मैले उनलाई सानैदेखि गाउँमै देखें । उनी मलाई हाङपाङकै रैथाने जस्तो लाग्दथ्यो । मेरो उमेर बढ्दैं जाँदा मैले बुझें, हाङपाङका अग्रजहरुले शिक्षकको रुपमा उनलाई दार्जिलिङबाट ल्याएका रहेछन् । 

राईका पिता तेह्रथूमस्थित भारतीय सैनिकको संस्था डिष्ट्रिक्ट सोल्जर्स बोर्डमा कार्यरत अधिकृत थिए । उक्त बोर्डको सहयोगप्राप्त विद्यालयमा उनले आफ्ना छोरा गणेशबहादुर राईलाई पठाएको बुढापाका भन्दथे । हुन त यो विद्यालयलाई सोल्जर बोर्डले केही मात्रामा सहयोग गरे तापनि मूलतः जनताको चन्दाले नै चलेको थियो । त्यसबेला विद्यालयमा साधनस्रोतको ज्यादै कमी थियो । शिक्षकले तलब पाउन ६ महिना वा एक वर्षसम्म कुर्नु पर्दथ्यो । शिक्षकले नगद वा  जग्गा जमिन तलबबापत पाउने गर्दथे । सोल्जर बोर्डमा कार्यरत पिताले आफ्ना होनहार पुत्रलाई त्यस्तो जोखिमपूर्ण अवस्थामा पनि हाङपाङ पठाएकामा मलाई अचम्म मात्र होइन, त्यो हाम्रो भाग्यको खेल जस्तो पनि लाग्दछ ।

२०१८ सालको स्नातकले सरकारी नोकरीमा छिरेको भए आज उनी सचिव भएर निस्केका हुन्थे । त्यसबेला उनले कोशिस गरेको भए उनको लागि अवसरका अनेकौं ढोका थिए । यद्यपि उनी हामी जस्ता कुनाकाप्चामा बसेका अशिक्षितलाई शिक्षाको ज्योति बोकेर आए । उनी एकप्रकारले अज्ञानताको अन्धकारमा छट्पटाएको गाउँमा छिरे । गाउँ र त्यस क्षेत्रलाई उज्यालो पारे । गाउँमा शिक्षक पेशा सम्मानित भए तापनि उसबेला त्यो पेशा धेरै चुनौतीपूर्ण थियो । उनको जीवनको सारलाई बिम्वमा भन्‍नुपर्दा उनी मैनवत्तिझैं जलेर दुनियाँ उज्यालो त पारे तर स्वयम् भने बत्तीको फेदको अँध्यारो छायामा परे ।  

अनुशासित परिवारिक तथा शैक्षिक पृष्ठभूमिका गणेश सर विद्यालयमा आएपछि उनको कुशल नेतृत्वमा विद्यालय क्रमसः फस्टायो, मौलायो । विद्यालयको छवि चारैतिर फैलियो । वरिपरिका धेरै विद्यार्थी यहाँ पढ्न आए । त्यसको साक्षीमध्येको म एक विद्यार्थी अझै यसबारे भन्‍न सक्दछु । गणेशसरको म एक छिमेकी पनि हुँ जोसंग मेरो सम्पूर्ण बाल्यकाल बितेको थियो । बाल्यकालको विद्यार्थी जीवन उनकै छत्रछायामा व्यतीत भएको थियो । त्यसैले म उनलाई नजिकबाट जान्दछु । तसर्थ, मेरा स्मृतिका पानामा छरिएका धुमिल अनुभूतिका पाना पल्टाउँदैछु । 

लवाइ खवाइ

हाम्रो गाउँमा त्यसबेला चश्मा लगाउने मानिस थिएनन् । पण्डितहरु किताव पढ्दा गान्धी चश्मा लगाउँथे । कोही मानिस बेला–बेला कालो शीतलु चश्मा लगाउँथे । सधैं चश्मा लगाउने मानिस गाउँमा एकजना गणेश सर मात्र थिए । हामी केटाकेटीलाई के लाग्दथ्यो भने चश्मा भनेको हेडसरले लगाउने गहना हो । किनभने उनीजस्तो निरन्तर चश्मा लगाउने मानिस गाउँमा अरू कोही थिएनन् । हामीलाई उसबेला चश्मा आँखाको दृष्टि कमजोर भएकाले लगाउने वस्तु हो भन्‍ने थाहा थिएन । लाग्दथ्यो, चश्मा भनेको धेरै पढेकाले लगाउने चीज होला । या कतै राम्रो शिक्षित देखिनलाई लगाउने चीज होला । जेहोस्, हामी विद्यार्थीको मनमा चश्मा विद्धान मान्छेको द्योतक थियो ।  

अर्को कुरा, त्यसबेला हाम्रो गाउँमा पैण्ट, शर्ट लगाउने मानिस उति थिएनन् । उक्त पहिरन लगाउने गणेश सर गाउँमा एक्लै नै थिए । हुन त गाउँमा लाहुरेहरू छुट्टिमा आउँदा केही दिन पैण्ट, शर्ट लगाउँदथे । तर केही दिनपछि उनीहरु पनि पैण्ट, शर्टको सट्टा दौरासुरूवाल सिलाएर लगाउने गर्दथे । हामीलाई के विश्वास थियो भने पैण्ट, शर्ट लगाएपछि काम गर्न मिल्दैन । किनभने गणेशसर पैण्ट, शर्ट लगाएर अरूझैं खेतबारीमा काम गरेको कहिल्यै देखेनौं । त्यसकारण हामीलाई के लाग्यो भने पैण्ट सर्ट काम नगरी कुर्सी टेबलमा बस्‍ने मानिसले लगाउने पोसाक होला । 

गणेश सर सरल र शालीन व्यक्ति थिए । उनी ज्यादै कम मात्रामा बोल्ने गर्दथे । उनले अरूजस्तो गलल हाँसेको हामीले कहिले देखेनौं । सधैं गम्भीर मुद्रामा रहने गणेश सरको छेऊ पर्न विद्यार्थी डराउँथे । उनलाई देखेपछि विद्यार्थी टाढैैबाट परपरै तर्कन्थे । विद्यार्थी आपसमा खासखुस कुरा गर्दथे, उनी रिसाहा स्वभावका छन् । गल्ति गरेको थाहा पाएमा उनले अफिसमा बोलाएर छरीले हातमा पिट्छन् भन्‍ने हल्ला चलेकाे थियो । हुन पनि कक्षामा पाठ सोधेको बेला विद्यार्थीलाई आएन वा कुनै विद्यार्थीले अनुशासनहीन काम गरेमा उनी सजायस्वरूप हात थाप्‍न लगाएर फिट वा लौरोले पिट्दथे । 

अनुशासन

विद्यालयमा विद्यार्थी र शिक्षक सबैले कठोर अनुशासन पालन गर्नुपर्दथ्यो । कसैले पनि विद्यालय परिसरमा चुरोट, बिडी खान पाउँदैनथे । उसबेला अहिले जस्तो खैनी खाने चलन थिएन । विद्यालय ढिला गरी आउने विद्यार्थीले छुट्टै लाइन लाग्‍नुपर्दथ्यो । उनीहरुले सजाय पाएपछि मात्र कक्षाकोठामा पस्‍न पाउँथे । मैले लाइनमै एकदुई पटक विद्यालय ढिला आउने विद्यार्थीहरूलाई सामुहिक रूपमा लाइन लगाएर पिटेको देखेको थिएँ । त्यसरी पिट्दा केटाहरू लाजले नरोए पनि केटीहरू भने पछ्यौराले मुख छोपेर घुँक्कघुँक्क रुन्थे । पाठ बुझाउँदा वा बोल्दा उनीतिर फर्केर कसैले हाँस्यो भने “सिस्‍नो खाएको तेरो दाँत देखाउँछस्, नाथे” भनेर हप्काउँथे । 

उनी विद्यार्थीलाई झपार्दा ‘नाथे’ शब्दले गाली गर्दथे । हामी विद्यार्थी त्यो ‘नाथे’ भनेको के रहेछ भनेर आपसमा कुरा गर्दथ्यौं । पछि पछि थाहा भयो त्यसको अर्थ नाकभित्रको रौं रहेछ । त्यत्ति सारै नराम्रो गाली त हैन रहेछ जस्ताे लाग्दथ्यो । कुनैबेला ‘गधा’ ‘गोरु’ भनेर पनि हपार्दथे । पहाडतिर हामीले गधा नदेखेको हुँदा हामीलाई त्यो गालीमा आउने विम्बले छुँदैन थियो । गोरु शब्दले अलिअलि छुन्थ्यो तर हप्काएका बेला उनको शब्द भन्दा पनि अनुहारको भाव र आवाजको झोक्काले थर्काउँथ्यो र विद्यार्थी त्यसै थर्थरी काँप्दथे । 

वास्तवमा, गणेशसरले हाङपाङ र आसपासका क्षेत्रमा विद्यार्थीलाई अनुशासनको पाठ सिकाए । गाउँमा पढेका भन्दा नपढेका मानिस धेरै हुन्छन् । त्यसबेला ‘पढ्यो लेख्यो के काम हलो जोत्यो खायो माम’ भन्ने उक्ति प्रचलित थियो । पढ्यो भने त्यसले हलो जोत्दैन, घरमा काम गर्दैन, छोरी पढाए लभ लेटर लेखेर पोइला जान्छे भनेर अभिभावक छोराछोरीलाई विद्यालय पठाउन उति मन गर्दैनथे । त्यसबेला विद्यालयमा भर्ना हुने विद्यार्थीहरू अलि उमेर छिप्पिएकाहरु बढी मात्रामा थिए । अर्थात् ५/७ कक्षामा पढ्ने विद्यार्थी पनि १५/२० वर्ष माथिका हुन्थे । अहिले त १५/१६ वर्षमा एस.एल.सी./एस.ई.ई. पास गर्छन्, उसबेला करिव २५/३० वर्षमा मात्र प्रायः म्याट्रिक गर्दथे । 

शरीरमा बल पसेका तर अनुशासन नजान्‍ने विद्यार्थीलाई विद्यालयमा पढाउनु र तिनलाई विद्यार्थीका रुपमा सधाउने काम सजिलो थिएन । गाउँमा फुटबल खेल लाेकप्रिय थियो । विद्यार्थी खेलाडी हुन् वा गाउँले खेलाडी आपसका खुट्टा हानाहान गर्थे, आपसमा छिर्के लाउँथे र खेल प्रायः भिडन्तमा टुङ्गिन्थ्यो । एकैछिन अघि मिलेर खेल्दै गरेका विद्यार्थी पछि ढुँगा हानाहान गर्दै छुट्टिन्थे । त्यस्ता काँचा युवक विद्यार्थीहरूलाई गणेशसरले खेलको माध्यमबाट अनुशासनको पाठ सिकाए । उनी भएको बेला विद्यालयमा कवाज, दौड तथा एथलेटिक्सको वार्षिक प्रतियोगिता आयोजना गरिन्थ्यो । खेलकुदमा विद्यार्थी अभ्यस्त र अनुशासित हुन्थे । पढाइको अतिरिक्त विद्यालयमा सिकाइएको खेलकुद, दौड, पिटी आदिले विद्यालय पढिसकेर वा बीचमा पढाइ छाडेर लाहुर जानेलाई खूब काम लाग्दथ्यो । उनीहरु पल्टनबाट हेडसरले सिकाएको काम लाग्यो भनेर पत्र पठाउँथे । 

विद्यालयमा अनुशासनका बारेमा विद्यार्थीहरूलाई निबन्ध, कविता, नाटक लेख्‍न प्रोत्साहित गरिन्थ्यो । राम्रो अनुशासन भएका कक्षाबाट एकजना विद्यार्थीको नाम हरेक वर्ष घोषणा गर्ने चलन थियो । कुनै विद्यार्थीको रिपोर्ट–कार्डमा शिक्षकले कुनैबेला कैफियत लेखिदिएमा उक्त विद्यार्थी नराम्रो विद्यार्थीमा दरिन्थ्यो । शिक्षकले विद्यार्थीको अनुशासनमा कैफियत लेखिदिएको खण्डमा विद्यार्थी विद्यालयबाट निष्काशितसम्म हुने व्यवस्था गरिएको थियो । त्यसैले गर्दा हरेक वर्ष एस.एल.सी. परीक्षामा सरस्वती माद्यमिक विद्यालयको परीक्षाफल राम्रो आउँथ्यो । विद्यालयको नाम र गणेशसरको नाम चारैतिर फैलिएको थियो । 

स्वस्थकर जीवन शैली 

गणेश सर हाम्रो गाउँको रोल मोडल थिए । गाउँमा चर्पी बनाउने चलन त्यत्ति थिएन । प्रायः बाँसघारी, खोल्सा, खाल्‍सीमा दिसापिसाब गर्ने चलन थियो । त्यस्तो बेलामा उनले गाउँमा व्यवस्थित चर्पीको चलन ल्याए । उनी बिहानै हातमा पानीको वोतल बोकेर चर्पी जान्थे । कहिलेकाहीँ हामी केटाकेटी पछ्याउँदै उनी चर्पी गएको, चाबी खोलेको, भित्र पसेर चुक्कुल लाएको, निस्केको दृश्य लुकेर हेर्दै रमाइलो गर्दथ्यौं । हामीलाई त्यसबेला त्यो क्रिया अचम्म जस्तो लाग्दथ्यो । हामी जङ्गल पस्‍नेलाई चर्पीको आवश्यकता र महत्वबारे त्यसबेला थाहा थिएन । धेरै पछि अरू सरहरूले पनि घरमा चर्पी निर्माण गरेको देख्यौं । अहिले सम्झँदा हामी कति असभ्य रहेछौं जस्तो लाग्दछ । 

धुम्रपान नगर्ने उनको अर्को राम्रो बानीमा थियो । विद्यालयमा शिक्षक र विद्यार्थीलाई विद्यालय परिसरमा धुम्रपान गर्न निषेध गरिएको थियो । विद्यालयमा कुनै विद्यार्थीले धुम्रपान गरेको पाइएमा कठोर सजाय हुन्थ्यो । शिक्षक पनि लुकेर मात्र सुर्ती वा चुरोट पिउँने गर्दथे । 

अङ्ग्रेजी भाषामा दखल

अंग्रेजी भाषामा उनको दखल थियो । मलाई साल ठ्याक्कै याद भएन त्यस्तै २०२५/२६ सालतिर होला म तीन कक्षामा पढ्दथें । विद्यालयमा पीटर नामका एकजना अमरिकी पिसकोर स्वयमसेवक शिक्षकका रुपमा हाम्रो विद्यालयमा आएका थिए । उनी हामीलाई अंग्रेजी भाषा पढाउने शिक्षक थिए । त्यसबेला आठराई हाङपाङ क्षेत्रका शिक्षक र विद्यार्थीमाझ कम्यूनिष्ट विचारको लहर फैलँदो अवस्थामा थियो । हामी त केटाकेटी मान्छे कुरो अलिअलि मात्र बुझ्दथ्यौं । विद्यालय छुट्टी भएर घर फर्कने बेलामा विद्यार्थीहरूले उनै पीटरलाई घेर्दथे । विद्यार्थीहरु उनलाई तिमी अमेरिकी साम्राज्यवादी देशका नागरिक हौ, यहाँ जासुसी गर्दैछौ, यहाँ बस्‍न पाउँदैनौं, तिमी आफ्नो देश फर्क भन्दथे । विद्यार्थीहरु पीटरलाई पटक पटक उल्याँउँथे र निरुत्साहित पार्दथे । सायद उनले त्यसको जानकारी आफ्नो दूतावासलाई दिए होलान् । 

अब के होला भनेर हामी केटाकेटी सशङकित थियौं । नभन्दै एकदिन अमेरिकी राजदूत क्यारोल सी. लेस हेलिकप्टर चढेर हाङपाङ आइन् । हेलिकप्टर बस्‍ने स्थान हाम्रो विद्यालयमा बनाइएको थियो तर सो स्थानमा बसेन । गाउँको अलि माथि रहेको कालिका प्राविको खेलमैदानमा हेलिकप्टर बस्यो । सायद यसैमा हाम्रो गणेश सरलाई रिस अठ्यो होला । राजदूत साँझ ६–७ बजे विद्यालयमा आइन् । राति आएको पाहुनालाई गणेश सरले स्वागत गरेनन् । उनी ढोका लगाएर सुते । विद्यालयको मैदानमा तयार गरेको हेलिप्याडमा जहाज नउत्रेकाले हेडसर रिसाएको हामीलाई थाहा थियो । त्यसैले उनले राजदूतलाई आउनासाथ स्वागत गरेनन् । अरु शिक्षकहरुले राजदूतलाई स्वागत गरे । हामी केटाकेटी लाइनमा लाग्यौं र राजदूत क्यारोल सी लेसको हातबाट चकलेट थाप्दै थ्याङ्कयू भन्यौं । किनभने सरहरुले हामीलाई चकलेट थापेपछि धन्यवाद भन्‍न सिकाएका थिए । एकजना विद्यार्थीले थ्याङ्कयूमा भेरी मच पनि थपिदियो, हामी गलल हाँस्यौं । 

भोलिपल्ट बिहान मात्र गणेश सरले ती अमेरिकी विशिष्ठ नागरिकसंग भेट गरे । उनले अंग्रेजीमा फरर बोलेको देख्दा हामी दङ्‍ग पर्‍यौं । अहिले सम्झँदा मलाई अलि नमीठो लाग्दछ । हाङपाङको विद्यालयमा सायद सुरक्षाको कारणले हेलिकप्टर अवतरण नगरेर छिमेकी विद्यालयमा गएको हुनसक्छ । त्यति विवेक राखिदिएको भए गणेश सरले चित्त दुखाउनु पर्दैनथ्यो । उनी त्यसबेला गाउँलेका अघोषित प्रतिनिधि पनि थिए । कमसेकम साँझपख गाउँमा आएको पाहुनालाई स्वागत गरिदिएको भए हुन्थ्यो । 

मलाई राजदूत भन्दा पनि उनी चढेर आएको हेलिकपप्टरले आकर्षित तुल्यायो । आकासमा उडेको देखिन्थ्यो, त्यो वस्तुलाई त्यसबेला नजिकै देख्दा औधी खुशी र उद्वेलित भएँ । त्यसपछि त सपनामा पनि हेलिकप्टर मात्र देख्‍न थालें । लेख्‍ने कापीमा पनि जताततै हेलिकप्टरको चित्र मात्र कोर्न थालें । एक दिन म पनि पाइलट हुन्छु भन्ने भावना उम्रियो । हेलिकप्टर वा हवाइजहाज चढ्न पाए कस्तो होला भनेर म दिनरात कल्पना गर्न थालें ।

फुटबल खेलाडी

मैले सुनेको मात्र गणेश सर राम्रो फुटबल खेलाडी थिए । हाम्रो विद्यालयमा ठूलो फुटबल मैदान थिएन । त्यसैले उनले विद्यालयको खेल मैदानमा फुटबल खेलेको देखिन । विद्यार्थीहरू मात्र यसमा फुटबल खेल्दथे । खेल मैदान सानो भएको कारणले रहेछ रेफ्रीले दौडनु पर्दैन थियो । विद्यालयको बार्दलीमा बसेर गणेश सर रेफ्रीको काम गर्दथे । हामीलाई लाग्दथ्यो फुटबलको रेफ्री पनि भलिबलको रेफ्रीझैं एकै ठाउँ बसेर वा उभिएर खेल खेलाउँछ । 

आठराई सक्रान्तिमा वर्षेनी भव्य मदन मेला लाग्दथ्यो । त्यहाँको त्रिमोहन माद्यमिक विद्यायलमा हाम्रो भन्दा ठूलो फुटबल मैदान थियो जहाँ वर्षेनी फुटबल म्याचको आयोजना गरिन्थ्यो । मदन मेलामा ताप्लेजुङ, तेह्रथूम, फिदिम, खाम्लालुङ, सम्दु, साँघु, फेदापतिरबाट खेलाडीहरू भेला हुन्थे र प्रतियोगितात्मक प्रतिस्पर्धामा भिड्दथे ।

मदन मेलामा फुटबल, भलिबल, ब्याडमिण्टन, क्यारेमबोर्ड लगायतका प्रतियोगिता हुन्थे । हामी भुराभुरी छँदा गणेश सरले उक्त मदन मेलामा राम्रो फुटबल खेल प्रदर्शन गरे भनेर चर्चा सुन्दथ्यौं । त्यसबेला अर्का खेलाडी आठराईतिरकै रसाइली सर थिए । उनी लामो केश पालेर कपालमै काइँयो सिउरन्थे तर उनको फुटबल खेल भने राम्रो थियो । उनी सुनसरी धरान स्थित फुटबल टिमका एक खेलाडी भएको थाहा पायौं । एकपटक उनै रसाइली सर हाङपाङ चुँवाको खेल मैदानमा भएको फुटबल म्याचमा रेफ्री भए । उनी खेलाडीसंगै दौडेको देखेर हामी छक्क पर्‍यौं । पहाडतिरका खेलमैदान साना हुन्छन् यसैले हामीले रेफ्री मैदानका बीचमा उभिएर सिटी बजाएको मात्र देखेका थियौं । त्यसबेला रसाइली सरको चुरीफुरी देखेर हामी विद्यार्थीलाई रमाइलो लाग्यो । यिनै रसाइली सरको टिमलाई हाम्रो गणेश सरको टिमले मदन मेलामा जितेको रे भन्‍ने हल्ला हामीले सुनेका हौं ।  

मैले गणेश सरबाट सिकेको महत्वपूर्ण कुरा हो– स्पोर्टसम्यानसीप अर्थात् खेलकुद भावना । उनी बारम्बार भन्दथे– खेलाडीले खेलमा अनुशासित भइ नियमपूर्वक कलात्मक खेल प्रदर्शन गर्नुपर्दछ । तिमी अनुशासनपूर्वक राम्रो खेल र भरसक जित । यदि हार्‍यौ भने दुःख नमान, जित्‍नेलाई बधाई देऊ, मित्रता स्थापित गर । खेल हारेमा दुस्मनी नराख । खेल खेल्नु भनेको मैत्रीभाव बढाउनु हो । खेल जित्‍नलाई मात्र खेलिन्‍न, उत्कृष्ट खेल प्रदर्शन गर्नु र रेकर्ड राख्नु पनि खेलकुदको मर्म हो भनेर उनले हामीलाई सिकाए । उनी खेलकुद होस् वा विद्यालयमा अनुशासनको बारेमा विद्यार्थीहरूलाई जोड दिन्थे । 

गीतसङ्गीत

गणेशसर गीतसङ्गीतमा रूची राख्‍ने स्रष्टा पनि थिए । उनले बिहान, बेलुका सङ्गीत साधना गर्दा बजाएको म आफ्नो घरैबाट सुन्दथें । उनले बजाएको हारमोनियको ध्वनिले मभित्र पनि साङ्गीतिक राग जन्मायो । हारमोनियमका बज्‍ने मीठा धुन र मेलोडीले मलाई साँच्चै आकर्षित तुल्यायो । फलस्वरुप गीतसङ्गीतप्रति मेरो मोह बढ्यो । मभित्र हारमोनियम बजाउने वा सिक्ने इच्छा जागृत भयो । 

विद्यालयको सांस्कृतिक कार्यक्रममा उनी गीत आफै कम्पोज गर्दथे । उनले केही आधुनिक गीत रचना र सङ्गीत भर्ने काम पनि गरे । उनको स्वर पातलो भएकाले बेनु सर वा अन्य विद्यार्थीलाई गीत गाउन लगाउँथे । नाच्‍ने कलाकार पनि सिपालु थिए । केटा मान्छे नै केटी भएर नाच्‍नु पर्दथ्यो । कोही केटी केटा भएर अर्को केटीसित युगल नृत्य गर्दथे । त्यसबेला गणेश सरले बनाएका मौलिक गीतहरु पनि हामीले सुन्यौं । 

उनले नभ्याउँदा बेनु चुडाल सरले सांस्कृतिक कार्यक्रममा हारमोनियम बजाउँन थाले । बेनु सरको हातमा हारमोनियम परेपछि यदाकदा मौका पारेर मैले पनि हारमोनियम छुने र ट्याँट्याँ पार्ने मौका पाएँ । यसरी मेरो हृदयमा साङ्गीतिक चेतनाको विजारोपण गणेश सर, बेनु सरको सामीप्यताले पल्लवित भयो ।

विवाह 

म गणेश सरको विवाह उत्सवलाई पनि भुल्न सक्दिन । म भुराभुरी नै छँदा उनको विवाह ताप्लेजुङ फुङलिङ निवासी शिक्षिका विद्या प्रधानसंग भयो । विवाह हुने दिनमा हामी विद्यार्थी अत्यन्तै प्रफुल्लित थियौं । गुरुमा अर्थात् बेहुली हेर्न भनेर हामी खुवा गाउँमा गएर पर्खियौं । बाटोमा दानाको फल टिप्दै पर्खेको अझै सम्झना आउँछ । ताप्लेजुङ फुङलिङबाट दोभान नभएर खडकुडे पुल तरेर फुलबारी, छिन्ताङ हुँदै बेहुली ल्याइयो । दुलही हाङपाङ आइपुग्दा करिव साँझ परिसकेको थियो । 

हाङपाङ निवासी कम्युनिष्ट नेता नन्दकुमार प्रसाई जो खोक्लिङ स्कुलमा शिक्षक थिए उनले बेहुला–बेहुलीको जोडी बाँधिदिएको भन्‍ने हल्ला हामीले सुन्यौं । हालको गाविस भवन जसलाई त्यसबेला पञ्‍चायत घर भनिन्थ्यो । जहाँ गणेश सरको निवास थियो त्यहीँ बेहुली भित्र्याइयो । केही महिनामा विद्या गुरुमाले मलाई र सरला बहिनीलाई निवासमा बोलाएर पसलमा सामाग्री प्याक गर्ने कागजको थूँगे बनाउन सिकाइन् । हाङपाङमा हेडसरका दुई सन्तान अशोक र आलोकको जन्म भयो । 

राजनीति

गणेश सर राजनीतिक हिसाबले पनि सचेत थिए । मलाई ठ्याक्कै साल त याद आएन । दशकले हिसाब गर्दा तीस दशकको कुरो हुनुपर्दछ । एक पटक उनी हाङपाङमा प्रधानपञ्‍चको चुनावमा पनि उठेका थिए । चुनावलाई त्यसबेला हामी भोट भन्दथ्यौं । हाल हेल्थपोष्ट रहेको स्थान जसलाई त्यसबेला डिस्पेन्सरी भनिन्थ्यो, त्यहाँको सानो मैदानमा भोट सम्पन्‍न भएको थियो । मत खसाल्ने ठाउँमा दुई उम्मेदवारको अलग अलग रङ्गको बाकस थापिएको हुन्थ्यो । भोट थाप्‍ने बाकस सेतो र रातो रङ्गको थियो । भोट माग्दा रातो वा सेतो बक्समा मत खसाल्नु भनिन्थ्यो । मतदान केन्द्रमा मतपत्र टिपेर गोप्य मतदान गर्ने ब्यवस्था गरिएको थियो । मतदान सकिएपछि जसको बाकसमा धेरै मत खस्यो उसको जीत हुन्थ्यो । अपरान्ह ५ बजेपछि चुनाव सकियो । साँझपख नतिजा घोषणा भयो । चुनावको नतिजा नरेन्द्र लिम्बूको पक्षमा गयो । अर्थात्, गणेशसर पराजित भए । हामी भुराभुरीले तल्लागाउँलेले भोट हार्‍यौं भन्‍ने बुझ्यौं । 

म त सानै थिएँ । भोट जिते वा हारेमा के हुन्छ? आमालाई खुसुक्क जिज्ञाशा राखें । आमाको जवाफ यस आसयको थियो– भोट जिते हेडसरलाई अबिर, फूलमाला लगाएर वासस्थानमा ल्याउँछन् । यदि उनी हारेको खण्डमा लाजले लुक्दै लुक्दै फर्कन्छन् नि । नभन्दै भोटको नतिजा आएपछि नरेन्द्र लिम्बूलाई अबिरमाला लगाएर बोक्दै–बोक्दै उँभो माथिल्लो गाउँतिर लगे । हाम्रो गणेशसर केही शिक्षकहरूका साथ बाटैबाटो लुरूलुरू हिडेर निवासतिर फर्के । आमाले भनेजस्तै गणेश सर कसरी लुक्दै फर्केलान् जस्तो लागेको थियो उनी त नलुकी बाटैबाटो फर्किए, अचम्ममा परें । अहिले सम्झँदा हाँस उठ्छ । 

हाङपाङ गाउँ राजनीतिक हिसाबले संवेदनशील पनि थियो । हाङपाङ गाउँ भौगोलिक हिसाबले तल्लो गाउँ र माथिल्लो गाउँमा विभाजित थियो । तल्लो गाउँमा बस्‍ने खहरे घरखाल, बाह्र भैयाखाल गणेश सरकोमा आउजाउ गर्दथे । माथिल्लो गाउँको समुदायको नेतृत्व अघोषित रुपमा क्याप्टेन खगेन्द्रसिंह आङबुहाङ लिम्बू गर्दथे । माथिल्लो गाउँमा यक्सो गाउँ, कालिका प्रा.वि. वरिपरिका घरहरू पर्दथे । गाउँ भित्रभित्रै कम्युनिष्ट र कांग्रेसमा पनि विभाजित थियो । मानिस धेरै पञ्‍चायत समर्थक कम मात्रामा कम्यूनिष्ट र काङ्ग्रेसमा भित्रभित्रै लागेका थिए । पंचायत समर्थक खुल्ला रुपमा थिए भने अरु सुसुप्त अवस्थामा थिए । 

जिल्लाको राजनीतिक ध्रुवीकरणको प्रभाव गाउँमा पनि परेको थियो । गाउँ लामो समय विष्णु मादेन र विजयप्रकश थेबे समूहमा विभाजित थियो । क्याप्टेन खगेन्द्रसिंह मादेन पक्षीय व्यक्ति थिए । विद्यालयका शिक्षक प्रायः थेबे पक्षका थिए । यसरी हाम्रो गाउँ तल्लो गाउँ र माथिल्लो गाउँबीच प्रतिस्पर्धारत थियो । 

एक पटक गणेश सर विराटनगर झरेको बेला कम्यूनिष्टको आरोपमा पक्राउ परे । हाङपाङबाटै विराटनगर झरेकाहरूले उनलाई अंचलाधीससमक्ष झोसपोल गरे भन्ने हल्ला हामीले सुन्यौं । यसरी गाउँको राजनीतिक प्रभाव हाङपाङबाट विराटनगर गएर बसेकाहरुमा सरेर गएको थियो । त्यसको शिकार उनी भएका थिए । उनी केही दिन विराटनगरमा थुनामा परेर मुक्त भएका थिए । 

विदाइ

चालिस दशकको अन्ततिर हाङपाङ गाउँको राजनीतिले अनौंठो रूप लियो । एक दिन चाँगे, नेसुम, ढुँगेसाँगु, साँघुका विद्यार्थीहरूले सोबुवा खोलाको पुल भत्केकाले मर्मत गर्नुपर्ने आवाज निकाले । उनीहरुले उक्त माग विद्यालय व्यवस्थापनसमक्ष राखे । विद्यार्थीको मागलाई संचालक समितिले सही ढङ्गले सम्बोधन गर्न सकेन । यसमा राजनीति मिसिएको बहानामा विद्यार्थीमाथि दमन गरियो । सानो कुराले विद्यालयमा तनाव उत्पन्न भयो । हेडसरको प्रशासन मन नपराउने शिक्षक, विद्यार्थी संगठित हुने अवसर पाए । यसरी सानो निहुँले गाउँमा विस्तारै उग्र रूप लियो । विद्यालयमा विद्यार्थी आन्दोलन चर्कियो । 

विद्यालयको तनाव साम्य पार्न जिल्ला शिक्षा कार्यालय ताप्लेजुङबाट तत्कालीन सहायक जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाई आएका थिए । उनी हाङपाङ निवासी थिए । उनलाई गाउँको माया थियो । उनले हेडसर र विद्या गुरुमालाई राजीनामा नदिन सम्झाइबुझाइ गरे । लक्ष्मी प्रसाईले गणेश सरलाई विचलित नहुन तथा राजीनामा नदिन धेरै सम्झाए । तर गणेश सर राजिनामा नदिइ नछाड्ने अडान लिए । संभवतः अनपेक्षित रुपमा विद्यार्थीबाट आएको असन्तुष्टिले गाउँले राजनीतिको साथ पाएपछि हेडसर एकाएक विचलित बन्‍नपुगे । उनले एक्कासी हाङपाङ छाडे । 

जसरी उनलाई हाङपाङले ससम्मान दार्जिलिङबाट ल्यायो त्यसरी नै फुलमालाले विदाइ गर्न पाएको भए कत्ति राम्रो हुन्थ्यो । नियतिले त्यो हुन पाएन । उनको व्यक्तिगत कमी कमजोरीमा स्वार्थीतत्वले खेल्ने मौका पायो । स्वाभिमानी स्वभावका गणेशबहादुर राईले आफूविरुद्ध उठेको समूहसित सम्झौता गर्न मानेनन् । उनी आफ्नो अडानमा चट्टानझैं दृढ भइदिए । यसरी २०१८ सालमा हाङपाङ आएका गणेश सरले करिव दुई दशकसम्म हाङपाङको सेवा गरेर आफूखुसी ठाउँ त्याग गरे । उनले विद्यार्थी, शिक्षक, गाउँलेलाई उनकाे अवस्थाबारे कुनै जानकारी दिएनन् । उनको विदाई कार्यक्रम पनि भएन । 

उनले ससुराली गाउँ फुङलिङ ताप्लेजुङ सदरमुकाममा बोर्डिङ स्कुल खोले । पछि सुन्यौं उनले काठमाडौंमा पनि बोर्डिङ स्कुल चलाए । कालान्तरमा गणेश सर शिक्षककै रुपमा हङकङसम्म पुगे भन्‍ने पनि थाहा पायौं । हाङपाङ छाडेपछिको उनको शैक्षिक यात्राबारे म त्यत्ति जानकार छैन । यद्यपि उनले सोचेजस्तो त्यसपछिको शैक्षिक यात्रा भएन भन्‍ने भाव उनको अवस्था र ब्यवहारले बुझाउँथ्यो । 

जेहोस्, हाङपाङले दुई दशकपछि आकस्मिक रूपमा गणेशसरलाई गुमाउनु पर्दा दुःख लाग्यो । आवेशमा विद्यालय छाड्दा पेन्सनबाट बञ्‍चित हुनपरेकामा गणेश सरलाई पनि पछुताउ भयो । लामो अन्तरालमा शिक्षाको उज्यालाे खेल हाङपाङले जित्याे तर साेहीअनुरुप विवेकसम्मत ब्यवहार देखाएन । एउटा बैगुनी टीका हाङपाङको निधारमा अनायास लाग्‍न पुग्यो । बल्की यसमा एक पक्षको मात्र दोष छैन, सबै जिम्मेवार छन् ।   

२०७३ सालमा धेरै वर्षपछि गणेशसरलाई भेट्न भक्तपुरस्थित उनको निवासमा गएँ । उमेर आठ दशक पार गरेका,  पक्षाघातले पीडित शरीर देखें । बोल्न खोजे पनि आवाज नबुझिने भएको रहेछ । उनका अनुहारमा झल्कने भाव र आँखामा छचल्किने आँशुले धेरै कुरा आभास भयो । कुराकानीमा विद्या गुरुमाले सघाइन् र भनिन्– कोही विद्यार्थी आउँदा उहाँ यसरी नै खुशी र भावविव्हल बन्‍नुहुन्छ, रूनुहुन्छ । 

अन्तमा 

गणेश सर एक असल र योग्य शिक्षक थिए । विषयवस्तुमा दक्ष थिए । व्यवहार सरल, शालीन थियो ।  इमान्दार स्वभावका थिए । उनी स्वाभिमानी थिए, उनले कसैको चाकरी र चाप्लुसी गरेनन् । उनीभित्र कतिपय मानवीय कमी र कमजोरी पनि थिए । यद्यपि, उनका गुन र योगदानका अघि ती अवगुन नगन्य थिए, यो मेरो व्यक्तिगत धारणा हो । हाल भौतिक संसार त्याग गरेका गणेशबहादुर राईले आफ्नो जीवनको उर्वर कालखण्ड गाउँ र गाउँलेलाई समर्पित गरेका थिए । त्यसैले आठराई हाङपाङ क्षेत्र, ताप्लेजुङको शैक्षिक उन्‍नयनमा उनको योगदान उल्लेखनीय मानिन्‍छ ।

(प्रकाशोन्‍मुख ‘बहुवचन’ लेख/निबन्धसंग्रहबाट)