साहित्यिक बजार

Sharing is Caring

डा. नवराज सुब्बा

कलात्मक लेखनलाई साहित्य वा सिर्जना भन्‍ने चलन छ । साहित्यमा वस्तुगत लेखन मात्र हुँदैन विषयगत कल्पना पनि हुन्छन् । त्यसो भन्दैमा सोचेका वा लेखेका सबै साहित्य हुँदैनन् । त्यसको लागि साधना पनि चाहिन्छ । अझ साधना मात्र गरेर पुग्दैन सार्थक सन्देश पनि चाहिन्छ ।

सिर्जना निरपेक्ष र शैली मौलिक हुनुपर्दछ भन्ने मेरो मान्यता छ । मेरो भनाइको तात्पर्य, कुनै सवालमा आग्रह वा पूर्वाग्रहबाट सकभर मुक्त स्वतन्त्र वा स्वच्छन्द भएर लेखिनुपर्दछ । कसैलाई फकाउने वा खसाउने गरी लेखिएमा त्यो लेखाइ स्तुति वा नारा हुन जान्छ । जसलाई सबैले साहित्य मान्दैनन् । त्यसैले साहित्यिक सिर्जना स्वतन्त्र, स्वच्छन्द भावना हो जो केही मान्यताद्वारा बाँधिएका हुन्छन् । साहित्यिक सिर्जनाका केही आदर्श पनि हुन्छन् । जमातमा आफू चिनिनलाई कोही नयाँ ढर्रा गर्दछन् ।

साहित्यकार, कलाकार स्वाभिमानी हुन्छन् कसैले कसैलाई गन्दैनन् । आफैलाई वा आफ्नो मण्डलीलाई मात्र पत्याउँछन् । त्यसैले साहित्य भनेको खिचडी पनि हो । यहाँ साहित्यिक माल पाउन वा चाल पाउन गाह्रो पनि छ । म नेपाली भाषा साहित्यको एक विद्यार्थी भएकाले यसबारे चासो राखिरहन्छु । मलाई अरुतिरको त्यत्ति ज्ञान छैन । मैले मेरै गृहनगर विराटनगरका बारेमा केही जानकारी राख्छु र मैले झापा, सुनसरी, धनकुटा, काठमाडौं, चितवनको साहित्यिक झलक पाएको छु । त्यही आधारमा म आफ्नो अनुभूति पोख्दैछु । मलाई थाहा छ म कलात्मक पाराले लेख्‍न त्यति जान्दिन पनि । जे देखेको भोगेको लागेको ठाडै बोल्ने बानी छ । नरिसाउनु होला ।

साहित्यकारहरु साधनारत हुन्छन् । राम्रा राम्रा सिर्जना गरिरहेका छन् । हेर्दाहेर्दै नेपाली साहित्य क्षेत्र आज बजार भएको छ । साहित्यलाई व्यक्तिगत तवरबाट मात्र नभएर संस्थागत रुपमा पनि अघि बढाउन खोजिएको छ । साहित्यिक संघसंस्थाका नाम र उद्देश्य सुन्दा जति गहकिला सुनिन्छन् उनीहरुका कृयाकलाप र शैली देख्दा भिन्न देखिन्छ । साहित्य सेवाका नाममा खोलिएका संघसंस्था र पुरस्कार देखेर तपाई दङ्ग पर्नु होला । यिनीहरुको राजनीति, रणनीति र कार्यव्यापार देखेर भने छक्क परिन्छ ।

राजनीतिक बजार र साहित्यिक बजार आज एकै ठाउँमा लाग्ने गर्दछ । राजनीतिक नेता र कार्यकर्तालाई जसरी तीन तहको सरकारमा मंत्री, सांसद पदमा ब्यवस्थापन गरिन्छ, उसैगरी पार्टीका खोक्रा सिद्धान्तका झोला बोक्ने कलमवीर कार्यकर्तालाई नेपाल प्रज्ञा प्रतिष्ठान, नाट्य प्रज्ञा प्रतिष्ठान, संगीत प्रज्ञा प्रतिष्ठानमा भागशान्ति गरिन्छन् । त्यसमा कोही योग्य पनि होलान् तर ती देखाउने सुनका दाँत जस्ता थोरै मात्रामा हुन्छन् । साहुमहाजनले खोलेका गुठी वा प्रतिष्ठानले वर्षेनी साहित्यिक, सांगीतिक डम्फू बजाएर बजार तताउँछन् । कुन कृति वा लेखकले के आधारमा पुरस्कार पायो भनेर यथार्थ बुझेपछि ती सबै नाटक जस्ता लाग्दछन् । त्रिविविमैं पिएचडीकाे थेसिस अर्कैले लेखिदिएकाे मैले देखेकाे थिएँ । मदन पुरस्कार पाउने फलाना पुस्तक तीनजनाले लेखिदिएकाे हाे भनेर एकजना पत्रकार दावी गर्दछन् । एकजना समालाेचक गुठीकाे फलाना काम गरिदिएबापत ढिस्कानाले पुरस्कार पाएकाे दावी गर्दथे । पर्दाभित्र र बाहिर दृश्य फरक छन् ।

पञ्चायतकालमा पदधारी साहित्यकार, कलाकारका जमातले राजतन्त्र र व्यवस्थाको गीत गाउँथे आज पार्टी र नेताको इसाराअनुसार ती नाच्ने गर्दछन् । चर्मचक्षुले नदेख्‍ने अस्वस्थ दौडमा साहित्यकार, कलाकारहरुको लामो ताँती निरन्तर दौडेको छ । कृति वा स्रष्टा मूल्याङ्कनका पारदर्शी मापदण्ड छैनन् । साहित्यिक संघसंस्था पुरस्कार सम्मान आदान प्रदान गर्नमा व्यस्त छन् । आत्मरतिमा स्रष्टा भुलेका छन् । त्यसैले सोझो साहित्यकारले आज साहित्यिक बजारमा शिर निहुराएर हिड्नु परेको छ ।

कुनै साहित्यिक गोष्ठीमा जानुस् वा सभा सम्मेलन जानुस् त्यहाँ मञ्चमा कार्यक्रम सुरु नहुँदै साहित्यकार, कलाकार आफू माला लगाएर गमक्क फुलेर बसेका हुन्छन् । यदि तपाई बीचमा पुग्‍नुभाे भने बुझ्नुस् मालाले पुरिएको भलाद्मी सभापति वा प्रमुख अतिथि वा कुनै विशिष्ट व्यक्ति हुनुपर्दछ । उनीहरुका चेलाहरु दर्शकदीर्घामा अगाडीपट्टी बसेका हुन्छन् । मञ्चमा बसेका हुन् वा अगाडी बसेका साहित्यकार, कलाकार हुन् यिनीहरुको एउटै बानी हुन्छ, अधिकतम् ताली खानु ।

हो, साहित्यकार, कलाकार वाहवाहीका रमाउँछन् । उनीहरु ताली पिट्न बारम्बार दर्शकतिर आँखा जुधाउँछन् । कोही कोही त ताली पिट्न ईसारा गर्छन् वा मुखै खोल्छन् । साहित्यकार र कलाकारलाई लाग्ने भोक पनि अनौंठो छ । कोही नामका भोका, कोही पुरस्कारका भोका, कोही दामका भोका, कोही पदका भोका, कोही प्रतिष्ठाका भोका हुन्छन् । म बाजी नै ठोक्छु माथिका कुनै भोक नहुने कोही कलाकार वा साहित्यकार हुँनै सक्दैन । जसको उदाहरण म आफै छु । म पनि माथिका मध्ये कुनै एक वा बढीको भोको छु । यसैले म आफू पानीमाथिको ओभाने बनेर लेखेकै होइन । मैले आत्मसमीक्षा पनि गरेको हो ।

हामी शक्तिका पुजारी हौं । जसको शक्ति उसको भक्ति भन्ने हाम्रो मन्त्र नै हो । शक्तिलाई पूजा गर्ने राजनीति झैं कला जगत सरस्वती माताको पूजामा सीमित भए कत्ति राम्रो हुन्थ्यो । साधनामा रमेको भए हुन्थ्यो । तर देश अनुसारका नेता भने जस्तै समाज अनुसारका साहित्यकार र कलाकार छन् । उनीहरु बिहान पहिले मन्दिर जान्छन् त्यसपछि बाटामा कुनै राजनीतिक नेतालाई गणेश परिक्रमा गरेर आश्वासनरुपी टीका थापेर आफूलाई धन्य सम्झन्छन् ।

आजको साहित्यिक बजारमा भीडभाड छ । मानिस चिन्न एककिसिम सजिलो छ गाह्रो पनि छ । गतिला साहित्यिक सिर्जना वा साहित्यिक साधना छाडेर साहित्यकार, कलाकार कोही राजनीतिक, व्यापारिक दलानमा चाहार्छन् । त्यहाँबाट पाइने आश्वासन र आशिर्वादले मुख मिठ्याउँछन् । आफ्नो क्षेत्र छ साहित्य, धक्कु छ राजनीतिक दलको वा सिद्धान्तको । हुन पनि सत्तामा पुगेका बेला आफ्नो पार्टीले उनीहरुलाई कार्यकता ठानेर साहित्यकारको बिल्ला, पद, पुरस्कार, अवसर मिलाइ दिन्छ । त्यसैले साहित्यिक संघसंस्था आज राजनीतिक दलका भगिनीसंस्था जस्ता लाग्छन् ।

आज लेखक बन्नलाई ठूलो मान्छे भए पुग्छ । उसको आत्मवृत्तान्त लेखिदिने कलमवीर बजारमा प्रसस्त पाइन्छन् । बजारमा जताततै देखिने नेता, प्रशासक, ब्यापारीको फोटासहितका आकर्षक पुस्तक के तिनले आफैले लेखे होलान्? होइन, ती सबै लेखिदिने हाम्रै साहित्यिक बजारका ब्यावसायिक कलमजीवी नै हुन् । तिनीहरु आकर्षक पैसा लिएर उनीहरुको कुरा टिपोट गरेर पुस्तक लेखिदिन्छन् । अथवा तपाईले डायरीमा अलिकति खेस्रा गरिदिएपछि उनीहरुले पैसा लिएर आकर्षक पुस्तक नै छपाइदिन्छन् । अब पाठकले कुनै पुस्तक कसले किन लेख्यो भनेर सोच्ने बेला आएको छ । कृति प्रायोजित त होइन केलाउने दिन आएका छन् । माथि भनेझैं केवल नाम, चर्चा, पुरस्कारकै लागि लेखिएका हुन् कि ती साँच्चै सिर्जना वा साधनाका उपज हुन् नियाल्ने बेला आएको छ । स्रष्टाले स्वस्फूर्त रुपमा आएका भावना र विषयवस्तुलाई कलात्मक सम्प्रेषण नै साहित्य हो भनिन्छ तर आज साहित्यिक बजारको माहौल अर्कै छ । को असली लेखक हो को होइन छुटयाउन बडो गाह्रो भएको छ । पर्दा पछाडीको लेखक चिन्न अब गाह्राे छैन । ब्यावसायिक लेखन र साहित्यिक सिर्जना आज मिसिएका छन् । त्यसैले असली साधक र कृति बजारमा पाउन मुस्किल भएको छ ।

अब विराटनगरको साहित्यिक वातावरण नियालौं । हिजो विराटनरमा अग्रज साहित्यकारहरुले साहित्यको साझा चौतारी वाणी प्रकाशन नामक सहकारी संस्था खोलेका थिए । हिजो जस्तो लाग्छ संस्था आजै इतिहास भैदियो । जे भए पनि यसका संस्थापक साहित्यकारहरुलाई नमन गर्नुपर्दछ । किनभने वाणी प्रकाशनले सबैखाले साहित्यकार एकठाउँ भेला गराएको थियो । कालान्तरमा यो संस्था आर्थिक अवस्था बिग्रेर विलयको अवस्थामा पुग्यो । अरु सहकारी संस्था दिन दुई गुना रात चौगुना फलेका फुलेका छन् तर वाणी प्रकाशन सहकारी किन ओइलायो, चित्त बुझ्दैन । के साहित्यकार त्यति बेइमान थिए कि सहकारीबाट लिएको पैसा नतिरेर संस्था नै डुबाइदिए? संस्थाको लेखापरीक्षण गरेर विवरण सार्वजनिक गर्नुपर्‍यो भनेर यो पङ्तिकारले वाणी प्रकाशनमा एकपटक बोलेको थियो । अचम्म, त्यस्तो बोलेकाले होला यो लेखक विराटनगरका साहित्यिक खेलाडीका नजरमा कसिङ्गर बन्नपुग्यो । त्यसरी बोलेको केही वर्षमा नभन्दै वाणी प्रकाशन बन्द भयो । कसरी डुब्यो भनेर कोही किन बोल्दैनन्? वाणी प्रकाशन सहकारी संस्थाका तत्कालीन पदाधिकारीहरुको केही जिम्मेवारी छैन? न कुनै भेला, न कुनै जानकारी, कुनै व्यक्तिको पसल झैं ताला लगाएर वाणी प्रकाशन सहकारी सदाका लागि बन्द भयो । सबैजना तैं चुप मैं चुप भएकामा म अचम्ममा परेको छु ।

वाणी प्रकाशनको विसर्जनपछि विराटनगरमा एकाएक नयाँ साहित्यिक संस्थाहरु चम्किए । थरिथरिका साहित्यिक संस्थाहरु भटाभट खुले । यो कलमलाई भने वाणी प्रकाशन खट्किरह्यो । सबैजना भेला हुँदा कोही पनि साहित्यकार वाणीको ‘व’ सम्म उच्चारण गर्दैनन् । कुरा कोट्याउँदा पनि किन हो बोल्न चाहँदैनन् । वाणी प्रकाशनको कक्षमा भेला भएर कविता सुनाउने, कृती छपाउने साहित्यकार साथीहरु त्यसरी चुप लागेको देखेर म अचम्मित र दुःखित भएँ ।

सहकारीको एक शेयरवाला सदस्य भएका नाताले केही चिन्ता गर्दछु । सेयर सदस्य पनि भएकाले संस्थासित कानूनी सम्बन्ध छ । यद्यपि, साहित्यप्रेमी भएकाले वाणी प्रकाशनसित मेरो भावनात्मक नाता छ । यही संस्थाबाट मैले आफ्नै खर्चमा भए पनि पुस्तक प्रकाशित गरें । कृति छपाउँदा मैले पनि संस्थाको नाम उपयोग गरें । संस्थाले आयोजना गरेका साहित्यिक गोष्ठी र भेलामा उपस्थित भएर कविता सुनाएँ । फलस्वरुप मैले आफूलाई साहित्यिक क्षेत्रमा चिनाउने अवसर पाएँ । यसरी वाणी प्रकाशन संस्थाले मलाई पुर्‍याएको योगदानलाई म कहिल्यै भुल्न सक्दिन । विराटनगरका साहित्यकारहरु सचेत, जागरुक छन् जस्तो मलाई लाग्दथ्यो । मैले विराटनगरमैं भोगेको एउटा घटनापछि भने हामी साहित्यकार कलाकार कस्ता रहेछौं भन्ने छर्लङ्ग भयो ।

विराटनगरका साहित्यकारहरुसित निकै लामो उठबस भइसकेको थियो । उनीहरुको मनोभाव बुझ्ने थोरबहुत मौका पाएको थिएँ तर त्यो सतही रहेछ । यसैबीचमा साहित्यकार, कलाकारसित भएका भेटघाटले उनीहरुको जानकारी थियो । देशमा आएको राजनीतिक परिवर्तनको सन्दर्भमा सबै नयाँपन खोजिरहेका देखिन्थे । उनीहरु संगठन बनाउन वा संस्था खोल्न लालायित थिए । यही क्रममा एकदिन म पनि होहोरेमा लागेर एउटा संस्थाको अध्यक्ष बन्न पुगें ।

मलाई चाँडै थाहा भयो कि म त कुनै स्वार्थ समूहको गोटी पो बनेको रहेछु । हामी साहित्यकारहरु संगठित भएर केही सिर्जनात्मक काम पो गरिएला भन्ने सोंच थियो । अन्तरक्रियाका क्रममा मलाई थाहा भयो कि मैले सोचे जस्तो विशुद्ध साहित्यिक सिर्जना प्राज्ञिक विकासका अवधारणा मात्र त्यहाँ थिएनन् । साहित्यिक प्रबर्द्धन जस्ता उद्देश्य देखाउने दाँत जस्ता थिए । चपाउने दाँत चार्ही के थिए भने सरकारी निकायमा जाने, गैह्रसरकारी संस्था चाहार्ने, आर्थिक साधन स्रोत जुटाउने । त्यत्ति मात्र भए त हुन्थ्यो नि, कतै नगरपालिकाको सरकारी ओइलानी जग्गा कसैले ओगटेको चाल पाएमा त्यसलाई हत्याउन पहल गर्ने र आफ्नो साहित्यिक संस्थाका नाममा पार्ने गरी अघि बढ्न खोजियो । मैले त्यसको विरोध गरें तर पनि मलाई अध्यक्षको नाताले निरन्तर दवाव दिइयो ।

उता कलाकार समूह पनि स्थानीय तहमा जनप्रतिनिधि नभएको मौका छोपेर विराटनगरको सभागृह जिम्मा लिन चाहन्थे । कलाकारको यस्तो मागलाई साथ दिन मलाई पनि आग्रह गरियो । मलाई नगरको साझा मञ्च कुनै कलाकार समूहलाई जिम्मा दिने काम उचित लागेन । अर्कातिर आफ्नै संस्थाका एक जना साहित्यकार चर्को स्वरमा के माग राख्दैथे भने हामी साहित्यकारले पनि सरकारी तवरबाट पेन्सन पाउने व्यवस्था हुनुपर्छ । त्यसका लागि हामीले सरकारलाई दवाव दिनुपर्छ । म बडो अप्ठेरोमा परें । विराटनगरका साहित्यकार तथा कलाकार साथीहरुका माग, मनसाय, नियत बुझेपछि म एकप्रकार छाँगाबाट खसेजस्तो भयो । समाजलाई आँखा देखाउने भनिएका साहित्यकार कलाकारहरुको मनोभाव, आचरण र निहीत लक्ष्य बुझ्न मलाई अब विराटनरमा अरु ठक्करको आवश्यकता परेन ।

मलाई विराटनगरले केही महिनाअघि एक साहित्यिक संस्थाका अध्यक्ष बनाएको थियो तर त्यसको अभिप्राय भनिएजस्तो नभएर निहीत स्वार्थकेन्द्रीत पो रहेछ । मैले पदीय आकर्षणमा लोभिएर अध्यक्ष पद स्वीकारेको पनि होइन । सेवानिवृत्त जीवनमा साँच्चै सिर्जनात्मक काम गरौं भनेर नै लागेको थिएँ । केही महिनामा जब मैले साहित्यकार, कलाकारहरुको असलियत बुझें, तब मैले संस्थाको नेतृत्व गर्न अनुचित ठानें । मैले तत्काल उक्त संस्थाबाट राजीनामा दिएँ र स्वतन्त्र भएर बसें ।

आजकल मलाई धेरैले सोध्छन्, किन हो साहित्यिक गोष्ठीहरुमा देखिनुहुन्न नि! मेरो छोटो जवाफ – म अस्वस्थ छु घरैमा आराम गर्दैछु । निकै वर्षमा पनि मलाई नदेख्दा कोही कोही सोध्छन् किन हो भेटघाट हुन छाड्यो नि! उनीहरुलाई मेरो जवाफ हुन्छ– आजकल घरैमा बसेर लेखपढ गर्छु, अध्ययनमा लागेको छु आदि । अलि मन मिल्ने साथीलाई मनको डाम सुम्सुम्याउँदै भन्दिन्छु, अब म अघाएँ ।

यी मेरा जवाफलाई म आफै केलाउँछु । यी जवाफ पूर्ण होइनन् । ती अपूर्ण अभिव्यक्ति हुन् । पूर्ण सत्य होइनन् तर असत्य पनि होइनन् । मेरो अन्तरात्मा भन्छ, साहित्य भनेको निस्वार्थ सेवा वा गतिविधि हो । जब त्यहाँ त्यो छैन भने किन चाहार्नु? भनिन्छ, साहित्यले जीवन र जगत देखाउँछ । हो, मैले सम्पूर्ण नदेखे पनि केही देखें ।

साहित्यिक बजार मैले सोचेको जस्तो मूल्य र मान्यतायुक्त विशुद्ध प्राज्ञिक क्षेत्र रहेनछ, त्यो भड्किएको रहेछ । त्यहाँ सिर्जनाका देखाउने दाँत भन्दा स्वार्थैस्वार्थका चपाउने दाँत धेरै बलिया रहेछन् । त्यसैले होला आजकल मेरो मन तथाकथित् साहित्यिक माहौलसित तर्सिएको छ, तर्किएको छ । अस्वस्थ प्रतिस्पर्धासित यो मन आफै विरक्तिएको छ । मलाई नै थाहा छैन मेरो मन कहिले बजार फर्केला ।