केही कविताहरू

कठघरामा उभिएर

हो ! हो ! हो !
म सत्य सत्य बोल्दैछु
आमाको परिभाषा म केवल आमा बुझ्दछु
जोड्दछु नाता नानाथरि
तर कदापि तोड्दिनँ यो नाता
कतिन्जेल केरिरहन्छौ
हिरासत–मुक्त गरिदेऊ मलाई
अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ !

भन, ती को हुन् ?
जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन्
माया गरेर बुई चढाइन्
उनैको शरीरमा दिसापिसाब गरे पनि
पखालेर म्वाइँ खाइन्
भन, काँडाले घोच्दाखेरि
हिँड्दा ठेस लाग्दाखेरि
बताऊ ए आरोपित !
रगत बग्दा तिम्रो मुखैमा
पहिले को आइपुग्छ ?
भन ! नसेलाउने न्यानो काख
र कहिल्यै ननिभ्ने आँखा कोसँग हुन्छ ?
अनि कसका छातीभित्र
दुःखको अपार सगर मात्र हैन
अथाह सुखको सागर पनि छ ?
ऐय्या, अब भो !
कति मीठा नमीठा सवालहरूले हिर्काइरहन्छौ !
ल भैगो म मेरो आत्मै खोलिदिन्छु
हो श्रीमान् ! विकल्प सबै कुराको छ
तर छैन विकल्प जननीको
हुँदैन विकल्प आमाको
आमा निर्विकल्प सत्य हुन् ।

उहिले सानामा रूँदाखेरि
‘लौ हाँस हाँस मेरो बाबु’ भन्थिन् आमा
आज म आत्मसमर्पण गर्दै
कठघराबाट उद्घोष गर्दैछु-
आमा ! एकफेर हाँसि देऊ न !
तिम्रो मुस्कान फर्काउन
म हिमाल भएर ठि…ङ्ग… उभिएको छु ।
तिमी जहाँ छौ म त्यहीँ छु
आखिर म नै तिमी र तिमी नै म हुँ
तिमी मेरो मुखमा झुन्डिएकी छौ
हृदयमा मुस्कुराइरहेकी छ्यौ आमा !
तिमी मेरो आत्माझैं अमर छौ
दूबो, ढुङ्गा छोएर बोल्दैछु-
आमा ! तिमी आत्माझैं अमर छौ ।

(बेलायतस्थित नेपाली साहित्य मञ्चद्वारा आयोजित ‘प्रथम अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४’ मा प्रस्तुत कविता प्रथम स्थान हासिल गर्न सफल भएको थियो । उक्त प्रतियोगितामा विश्वका २७ देशबाट १०३ जना नेपाली कविहरु सहभागी थिए ।)

मेरो पहाड

पहाड छाती ठोक्छ नशामा
घरीघरी ठोक्किन्छ भोकका भित्तामा
बिसाएर पीरका भारी बजाउँदै मुर्चुङ्गा
दन्त्यकथा बौराउन खोज्छ कुनै राजकुमारको
साइँला साइँलीको गाग्री र ढाकरले
पार नपाएको त्यो अपार थुप्रो मात्र नभन न गाँठे !

भूकम्पको प्रतिध्वनि (Poem)

– डा. नवराज सुब्बा

आस्थाको आकाश
हिजो खसेकै थियो
टेकेको धरती धस्यो आज
घामपानी छेक्ने घरहरू पनि
भूकम्पसितै नाच्यो जब हामीमाथि
एक मूठी स्वास फेर्न नपाएर
उडे धेरै आत्माहरु कतै
अरू पनि ढले यसबेला
इतिहासका थुप्रै धरहराहरू
ईश्वर बस्ने मठ मन्दिर र गुम्बाहरू

चरा, तिर्खा, पानी र शहर

– नवराज सुब्बा

तिर्खाले ब्याकुल छु
पानी खान आएको थिएँ
तिम्रो घरमा पर्खे तर
मनको ढोका खोलेनौ
यही घरमा पहिले हामी बस्ने
एउटा ठूलो रुख थियो ढलेछ
हामीले खाने फल थियो झरेछ
पानी खाने पोखरी पनि सबै सुकेछ
लुकामारी गर्ने फूलका पोथ्राहरु थिए
सबै मान्छेका वासस्थान शहर भएछ
तिम्रो घरको छानामा पानीको भण्डार छ
त्यो पानीट्याङ्की भन्दा ठूलो मसित प्यास छ
तर मेरा लागि मरुभूमि भो तिम्रो घर
पाहुना झैं म आगन्तुक चरा
आज यही गीत गाइरहेछु
देखाऊ वसन्त कहाँ छ ।

प्रशंसापत्र

यहाँ सधैं उही
जूनको फेदमा
अँध्यारो चिसो रात
बिछ्याएर बस्ने हामी किरण
खै किन हीरा जस्तो चम्केनौं
बत्तीको फेदमा
अँध्यारो दुर्भाग्य पोखिएका
यत्रतत्र छरिएका हामी छाया
कोही दियोझैं किन सल्केनौं !

निर्मलाको नियति !

मैले
यति कुरुप आकाश
आजसम्म देखेकै थिएन ।
आज म माथिको
आकाशमा घाम छैन
जून छैन, तारा छैन
आकाशमा हावा छैन आज
वर्षा गराउने एक टुक्रा बादल छैन
उडिरहेका छैनन् आज आकाशमा चरा
परेवा, ढुकुर, जुरेली, भँगेरा, मौरी
पुतली या कुनै सुगन्ध छैनन्
आकाशमा त आज
बारुदको मुस्लो उडिरहेको छ
बेला बेला मेघले झैं
छातीमैं बमको चट्याङ हानेर
बमवर्षक बिमानहरु
लस्करै उत्तरदक्षिण उडिरहेछन्
यो निर्मल आकाशमा
मैले यत्ति कुरुप दृष्य
कहिल्यै सोचेकै थिइन ।